Successfully Copied

२०७० मा उदाएका नायक-नायिका

नेपाली चलचित्र जगत्मा नयाँ नायक-नायिकाहरू थपिने क्रम बढ्दो छ। २०७० सालको सुरुदेखि नै नयाँ नायक-नायिकाहरू चलचित्र क्षेत्रमा

नेपाली चलचित्र जगत्मा नयाँ नायक-नायिकाहरू थपिने क्रम बढ्दो छ। २०७० सालको सुरुदेखि नै नयाँ नायक-नायिकाहरू चलचित्र क्षेत्रमा प्रवेश गरे। चलचित्रमा आफ्नो पकड र स्थान राम्रो बनाउने चाहना बोकेर आएका केही नायक-नायिका यो वर्ष पूरै व्यस्त रहे अर्थात् सफल भए भने कतिपयको अवस्था  'आया राम गया राम' भयो।

नायिका सुजाता कोइरालाले मञ्जरीबाट डेब्यु गरेकी हुन्। चलचित्र नै अध्ययन गरिरहेकी सुजाताले मञ्जरीमा आफूले सोचेजस्तो भूमिका पाएको बताएकी थिइन्। अब पढाइ सकेपछि मात्र थप काम गर्ने भन्दै कोइराला अन्य चलचित्रमा देखा परेकी छैनन्। त्यही चलचित्रबाट डेब्यु गरेका नायक गौरव पहाडी भने मञ्जरीपछि निरन्तर चलचित्रमा अभिनय गर्दैछन्। उनी पनि चलचित्रसम्बन्धी अध्ययन पूरा गरेर आएका हुन्। उनको चलचित्र होस्टल टिनएजहरूमाझ लोकपि्रय भयो। अहिले उनी पत्रकार सुव्रत आचार्यले निर्देशन गरिरहेको अधकट्टीमा व्यस्त छन्। २०७० कै वैशाखमा होस्टेलमार्फत नायक भुवन केसीका छोरा अनमोल केसी, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले पनि डेब्यु गरे। होस्टलबाटै नायिका रिस्ता बस्नेतले पनि डेब्यु गरिन्। उनी अहिले चलचित्रमै व्यस्त छिन्। यो कथा हो तिम्रो मेरो, एउटा साथी र अधकट्टी उनले अभिनय गरेका अन्य चलचित्र हुन्। सानैदेखि नायिका हुने सपना बुनेकी रिस्ता यही क्षेत्रमा करिअर बनाउने योजनामा छिन्। होस्टलबाटै आएकी अर्की नायिका हुन्-प्रकृति श्रेष्ठ। प्रकृतिले भने चलचित्रभन्दा म्युजिक भिडियोतिरै सक्रिय छिन्।

कल कान्तिपुरका चर्चित भिजे सुरजसिंह ठकुरीले आफ्नो चलचित्र यात्रा कर्कसमार्फत प्रारम्भ गरे। म्युजिक भिडियो निर्देशक साथी आसिफले बनाएको सांगीतिक चलचित्रमा अभिनय गरेपछि सुरजले  चलचित्र अभिनयलाई निरन्तरता दिइरहेका छन्। महिला निर्देशक दीपा बस्नेतले पहिलो पटक निर्देशन गरेको चलचित्र अन्तरालबाट नायिका नम्रता सापकोटाले डेब्यु गरिन् भने थिएटरमा जमेका मानव सुवेदी र कमलमणि नेपाल पनि चलचित्रमा प्रवेश गरे। नेपाल भाषाका चलचित्रमा नायिकाका रूपमा अभिनय गरिसकेकी अशिष्माले चलचित्र अन्तरालबाट आफ्नो उचाइ बढाइन्। अन्तरालपछि उनले पछाडि र्फकेर हेर्नु परेको छैन। मोडल एलिजा बस्नेत लवसव शीर्षकको चलचित्रबाट यो क्षेत्रमा आइन्। मोडल अनिता आचार्य पनि सरी लबाट चलचित्रमा प्रवेश गरिन्। अनिता चलचित्र सरी ल प्रदर्शन भएपछि त्यसको परिणाम हेरेर मात्र चलचित्रलाई निरन्तरता दिने कि नदिने निर्णय गर्ने सोचमा छिन्।

सिरियल तथा म्युजिक भिडियोहरूमा जमिरहेकी सगुन शाहीले चलचित्र ढुवानीबाट डेब्यु गरिन्। अस्ट्रेलियामा छायांकन भएको नायक राजबल्लभ कोइरालाको चलचित्र ऋतुमा नायिकाका रूपमा मिस नेपाल मलिना जोशीले डेब्यु गरिन्। विदेशमा रुचाइएको यो चलचित्रका कारण मलिनाका प्रशंसक बढेका छन्। त्यस्तै निर्माता छविराज ओझाको नयाँ चलचित्र लोफरबाट नायिका रजनी केसी चलचित्र उद्योगमा प्रवेश गरिन्। उनी अहिले पूर्व इन्डियन आइडियल प्रशान्त तामाङसँग प्रवासको छायांकनमा व्यस्त छिन्। सीमा केसीले चलचित्र युजबाट फिल्मी करिअर सुरु गरिन्। ५ वर्षदेखि मोडलिङ तथा विज्ञापनहरूमा सक्रिय रमा अर्यालले बारबाट ठूलोपर्दामा डेब्यु गरिन्। सन् २०१२ मा मिस नुवाकोटसमेत भएकी रमा यति बेला भोजपुरी चलचित्रमा व्यस्त छिन्। ईशा गौतमले ब्ल्याक डायरीबाट यसै वर्ष डेब्यु गरेकी हुन्। उनले अहिलेसम्म डन ब्रेक माई हर्ट, एसपी खरेल तथा छलमा अभिनय गरिसकेकी छिन्। एमटिभी भिल्लामा प्रतिस्पर्धा गरेर चर्चामा आएकी शिवांगिनी राणाले पनि नेपाली चलचित्रमा अभिनय गरेकी थिइन्। नोभेम्बर रेनमार्फत भिजे तथा आरजे छुल्ठिमले नायिकाका रूपमा डेब्यु गरिन्। उनले यही चलचित्रलाई आफ्नो फस्ट एण्ड लास्ट चलचित्र भएको बताएर सबैलाई आश्चर्यमा पारिन्। निर्देशक मोहन निरौलाले आफ्नो चलचित्र जन्मभूमिलाई रिमेक गर्ने भएका छन् जसमा निश्मा घिमिरे तथा जेविका कार्कीले अभिनय गर्नेछन्।

२०७० मा चलचित्रमा नयाँ-नयाँ प्रयोग भएको देखिन्छ। साहित्यकार कृष्ण धरावासीको सती प्रथामा आधारित कथा 'झोला' मा बनेको चलचित्रले रेकर्ड नै राख्यो। हास्यकलाकारहरूको चलचित्र ६ एकान ६ पनि धेरै दर्शक तान्न सफल भयो। यसरी हेर्दा नेपाली चलचित्रमा नयाँ प्रयोग नै दर्शकको रोजाइमा परिरहेका छन्।

 Image