कथा

मामाघरको सपना

नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए । आदित्य र असीमका चङ्गा भने नीलो आकाशलाई छुन हतारिँदै थिए । गोडाहरू छतमा चल्मलाए पनि सपनाहरू चङ्गासँग अनन्तमा उड्न खोज्दै थिए ।लालीगुराँसको लाली धपक्क मुहारमा बाल्दै थचक्क बसी असीमले लामो स्वास फेर्दै आदित्यलाई फकाउन थाल्यो । ‘ठूलो मामुलाई भनन आदित्य, यसपटकको दसैंमा पनि तिम्रो मामाघर जान्छु नि, कति रमाइलो भएको थियो पोहोर, बरू तिम्रो होमवर्क म गरिदिन्छु, तिमीले भनेको पनि सबै कुरा मान्छु । के सोचेर हो, अचानक हातको लट्टाई भुईंमा यात्त राख्यो अनि आदित्यको मुहारमा हेरिरह्यो ।सधै त तिमी हाम्रै मामाघर जान्छौ नि, यसपटक त आफ्नै मामाघर जाऊ, पोहोर पनि हजुरआमाले मम्मीलाई कराउँदै हुनुहुन्थ्यो–‘भएभरका फौज बोकेर आउँछे ।’ आफ्नो सीङ पो भारी हुँदैन, अरूको बोझ कपासै भए पनि भारी हुन्छ, मामा–माइजूले पनि भन्दै हुनुहुन्थ्यो–‘दसैंमा त्यसै त भीड हुन्छ । अझ ल्याउनु नपर्ने मान्छेलाई पनि घिसार्दै ल्याइनु भाछ दिदीले ।’ ‘मैले आफ्नै कानले सुनेको थिएँ, मलाई पोहोरै नरमाइलो लाग्या थियो । बरू हामी सबैजना चन्द्रागिरि घुम्न जानुपर्छ म बाबालाई भन्छु ल । तिमी नरिसाऊ नि’ आदित्यले गम्भीर हुँदै असीमलाई सम्झायो ।तर पनि मलिन अनुहार लगाएर असीम एकोहोरो आकाशतिर हेर्दै मस्तिष्कमा विविध चित्र कोर्दै थियो । हरेक वर्ष दसैंमा आदित्यको मावल जान्छु भनेर असीम जिद्दी गर्थ्यो । तर आज आदित्यले एकैपटक सम्झाएको भरमा नै चूप लाग्यो । अब असीम पनि बुझ्ने भएछ भन्दै मख्ख पर्‍यो । तर पनि मुटु कता–कता चसक्क दुख्यो । विचरा यो अबोध बालकलाई के थाहा संस्कृतिको पर्खाल भत्काएर नौलो संस्कृतिको बेर्ना उमार्दै गरेको समाजको कथा ।गाउँमा हुँदासम्म त आधुनिक भइसकेका थिएनन् सविताका माइती पनि । जब सहरको हावा लाग्यो तब नव सम्भ्रान्त भए । माइतीमा सौतेनी आमा भए पनि बरू चित्त दुख्दैनथ्यो होला सविताको । ‘मलाई पो सासू भनेर सुनाउँदिन त, भित्रभित्र कति मन पोल्दो हो । आफ्नै छोरी, नातिनातिनाहरूको भावना पनि कस्तो बुझ्न नसकेका होलान् ? छ्या, भाइबुहारी पन्छिए पनि बाआमा त जिउँदैछन् । कस्तो घुमन्ते बानी लाग्यो । होइन, घुम्नै मन लागे पनि एक वर्ष पो हो त । हरेक वर्ष दसैं नै नमान्ने, त्यस्तो पनि हुन्छ । त्यो घरमा पनि हुर्कंदै गरेका बालबच्चा छन्, के सिक्छन् ?धर्म परिवर्तन गरेर दसैं नमनाएका भनौं भने, धर्म परिवर्तन गरेका पनि छैनन् । हिन्दू हौं भनेर नाक फुलाएकै छन् । धनमा कली बस्छ भन्थे हो रहेछ । परिक्षित राजाको त मति भ्रष्ट भाथ्यो रे सुनको मुकुट लगाउँदा । कली युगका मान्छेको झन् के कुरा गर्नु ? नत्र आफ्नो राष्ट्रिय चाडपर्वलाई किन बेवास्ता गर्दैछन्, किन दसैं हाउगुजी हुँदैछ ?एउटै घरको छानोमुनि ठूलो बुवाका छोराछोरी दसैंमा रमाइलो गर्न मामाघर जान्छन् । विचरा यो नाति कहिल्यै जान पाएन आफ्नो मामाघर । ठूलीआमाले सँगै लैजान्छे कि भनेर सधै पछि लाग्नुपरेको छ । मामाघरको माया, प्रेम बुझ्न अर्काको मामाघर गएर हुँदो हो कि क्या हो । त्यही पनि हरेक साल जान खोज्छ । ठूलीआमाले पनि कति घिसारोस् । पोहोर–परार त लिएर गएकी थिई बरा । आफ्नै दुई–दुईवटा सन्तान छन् । उसलाई पनि अर्थ्याउनुपर्‍यो । प्रश्न त अरूले पनि गर्लान् नि ।’ आफैसँग बर्बराउँदै थिएँ । सविताले बोलाउँदा पो झसङ्ग भएँ । ‘आमा खाजा तयार भयो, खान आउनू चाँडो चिसो हुन्छ नत्र ।हामी सासू–बुहारी भान्सामा खाजा खान थाल्यौं । आफूलाई त चित्त नबुझेको कुरा फ्याट्ट बोलिहाल्नुपर्छ । मुखमा आएको कुरा मनमा राख्दा छटपटी हुन्छ । त्यसैले भनिहालें–‘सविता तिम्रो मम्मीले साँच्चै क्याम्पस पढाउनुभएको थियो ?’‘होइन आमा स्कुलमा दस कक्षासम्म सामाजिक शिक्षा पढाउनुहुन्थ्यो ।’‘तिमीलाई चित्त दुख्ला आफ्नो माइती र मम्मीको कुरा गर्दा । तर मलाई तिम्रो मम्मीको यस्तो निर्णय फिटिक्कै मन परेन ।’‘कस्तो निर्णय आमा, मैले त कुरै बुझिन ।’‘दसैंमा जमरासम्म नराखी हरेक वर्ष पोको बोकेर घुम्न जाने निर्णय क्या ।’ होइन छोरा–बुहारीको खटनमा बाँच्नुपरेको भए पनि एउटा कुरा भन्नु । आफैं हर्ताकर्ता भएर पनि आफ्नै छोरा–बुहारीलाई कस्तो संस्कार दिँदै हुनुहुन्छ, सम्धिनीले । छोरी–ज्वाईं, नातिनातिना, भान्जाभान्जी, नन्द, आमाजू आउँदैनन् दसैंमा ? सधै ढोकामा ताल्चा ठोकेर हिँड्छन् कोही दसैंको मुखमा ?पुगिसरी आएपछि मान्छेले धर्म, संस्कृति पनि पोलेर खाँदा रहेछन् । होइन आफूलाई घुम्न मन लाग्यो भनेर मात्र हुन्छ त ? इष्टमित्र, नाता, कुटुम्बलाई कस्तो असर पर्छ सोच्नु पर्दैन ? ‘बरू हेर त तिम्री जेठानी दिदीको माइतीमा के नै छ र, तर पनि रीतिरिवाज, परम्परा र संस्कार राम्रोसँग मान्दै आएका छन् । किन उरूलधुरूल गर्नुपर्‍यो ? सन्तुलन मिलाएर चाडपर्व मान्दा त भैगो नि ।’हिजोआज यस्तो राम्रो सुविधा छ तर के गर्नु सुविधाले सद्बुद्धि नआउने रहेछ । जति धनी भए पनि आखिर के गर्नु ? पैसा खाने होइन होला ? संस्कार र संस्कृति नै बिर्सियो भने बाँकी के रहन्छ र ? ‘तिम्रा बुवा पनि उस्तै चाहिने ठाउँमा त श्रीमतीका कुराको विरोध पनि गर्नुपर्छ नि । तिम्रा भाइबुहारीको त झन् के कुरा गर्नु, उमेरदार छन् । उम्किन पाए को घरमा धस्सिएर बसोस् । घुम्न पाए के चाहियो र ?’तर पनि जोरीपारीले के भन्छन्–हेक्का राख्नुपर्छ नि ? ‘मेरो कुरा सक्किन नपाउँदै सविता बिच्चैमा प्वाक्क बोली । ‘आ ठीकै त हो नि आमा, खौरेर मसिनो र खुवाएर आफ्नो कोही हुँदैनन् । खर्च पनि थोरैले पुग्दैन । यो दसैं आउन लाग्दा मलाई पनि दिक्क लाग्न थालिसक्यो । जति गरे पनि खुसी कोही हुँदैनन् । उता भने बुहारीलाई कति मस्ती छ, दसैंमा घुम्न निस्कियो आनन्द । उतै मन्दिरमा टीका लगायो । ठाउँ पनि देखिने मुख पनि फेरिने ।फुपूका छोरीहरू त झन् दसैं बिदा पारेर हरेक वर्ष दुबई, इन्डोनेसिया घुम्न जान्छन् । पोहोर मलेसिया गएका थिए । यसपटक फेरि कता जान्छन् । मलाई त उनीहरू घुमेको फोटो देखेर औडाहा हुन्छ । हरेक वर्ष दसैंमा अफर दिन्छ रे । आफू त मुन्टो तन्काएर मोबाइलका भित्ता हेरेकै भर । साथीहरू घुमेको फोटोमा लाइक र कमेन्ट गर्दागर्दै बौलाएर पागलै हुन्छु कि जस्तो लाग्छ । दसैं मान्ने पैसाले त बरू घुमेर पो आइन्थ्यो । तर के गर्नु हामीलाई मात्र मान्नुपर्ने यो दसैं ।’ सविता नीलोकालो मुख लगाएर भान्सामा भाँडा ठटाउँदै भुत्भुताउन थाली–‘कस्तो खप्पर र छ मेरो त । अरूलाई फेसन गरेरै संसार घुम्दा पनि पुगेकै छ । आफूलाई भने खाएर कहिले नअघाउने मान्छेहरूको टहल गर्नुपरेको छ । दसैंको पेस्कीले आजसम्म एउटा राम्रो साडी किन्न सकेको छैन । दक्षिणा दिँदै ठिक्क हुन्छ । बल्लतल्ल आएको पैसा अनावश्यक खर्चमा सकिन्छ । होइन त्यो मासु पनि कति खान सकेको । मलाई चाहिँ रहर लाग्दैन होला त ? दसैंमा घुम्न जान र माइत जान कसलाई मन नलाग्ला । हरेक वर्ष कम्मर भाँचिने गरी खट्नुपर्छ दसैंको नाममा । मैले मात्र गर्नुपर्ने अरूलाई माइती हिँड्दै ठिक्क छ । जति गरे पनि कसैले देख्ने होइनन् । पुर्पुरो गतिलो हुँदो हो त म पनि घरमा ताल्चा ठोकेर मस्तीले हिँड्थें । होइन यो घुम्ने संस्कृतिको विकास कहिले होला ? कुनै परिवार घुम्न निस्कियो भने पनि कुरा काट्नुपर्ने । जसलाई जे हर्दा ठीक लाग्छ गर्न दिए भैगो नि । आफू जान नपाए पनि म त खुसी छु । कम्तीमा माइतीमा त रमाइलो छ । बुहारी र मम्मीलाई कति सन्चो । दसैं आओस् कि जाओस् आफ्नो परिवार मिलेकै छन् । आफ्नो त जाने ठाउँ पनि कतै छैन । लोग्ने गतिलो भए पो, आमाले जे भन्छिन् हस् हजुर गर्दै जुनी जाने भयो आमाको लालको । सिलौटोमा मेरै त अचार बन्ने होला नि चाडपर्वमा ?’‘के भाको होला तिमीहरूलाई सविता, दसैं भनेकै रमाइलो, भेटघाट, खानपिन एवं मान्यजनहरूको हातबाट टीका र जमरा थाप्दै आशीर्वाद लिने परम्परा होइन र ? जे उपलब्ध छ त्यसैमा रमाउँदै संस्कृतिको जगेर्ना गर्नुपर्छ, उरूको देखासिखी गर्ने होइन घाँटी हेरेर हाड निल्नुपर्छ । म पनि त छु । सबैले मिलेर काम गरौंला ।’ सविता असार–साउनको आकाशजस्तै अनुहार पारेर ठुस्स थिइन् । ‘आमा π आज निकै टाउको दुख्यो ।’ असीम मेरो काखमा आएर थचक्क बस्यो । टाउको छामेर हेरें रनक्क रन्किएको थियो । ‘सिटामोल खान दिएँ । टाउको सुम्सुम्याउँदै लगेर कोठामा सुताएँ । एकैछिनमा भुसुक्क निदायो पनि । असीमको अनुहार राम्रोसँग हेरें । निकै उदास, हतास र गलेको देखें । मेरो छाती भारी भयो ।’ बाहिर आएर सवितालाई फेरि भनें– ‘हेर सविता असीमलाई मावल जान नपाएर भित्रभित्रै चोट परेको छ । मान्छे सामाजिक प्राणी हो, आफूलाई मन नलागे पनि समाज र कुटुम्बहरूका लागि चाडपर्व मान्नुपर्छ । एकपटक तिम्री मम्मीलाई पनि सम्झाऊ । दसैं मानेर हिँडे पनि हुन्छ । म नबोलेको मात्र हो, देखिराछु हरेक वर्ष एउटा–एउटा बहाना बनाएर चाडपर्वको मुखमा बेपत्ता हुन्छन् ।सबैजना जमरा नै नराखी दसैंमा घुम्न निस्कने हो भने दसैं कसले मान्छ अनि दसैंलाई कसरी बुझ्छ आउने पुस्ताले । सबैले यसरी नै दसैंलाई हलुका रूपमा लिए भने हाम्रो सभ्यता कता पुग्ला ? भोलि पुस्तकका पानामा मात्र दसैंको इतिहास खोज्ने दिन आयो भने ? होइन त्यत्रो पढाएको मान्छे परम्परा र संस्कृतिको संरक्षण र सम्मान गर्नुपर्छ भन्ने थाहा छैन होला त ? परदेश गएकाहरू पनि राष्ट्रिय चाड भनेर दसैंमा घर फर्कन्छन् । भत्किएका भित्ताहरू मात्र टालटुल पारिँदैन दसैंमा, भत्किएका मन र सम्बन्धहरू पनि जोडिन्छ । भेटघाट र आशीर्वादको बहानामा टालटुल पारिन्छ सम्बन्धहरू । अनि पो सुन्दर र मजबुत हुन्छन् नाता । खोइ कस्तो सम्पन्नता छाएको हो यो सहरमा, म त बुझ्न सक्दिन । आफ्नो नातिको मुटु छियाछिया भएको देखेर मात्र बोलेकी हुँ, नत्र अन्ठाउने मान्छेहरूलाई सचेत पार्न कहाँ सकिन्छ र ?’ ‘आमा π यहाँ जस्तो होइन नि हाम्रो माइतीमा धेरै मान्छेहरू आउँछन् । गर्नै गार्‍हो हुन्छ । मम्मी पनि गर्दागर्दा वाक्क भएर अब त हिँड्न थाल्नुभयो । घुम्ने समय अरू बेला जुर्दैन, त्यसैले हो । कति गर्नु त गर्न पनि । जसले गर्छ उसैलाई धेरै दुःख हुने त हो । दसैंभरि अब कोही खट्न सक्दैनन् ? बरू घुम्ने बहानामा फुत्त निस्कियो आनन्द । बल्लतल्ल दसैंमा बोनस आउँछ त्यो पनि खानपिनमै झ्वाम हुन्छ । आफ्नो लागि कहिले गर्नु वाक्क लाग्दो । बरू अबदेखि हामी पनि जाऊँ न आमा कतै घुम्न ।’ ‘हे प्रभु π तिम्रो बुद्धि किन यस्तो भयो । तिम्रो संस्थामा बिदा पाइँदैन र ? बिदा लिएर कुनै बेला घुम्न जानु नि छोरासँग । किन चाडपर्व नै बहिस्कार गर्नुपर्‍यो । बोल्दाबोल्दै असीम सुतेको कोठाबाट असीम चिच्याएको आवाज आयो । हामी दगुरेर कोठामा पुग्दा त थर्थर काम्दै असीमले सवितालाई ग्वाम्म अङ्गालो हालेर बर्बरायो–‘मामु π मामाघर ःः जाने । मामालाई ःः भनिस्यो न हामी पनिःः दसैंमा मामाघर आउने ःःः स्कुलमा पनि होमवर्क दिएको छ–‘दसैं र मामाघर’ शीर्षकमा कथा लेख्न ।’असीम ज्वरोले निकै तातेकोले स्याँ ःःस्याँ गर्दै बोल्दै थियो । अचानक बेहोस भयो । हतार–हतार एम्बुलेन्स बोलाएर अस्पताल दगुरायौं । असीमको सिरानीमुनि स्केच बुक थियो । हतार–हतारमा हिँड्दा पनि स्केच बुक त हातमै रहेछ । असीम आइसीयूमा थियो । ‘उसको होस खुल्ने प्रतीक्षामा हामी बाहिर पर्खिरहेका थियौं । अनायास असीमको स्केच बुक पल्टाएँ–मामा घरमा उन्मुक्त भएर खेलेको, हाँसेको, घुमेको र चित्रहरू बनाएको रहेछ मेरा आँखा जलमग्न भए सवितालाई देखाएँ, उनी पनि मूर्छा परेर रुन थालिन् ।’असीम एकोहोरो भएको धेरै दिन भएको थियो । आदित्यसँग पनि त्यति बोल्दैनथ्यो । न मोबाइल चलाउँथ्यो, न खेल्थ्यो । जहिले पनि एक्लै टोलाएर बस्न मन पराउँथ्यो । खाना खान पनि उति मन गर्दैनथ्यो । भोक लाग्यो त कहिल्यै भनेन । ‘हेर्दाहेर्दै दुब्लाएर असीम सिन्काझैं भएको चालै पाएनौं । डाक्टरले आज भन्दा पो झसङ्ग भयौं ।’ असीमलाई दसैं र मामाघर जान नपाएको चिन्ताले भित्रभित्रै टोकिरहेको रहेछ । निकै लामो समयदेखि असीम तनाबले घेरिएको रहेछ । 

अनिता कोइराला, आश्विन १३, २०७९

-- पुरै पढ्नुहोस् --

क्वाटरवालीको रात

उनले जता हावा चल्छ त्यतै दियो बाल्छिन् । उनलाई दियो निभ्ने कुरा थाहा छ ।

भूमिका विष्ट, भाद्र ९, २०७९

-- पुरै पढ्नुहोस् --

अनौठो सपना

घरघरमा डरलाग्दो मातृसत्ता हावी भएको, नारीहरू शक्तिशाली भएका, दम्भ र अहंकारले आँखा नदेख्ने भएका, सही–गलत छुट्याउन नसकेर घर–घरमा कलह र अशान्ति मडारिएको, सबै चिच्याइरहेका, कराइरहेका, चारैतिर अस्तव्यस्त ।

अनिता कोइराला, भाद्र ९, २०७९

-- पुरै पढ्नुहोस् --

स्वास्नी

घरमा क्यामेलिया आइपुगेको थियो, निर्मलाले ल्याएकी ।क्यामेलिया देखेर पहिले त म झस्किएँ । बिर्सिइसेको कुराले पछ्यायो । किन ल्याएकी यो ? निर्मलासँग सोध्ने मन लागेको थियो । तर सोध्ने विचार पनि एकैछिनमा त्यागिदिएँ ।

दिनमान गुर्मछान, श्रावण १३, २०७९

-- पुरै पढ्नुहोस् --

शिक्षकका आमा

सन्तान चाँडै ठूलो होस् । उन्नति, प्रगति गरोस् । नाम कमाओस् । सबैजसो आमाको सपना हुन्छ । मेरी आमाका पनि यस्तै सपनाहरू थिए । बेला–बेलामा आफ्नो काखमा राखेर मायाले मेरो टाउको सुमसुम्याउँदै सपनाहरू छचल्काउनुहुन्थ्यो, ‘बावु तँ कहिले ठूलो होलास् ⁄ जागिर खालास् ।

नारी संवाददाता , असार १२, २०७९

-- पुरै पढ्नुहोस् --

साथीको माया

प्लस टु सकेर स्नातक पढ्न गाउँबाट उनी भर्खरै सहर झरेकी थिइन् । पिठ्युँपछाडि झोला बोकेको अवस्थामा क्याम्पस गेटमा भेटिएकी थिइन् । उनलाई देखेपछि मैले मन्द मुस्कान दिएँ, उनी पनि मलाई हेरेर हल्का मुस्कान दिँदै कक्षातिर लागेकी थिइन् ।

नारी संवाददाता , जेष्ठ १२, २०७९

-- पुरै पढ्नुहोस् --

चेलीको पीडा

मिठाईं खानु’, झोला खोलेर अगाडि सार्दै रामप्रसादले भन्यो, ‘आजै बनाएको ताजा रहेछ । तल गएर भर्खरै लिएर आएको ।’ 

डा.बालकृष्ण साह, वैशाख ९, २०७९

-- पुरै पढ्नुहोस् --

समझदार श्रीमती

​​​​​​​मुलुकमा बेरोजगारी र गरिबीका कारण अन्य युवाहरूजस्तै उनी पनि बिदेसिन बाध्य भए । साहूलाई आफ्नो घरबारी बन्धकी राखी म्यानपावर कम्पनीमार्फत उनी पनि मोटो रकम बुझाई त्यता लागेका रहेछन् । बूढीआमा, श्रीमती र सानो छोरालाई छाडेर बाहिरिनुपर्दाको पीडा सायद भोग्नेलाई मात्र थाहा हुँदो रहेछ ।

नारी संवाददाता , चैत्र ११, २०७८

-- पुरै पढ्नुहोस् --

आदत

चौतारामा वर–पीपलका ठूला–ठूला रूख थिए । पचास वर्ष भयो रे ती वृक्ष रोपेको भनी आमाले बेला–बेला सुनाउनुहुन्थ्यो । शनिबार पीपलको बोटमा जल चढाए राम्रो हुन्छ भनेर आमा झिसमिसेमै पीपलको पूजा गर्न जानुहुन्थ्यो 

प्रभा बराल, फाल्गुन ९, २०७८

-- पुरै पढ्नुहोस् --

आमाको माया 

इन्चोन एयरपोर्टबाट उडेको जहाजभन्दा तीव्र गतिमा रोजी श्रेष्ठको मन उडिरहेको थियो । यसो त उनको मन पहिले नै उडेर नेपाल पुगिसकेको थियो । आमा न परिन् आफ्नो मुटुको टुक्राजस्ती छोरीका लागि पाँच वर्षसम्म हृदयमा जमाएर राखेको वात्सल्यप्रेमको बाँध फुटाउन उनी आतुर थिइन् ।

नारी संवाददाता , माघ २८, २०७८

-- पुरै पढ्नुहोस् --

अस्तित्व

भास्करका कुरा सुनेर शारदा छक्क परिन् । भास्करको आँसु पुछ्दै भावुक स्वरमा भनिन्, ‘के भो हजुर ?

नारी संवाददाता , माघ ७, २०७८

-- पुरै पढ्नुहोस् --