![]()
तरकारी खेती गर्न रुचाउनेहरूका लागि ‘किचन गार्डेन’ राम्रो विकल्प हो । सहरी क्षेत्रमा यसको ‘ट्रेन्ड’ बढ्दो छ । हाम्रो भान्सामा पकाइने अधिकांश तरकारी घरको करेसाबारीमै उत्पादन गर्न सकिन्छ । बजारमा पाइने तरकारीमा रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गरिएको हुन्छ । यस्ता तरकारीले हाम्रो शरीरमा असर पारिरहेका हुन्छन् । मिर्गौलालाई असर गर्नेदेखि क्यान्सरसम्मको जोखिम बढाउने तथ्य विभिन्न अध्ययन–अनुसन्धानबाट पुष्टि भइसकेको छ । हाम्रो स्वास्थ्यका लागि दैनिक आहार सन्तुलित हुनुपर्छ । फलफूल र तरकारीको सन्तुलन बनाइराख्नुपर्छ । तरकारीहरू भिटामिन, कार्बोहाइड्रेट, खनिज एवं लवणका राम्रा स्रोत हुन् । पोषणविद्का अनुसार सन्तुलित भोजनका लागि एक वयस्क व्यक्तिले प्रतिदिन ७५ ग्राम फलफूल र तीन सय ग्राम तरकारी खानुपर्छ । त्यसैले सके सबै नसके पनि केही तरकारी आफ्नै घरको करेसाबारीमा रोप्न सकिन्छ । ‘किचन गार्डेनिङ’ का लागि धेरै ठाउँ आवश्यक पर्दैन । घरमै खेतीयोग्य जमिन छैन भने गमला, माछा राख्ने भाँडा, प्लास्टिकका थैला, ‘ग्रो–ब्याग’ एवं बोरा काटेर पनि त्यसमा तरकारी रोप्न सकिन्छ । यसका लागि महँगो गमला नै खरिद गर्नुपर्छ भन्ने छैन । थोरै ठाउँको उपयोग गरी ताजा र रसायनमुक्त तरकारी सजिलै फलाउन सकिन्छ ।‘किचन गार्डेन’ बनाउँदा केही सामान्य जानकारी भने हुनुपर्छ । कुन मौसममा के रोप्ने, कसरी रोप्ने, यसका लागि कस्तो मल–माटो तयार गर्ने, पानीको मात्रादेखि त्यसको हेरचाहसम्म थाहा पाइराख्नुपर्छ । सही ठाउँ यसका लागि घरको छत, झ्यालको ग्रिल एवं बरन्डाको उपयोग गर्न सकिन्छ । घरको खाली भागमा ‘किचन गार्डेनिङ’ गर्न सकिन्छ । जहाँ पर्याप्त मात्रामा प्रकाश र हावा ओहोरदोहोर गर्ने ठाउँ हुनुपर्छ । नत्र बिरुवा सोचे जसरी सप्रदैन । तरकारी रोपेको ठाउँमा ६–७ घण्टा मज्जाले घामले भेट्नुपर्छ । यसले बिरुवा चाँडै बढ्न सहयोग गर्छ । ‘किचन गार्डेनिङ’ गर्ने ठाउँ सिंचाइ गर्न मिल्ने र पानीको निकासको राम्रो व्यवस्था भएको हुनुपर्छ । जैविक तरकारीमा जोडघरमा तरकारी रोप्नुको अर्थ विनारसायनको ताजा तरकारी उत्पादन गर्नु हो । यसका लागि भान्साबाट निस्कने फोहोरलाई घरमै जैविक मल बनाउन सकिन्छ । यसले फोहोर व्यवस्थापन पनि हुन्छ । तरकारीको बोक्रा, अण्डाको खोल, चियापत्तीको खोस्टा आदिलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । के–के रोप्न सकिन्छ ?काउली, बन्दा, ब्रोकाउली, मटरकोसा, धनियाँ, साग, भिन्डी, भन्टा, भेंडेखुर्सानी, खुर्सानी, गाजर, टमाटर, आलु, जडीबुटीहरू (तुलसी, करीपत्ता, रोजमेरी, घिउकुमारी, लेमन ग्रास, पुदिना), प्याज, लसुन आदि रोप्न सकिन्छ ।कसरी हेरचाह गर्ने ?तरकारी रोप्दा मौसमअनुसार छनोट गर्नुपर्छ । सुरुमा दैनिक थोरै–थोरै पानी हाल्नुपर्छ । बिरुवा जागेपछि सातामा एकपटक एक इन्चसम्म भिज्ने पानी पर्याप्त हुन्छ । धेरै पानीले पनि जरा कुहाउँछ । सही मात्रामा पानी पुग्नाले बिरुवाको वृद्धि र विकास छिट्टै हुन्छ । बिरुवामा पानी साँझ वा बिहान हाल्नुपर्छ । दिउँसो घाममा पानी राख्दा बिरुवा ओइलाउन सक्छन् । हामीलाई जस्तै बिरुवालाई पनि पोषणको आवश्यकता पर्छ । त्यसैले १५–१५ दिनको अन्तरालमा मल हाल्नुपर्छ । साथै त्यसमा लाग्ने रोगको सामान्य जानकारी हुनुपर्छ । किनभने ‘किचन गार्डेन’ का बिरुवामा अधिक कीरा लाग्न सक्छ । यसलाई भगाउन कीटनाशक औषधि भने भरसक प्राकृतिक नै प्रयोग गर्नुपर्छ । त्यसका लागि निमको तेल उपयुक्त हुनसक्छ । अन्यथा घरमा रोपेको र बजारबाट खरिद गरेर ल्याएको तरकारीमा केही फरक हुँदैन । यस्ता कीटनाशक औषधि घरमा पनि तयार गर्न सकिन्छ । कीरा लागेको बिरुवालाई अलग्गै राखेर औषधि छर्कनुपर्छ । यसले अन्य स्वस्थ बिरुवामा रोग सार्दैन । फाइदा- शुद्ध, ताजा र रसायनमुक्त तरकारी खान पाइन्छ ।- आफैंले सानो नर्सरी राखेर बिरुवा उत्पादन गर्न सकिन्छ । धेरै भएका बिरुवालाई बिक्री गर्न पनि सकिन्छ । - घरमा तरकारी उत्पादन गर्दा मासिक खर्च केही कम हुन्छ ।- खाली बारी वा ठाउँको उपयोग हुन्छ । साथै खेर जाने पानीको सदुपयोग हुन्छ, जस्तो तरकारी पखालेको पानी ।- तरकारी खरिद गर्न बजार गइरहनुपर्दैन ।- आफूलाई व्यस्त राख्ने बहाना हुन्छ ।- शारीरिक कसरत हुनुका साथै स्वस्थ एवं तन्दुरुस्त भइन्छ । साथै मनमा अनेकौं कुरा खेल्दैनन् । - भान्साबाट निस्कने फोहोरको सदुपयोग हुन्छ ।- बालबालिकाहरूले पनि नयाँ कुरा सिक्न सक्छन् ।
नारी संवाददाता , माघ १३, २०७९
-- पुरै पढ्नुहोस् --