विशेष

मातृऔंसी र आमा 

पूर्वीय धार्मिक ग्रन्थहरूमा जन्मदातालाई सम्मान, श्रद्धा, हेरविचार गर्दै मीठो बचनद्वारा माया गर्नुपर्ने उल्लेख छ । आमा, बुवा र गुरुलाई मन, बचन र कर्मले सम्मान गर्नुपर्ने कुरा पनि शास्त्रमा छ । अझ आमा हुन पाउनुलाई विशेष वरदान भएको उल्लेख छ । किनभने जस्तोसुकै परिस्थितिमा पनि आमा आफ्ना सन्तानप्रतिको कर्तव्य पूरा गर्न अग्रसर भएकै हुन्छिन् । आमाप्रति सम्मान र श्रद्धा प्रकट गर्न वैशाख कृष्ण पक्षको औंसी तिथिलाई मातृऔसींका रूपमा मनाइने परम्परा छ । धार्मिक, सांस्कृतिक, व्यावहारिक र नैतिक सबै दृष्टिकोणबाट यो औंसी महत्वपूर्ण मानिन्छ । यस धरातलमा आमा भएकाहरूले वस्त्र, गहना, फलफूल, मिठाईं आदि आफ्नो गच्छेअनुसार तयार पारी आमालाई सम्मान गर्ने, प्रसन्न पार्ने, आमा नभएकाहरूले आमालाई विधिपूर्वक सम्झने र शास्त्रको निर्देशनअनुसार पितृकार्य गर्ने दिन हो मातृऔंसी ।काठमाडौंस्थित मातातीर्थमा यो औंसीका दिन ठूलो मेला लाग्छ । मातातीर्थसँग जोडिएको पौराणिक एवं लोक कथा आज पनि जनमानसमा ताजै छन् । यसको पौराणिक कथा विष्णुभक्तका रूपमा रहेका वैश्यपुत्रसँग सम्बन्धित छ । ती वैश्यपुत्र विष्णुको वरदानले मुचुकुन्द नामका राजाको रूपमा प्रसिद्ध भएको वर्णन पुराणमा पाइन्छ ।एक किम्वदन्तीअनुसार धेरै पहिलेको कुरा हो–एकजना सम्पन्न वैश्य परिवारमा हुर्केको केटोले अपर्झट आमा गुमायो । सधै विष्णुको नाम जप्ने उक्त केटोले विष्णुलाई पुकारेर आमालाई ब्युँताइदिन अलाप–विलाप गरी गुहार माग्यो । विष्णुले सम्झाउने प्रयास गरे पनि केही लागेन । विष्णुले आफ्ना भक्तलाई मातातीर्थको कुण्डमा लगेर आमाको छवि दर्शन गराइदिए । आमाको दर्शन पाएपछि केटो प्रसन्न भयो र आमालाई आफूसँगै घर लान अनुरोध गर्‍यो । विष्णुले वैकुण्ठ लोक गैसकेको मानिसलाई पृथ्वीमा स्मरण मात्रै गर्न सकिने भन्दै भक्तलाई आमाको सम्मान बचन र कर्मले गर्ने तरिका बताए । त्यही जनविश्वास र आधारमा मातातीर्थमा आमाको सम्झनामा मेला भर्न गई पितृलाई प्रसन्न पार्ने विविध कार्यहरू गरिन्छ ।चन्द्रागिरि नगरपालिकाअन्तर्गत रहेको थानकोट नजिकैको मातातीर्थ परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित आमाको मूर्ति स्थापना गरिएको छ । यो तीर्थमा आमाको सम्झनामा तर्पण, पिण्डसहित श्राद्ध, सिदादान र पुरोहितहरूलाई भोजन गराउने परम्पराले निरन्तरता पाएको छ । मातातीर्थबारे प्रचलित एक अर्को किम्वदन्तीअनुसार धेरै पहिले यो स्थल गौचरनका रूपमा थियो । स्थानीय मानिस यहाँ गाईवस्तु चराउन आउँथे । दिनभरि गाईवस्तु चराएर यतै बस्नुपर्ने भएकाले आफूसँगै खाजाका रूपमा मकै, भटमास, बदाम, रोटी, चिउरा लिएर पुग्थे । आमा भएका र आमा बितिसकेका केटाकेटीहरूले खेलखेलमै एक दिन आफूले लिएर आएको रोटी फाल्दा चौरबाटै अलप भयो । आमा जीवित हुनेले फालेको रोटीको टुक्रा चौरमै रहने र आमा नहुनेले फालेको रोटीको टुक्रा हराउने भएकाले त्यहाँका स्थानीयहरूले बुद्धिजीवीहरूसँग छलफल गर्दा एउटा निष्कर्ष निकाले । यो पवित्र थलो रहेछ । यहाँ रहेको तीर्थ कालान्तरमा लोप भएको रहेछ । अब यसलाई फेरि उजागर गर्नुपर्‍यो । त्यसैले यो पवित्र थलो पुनः उजागर भएको छ । देव र पितृ दुवै कार्य गर्दा जलको आवश्यकता हुने भएकाले त्यही क्षेत्रमै उत्खनन् गरी पुरिएको कुण्ड पुनः स्थापना वा निर्माण गरिएको देखिन्छ । ओझेलमा परेको मातातीर्थले पुनः तीर्थको मान्यता प्राप्त गरेको छ । हामीले तिर्नुपर्ने तीन वटा ऋण (देव, मनुष्य र पितृ) मध्ये मातृ ऋण र दूधको भारको बारेमा हाम्रा धार्मिक शास्त्र र लोक साहित्यहरूमा प्रशस्त चर्चा भएका छन् । त्यसैले मातातीर्थको विशेष महत्व छ । आजको युगमा आमाको भूमिका बारे दोहोराएर सोच्नुपर्ने आवश्यकता महसुस भएको छ । सामाजिक संगठन दैनिक, कार्य क्षेत्र सँगसँगै पारिवारिक बनोट, दैनिक क्रियाकलापजस्ता कार्यमा आजको मानवको जीवनशैलीमा परिवर्तन आइसकेको छ । त्यसैले सन्तानको जन्म र त्यसमा आमाको भूमिकाबारे पुनः विचार गर्नुपर्ने आवश्यकता महसुस भएको छ । पितृसत्तात्मक हाम्रो समाजमा सन्तानको नागरिकता र अन्य महत्वपूर्ण निर्णय गर्ने अधिकार बाबु र उसका परिवारका सदस्यलाई छ । हाम्रो देशमा आजको दिनसम्म एउटी आमाले आफ्ना सन्तानलाई आफ्नो थर, आफ्नो सम्पत्ति अंशका रूपमा दिन कानुनी युद्ध लड्नुपरेको अवस्था छ । हाम्रो देशमा पनि आमाहरूको प्रजनन शक्तिमाथि नियन्त्रण गर्ने प्रचलन बढ्दैछ । आमा बन्नु जति गरिमामयी, ममतामयी र सम्माननीय छ, त्यति नै चुनौतीपूर्ण पनि छ । मातृत्व आगोको भुङ्ग्रो, काँडाको बिछ्यौना र मरुभूमिसरह नबनाउनका लागि घरपरिवारका सम्पूर्ण सदस्य र नीति निर्माण गर्ने निकायमा बस्ने सबैले विचार पुर्‍याउनुपर्छ ।‘ईश्वरको दृष्टि पुग्न नसकेको ठाउँमा पनि आमा पुग्न सक्छिन् ।’ यो भनाइ सत्यको धेरै नजिक छ । सृष्टिकी सर्जक आमा भए पनि हुने–खाने आमा र हुँदा खाने आमाहरूको बीच धरती–आकाशको फरक छ । सुत्केरी व्यथा एउटै भए पनि सुविधासम्पन्न अस्पतालमा नयाँ जीवन जन्माउने र प्राण हत्केलामा राखेर एक युग जन्माउने आमाहरूको व्यथा–कथामा ठूलो फरक छ । जस्तोसुकै परिस्थितिमा पनि मातृत्व एउटा वरदान हो । हाम्रा शास्त्रहरूमा गर्भवती महिला अर्थात् भविष्यका आमाहरूलाई विशेष हेरचाह गर्ने, सुन्दर अर्ति एवं कथाहरू सुनाउने र पौष्टिक आहार खुवाउने संस्कारहरूको वर्णन गरिएको छ । गर्भवती आमाको तनावग्रस्त स्थितिको प्रभाव गर्भस्थ शिशुमा पर्ने कुराको वैज्ञानिक पुष्टि भैसकेको छ । त्यसैले स्वस्थ सन्तानको कामना गर्ने आमाले आफूलाई तनावमुक्त स्थितिमा राख्नुपर्छ । त्यसका लागि कार्यालय र घरपरिवारका सदस्यहरूले पनि अनुकूल वातावरण बनाउन सहयोग गर्नुपर्छ ।आमाहरूको सुरक्षा र सम्मानको विषयमा चर्चा गर्दा अपराध न्यूनीकरण उपायबारे छलफल र अवलम्बन अत्यावश्यक छ । सन्तानको जन्ममा आमाको विशेष भूमिका हुने भएकाले सोहीअनुरूप कानुनमा व्यवस्था हुनुपर्छ । विभिन्न कानुनी कुरामा आमालाई अग्राधिकार दिन पहल हुनुपर्छ । नीति निर्माण गर्ने स्थानमा महिला नपुगेसम्म महिला अर्थात् भविष्यका आमाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन गाह्रो छ । आमाको त्याग, तपस्या र ममताको दाँजोमा उनलाई गरिने सम्मान जहिले पनि अपूर्ण नै हुन्छ । यसो हुँदाहुँदै पनि मातृऔसींको दिन आमालाई सम्झने, सम्मान गर्ने विशेष दिन हो । 

प्रा.डा. वीणा पौड्याल, वैशाख १४, २०७९

-- पुरै पढ्नुहोस् --

ममतामयी आमाहरू

कवयित्री चाँदनी शाहका यी शब्दहरू ‘आमा’ लाई बुझ्न पर्याप्त हुन सक्छन् । हो, ‘आमा’ केवल नाता–सम्बन्ध मात्र होइन । त्याग, समपर्ण र प्रेमको पुञ्ज पनि हो । ‘आमा’ भौतिक शरीरमात्र होइन, यो त ममताको विराट अनुभव पनि हो ।

सुजाता मुखिया, वैशाख १४, २०७९

-- पुरै पढ्नुहोस् --

पौरखी हात 

काम सानो–ठूलो हुँदैन । सानो कामबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ । अहिले पुरुषले गर्ने काममा महिलाले समेत हात बढाउन थालेका छन् । सिकर्मी, डकर्मी, चालकलगायतका क्षेत्रमा महिलाको उपस्थिति देख्न सकिन्छ ।

 प्रकृति दाहाल , वैशाख १३, २०७९

-- पुरै पढ्नुहोस् --

‘निर्भीक नारी’का चुनौती खोज्दै ‘नारी’

यस प्रतिष्पर्धात्मक युगमा आफू अब्बल नभएसम्म पहिचान कायम गर्न गाह्रो छ । त्यसैले जतिसुकै कठीन परिस्थितिमा पनि हरेक कडा प्रतिस्पर्धामा आफूलाई खरो उतार्नै पर्छ । अझ महिलाले त झनै बढी संघर्ष र प्रतिस्पर्धा गर्नुपर्छ ।

इछिङमा तुम्बाहाङफे, चैत्र २४, २०७८

-- पुरै पढ्नुहोस् --

आयुर्वेदमा महिला क्रेज  

 तीन वर्षअघि देशमा कोरोना महामारी जसरी फैलिएको थियो त्यसैगरी फैलियो आयुर्वेद औषधि । यसमा पनि गुर्जोले त देशव्यापी चर्चा नै पायो । रोगप्रतिरोधक क्षमता बढाउन संक्रमितहरूले विभिन्न औषधि प्रयोग गर्न थाले ।

प्रकृति दाहाल, चैत्र ९, २०७८

-- पुरै पढ्नुहोस् --

प्रेममा समता

नेपालगञ्जस्थित ‘नौलो सिर्जन नेपाल’ का शिला बागलुङमा जन्मिए, एउटी छोरीका रूपमा तर उनलाई बाल्यकालदेखि नै केटी साथी कहिल्यै मन परेन । सानैदेखि कबड्डी, फुटबलमा रुचि राख्ने उनी जहिले डोरी बाँधेको हाफ पाइन्टमा ठाँटिन रुचाउँथे ।

 लक्ष्मी भण्डारी, फाल्गुन २, २०७८

-- पुरै पढ्नुहोस् --

फिजियोथेरापिस्ट महिला

‘फिजियोथेरापी’ उपचार एउटा वैज्ञानिक आधुनिक चिकित्सा पद्धतिका रूपमा विकसित हुँदै गएको छ । यसले शरीरका विभिन्न अंग (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न उपकरणमार्फत शारीरिक व्यायामका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्छ ।

 प्रकृति दाहाल , माघ १२, २०७८

-- पुरै पढ्नुहोस् --

कर्मक्षेत्रका प्रतिभा

जीवन संघर्ष हो । संघर्षले नै मानिसलाई सार्थक र सफल जीवन जिउने पथमा डोर्‍याउँछ ।

 लक्ष्मी भण्डारी, पुस २१, २०७८

-- पुरै पढ्नुहोस् --

महामारीको मार

लकडाउन हुनासाथ ‘वर्क फर्म होम’ लागू भएको छ । यसको प्रत्यक्ष मारमा समेत महिला परेका छन् ।

प्रकृति दाहाल , जेष्ठ ३, २०७८

-- पुरै पढ्नुहोस् --

सडक तताउने युवती

‘हाम्रो समाजमा छोरा नै चाहिने संस्कार पनि छोरीहरूले नै तोड्नुपर्छ, पितृसत्तामक सोचलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’

प्रकृति दाहाल , चैत्र ५, २०७७

-- पुरै पढ्नुहोस् --

महिला मर्ममा पुरुष

‘लैंगिक समानता आफैंमा एउटा निश्चित लक्ष्यभन्दा परको विषय हो । दरिद्रता न्यूनीकरण, दिगो विकास र सुशासनका चुनौती चिर्ने पूर्वसर्त नै लैंगिक समानता हो ।’

लक्ष्मी भण्डारी, फाल्गुन ६, २०७७

-- पुरै पढ्नुहोस् --

नेतृत्वमा अब्बल

‘आत्मविश्वासलाई नेतृत्वको मूल गुण मान्ने नमुना कलेज फेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्टकी संस्थापक ज्ञानीशोभा तुलाधरलाई यो स्थानसम्म पुग्न कम भनाइ सुन्नु परेको छैन । न्यूरोडको हुनेखाने परिवारकी छोरीले दर्जीको लुगा सिलाउने काम गर्न थाली भनेर उनले छोएको पानी नखानेहरू आज उनको प्रशंसा गरेर थाक्दैनन् ।

लक्ष्मी भण्डारी, माघ ९, २०७७

-- पुरै पढ्नुहोस् --