अर्थतन्त्र

फस्टाउँदै अचार उद्योग

 काठमाडौं चाबहिलस्थित गोपीकृष्ण हलनजिक बस्दै आएकी २५ वर्षीया शर्मिला बरालले कोरोना महामारीमै अचार उद्योग सुरु गरिन् । जागिर छुटेपछि उनी यसतर्फ आकर्षित भएकी हुन् । ‘ट्वाक्क घरमै बनेको मीठो अचार’ स्लोगनले अझ छुट्टै पहिचान थप्यो । ‘बराल होम मेड ट्वाक्क अचार’ उनको उद्योगको नाम हो । उनले पाँच हजार रुपैंयाँ लगानीबाट अचार व्यवसाय सुरु गरेकी थिइन् । करिब आठ वर्षअगाडि अध्ययनका लागि काठमाडौ आएकी शर्मिलाले पढ्दै फाइनान्समा काम सुरु गरेकी थिइन् । लकडाउनमा एक भारतीय महिलाले अचार बनाएर भिडियो हालेको देखेपछि उनमा पनि यस्तै सोच आयो । सुरुमा उनले तीन प्रकारका अचार बनाउन थालिन् । मुला, लप्सी र मिक्स अचार बनाई नजिकका पसलमा बेच्न सुरु गरिन् ।जहाँ–जहाँ अचार बेचें सबैले प्रशंसा गरेपछि थप हौसला मिलेको उनले सुनाइन् । यसपछि बिस्तारै अन्य प्रकारका अचार पनि थप्दै लगिन् । अहिले आफै गुन्द्रुक बनाएर अचार बनाउँछिन् । कहिलेकाहीँ बाहिरबाट गुन्द्रुक ल्याएर पनि बनाउने गरेको उनले सुनाइन् । सुरुमा व्यवसायका रूपमा नगरी आफ्नो इच्छा पूरा गर्न अचार बनाए पनि पछिल्लो समय दर्ता गरेर विदेशमा समेत अचार निर्यात गर्दै आएकी छन् । पछिल्लो समय उनी आँप, अकबरे खुर्सानी, मुला, भटमास, टिम्मुर, गुन्द्रुक, चिकेन, बफ, मिक्स तथा अन्य धेरै थरिका अचार बनाइरहेकी छन् । पहिले एउटा मात्र कोठामा सीमित व्यवसाय अहिले फ्लाटमा पुगिसक्यो । सुरुमा सात जनासम्म कामदार राखेकी थिइन् । हाल दुई जना मात्र छन् । अचारमा भन्दा मार्केटिङमा कर्मचारी राख्ने उनको इच्छा छ । तर, कर्मचारी नपाएको उनले सुनाइन् । शर्मिला आफै अचार बनाउँछिन्, अचारका लागि सामग्री भने काम गर्नेहरूले तयार पार्छन् । बजारबाट सामान ल्याउनेदेखि अचार पुर्‍याउनेसम्म सबै काम उनी आफै गर्छिन् । चुनावअघिसम्म उनलाई यो काममा बुवाले सघाउँथे । तर चुनावमा गाउँ फर्केका बेला उनका बुवाको मृत्यु भएपछि उनी एक्लै भएकी छन् । परिश्रम गरे आचारबाट पनि प्रशस्त आम्दानी हुने उनको अनभुव छ । अचार बेचेरै मासिक न्यूनतम चार लाख फाइदा हुने उनको भनाइछ । कहिलेकाहीँ उनलाई यो पेसा पनि छाड्न मन लाग्छ । ‘एकैपटक अर्डर आउँदा एक्लै अबेर रातसम्म काम गर्नुपर्छ,’ उनले भनिन्, ‘काम गर्ने मान्छे पाँच बजे फर्किहाल्छन्, त्यसपछि सबै काम आफैले गर्नुपर्छ । त्यस्तो हुँदा किन गरेंछु जस्तो लाग्छ ।’ उनले बनाएको अचार जापान, हङकङ र अस्ट्रेलियामा पनि बिक्री हुन्छ । ‘विदेशबाट एकैपटक डेढ लाखसम्मको अर्डर आउँछ, उक्त अर्डर दुईदेखि तीनदिनभित्र सकाउनुपर्छ,’ उनले भनिन्, ‘अन्य बेला झन्डै एक साता लाग्छ ।’ सबैभन्दा बढी वफ, टिम्मुर, अकबरे, गुन्द्रुकको अचारको माग छ । कोरोना काल ममता गुरुङले पनि ‘तमु अचार उद्योग’ सुरु गरिन् । यसअघि अन्य उद्योगको अचार ल्याएर पसल सञ्चालन गरिरहेकी थिइन् । दुई वर्षयता भने आफै अचार बनाएर बेच्दै आएकी छन् । अचारकै व्यवसाय फस्टाउँदै गएपछि छ महिनाअघि ललितपुर नखिपोटमा चलाइरहेको पसल बेचिन् । ‘अचार बनाउन आवश्यक सामग्री सबै आफैले ल्याउनुपर्छ, पसलमा बस्न समय नमिलेपछि बेचिदिएँ,’ उनले भनिन्, ‘अब जे भए पनि अचारकै व्यवसायलाई चलाउने भन्दै पसल बेचें । यहाँ पनि राम्रै हुँदै गएको छ ।’घरमै बनाइरहेको अचारको ‘रेसिपी’ लाई व्यवसाय बनाउन थालेको उनले सुनाइन् । ‘आफ्नै सीप र व्यवसायका लागि आफै सामग्री जुटाउँछु, आफै बनाउँछु, खुर्सानी, टिम्मुर केलाउन र सहयोग गर्न कर्मचारी राखेकी छु,’ उनले भनिन्, ‘टिम्मुरको छोप र चिकेनको अचार मुख्य हो, अरु त सामान्य अरु जस्तै हो ।’ सुरुमा छ लाख लगानी गरेर घरमै सुरु गरेको उद्योगमा अकबरे खुर्सानी धरान र टिम्मुर कालिकोटदेखि ल्याउने गरेको उनले सुनाइन् । सातामा १६० किलो अचार बनाउने ममताले खर्च कटाएर मासिक ४० हजार रुपैयाँ बचत गरिरहेकी छन् । अचार उपत्यकासहित बाहिर जिल्लामा पनि जाने गरेको उनले बताइन् । ‘अचारिका’ ब्रान्ड पनि भर्खरै सुरु भएको हो । पोखरास्थित फाइनान्समा कार्यरत कमलादेवी (ममी) एक वर्षदेखि अचारको व्यापार गर्न थालेको छोरी स्मृति बरालले बताइन् । ‘ममीले सधै घरमा अचार बनाउनुहुन्थ्यो, ममीकै सीपलाई बजारमा ल्याउने प्रयास गरेको हो, अहिले त सामाजिक सञ्जालबाट मात्र बेचिरहेका छौं,’ उनले भनिन् । पेसाले इन्जिनियर स्मृतिले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अचार बेचिरहेकी छन् । ‘घरकै लागि मात्र बनाइने अचार अहिले काठमाडौं र पोखराका ग्राहकले पनि प्रयोग गरिरहेका छन्,’ उनले भनिन्, ‘महिनामा एक पटक आचार बनाउँछौं, त्यो सकिएपछि मात्र अर्को बनाउँछौं । लप्सी, कागती, निबुवा र मुलाको मात्र अचार बनाइरहेका छौं ।’ अब बिस्तारै बढाउने योजना रहेको उनले सुनाइन् । थोरै बनाउँदा पनि महिनामा २० देखि ३० हजारको कारोबार भइरहेको उनले बताइन् । बजारमा ब्रान्डअनुसारका फरक–फरक स्वादमा ‘रेडिमेड’ अचार पाइन्छ । घरायसी प्रयोजनका लागि बनाइने अचार अहिले बजारमा मात्र नभएर निर्यात पनि हुन थालेको भन्सार विभागको तथ्यांक छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा अचार मात्रै दुई करोड रुपैयाँको निर्यात भएको छ । लप्सी, मुला, गाजर, अकबरे खुर्सानी, बफ, चिकेन, माछालगायत टिम्मुरको छोपसमेत अचारका रूपमा बजारमा पाइन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा दुई करोड ६९ लाख ९४ हजार रुपैंयाँ बराबरको ४२ हजार दुई सय ९३ किलो अचार निर्यात भएको छ । गत वर्ष जापान मात्र पुगेको अचार यस वर्ष अस्ट्रेलिया, बेल्जियम, हङकङ पनि गएको विभागको तथ्यांकले देखाउँछ । गत वर्ष ३९ लाख २२ हजार रुपैयाँ बराबरको ११ हजार ४४ किलो मात्र अचार निर्यात भएको थियो । त्यसअघिअचार निर्यात भएको तथ्यांक विभागमा उल्लेख छैन । कोभिडले संसारभरकै व्यापार/व्यवसायमा असर परेको अवस्थामा नेपालबाट भने अचार निर्यात सुरु भएको हो ।

सीमा तामाङ, श्रावण ५, २०७९

-- पुरै पढ्नुहोस् --

अनलाइन किनमेलमा ‘जोखिम’

मुख्य कुरा त आफ्नो बजेट हेर्नुपर्छ । त्यसपछि आफ्नो संस्कार हेर्नुपर्छ । बजेटअनुसारको सामानको लिस्टिङ गर्नुपर्छ ।

सुजाता मुखिया, आश्विन १०, २०७८

-- पुरै पढ्नुहोस् --

सेयरमा महिला आकर्षण

थोरै पुँजी लगानी गरेर नाफा कमाउन सकिने भएकाले पनि यो बजार महिलाका लागि राम्रो प्लेटफर्म बन्न पुगेको छ ।

प्रकृति दाहाल , आश्विन ८, २०७८

-- पुरै पढ्नुहोस् --

अनुष्काको ‘माक्कुसे’

‘प्याकेजिङ राम्रो नहुँदा अरूलाई कोसेलीका रूपमा दिन पनि हिचकिचाउने भएकाले मैले मौलिक स्वादसँगै प्याकेजिङ र ब्रान्डिङतर्फ विशेष ध्यान दिएकी हुँ ।’

सीमा तामाङ, असार १३, २०७८

-- पुरै पढ्नुहोस् --

लुगा पुराना, झोला नयाँ

उनकी आमा सिलाइ कटाइमा पोख्त छन् । उनको यो सोचलाई मन पराए साथी राजनले पनि । उनीहरूले पुराना कपडा प्रयोगमा पनि आउने र उद्यमी पनि बन्न सकिने सोच प्रतियोगितामा प्रस्तुत गरे । उनीहरूको उक्त सोच प्रतियोगितामा उत्कृष्ट ठहरियो । उनीहरूले पुरस्कारस्वरूप एक लाख रुपैयाँ प्राप्त गरे

प्रकृति दाहाल , माघ २, २०७७

-- पुरै पढ्नुहोस् --

बचत–कर्जा

महिलालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले विभिन्न नामका बचत खाता सञ्चालनमा ल्याउने क्रम बढ्दो छ । महिला आर्थिक क्रियाकलापमा सक्रिय हुँदै गएकाले बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा खाता खोल्न प्रोत्साहन गरिरहेका छन् ।

प्रकृति दाहाल , मंसिर २५, २०७७

-- पुरै पढ्नुहोस् --

बालबालिकाका लागि  अर्थ व्यवस्थापन

काल्पनिक पसल बनाई बालबालिकाहरूलाई सपिङ गर्न सिकाउन सकिन्छ । यसबाट बालबालिकालाई विभिन्न आवश्यकताका सामानका बारेमा जानकारी हुन्छ भने उनीहरूको ज्ञानको दायरा पनि फराकिलो हुँदै जान्छ । त्यसका अतिरिक्त उनीहरूलाई धेरै र थोरै पैसाबीचको भिन्नता पनि थाहा हुँदै जान्छ ।

नारी संवाददाता , फाल्गुन ११, २०७६

-- पुरै पढ्नुहोस् --

क्रेज कौसी खेतीको

कौसी खेती भनेको घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेती हो । बढ्दो सहरीकरणका कारण कृषि क्षेत्र विस्थापित हुँदै गएको अवस्था छ । कृषि योग्य जमिनको कमीले पनि घरको छतदेखि खाली ठाउँमा आवश्यकतानुसार खेती गर्ने चलन बढ्दै गएको छ ।

नारी संवाददाता , माघ ९, २०७६

-- पुरै पढ्नुहोस् --

अनलाइन  सपिङ

डेक्सटप र ल्यापटप कम्प्युटरद्वारा हुने सबै काम मोबाइल फोनबाटै सम्भव छ तर स्मार्टफोनलगायतका हरेक मोबाइल सेट एन्टी भाइरसमुक्त हुँदैनन् ।

नारी संवाददाता , पुस १२, २०७६

-- पुरै पढ्नुहोस् --

मौसमको तरकारी खाए विषादीबाट जोगिन सकिन्छ

बेमौसमी तरकारी तथा फलफूल खानु हुँदैन । त्यसमा विषादीको मात्रा अत्यधिक हुन्छ । मौसमी तरकारी खाँदा विषादीबाट धेरै हदसम्म जोगिन सकिन्छ । भान्सामा आएका तरकारीलाई नुनपानीमा डुबाउँदा त्यसमा भएको विषादी कम गर्न सकिन्छ । तरकारी फ्रिजमा राखी पखालेर खाँदा पनि त्यसमा भएको विषादीको प्रभाव कम हुन्छ । सबैभन्दा राम्रो उपाय अर्गानिक तरकारी उत्पादन गर्नु हो । 

नारी संवाददाता , मंसिर १, २०७६

-- पुरै पढ्नुहोस् --

विषादी प्रयोग गर्दा ख्याल राख्नुहोस्

प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या सिर्जना गरेको छ । मौरीको संख्यामा कमी ल्याउन खेत–बारीमा प्रयोग गरिएका विषादी प्रमुख कारक रहेको प्रमाणित भैसकेको छ जसका कारण बाली–बिरुवामा हने परागसेचन प्रक्रियामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ ।

सुवर्णप्रभा गुरागाई, कार्तिक २८, २०७६

-- पुरै पढ्नुहोस् --