Successfully Copied

बगैंचा निर्माणको आवश्यकता किन ?

जब मानिसहरूले आफ्नो जीवनकालमा ठूलो परिश्रम गरी कमाएको लाखौं रुपैयाँले एउटा सुन्दर घर निर्माण गर्छन्

जब मानिसहरूले आफ्नो जीवनकालमा ठूलो परिश्रम गरी कमाएको लाखौं रुपैयाँले एउटा सुन्दर घर निर्माण गर्छन्, त्यो घरलाई त्यतिबेला मात्र पूर्ण मान्न सकिन्छ जब उक्त घरसँगै सुन्दर बर्गैचा निर्माण हुन्छ। घरको इन्टेरियर सधैं शान्त, सफा एवं स्वच्छ राख्न महिलाहरूको जति ठूलो भूमिका देखिन्छ त्यति नै बाहिरी तवरले उक्त घर स्वच्छ, सफा, शान्त देखिन बगैंचाले ठूलो भूमिका खेलिरहेको हुन्छ। हुन त घरमा मात्र होइन होटल, व्यवसाय, रेस्टुराँ, पार्क एवं रिसोर्टहरूमा पनि बगैंचाले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।

आफ्नो घर-जग्गाको बनावटअनुसार बगैंचा निर्माण हुनु आवश्यक छ। बगैंचामा भएका बोट-बिरुवाअनुसार मानिसलाई प्रत्यक्ष रूपमा विभिन्न लाभ हुन्छ :

१. वैज्ञानिक आधार २. धार्मिक आधार ३. शारीरिक आधार ४. वास्तुशास्त्रीय आधार।

बगैंचामा लगाइएका हरेक बोट-बिरुवाले छोड्ने अक्सिजन, कार्बनअक्साइड आदि तत्वले वायुमण्डललाई सन्तुलित राख्छ। वर, पीपल, तुलसी, रुद्राक्ष, कुश आदि बोट-बिरुवालाई हिन्दू धर्मावलम्बीहरूले देवी-देवताको प्रतीक मानी पूजा गर्ने चलन छ। वास्तुशास्त्रीय हिसाबबाट पनि यी बोट-बिरुवा घर वरिपरि रहँदा मानिसलाई प्रत्यक्ष लाभ हुन्छ। बगैंचामा रहेका रंगीचंगी फूल तथा हरिया बोट-बिरुवाहरूबाट जस्तोसुकै तनावमा पनि आनन्द महसुस गर्नसकिन्छ। त्यसैले पनि घरमा बगैंचा निर्माण गर्नु आवश्यक छ।

जग्गाको बनावटअनुसार आफ्नो घरलाई सुहाउने गरी विभिन्न तवरले बगैंचा निर्माण गर्न सकिन्छ। क) फलफूल, बगैंचा, तरकारी बगैंचा, सिजनल फूल बगैंचा, हरियो दूबो बगैंचा, विभिन्न आकार-प्रकारका ढुंगाले सजाइएको बगैंचा आदि। मानिसले स्वेच्छाले बगंैचा बनाएको खण्डमा स्वर्गीय आनन्द आफ्नै घर कम्पाउन्डभित्र प्राप्त गर्न सक्छन्। प्रशस्त घाम लाग्ने ठाउँ हेरेर सिजनल फूलहरूको ब्याड तयार गर्न सकिन्छ। हरेक किसिमका फललाई पनि त्यस्तै ठाउँको आवश्यकता पर्छ। घरबाट सबैको नजर पर्ने ठाउँमा रक गार्डेन, झरना, हरियो दूबोको चौर आदि निर्माण गर्नुपर्छ। आफ्नो बगैंचाभित्र सुमधुर वासना आउने खालका बोट-बिरुवा जस्तै बेली, चमेली, जाई, जुही, इन्द्र कमल आदि हुनुपर्छ। त्यस्तो वासनाले उक्त ठाउँमा आउने मानिसलाई शान्ति एवं शीतलता प्रदान गर्छ। घरसँगै निर्माण भएको हरियो दूबोको चौरमा बसेर चियाको चुस्कीका साथ भलाकुसारी गरी समय बिताउन सकिन्छ।

बगैंचामा भएका बोट-बिरुवालाई आकर्षक बनाउन दक्ष मालीको आवश्यकता पर्छ जसले हरेक दिन मलजल, काँटछाँट एवं औषधोपचार गरिरहन्छन्।

ईश्वर सिलवाल

सदाबहार नर्सरी, गोदावरी

 Image