राम्रो काम

सीपले आत्मनिर्भर 

पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् । नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको पहल र संयोजनामा ‘ओल्गापुरी भोकेसनल स्कुल’ ले ती कम्लरीहरूलाई प्रशिक्षण दिँदै आएको छ । यसैक्रममा पछिल्लो महिनामात्रै तीन सयभन्दा बढी पूर्वकम्लरीले एकैसाथ सिलाइ–बुनाइ प्रशिक्षण पूरा गरेको प्रमाणपत्र लिएको संघका उपाध्यक्ष राजकुमार कार्कीले बताए । उनका अनुसार सीप सिकेर सक्षम भएपछि उनीहरूले मासिक २० देखि ३५ हजारसम्म कमाउन सक्ने भएका छन् ।‘महिलाको आर्थिक सशक्तीकरण परिवार, समाज र मुलुक निर्माणको खुड्किलो हो भन्ने बुझेर हामीले यसमा पहल गरेका हौं’ राजकुमारले भने, ‘साथै स्वदेशी उत्पादन बढाउने र मुलुकलाई योगदान दिने पनि हाम्रो उद्देश्य हो ।’ उनी आफैले संचालन गरेको ‘ओम अपेरियल’ कम्पनीमा ५० जनाभन्दा बढी पूर्वकम्लरीलाई जागिर दिएका छन् । बर्दियाकी २२ वर्षीया धनकुमारी थारू पूर्वकम्लरी हुन् । १० कक्षासम्म पढेकी उनी यिनै संस्थाबाट सिलाइ–बुनाइको सीप सिकेर आत्मनिर्भर बनेकी छन् । ‘संसारको जुनसुकै कुनामा गएर बाँच्ने भएकी छु’ उनले भनिन्, ‘मेरो हातमा सीप छ, सीप भयो कि पैसा फल्यो ।’ हाल उनले मासिक ३० देखि ३५ हजार रुपैंयाँ कमाउने गरेको बताइन् । उनकै कमाइले परिवार धानेको छ । कमाइ गर्न थालेपछि आफूप्रति समाज र इष्टमित्रले गर्ने व्यवहार पनि फरक भएको उनको भनाइ छ । यसैगरी, कैलाली टीकापुरकी २५ वर्षीया सुमा चौधरीको कथा पनि फरक छैन । उनले पनि सिलाइ–बुनाइको सीप सिकेर मासिक २० देखि २५ हजार रुपैयाँ कमाउँछिन् । उनी आफूलाई चाहिने खर्च अड्कलेर अरु घर पठाउँछिन् । उनी भन्छिन्, ‘आफू कमाउने भएपछि मन लागेको लाउन–खान पाइएकी छु । जीवनमा खुसी मिलेको छ । घरमा आमा–बुवा र भाइ छन्, मेरै भरमा बाँचिरहेका छन् ।’कञ्चनपुर वनशाहकी २५ वर्षीया रीना राना थारु पनि पूर्वकम्लरी हुन् । उनी पनि सीप सिकेर घरपरिवारका लागि खर्च निकालिरहेकी छन् । ‘सीप सिकेपछि जीवनमा नयाँ रंग थपिएको छ’ उनले भनिन्, ‘बाँच्ने रहर पलाएको छ ।’ परिवारका लागि खर्च पुर्‍याएर उनी बचत पनि गर्छिन् । कमाउन थालेयता आफ्नो शिर ठाडो भएको उनी सुनाउँछिन् । उनले भनिन्, ‘अब त कसैसँग डर र धक लाग्दैन । निर्धक्क जीवन बाँचेकी छु । विवाह गर्ने मन पनि छैन ।’ कैलालीकी २५ वर्षकी निभा चौधरी पनि आत्मनिर्भर छिन् । उनले पनि औसतमा ३० देखि ३५ हजार रुपैंयाँ मासिक कमाउने गरेको बताइन् । सात जनाको परिवार धानिरहेकी निभा भन्छिन्, ‘आधा तलब परिवारलाई पठाउँछु, बाँकी केही बचत गरी मन लागेको ठाउँमा खर्च गर्छु ।’ उनले आम्दानी गर्न थालेपछि सम्मान पाएको बताइन् । ‘महिलालाई स्वरोजगार र आत्मनिर्भर हुन जरुरी छ’ उनले भनिन्, ‘कसैका अगाडि हात फैलाउन नपरेपछि आत्मसम्मान महसुस भइरहेको छ ।’ बाँके नेपालगञ्जकी २७ वर्षीया दीपा वलीको भिन्नै कथा छ । विवाहपछि उनले धेरै दुःख पाइन् । सानै उमेरमा बच्चा पाइन् । ‘बच्चा पाल्न गिट्टी–बालुवामा काम गर्न थालें, ज्यामी काम गरें,’ उनले भनिन्, ‘१०–१२ हजारभन्दा कमाइ नहुने, पुग्दै नपुग्ने । त्यसपछि अरु विकल्प खोज्न थालें ।’ त्यसैक्रममा उनले संघको संयोजन रहेको संस्थाबाट सिलाइ–बुनाइको प्रशिक्षण लिइन् । उनी हाल सीप बेचेर आत्मनिर्भर भएकी छन् । आफूले कमाउन थालेपछि पहिले नबोल्ने आफन्तले समेत सम्मान दिन थालेको उनले बताइन् ।  राजकुमार कार्कीउपाध्यक्ष, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघहातमा सीप भए मानिसले चाह्यो भने कायापलट गर्न सक्छन् । यही सोचका साथ हामीले महिलालाई सिलाइ–बुनाइ सीप सिकाउने लक्ष्य लियौं । त्यो लक्ष्यमा हामी पुग्दै गरेको अवस्था हो । पाँच सयभन्दा बढी कम्लरीलाई सिलाइ–बुनाइसम्बन्धी प्रशिक्षण दिने उद्घोष गरेको हामीले तिनीहरूको रोजगारी ग्यारेन्टीको घोषणा समेत गर्‍यौं । हाल तीमध्ये तीन सयभन्दा बढी स्वरोजगार बनिसकेका छन् । हामी नेपालीका लागि आवश्यक हरेक तयारी सामान विदेशबाट आयात भएको देखिन्छ । हामी परनिर्भरतामा बाँचे झैं भान हुन्छ । गर्न सक्ने उमेरका युवा जनशक्ति बिदेसिनुपर्ने बाध्यता छ । सीप नभएका, अवसर नपाएका र बेरोजगार भएर दुःख पाएका महिलालाई हामीले सीप सिकाएर स्वरोजगार बनाई आय आर्जनको अवस्थासम्म पुर्‍याउन त्यति सजिलो छैन । तर, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघ र ओल्गापुरी भोकेसनल स्कुलको प्रयासमा आज केही महिलाहरूले सीप सिकेर आय आर्जन गरेको देख्दा मानव धर्म यही हो भन्ने जस्तो लाग्छ । आज दिदीबहिनीका हातले बनाएका सामग्री नेपालभर छरिएका छन् । अब छिट्टै यिनको सीप विदेशसम्म पुग्ने तयारीमा छ । यसो हुँदा यी दिदीबहिनीको सीप संसारभर फेलिने मात्र नभएर आम्दानी पनि दोब्बर बढ्छ । विदेशी ब्रान्डलाई प्रश्रय दिने सम्पूर्ण नेपालीहरूलाई हाम्रै दिदीबहिनीहरूद्वारा बनाइएका स्वदेशी उत्पादन प्रयोग गरी राष्ट्र निर्माणमा सहयोग गरौं भन्न चाहन्छु । 

नारी संवाददाता , माघ ८, २०७९

-- पुरै पढ्नुहोस् --

पिठ्युँमाथि आमा

भूमे गाउँपालिका–५ सेराबाङ रुकुमपूर्वका ६५ वर्षीय रतनबहादुर बुढा सधै आमालाई बोकेर हिँडिरहेका हुन्छन् । ९६ वर्षीया आमा सुनसरी बुढा छालाको क्यान्सरले थलिएकी छन् । दिसापिसाब भएको थाहै पाउँदिनन् । रतनबहादुर आमासँगै पिठ्यँुमै दिसापिसाब थाप्ने झोला बोकेर हिँडिरहेका हुन्छन् ।

दुर्गालाल केसी, आश्विन २५, २०७९

-- पुरै पढ्नुहोस् --

महिला बन्दीलाई ‘ब्रेन स्ट्रोमिङ’

‘कुनै पनि व्यक्ति जन्मदै आपराधिक मानसिकता लिएर जन्मिएको हुँदैन, कारणवश क्षणिक आवेश, मानसिक असन्तुलन, असामान्य पारिवारिक स्थितिबाट ग्रसित भएर अपराध गर्छ ।

विद्या राई, वैशाख १५, २०७८

-- पुरै पढ्नुहोस् --

मनहरीमा आमाघर

पूर्वीय सभ्यतामा सामूहिक परिवारको मूल्य र मान्यतालाई जगेर्ना गर्न आमाघर सेवा आश्रम बन्न लागेको हो ।

लीना दुवाडी, चैत्र ५, २०७७

-- पुरै पढ्नुहोस् --

एक कचौरा पानी एक कचौरा खाना अभियान 

हामीले हाम्रो वरिपरी जथाभावी छोडिएका पशुहरूको हेरचाह गर्न सक्छौं, लकडाउनको क्रममा मात्र नभएर यसपछि पनि पशु कल्याणका सबै काम गरौं भनेर । अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठले एकैसाथ ट्विट गरेर यस्तो सन्देश दिए ।

लक्ष्मी भण्डारी, चैत्र २८, २०७६

-- पुरै पढ्नुहोस् --

महिलालाई अटो  मेकानिक तालिम

‘उद्यम विकासमा कसैलाई पछाडि नछोडौं’ लेखिएको कालो ज्याकेट लगाएका महिलाहरू देखिन्छन् । हातमा रेन्च, पिलास र अन्य उपकरण लिएका उनीहरू मोटरसाइकल मर्मत गर्न थाल्छन् । उक्त दृश्य देख्दा अधिकांश आश्चर्यमा पर्छन् ।

नारी संवाददाता , चैत्र १०, २०७६

-- पुरै पढ्नुहोस् --

नि:शुल्क स्यानेटरी प्याड वितरण अभियान

सरकारको नीति तथा कार्यक्रममा पनि परेको उक्त अभियानले महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरूको संख्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा धेरैले गरेका छन् । 

नारी संवाददाता , पुस २९, २०७६

-- पुरै पढ्नुहोस् --

सिड्नीको काल्टर्नमा नेपाली युवाले सुरु गरे ‘मायालु मिनी मार्केट’

विशेष गरेर अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुको बसोबास बाक्लिदै गएको छ । फलस्वरुप यस क्षेत्रमा नेपालीलाईनै लक्षित गरी विभिन्न व्यवसायहरु सन्चालनमा आएका छन् । ति व्यापार व्यवसायले राम्रो बजार पाएको समेत ब्यापार ब्यबसायमा संलग्न नेपालीहरुले बताउँदै आएका छन् । 

नारी संवाददाता , पुस २२, २०७६

-- पुरै पढ्नुहोस् --

थुप्रै सन्तानकी आमा–मीना

मीना बरालका ४६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । 

सरोज बस्नेत, पुस ३, २०७६

-- पुरै पढ्नुहोस् --

युवाहरूलाई रोजगारी दिँदै 

एक वर्षअघि सिरहाको मिर्चैया नगरपालिका–१२ मा राजपति पूर्वेले सञ्चालनमा ल्याएको आधुनिक एनआरपी सैलुनको तेस्रो शाखा उदयपुरको कटारीमा सञ्चालनमा आएको छ । सिरहामै दुई स्थानमा सञ्चालनमा ल्याएपछी तेस्रो शाखा कटारी आइपुगेको सैलुनले सिन्धुलीमा चौथो शाखा खोल्ने तयारी गरिरहेको बताइएको छ ।

ऋषि राई, कार्तिक ३०, २०७६

-- पुरै पढ्नुहोस् --

बाहुबली सोनाम

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–४ का सोनाम तामाङ केही दिनयता सामाजिक सञ्जालमा छाइरहेका छन् । गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परेका यात्रुहरूको उद्धार गरेसँगै तामाङले अहिले देशभरबाट प्रशंसा पाइरहेका छन् ।

नारी संवाददाता , कार्तिक २२, २०७६

-- पुरै पढ्नुहोस् --