Successfully Copied

हरेक नारीभित्र असल कुरा छन्

संसारमा नारीहरूले आ-आफ्नै इतिहास बनाएका छन्। त्यसमा नेपाली नारीहरूको आफ्नै इतिहास छ। नेपाली नारीहरू संसारको जुनसुकै कुनामा रहेर पनि हिम्मत र साहस देखाउन पछि परेका छैनन्, आफ्नो परिश्रम खेर जान दिएका छैनन्।

संसारमा नारीहरूले आ-आफ्नै इतिहास बनाएका छन्। त्यसमा नेपाली नारीहरूको आफ्नै इतिहास छ। नेपाली नारीहरू संसारको जुनसुकै कुनामा रहेर पनि हिम्मत र साहस देखाउन पछि परेका छैनन्, आफ्नो परिश्रम खेर जान दिएका छैनन्।

नेपाल छोडेर टाढा मुलुकमा आए पनि आफूभित्रको ममता, साहस आदि प्रदर्शन गरी समाज विकासमा पनि टेवा पुर्‍याउँदै आएका छन्। चाहे सामाजिक रूपमा होस्, चाहे राजनीतिक रूपमा होस्, चाहे आर्थिक रूपमा होस्, जुनसुकै क्षेत्रमा पनि उनीहरूले पुर्‍याएको योगदानको कदर गर्न सक्नुपर्छ। कतिपय नारी एक्लो अवस्थामा पनि छन्। यद्यपि उनीहरूले आफूलाई कमजोर मानेका छैनन् बरु साहस र हिम्मतले अरू नारीलाई हौसला प्रदान गरेका छन्।

हामी नारीहरू अरूको राम्रो कुरा सिक्न पछि नहटौं, नराम्रा कुराहरूलाई मात्र अघि नसारौं। मपाईंत्वको भावनालाई कहिल्यै शिरमा नराखौं। राम्रो कामको जहिले पनि प्रशंसा गरौं। राम्रा कुराहरू एकअर्कामा बाँडौं। अर्काको आलोचना गर्न छाडौं। अर्काको आलोचना गर्नुभन्दा पहिले आत्मालोचना गरौं, तब मात्र नारीको अर्थ रहनेछ। नारीभित्र धेरै असल कुरा लुकेका छन् ती असल कुराहरूलाई बाहिर ल्याऔं र खराब कुरा भुलौं तब मात्र परिवार, समाज एवं राष्ट्रको उन्नति हुनेछ।

- कमला प्रसाईं, न्युयोर्क

महिला स्वतन्त्रताको प्रश्न  

महिला समानता र स्वतन्त्रताको चर्चा प्रशस्त हुने गरेको छ तर महिला स्वतन्त्रता के हो भन्ने विषयमा भने अझै अन्योलपूर्ण स्थिति छ। कुरा जति नै ठूला गरिए पनि व्यवहारमा महिलाहरूले असमानता झेल्नुपरेको छ। देश संक्रमणकालबाट गुजि्ररहँदा महिला समानताका पक्षमा उठेको आवाजले गति लिन सकेको पाइँदैन। शिक्षित महिलाहरू समेत शारीरिक एवं मानसिक उत्पीडनको सिकार भैरहेका छन्। महिलामाथि हत्या, हिंसा, बलात्कार, छेडखानीजस्ता कैयौं अभद्र क्रियाकलाप हुने गरेका छन् तर त्यसका विरुद्ध ठोस कदम चाल्ने काम राज्यका कुनै पनि संयन्त्रबाट भएको छैन। त्यस्ता कार्य रोक्न संस्थागत अग्रसरताको पनि खाँचो छ। महिलाका लागि यस्तो अवस्था सह्य हुनेछैन। उनीहरू आफ्नै बलबुतामा स्वतन्त्र हुनेछन् र पुरुषसँग काँधमा काँध मिलाएर अघि बढ्ने दिन आउनेछ।

- भैरवी खड्का, गोंगबु

नारी समयसापेक्ष बनोस्   

म नारीको नियमित पाठक एवं हितैषी हुँ। म करिब सात वर्षदेखि नारी पढ्दैछु। यो अवधिमा नारीमा धेरै परिवर्तन आएको पाएकी छु। यो नेपाली नारीको प्रतिनिधिमूलक पत्रिका हो। केही समययता यसमा पर्याप्त परिवर्तन पनि भएका छन् जुन निकै राम्रा छन् तथापि यस्तो परिवर्तन अझै समयसापेक्ष हुन सकिरहेको छैन। वर्तमान नारीको भावना बुझ्न नारीले पाठक मत सर्वेक्षण गरी त्यसबाट प्राप्त हुने सुझावहरू ग्रहण गर्न सके अझ राम्रो हुन्छ। नारी टिमले मेरो यो सुझाव मनन् गरी यथोचित कदम चाल्नेछ र आफूलाई समयानुकूल परिवर्तन गरी नेपाली महिलाका पक्षमा काम गर्नेछ भन्नेमा विश्वस्त छु।

- विद्या पुर्कोटी, भक्तपुर

महिला क्षमताको सम्मान गरौं

हाम्रो सामाजिक व्यवस्थाले महिलालाई होच्याएको छ, संस्कार र परम्पराले आदर्शको कुरा जे गरे पनि व्यवहारमा भने पुरुषको अनुगामिनी बनाएको छ फलस्वरूप महिलाहरू पुरुषमाथि निर्भर रहनुपरेको तीतो यथार्थ विद्यमान छ। क्षमताका हिसाबले महिलाहरू कुनै पनि अर्थमा पुरुषभन्दा कम छैनन् तर सामाजिक परिपाटीका कारण क्षमता देखाउन नपाएर खुम्चिरहेको छ उनीहरूको प्रतिभा। महिलाको क्षमतालाई कम आँक्ने र पोथीमाथि भाले जातिको प्रभुत्व जसरी पनि कायम रहनुपर्छ भन्ने मान्यता कायम रहेसम्म महिलाहरूको क्षमताको उचित सम्मान हुँदैन तसर्थ त्यस्तो मान्यता मिल्काउन सबैजना लागिपरौं र महिलाको क्षमताको सम्मान गरौं।

- गौरी उपाध्याय, स्वयम्भू

नारीले सबै महिलालाई समेटोस्

म नारीको नियमित पाठक हुँ। यसका नियमित स्तम्भ एवं लेखरचनाहरू ज्ञानबर्द्धक छन्। यद्यपि यसमा अझै परिमार्जन आवश्यक देखिन्छ। केही समययता यसमा पर्याप्त परिवर्तन पनि भएका  छन् जुन स्वागतयोग्य छ। यसमा अझै सान्दर्भिक कुराहरू समेट्न फरक स्तम्भ थप्ने काम गरियोस्। समाचारमा तस्बिर कम भयो, दुई पृष्ठ बनाएर तस्बिर बढी छापियोस्। सम्बन्धित विशेषज्ञको कुराकानीमा आधारित टिप्स निकै राम्रो छ, यस्तो स्तम्भले निरन्तरता पाओस्। पत्रिकाको पृष्ठसंख्या वृद्धि गरेर बढीभन्दा बढी पठनीय विषय समेटियोस्। आम नेपाली महिलाको सहयात्री बन्न सकोस्-नारी। यो हरेक वर्गका नेपाली महिलाका सुख-दुःखलाई सम्बोधन गरेर सबैको पत्रिका बन्न सफल होस्।

- आरती गुरुङ, इलाम

राजधानीको सडक छिटो बनोस्

राजधानी काठमाडौंका सडक सार्‍है अव्यवस्थित एवं असुरक्षित छन्। जनसंख्याको चाप अत्यधिक छ, सवारी साधनको संख्या सडकको क्षमताभन्दा बढी छ तर सडकहरू बिरामी छन्। सडक बिस्तारका लागि भत्काइएका अधिकांश स्थानमा निर्माण कार्य कछुवा गतिमा चलिरहँदा राजधानीबासीले सास्ती बेहोर्नुपरिरहेको छ। बनिसकेका सडकपेटी फुटपाथे व्यापारीका साथै निजी तथा भाडाका सवारी धनीहरूको कब्जामा छ। पैदल हिँड्नेहरूको कुनै अधिकार छैन। धूलो उडेर बसिनसक्नु हुन्छ, बालबालिका, वृद्धवृद्धा एवं बिरामीहरूको बेहाल हुन्छ यात्रा गर्दा। बाटो काट्न पनि निकै गार्‍हो छ। अधिकांश गाडी चालकमा शिष्टता र अनुशासनको अभाव छ। यस्ता समस्याको समाधान सडक निर्माण पूर्णरूपले नसकिएसम्म कायम रहनेछ तसर्थ राजधानीको सडक निर्माण छिटोभन्दा छिटो सम्पन्न होस्।  

सरिता श्रेष्ठ, बानेश्वर

 Image