नवदेवी सम्मान २०७० सम्पन्न

 नवदेवी सम्मान २०७० सम्पन्न

लक्ष्मी भण्डारी थापा

चैत्र २, २०७०

हरेक वर्ष क्रियटिभ स्टेटमेन्ट्सका नाममा सञ्चालित सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान यो वर्ष सिर्जना सिंह योञ्जनको प्रस्तुतिमा सम्पन्न भएको छ । नारी सम्मानको यो बाह्रौं संस्करणमा यसपटक केही नयाँ र पृथक् कार्यक्रम समावेश थिए । नारीका शत्रु नारी भनिने हाम्रो नेपाली समाजमा नारीको उन्नति, प्रगति एवं विकासमा नारीको सहयोग तथा सहकार्य मूल मन्त्र लिएको यो सम्मान कार्यक्रममा नवदेवीका रूपमा पूजा गरिने लक्ष्मी, सरस्वती, भवानी, भगवती, दुर्गा, अन्नपूर्ण, महामाया, करुणा आदि शक्तिस्वरूपा देवीका नाममा क्षेत्रगत सुहाउँदो सम्मानद्वारा नौ जना महिलालाई सम्मान गरिँदै आएको कार्यक्रमकी अवधारणाकार तथा संयोजक सिर्जना सिंह योञ्जनले बताइन् । त्यसका अतिरिक्त १२ वर्षको कलिलो उमेरमा मीतबुबाद्वारा बलात्कृत धनगढीकी एक युवतीलाई पीडा र संघर्षलाई शक्तिमा बदलेर सफल जीवनयापन गर्न सकेकोमा विशेष सम्मान प्रदान गरियो । यो वर्षदेखि कार्यक्रममा विगतमा सम्मानितहरूद्वारा सहयोगको हात बढेको छ । उनीहरूले आफूले विगतमा पाएको सम्मानको कदर गर्दै आफ्ना विधामा आफूले जस्तै अथक परिश्रम र संघर्ष गर्ने अर्की महिलालाई २०-२० हजार नगद पुरस्कारसमेत हस्तान्तरण गरे ।

यो कार्यक्रमको बाह्रौं संस्करणमा विशेषतः मोफसलमा रहेर आफ्नो क्षेत्रमार्फत महिला विकास र सशक्तीकरणमा योगदान पुर्‍याएका तर ओझेलमा परेका नारीहरू सम्मानित भएका छन् । यसपटक कैलाली, उदयपुर, रसुवा, मकवानपुर, चितवन, काभ्रे, धरान, कञ्चनपुर आदि जिल्लाका महिला सम्मानित भए । सोल्टी क्राउन प्लाजामा सम्पन्न सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान नवकलाकार नवश्री सिंह तथा निरन्तर याक्थुम्बाको 'सदा बस प्रभु मेरो यो सानो मन्दिरमा' शीर्षकको सांगीतिक प्रस्तुतिबाट प्रारम्भ भएको थियो । दुई भागमा विभाजित कार्यक्रमको पहिलो भागमा ५ जना महिलालाई सम्मान गरियो । वन संरक्षणमा लागिपरेकी कैलालीकी नन्दा देवी कुँवरले अन्नपूर्ण अवार्ड हात पारिन् भने सामुदायिक रेडियोमार्फत महिला शिक्षा एवं सशक्तीकरणको मुद्दामा जोड दिएबापत रेडियो उदयपुरलाई भगवती सम्मान प्रदान गरियो । त्यसैगरी रसुवाकी र्‍याफ्टिङ तथा टे्रकिङ गाइड ऋतु ग्याम्दानले भवानी विधाको सम्मान हात पारिन् । उता दया, माया र करुणाकी खानी करुणादेवीको नाममा प्रदान गरिने करुणा अवार्डद्वारा चितवनकी मीना खरेल सम्मानित भइन् । ५५ वर्षदेखि रेडियो नाटकका माध्यमद्वारा चेतना फैलाउँदै आएकी लक्ष्मी भुसाललाई महामाया सम्मान प्रदान गरियो ।

एचआइभी संक्रमित २४ जना बालबालिकासहित मनोज राजको सांगीतिक प्रस्तुतिमा नेपाल ब्रेक डान्स फाउन्डेसनका कलाकारको नृत्य कार्यक्रमको अर्को आकर्षण रह्यो । कार्यक्रमको दोस्रो भागमा काभ्रेकी कल्पना कार्कीलाई लक्ष्मी विधाको सम्मान प्रदान गरियो भने २१ वर्षदेखि पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा सेवा गर्दै हाल सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत धरानकी केशरी थापा सरस्वती अवार्डद्वारा सम्मानित भइन् । सुदूरपश्चिम कञ्चनपुरकी पार्वती डगौराले भूमिहीनका लागि भूमि अधिकारको मुद्दामा लडेबापत शक्ति सम्मान हात पारिन् । एचआइभी र एड्सको मुद्दामा संघर्षरत हेटौंडाको मकवानपुर महिला समूहलाई दुर्गा विधाको सम्मानले सम्मानित गरियो ।

कार्यक्रमको समापन नवकलाकार नवश्री सिंह तथा निरन्तर याक्थुम्बाको अंग्रेजी गीतले गर्‍यो । बर्जर मुख्य प्रायोजक रहेको सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान-२०७० एचआईभी चिल्ड्रेन ट्रस्टको सहकार्यमा सम्पन्न भएको थियो । यो कार्यक्रमको मिडिया पार्टनर नारी मासिक रहँदै आएको छ ।

विशेष सम्मान

सुदूरपश्चिमको कथा हो-यो । हामी नेपालीहरू छोरीहरू बाहिर गए असुरक्षित हुन्छन्, घरभित्रै रहेका छोरीहरू सुरक्षित हुन्छन् भन्ने मान्यता राख्छौं । घुम्ने, खेल्ने, खाने, पढ्ने अनि रमाइलो गर्ने अवस्था हो-किशोरावस्था । १२ वर्षको कलिलो उमेरमा साथीसंगीसँग रमाउने हरेक बालबालिकाको चाहना हुन्छ । तर ती किशोरी जो यही उमेरमा सधैं घरमा आइरहने आफ्नै अभिभावक अर्थात् मीतबुबाबाट बलात्कृत भइन् । परिवारले त्यो कुरा लुकाउन खोज्यो तर सत्य कहिल्यै छिप्दैन उनी गर्भवती भइन् । परिवारबाटै बाहिरिनुपर्ने अवस्था आयो । १२ वर्षकी बालिका त्यो पनि गर्भावस्थामा । कयौं हन्डर, ढक्कर खाएर भए पनि आफ्नो गर्भभित्रको भू्रणलाई उनले यो संसारमा ल्याएर पुण्य कमाएकी छिन् । आज उनी धनगढी बजारमा सानोतिनो व्यापार गर्छिन् । त्यसकै आम्दानीले शिशुको पालनपोषण एवं शिक्षामा सहयोग पुगेको छ । परिवारसँग कुनै सम्पर्क छैन । कठिन परिस्थितिका बाबजुद संघर्षपूर्ण यात्रालाई चिर्दै समाजमा स्थापित हुने क्षमता राखेकीले यसपटकको सेलिब्रेटिङ वुमनहुड, नवदेवी विशेष सम्मान ले उनलाई सम्मानित गरियो ।

सिर्जना सिंह योञ्जन

अवधारणाकार तथा संयोजक

सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान

शक्तिशाली एवं निर्णायक तहमा अल्पमतमै रहे पनि त्यसले राजनीतिक, सामाजिक एवं आर्थिक पक्षमा सकारात्मक परिणाम ल्याउने महिलाको क्षमतालाई रोक्न सकेको छैन । सानो परिश्रमले यो अवस्था सिर्जना भएको भने होइन । यसमा व्यक्तिगत एवं सामूहिक परिश्रम छ । को हुन् ती नारीहरू जसले ठूलो परिश्रम गरी असाधारण सफलता हासिल गरे ? सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मानले यी प्रश्नको उत्तर दिने प्रयास गर्दै आएको छ । अनुसन्धान र अभिलेखीकरणमा निकै कम रहेका, चर्चाभन्दा बिल्कुलै बाहिर रहेर आफ्नो क्षेत्रमा निरन्तर कार्यरत महिलाको खोज र सम्मान हो-यो कार्यक्रम । त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी एवं कार्यशालामा देखिरहने बहुप्रचारित छविले महिला नेतृत्वको एउटा ठूलो जमातलाई छायामा पारेको छ भन्दा अत्युक्ति नहोला । हाम्रो अभियान अर्थात् सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मानले तिनै लुकेका कथा खोतल्दै सम्मान प्रदान गर्छ ।

अन्नपूर्ण : नन्दा देवी कुँवर

वन संरक्षणमा अहोरात्र खटिरहेकी नन्दा देवी कुँवर त्यस्ती नारी हुन् जो संघर्ष र चुनौतीका अगाडि कहिल्यै झुकिनन् । दुई वर्षअघि काठतस्करहरूको एउटा समूहले उनीमाथि खुकुरी प्रहार गर्‍यो । अब त मरिहोली भनेर छोडेका तस्करहरूको चोट उनका लागि शक्तिमा बदलियो र उनी अझ सक्रिय भइन् । हरेक बिहान उनी मधुमालती सामुदायिक वनको रेखदेखमा निस्कन्छिन् । घरघरमा पसी वन तथा वन्यजन्तु संरक्षणका लागि आग्रह गर्छिन् । यति मात्र होइन मानिसहरूमा वन संरक्षणको आवश्यकता र व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा बुझाउँछिन् । संरक्षण मात्र नभएर समुदायलाई वनको अधिकार र त्यसबाट हुने लाभका बारेमा सचेत तुल्याउँछिन् । पहिलेको तुलनामा कमजोर भएका उनका हात नुहाउन र लुगा धुन असमर्थ छन् तसर्थ यो काममा अरूको सहयोग चाहिन्छ उनलाई । उनको वन संरक्षणसम्बन्धी इच्छाशक्ति भने बलियो छ । स्थानीय वनको संरक्षण एवं सदुपयोगको विषयलाई राष्ट्रियस्तरमा ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । प्राकृतिक स्रोत संरक्षणका लागि बनेका राष्ट्रिय नीति नियम स्थानीय स्तरमा पुग्न र व्यवहारमा लागू हुन बाँकी नै छ तर यो काम पूरा गर्न नन्दा देवीजस्ता संरक्षणविद्को दृढता कोशेढुंगा साबित हुनसक्छ । यिनै कामको उच्च मूल्यांकन गर्दै सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान को अन्नपूर्ण विधाले सम्मानित गरिँदा खुसी हुँदै नन्दाले भनिन्-कसैको आशा नगरी आफ्नै सुरले त्यो पनि स्थानीय स्तरमा रहेर काम गरिरहँदा कसै न कसैले आफ्नो कामको मूल्यांकन गरेकोमा आफ्नो क्षेत्रमा अझ अघि बढ्ने प्रेरणा मिलेको छ ।

भगवती : वन्दना दनुवार

पाँच वर्षअघि रेडियो उदयपुरको ध्वनि तरङ्ग एउटा अडियो टावरमा मात्र सीमित थियो । उदयपुर राजावासमा किशोरीहरूलाई रेडियो टावर चलाउन एकत्रित गरिदिने काम महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गरेको थियो । अडियो टावरको कामबाट सुरु भएको रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणप्रति ३० वर्षमुनिका किशोरीहरूको मोह ३०६६ साल जेठदेखि सामुदायिक रेडियो स्टेसनका रूपमा रूपान्तरण भयो-रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज ।

महिलाहरूद्वारा सञ्चालित यो रेडियोले यस्तो एउटा समाजको परिकल्पना गर्छ जहाँ सबै महिलाले आफूलाई चाहेको सूचनामा पहुँच प्राप्त गर्नेछन् र आफ्नो अधिकारका लागि आवाज उठाउन सक्षम हुनेछन् । सय मेगावाटको यो रेडियो प्रसारण उदयपुर जिल्लाका नगरपालिका, गाविसलगायत सिरहा र सप्तरीका केही स्थानसम्म सुनिन्छ । रेडियो उदयपुरले सबै तहमा महिलाको अर्थपूर्ण सहभागितामा बढी वकालत गर्छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाद्वारा मात्र सञ्चालित  नमुना रेडियोका रूपमा आफ्नो चिनारी बनाउने उद्देश्य बोकेको यो सामुदायिक रेडियो न्यायपूर्ण एवं समतामूलक समाज निर्माणका लागि परिवर्तनको संवाहक बन्ने आकांक्षा राख्छ । कार्यक्रम उत्पादन, सूचना संप्रेषण तथा प्रसारणका माध्यमद्वारा उदयपुर जिल्ला र आसपासका क्षेत्रका महिला सहभागिता र सशक्तीकरणमा निरन्तर जुटेको यो रेडियोलाई यस वर्षको सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान-२०७० मा भगवती विधाको सम्मानले सम्मानित गरियो । सम्मान ग्रहणपछि रेडियो उदयपुरकी स्टेसन म्यानेजर वन्दना दनुवारले भनिन्-यो सम्मानले प्रेरणा जगाउनुका साथै जिम्मेवारी पनि थपिएको छ । यो सम्मानले हामीलाई टिकिरहने ऊर्जा मिलेको छ ।

भवानी : ऋतु ग्याम्दन

हाम्रो समाजमा चुनौतीपूर्ण क्षेत्रमा महिलाको सहभागिता कम देखिन्छ । मुस्किलले यस्ता महिला भेटिए पनि निरन्तरता दिने कमै हुन्छन् । ऋतु ग्याम्दन यस्ती साहसी युवती हुन् जसले समाजको पूर्वाग्रही सोच बदल्न दबाब सिर्जना गरिरहेकी छिन् ।

र्‍याफि्टङ तथा टे्रकिङ गाइडका रूपमा कार्यरत ऋतु रसुवाको दुर्गम गाउँमा जन्मिएकी युवती हुन् । सानैदेखि उनी जस्तोसुकै खोला-नालामा पौडिन सक्ने क्षमता राख्थिन् । भेलमा हाम फाल्ने ऋतु घर छेउको बेत्रावती खेलाको छालसँग पौंठेजोरी खेल्दै हुर्किइन् । रमाइलोका लागि पौडी खेल्ने ग्याम्दनले सन् २००८ मा र्‍याफ्टिङ गाइडको यात्रा तय गरेकी हुन् । अहिलेसम्म पनि यो पेसामा महिलाको उपस्थिति नगन्य छ । हप्तौं उकाली-ओराली गर्नुपर्ने, अपरिचितहरूसँग हिँड्नुपर्ने यो पेसामा उनले आफूलाई दक्ष साबित गरिसकेकी छिन् । महिना दिनसम्म पर्यटक लिएर उच्च हिमाली क्षेत्रको भ्रमण गराएर उनी साहसी नारी प्रमाणित भएकी छिन् । आफूजस्तै ३ दिदीबहिनीको नाममा उनले खोलेको हिमालयन एड्भेन्चरस गल्र्स कम्पनीले कायाकिङ पनि गर्छ । ऋतु कुशल कायाकर पनि हुन् । महिलालाई र्‍याफ्टिङको तालिम दिइरहेकी आँटिली ऋतु ग्याम्दनले सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान-२०७० को कडा परिश्रम र चारै दिशामा आफ्नो पराक्रम फैलाउन सफल भवानी सम्मान हात पारिन् । सम्मानपछि उनले भनिन्-यो सम्मानले मेरा लागि ठूलो अर्थ र महत्व बोकेको छ । यसले मलाई अझ सक्रिय भएर आफ्नो क्षेत्रमा लाग्ने हौसला प्रदान गरेको छ ।

शक्ति : पार्वती डगौरा

अदम्य साहस, आँट, जाँगरले भरिएकी पार्वती डगौरालाई बाल्यकालका रमाइला दिनको सम्झना छैन । उनले पुतली र माटाका घर बनाएर खेल्न पाइनन् । उनलाई उनका बुवाले बाल्यावस्थामा एक हल गोरुसँग साटिसकेका थिए । जुन एकहल गोरु बुवाले कहिल्यै पाएनन् । पार्वतीको समय झिसमिसेदेखि मध्यरातसम्म भाँडा माझ्न, लुगा धुन र गोबर सोर्नमै बित्थ्यो । मालिककी छोरी उनका लागि देवी साबित भइन् । उनकै सहायताले पार्वतीले पहिलो पल्ट भुइँमा अक्षर लेख्न सिकिन् । ११ वर्षको उमेरमा उनले कमलरी नबस्ने निधो गरिन् । बुबाले छिनेको विवाहलाई स्वीकार गरेकी पार्वतीले जँड्याहा श्रीमान्को रातदिनको कुटाइको विरोध गरी दुई छोरालाई आफूले एक्लै पाल्ने निधो पनि गरिन् । उनको दोस्रो विवाह त भयो तर श्रीमान्को परिवारले उनलाई रुचाएन । परिवार बिगार्न खोजेको आरोपमा उनलाई निर्वस्त्र पारियो । एकपछि अर्को कठिन संघर्षले थिचिएकी पार्वती त्यसपछि मुक्त कमैया आन्दोलनमा होमिइन् । आन्दोलनमा उनको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो । अहिले उनी स्थानीय आमा समूहकी अध्यक्ष छिन् । कञ्चनपुर भूमि अधिकार मञ्चकी अध्यक्ष पार्वतीले दुईवटा छोरा विद्यालय जान थालेपछि आफूले पनि पढ्ने निधो गरिन् । समुदायका मानिसहरूलाई सीप सिकाउने, उनीहरूका बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्ने तथा महिला हिंसाविरुद्ध बोल्न सिकाउने पार्वती डगौराले सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान को शक्ति सम्मान हात पारिन् । अर्धनारीश्वर शक्तिस्वरूप पार्वतीका श्रीमान्ले आफ्नी श्रीमतीलाई अघि बढ्न सक्दो सहयोग र हौसला प्रदान गरेकाले पनि यो सम्मान श्रीमान्-श्रीमती दुवैको हकमा जान्छ । सम्मानपत्र हातमा लिएकी पार्वतीले भनिन्-यो सम्मानले मभित्रको शक्ति अझ बलियो भएको छ । यो ती समग्र कमलरीको विजय हो । त्यसैले यो सम्मान पनि उनीहरूमै समर्पित छ ।

करुणा : मीना खरेल

दयाकी खानी, आफ्नो शक्तिले भ्याएसम्म शुद्ध मन, बचन र कर्मले माया, ममता र सहयोगको खाँचो भएकाहरूको सेवामा आफ्नो जीवन समपर्ण गर्ने करुणा देवीको सम्मान चितवनकी मीना खरेलले हात पारिन् ।

२०४७ को प्रजातन्त्र आगमनपछि पनि महिलाका कतिपय सवाल सम्बोधन भएका थिएनन् । सोही मुद्दालाई व्यापक बनाउन मीनाले चितवनमा नारी विकास केन्द्रको स्थापना गरिन् । महिला विकासका लागि महिला नै संगठित हुनुपर्ने अवधारणाका साथ शोषणमा परेका र पछाडि पारिएका समुदायका घरघरमा पुगेर ठूलो काम गरिन् । २०५२ सालदेखि उनले कमजोर आर्थिक अवस्था भएका ६ सय महिलालाई सामेल गरी मासिक २५ रुपैंयाँका दरले बचत गराउन थालिन् । उक्त बचतकै कारण घरबाट निकालिएका कतिपय महिलाले आफैं छोराछोरी पाल्न सक्ने भएका छन् । हिंसा खपेर बसेका सयौं महिलालाई प्रहरी प्रशासनमा पुर्‍याउने सेतुको काम गरिरहेकी मीनाले साथीहरूसँग मिलेर पीडामा परेका महिलाका लागि चितवनमै पहिलो पुनस्र्थापना केन्द्र खोलिन् । पीडकलाई अदालती कारबाहीमा लाने व्यवस्थाका लागि संयोजन पनि गरिन् । महिला हिंसा, सीप, शिक्षा एवं सशक्तीकरणजस्ता महिला मुद्दा एकै ठाउँमा जेलिएको हाम्रो नेपालको परिवेशमा यी काम एकै ठाउँबाट एकैपटक एकीकृत ढंगले अगाडि लानुपर्ने कुराकी अभियन्ता खरेललाई सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान-२०७० को करुणा विधाले सम्मानित गरियो । सम्मान प्राप्त गरेपछि उनले भनिन्-मैले सम्मानका लागि काम गरेकी होइन । केन्द्र बाहिर रहेर काम गर्दा थुप्रै चुनौतीको सामना गर्नुपर्छ तर यो सम्मानले ती सारा दुःख बिसाइदिएको छ । अझ क्रियाशील भएर आफ्नो क्षेत्रमा लाग्ने प्रेरणा प्रदान गरेको छ ।

लक्ष्मी : कल्पना कार्की

काभ्रेको विपन्न परिवारमा जन्मिएकी कल्पना कार्की आमाको करबल र आडभरोसाले शिक्षा हासिल गरेकी हुन् । शिक्षित हुनकै लागि ठूलो संघर्ष गर्नुपरेका कथा छ उनीसँग । कल्पनाको नर्स बन्ने रहर पूरा नभए पनि सम्पत्तिमाथि नेपाली महिलाको पहुँच र नियन्त्रण कायम गर्ने काममा नेतृत्व गरिन् । महिलामाथि हुने हिंसाविरुद्ध कार्यरत सिन्धुपाल्चोकमै ग्रामीण महिला सिर्जनशील परिवारको कार्यसमिति सचिव भएर महिला हिंसाविरुद्ध काम गरेपछि उनलाई नेपाली महिलाको अवस्थाका बारेमा बुझ्न सहज भयो । सम्पत्ति माथिको अधिकार स्थापित भएपछि महिलाको हालको अवस्थामा सकारात्मक परिवर्तन आउन सक्छ भन्ने अठोटलाई उनले अभियानमा बदलिन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रमा रहेर उनले मुलुकभर यो अभियानलाई फैलाउने काम गरिन् । सोही अभियानको प्रभावले नेपाल सरकारले संयुक्त जग्गा धनीपुर्जा बनाउँदा १ सय रुपैंयाँ मात्र राजस्व तिर्नुपर्ने नीति ल्यायो । त्यही नीतिका कारण काभ्रेका २ हजारभन्दा बढी महिला संयुक्त पुर्जाको माध्यमबाट जग्गाका मालिक बनेका छन् । नेपाली नारीको आर्थिक उन्नतिको ढोका खोल्न सघाउने र महिलाको स्वपहिचान बनाउने परिवर्तनकी संवाहक कल्पना कार्कीलाई सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान को लक्ष्मी अवार्डद्वारा सम्मान गरियो । सम्मानपछि कार्कीले भनिन्-यो सम्मानले जिम्मेवारी बढाएको छ । कामको मूल्यांकन हुँदोरहेछ भन्ने बोध गराएको छ । अझ अघि बढ्ने ऊर्जा थपिएको छ ।

दुर्गा : ईश्वरी बानियाँ

एकदशकअघिसम्म हाम्रो सामाजिक अवस्था र त्यतिबेलाको सोच एचआइभीका विषयमा खुलेर कुरा गर्नु त के त्यसको नाम लिन पनि गाह्रो थियो । यसबाट संक्रमितहरू लुकेर बस्नुपर्ने अवस्था थियो । त्यही समयमा मकवानपुर जिल्लाका एचआइभी प्रभावितहरू आफ्नो हक-अधिकारका लागि आवाज बुलन्द गर्न दरिलो आँटका साथ अघि आए फलस्वरूप मकवानपुर महिला समूहको स्थापना भयो । यो संस्थाले संक्रमणमा परेकै कारण समाज र परिवारबाट अपमानित महिलाहरूलाई आफ्नै लागि बोल्न सहयोग गर्‍यो । २०५९ सालदेखिको निरन्तर परिश्रमका कारण समुदायमा एचआइभी एड्ससम्बन्धी धारणामा सकारात्मक परिवर्तन देखिएको छ जसका कारण महिलाप्रतिको दृष्टिकोण पनि बदलिएको छ । जिल्लाका ७० जनाभन्दा बढी संक्रमित तथा प्रभावित महिला यो समूहसँग आबद्ध छन् भने संस्थाले ६० जना एचआइभी संक्रमित तथा प्रभावित केटाकेटीलाई पढ्ने अवसर जुटाइदिएको छ । यो समूह एचआइची संक्रमित तथा प्रभावितका लागि मात्र नभएर हिंसा तथा बेचबिखनमा वा विविध कारणले अप्ठ्यारोमा परेका महिलाका लागि दुःख बिसाउने र संगठित हुने थलो बनेको छ । अदम्य साहस, दृढता र अथक प्रयासका लागि यो संस्थालाई सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान मा दुर्गा विधाद्वारा सम्मानित गरियो । सम्मान ग्रहण गरेपछि संस्थाकी ईश्वरी बानियाँले भनिन्-समाजमा अझ धेरै काम गर्न अग्रसर हुने जाँगर भरिदिएको छ यो सम्मानले । बाँच्नु मात्र नभएर बाँच्नुको अर्थ र महत्व बुझाइदिएको छ ।

महामाया : लक्ष्मी भुसाल

जीवनका ५५ वर्ष रेडियो नाटकका माध्यमद्वारा कलाकारितामा समर्पित गरेकी लक्ष्मी भुसाललाई सानादेखि ठूलासम्म सबैले कृषि कार्यक्रमकी बूढीआमै भनेर चिन्छन् र कहिलेकाहीँ उनको थेगोको नक्कल पनि गर्छन्-हरिशरणम् । कृषिप्रधान हाम्रो मुलुकमा रेडियो नाटकका माध्यमद्वारा कृषि आफूलाई विज्ञका रूपमा स्थापित गर्न सफल भुसालको व्यक्तिगत जीवन भने निक्कै संघर्षपूर्ण रह्यो । कलाप्रतिको उनको रुचि र यसैलाई पेसाका रूपमा अपनाउँदा परिवारले उनलाई स्वीकार गरेन । नाटकका विभिन्न पात्र एवं त्यस उनको अभिनय तथा भूमिकालाई वास्तविक हो भन्दै उनको चरित्रमाथि नै आरोप लगाउने काम भयो । चार दशकअघिको नेपाली समाज र संकीर्ण सोचले छोरीहरू पनि कलाकार बन्न सक्छन् र यसैलाई पेसा बनाउन सक्छन् भन्ने कुरालाई मान्यता दिन सकेन । अन्ततः परिवारले उनलाई घरनिकाला गर्‍यो । उनका आमाबुबा, दाजुभाइ र दिदीबहिनीसँगको नाता टुट्यो तैपनि उनले आफ्नो कामलाई निरन्तरता दिँदै गइन् । जीवनका ६४ औं वसन्त पार गर्दा पनि उनी हरेक हप्ता रेडियोमा हरिशरणम् भन्दै प्रत्येकका घरघरमा आउँछिन् । अनेकौं संघर्षपछि उनले कलाकारितालाई नै पेसा बनाइन् । कलाकै माध्यमद्वारा जागरण फैलाउन सफल लक्ष्मी भुसाललाई सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान- २०७० को महामाया विधाले सम्मानित गरियो । सम्मान प्राप्त गरेपछि आफ्नो सफलतामा खुसी हुँदै उनले भनिन्-लगनशील भएर संघर्ष गर्दै अघि बढ्ने हो भने कुनै दिन कामको मूल्यांकन हुँदोरहेछ । आफन्तबाटै पराइ भएकी म नारीले नारीलाई गरेको सम्मानबाट अत्यन्त खुसी छु ।

सरस्वती : केशरी थापा

धरानकी केशरी थापा विगत २१ वर्षदेखि पूर्वाञ्चलका सयौं दृष्टिविहीन बालबालिकालाई शिक्षा दिने अभियानमा जुटिरहेकी छिन् । धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा लामो सेवा गरेकी केशरी अहिले सोही विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छिन् । देशमा दृष्टिविहीनका लागि ब्रेल लिपिका पुस्तक छैनन्, अपाङ्गमैत्री संरचना छैन, घरदेखि स्कुल अनि व्यापारदेखि प्रशासनसम्म अपाङ्गहरूले सबलाङ्गसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । यस्तो स्थितिमा पनि दृष्टिविहीनहरूका लागि केशरी मार्गदर्शक बनेर उनीहरूको लामो यात्राको सहयात्री भएकी छिन् । मलेसियामा जन्मिएर हङकङमा पढेकी केशरीले आफ्नो कर्मथलो भने दृष्टिविहीनहरूको स्कुललाई बनाइन् । यदि राज्य स्वयं अपाङ्ग हुँदैनथ्यो भने दृष्टिविहीनहरू प्रतिभामा कम छैनन् भन्ने कुरा केशरी र उनका सहकर्मीहरूले प्रमाणित गरेका छन् । यहाँ विद्यार्थी दृष्टिविहीन भए पनि आफ्ना सम्पूर्ण काम आफै गर्छन् । केशरी उनीहरूमा आँट भर्ने भरोसा हुन् भने उनीहरूकी आमा पनि । उनले तिनीहरूलाई पढाउने मात्र होइन म जे पनि गर्न सक्छु भन्ने आँट र विश्वास भर्ने काम गर्छिन् । यो विद्यालयबाट एसएलसी दिएका १० मध्ये ९ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । यहाँबाट ज्ञान लिएर गएकाहरू आत्मनिर्भर बनी हरेक क्षेत्रमा सफल छन् । दृष्टिविहीन बालबालिकालाई समाजमा सम्मानजनक पुनस्र्थापना गर्न दुई दशकभन्दा लामो समय निरन्तर सेवा पुर्‍याएवापत केशरी थापालाई सेलिब्रेटिङ वुमनहुड, नवदेवी सम्मान -२०७०  को सरस्वती सम्मानले सम्मानित गरियो । सम्मान ग्रहणपछि थापाले भनिन्-यो दृष्टिविहीनहरूको सफलताको प्रतीक हो । यदि मैले उनीहरूलाई सफल बनाउन नसकेकी भए यो पुरस्कार कहाँ पाउँथें र ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>