व्यक्तित्व

बख्तरबन्दमा कोमल हात 

बख्तरबन्द गाडी (एपीसी) भित्र जब उनी पहिलोपटक छिरिन् मुटु ढक्क फुल्यो । कुनै फ्याक्ट्रीभित्रका मेसिनै–मेसिनको माझमा जेलिएझैं उनलाई लाग्यो । ड्यासबोर्डको कुन बटम थिच्दा के हुने हो भनेर उनी डराएकी थिइन् । तर, क्षणभरमै आफूभित्रको आत्मविश्वासलाई दह्रो पार्दै उनी ड्राइभिङ सीटमा बसिन् र स्टेयरिङ घुमाइन् । त्यसपछि उनको यो क्रम टुटेकै छैन । नेपालकै पहिलो महिला (बख्तरबन्द गाडी चालक) असिम बानियाँलाई त्यो क्षण निकै गर्विलो लाग्छ । युद्धग्रस्त क्षेत्रमा सैनिकहरूले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न बख्तरबन्दको प्रयोग गर्छन् । यसका विभिन्न भागमा जडित हतियार चलाएर विपक्षीविरुद्ध लड्न सकिन्छ । यो जमिन र पानी दुवै ठाउँमा चल्ने फाइटिङ भेइकल हो । हाल उनी संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुन मध्य अफ्रिकी मुलुक जाँदैछिन् । त्यहाँ पनि उनले बख्तरबन्द गाडी नै चलाउने छिन् । राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षको इतिहासमा पहिलो पटक नेपाली महिला सैनिकले उक्त अवसर पाएकी छन् ।सैंबु भैंसेपाटीका नकुल र ठूलीनानी बानियाँका छ सन्तानमध्ये कान्छी असिम बाल्यकालमा केटाकै जस्तो हाउभाउ देखाउने स्वभावकी थिइन् । उनलाई फुटबल, भलिबल एवं बास्केटबलमा रुचि थियो । उनका साथीहरू पनि केटा नै धेरै थिए । ललितपुर भैंसेपाटीस्थित आदर्श युवा माविबाट ‘प्लस टु’ सिध्याएपछि उनी जावलाखेलस्थित भलिबल ट्रेनिङ सेन्टरबाट राष्ट्रिय लेभलका गेम खेल्न थालिन् । ०६२ मा सैनिक सेवा प्रवेश गरेकी उनी प्युठ पदमा कार्यरत छिन् । उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रबाट ‘प्रि–डिप्लोयमेन्ट’ तालिम पूरा गरेकी छन् । ‘सैनिक सेवामा प्रवेश गरेपछि मैले ड्राइभिङ गर्ने अवसर पाएँ । मेरो कामको मूल्यांकन गरेरै युनिटले मलाई हेभी ड्राइभिङ र त्यसपछि एपीसी ड्राइभिङको तालिममा पठायो’ असिमले भनिन्, ‘उसो त म सैनिक सेवामा नआउँदै कुनै पुरुषले गाडी हुइँकाएको देखेपछि घरको छतमा उभिएर हेरिरहन्थें, सोच्थें–आफू पनि यस्तै बहादुर बन्न पाए हुन्थ्यो । मेरो यो रहर सेनामा आएपछि पूरा भयो ।’०७६ मा श्री नम्बर १३ वाहिनी अड्डाबाट ‘बी–भेइकल’ तालिम लिएपछि उनी यसैमा सेवा गर्न थालिन् । त्यसपछि उनी हेभी ड्राइभिङ हुँदै बख्तरबन्दमा आइपुगेकी हुन् । पछिल्लो समय असिमलाई बधाई दिनेको ओइरो लागेको छ । ‘सबैले बधाई दिँदा ओहो मैले पनि आफ्नो ठाउँबाट देशको गौरव राख्न सफल भएँ भन्ने लाग्छ । नेपालमा मात्रै नभएर विदेशी भूमिमा समेत आफ्नो सीप प्रदर्शन गर्न पाइने भयो भन्नेमा गर्व महसुस हुन्छ’ असिमले भनिन्, ‘आँट गर्ने हो भने जे पनि गर्न सकिन्छ जस्तो मलाई लाग्छ । आगामी दिनमा अन्य महिलालाई पनि विभिन्न चुनौतीपूर्ण क्षेत्रमा आउन बाटो खुलेको छ ।’ लामो समयदेखि हेभी ड्युटी लिइरहेको भएर मिसन सफल हुन्छ भन्नेमा उनी ढुक्क देखिन्छिन् । सेनाका रिटायर्ड श्रीमान्को साथ र सहयोगले आफूलाई निर्धक्क काम गर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ । १० वर्षीया छोरीकी आमा असिमले भनिन्, ‘आमा हुँ ममता मनभित्र हुन्छ नै तर बर्दी लगाइसकेपछि परिवारभन्दा बढी देश र जनताका बारेमा सोचिन्छ । युद्धमा जाँदा परिवारको माया र सम्झनालाई एकातिर छाडेर जानुपर्छ । पहिला छोरीको असाध्यै सम्झना आउँथ्यो, अब त ऊ बुझ्ने भइसकी भनेर मन दह्रो बनाउँछु । धेरै भावुक भइयो भने असफल हुने सम्भावना हुन्छ ।’

 लक्ष्मी भण्डारी, माघ १४, २०७८

-- पुरै पढ्नुहोस् --

श्रोता लठ्याउने धन

सानैदेखि निडर र हक्की स्वभावकी उनी मन लागेको काम गरिहाल्थिन् ।

नारी संवाददाता , श्रावण १०, २०७८

-- पुरै पढ्नुहोस् --

निर्मलाको अठोट

चार वर्षकी छँदा सडक दुर्घटनामा देब्रे खुट्टा गुमाइन् । खुट्टा काटिएपछि बैसाखी टेकेर स्कुल पढिन् । ०६४ मा एसएलसी उत्तीर्ण गरेपछि स्वास्थ्य सहायक (एचए) पढिन् । ६ महिने खरिद÷रेफर केयर (पिआरसी) गरिन् । स्वास्थ्य क्षेत्रमै उच्च शिक्षा हासिल गर्ने उनको चाहना थियो । आर्थिक समस्याले त्यो पूरा गर्न सकिनन् ।

विद्या राई, श्रावण ७, २०७८

-- पुरै पढ्नुहोस् --

महिला पत्रकारको संघर्ष

समाचार लेख्न थालेको सात महिनापछि मेरो ‘बाइलाइन’ समाचार छापिएको थियो । त्यो थियो, स्वर सम्राट् नारायण गोपालको मृत्यु र दाहसंस्कारको समाचार ।

नारी संवाददाता , जेष्ठ ७, २०७८

-- पुरै पढ्नुहोस् --

पहाड छिचोल्दै शुभानी

पाइलट शुभानी घिमिरेले कलिलो उमेरमै संघर्षका अनगिन्ती पहाड छिचोलेकी छन् । १७ वर्षमै बोइङ उडाउने प्रथम नेपाली उनले फिलिपिन्सको दुमगेतेबाट डिपोलोगसम्म ४० मिनेटको द्रुत गतिमा ‘पहिलो क्रसकन्ट्री सोलो उडान’ सम्पन्न गरेकी हुन् ।

लक्ष्मी भण्डारी, कार्तिक १३, २०७७

-- पुरै पढ्नुहोस् --

सुहाउने लुगामा स्मार्ट देखिन्छ : नवीना लामा

आफ्नो शरीरलाई न्यानो बनाएर, आफूलाई सुहाउने लुगा लगाउँदा स्मार्ट देखिन्छ । अरूको सिको गरेर लगाउँदा भने नसुहाएको पनि हुनसक्छ । आफ्नै गेटअप शैली बनाएर, कस्तो रंग, डिजाइन सुहाउँछ त्यसरी लगाउँदा जो पनि स्मार्ट र आकर्षक देखिन्छ ।

नारी संवाददाता , पुस १०, २०७६

-- पुरै पढ्नुहोस् --

सफलताको मूल्य

हरेक व्यक्तिका लागि सफलताको अर्थ फरक–फरक हुन्छ । त्यसैले आफ्ना लागि सफलताको वास्तविक अर्थ के हो बुझ्नु आवश्यक छ । जसले सधैं अघि बढ्ने प्रेरणा दिन्छ मनोविश्लेषकहरू त्यसैलाई सफलता मान्छन् । केही प्राप्त भएर पनि मनमा यदि असन्तुष्टिको भावना रहन्छ वा केही अरू प्राप्त गर्ने इच्छा हुन्छ भने उसलाई सफल हुनबाट कसैले रोक्न सक्दैन ।

नारी संवाददाता , असार ६, २०७६

-- पुरै पढ्नुहोस् --

सोचमात्र होइन लुक्स पनि बोल्ड

हिजोआज युवती एवं महिलाहरूले फेसनेबल र बोल्ड देखिन आफ्नो छुट्टै स्टाइल विकसित गर्न थालेका छन् । स्टाइलबाटै एडिट्युडको विकास हुन्छ र यसैबाट अरूले आफूलाई सम्झन्छन् । कस्तो पहिरन लगाइएको छ भन्दा पनि कसरी क्यारी गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

नारी संवाददाता , पुस ६, २०७५

-- पुरै पढ्नुहोस् --

अन्तर्मनको शक्ति

मनमा अलग–अलग भाव उत्पन्न हुन्छन् । कुनै राम्रो त कुनै नराम्रो । भय, क्रोध, चिन्ता आदि नकारात्मक भाव हुन् । प्रेम, सेवा, भक्ति, दान एवं निर्भरता सकारात्मक भाव हुन् । यसमा मनका अवगुणलाई हटाएर राम्रो गुणको विकास गर्नु आवश्यक हुन्छ । घर, गृहस्थी, व्यापार तथा कार्यालयमा कतिपय अवस्थामा मनुष्यको मनोबल कमजोर बन्न पुग्छ ।

नारी संवाददाता , जेष्ठ १३, २०७५

-- पुरै पढ्नुहोस् --

इगो भगाऔं

इगोबाट जोगिन सर्वप्रथम इमान्दारिताका साथ आफ्नो मनलाई नियालेर हेरौं । हरक्षण आफ्नो प्रशंसा सुन्न रुचाउनु तथा आफ्नो गल्तीका लागि माफी माग्न नरुचाउनु राम्रो संकेत होइन । आफूभित्रको अहंकारलाई सचेत ढंगले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।

नारी संवाददाता , चैत्र १६, २०७४

-- पुरै पढ्नुहोस् --

खुसी रहौं र खुसी राखौं

अधिकांश दम्पती आलोचना र गुनासोबीचको अन्तर बुझ्न सक्दैनन् । कुनै काम वा कुराको साधारण आलोचनामा पनि उनीहरू रिसाउँछन् र जीवनसाथीसँग बोलचाल बन्द गरेर मौन धारण गर्छन् । श्रीमान्लाई श्रीमतीको तथा श्रीमतीलाई श्रीमान्को कुनै व्यवहारबाट समस्या छ भने एक–अर्काको समस्या बुझ्नुपर्छ र यसबाटै सहज रूपमा उक्त समस्याको समाधान पनि प्राप्त हुन्छ ।

नारी संवाददाता , फाल्गुन २, २०७४

-- पुरै पढ्नुहोस् --