Successfully Copied

ब्लिचिङको सही विधि

नचाहिँदा रौंबाट छुटकारा प्राप्त गर्न लेजर टि्रटमेन्टको पनि सहारा लिइन्छ तर धेरै महँगो हुने भएकाले लेजर टि्रटमेन्ट सबैको पहुँचमा छैन।

नचाहिँदा रौंबाट छुटकारा प्राप्त गर्न लेजर टि्रटमेन्टको पनि सहारा लिइन्छ तर धेरै महँगो हुने भएकाले लेजर टि्रटमेन्ट सबैको पहुँचमा छैन। त्यसैले आज प्रायः सबै नारी मुहारको नचाहिँदो रौंबाट छुटकारा प्राप्त गर्न ब्लिच प्रयोग गर्छन्। यसको प्रयोगले रौं हल्का हुन्छ र देखिँदैन। यसले गर्दा सुन्दरताको चाहना पूर्ति हुन्छ। ब्लिच प्रयोग गर्ने सही ज्ञानको अभावमा हानी पनि बेहोर्नुपर्ने हुनसक्छ।

ब्लिचका प्रकार

पाउडर ब्लिच ः अमोनिया, हाइड्रोजन प्याराअक्साइड तथा ब्लिच पाउडरको सम्मिलित रूप नै पाउडर ब्लिच हो, जुन अहिले त्यति प्रचलित छैन।

क्रिम ब्लिच ः क्रिम ब्लिच सबैभन्दा बढी प्रयोग गरिने ब्लिच हो र प्रयोगमा पनि यो सबैभन्दा सजिलो हुन्छ।

मिश्रण बनाउने विधि ः ४ भाग ब्लिचमा एक भाग (चिम्टी) एक्टिवेटर प्रयोग गर्नुपर्छ तीव्र इफेक्टका लागि छालाअनुरूप एक्टिवेटरको मात्रा बढाउन सकिन्छ। अब स्पेट्युलाको मद्दतबाट दुवैलाई आपसमा घुल्ने गरी मिक्स गर्नुपर्छ।

प्याच टेस्ट ः ब्लिच लगाउनुभन्दा पहिले प्याच टेस्ट आवश्यक हुन्छ। यसका लागि थोरै मात्रामा मिश्रण लिएर आफ्नो हातमा राख्नुपर्छ। छाला पोल्यो भने ब्लिच आफ्ना लागि उपयुक्त नभएको बुझ्नुपर्छ।

ब्लिच लगाउने ः ब्लिच प्रयोग गर्नुभन्दा पहिले अनुहारलाई पानीले राम्रोसँग सफा गर्नुपर्छ। त्यसपछि पेस्टलाई स्पेट्युला वा औंलाको मद्दतबाट मुहारमा माथि र तलतर्फ लगाउनुपर्छ। आँखा र आइब्रोको वरपर भने लगाउनुहुँदैन। ब्लिचलाई १० देखि १५ मिनेटसम्म लगाउनुपर्छ। त्यसपछि क्रिमलाई स्पन्ज वा कटनको मद्दतबाट सादा पानीले सफा गर्नुपर्छ र त्यसपछि मुहारमा मोस्चराइजर लगाउनुपर्छ।

संवेदनशील छाला ः यस प्रकारको छालामा प्रोटिन वा हर्बल ब्लिच प्रयोग गर्नुपर्छ।

तैलीय छाला ः तैलीय छालाका साथमा एक्ने, पिम्पल्स आदिको समस्या हुनसक्छ। यसप्रकारको छालाका लागि अमोनिया फ्रि ब्लिच वा फ्रुट ब्लिच उपयुक्त हुन्छ।

सुख्खा छाला ः यसप्रकारको छालाका लागि ओयल बेस्ट ब्लिच प्रयोग गर्नुपर्छ।

मेच्योर स्किन ः यसप्रकारको छालाका लागि एजिङ अक्सिजन ब्लिच उपयुक्त हुन्छ, जसले छालामा मेलानिनको स्तरलाई कम गर्छ। यसमा अमोनियाँको मात्रा कम नै हुनुपर्छ।

ध्यान दिनुपर्ने कुराहरू

- फेसियल गराएपछि ब्लिच गर्नुहुँदैन।

- आइब्रो बनाउनुभन्दा पहिले नै ब्लिचिङ गर्नुपर्छ। कारण आइब्रो बनाउँदा कट पनि लाग्न सक्छ।

- ब्लिचलाई हटाउन सादा पानीमा स्पन्ज वा कटन प्रयोग गर्नुपर्छ।

- ब्लिच हटाउन तातोपानी प्रयोग गर्नुहुँदैन।

- पहिलोपटक ब्लिच गर्नुभन्दा पहिले प्याच टेस्ट लिनु आवश्यक छ।

- ब्लिच लगाएपछि ६ घन्टासम्म साबुन प्रयोग गर्नुहुँदैन।

- ब्लिचिङ गरेपछि कोमलता कायम राख्न मोस्चराइजर प्रयोग गर्नुपर्छ।

- अनुहारमा घाउ छ भने ब्लिचिङ गराउनुहुँदैन।

- ब्लिचिङ गरेपछि तुरुन्तै घाममा निस्कनु हुँदैन।

- ब्लिचिङ सम्बन्धित विज्ञबाट नै गराउनुपर्छ।

 

 Image