Successfully Copied

दसैं-दसैं नै रहोस्

पोहोर साल दसैंछेक एकजना पारिवारिक मित्रसँग 'दसैं आयो हगि' भन्ने प्रसंग झिक्दा उनले हाँसेरै 'खोइ, दसैं हो कि दशा' भन्ने प्रतिक्रिया दिइन् ।

पोहोर साल दसैंछेक एकजना पारिवारिक मित्रसँग 'दसैं आयो हगि' भन्ने प्रसंग झिक्दा उनले हाँसेरै 'खोइ, दसैं हो कि दशा' भन्ने प्रतिक्रिया दिइन् । उनको भनाइ दसैंप्रति नकारात्मक हिसाबले गरिएको टिप्पणी नभई दसैंमा आइपर्ने अनावश्यक एवं शारीरिक परिश्रमको बोझले गर्दा उब्जिएको स्वाभाविक प्रतिक्रिया थियो ।

दिनहरू घुम्दै-फिर्दै जाँदा फेरि अर्को दसैं आइपुग्यो । गत वर्षझैं यसपटकको दसैंमा पनि रमाइलो गर्ने, ठूलाबडाको आशीर्वाद लिने र खानपिन गर्ने कुराहरू त आफ्नो ठाउँमा छँदैछन् तर, दसैंसँग जोडिएर आउने विकृतिहरूका बारेमा पनि वर्षौंदेखि चर्चा हुँदै आएको छ । यहाँ म खासगरी दसैंमा महिलाहरूले व्यहोर्नुपर्ने अतिरिक्त शारीरिक भारका विषयमा कुरा गर्न खोज्दैछु ।

हामीले जानिआएको र मानिआएको दसैं भनेको केटाकेटीका लागि चंगा उडाउने र नयाँ लुगा किन्ने अवसर≤ ठूलाहरूका लागि सबैजनासँग भेटघाट हुने र खानपिन गर्ने मेसो हो । यो वर्षमा एकपटक रमाइलो गर्ने, खुसी हुने अवसर पनि हो । यसका लागि चाहिने पैसाको जोहो गर्ने भार त घरका महिला-पुरुष दुवैलाई हुन्छ, तर घरभित्रको कामको चाप भने महिलाहरूलाई मात्र पर्छ । सोह्र श्राद्ध सुरु हुनेबित्तिकै घरको विशेष सरसफाइको दबाब, त्यसलगत्तै खानपिनका सरसामानको अगि्रम जोहो, अनि दसैंभरि आइरहने पाहुनाहरूको व्यवस्थापन आदिमा महिलाहरूले पुरुषहरूको मौखिक सहयोग पाए पनि व्यावहारिक सहयोग पाउन कठिन हुन्छ ।

वर्षको ठूलो चाडका बेला घरमा यदि सघाउने हातहरू अर्थात् घरेलु सहयोगीहरू छन् भने पनि उनीहरू छुट्टीमा गैहाल्छन् । यस्तोमा कतिपय महिलालाई दसैं दशाजस्तै हुन्छ । तपाईं-हामीले देखे-जानेकै कुरा हो-दसैंमा केटाकेटीहरू रमाइलोमा मस्त हुन्छन्≤ घरका छोरा मान्छे र पाहुनाहरू प्राय: खाल जमाएर 'खानपिन' र 'रमाइलो' गर्न जुटेका हुन्छन् अनि महिलाहरू चाहिँ खानेकुरा पकाउने तथा ओसार्ने क्रममै असिनपसिन हुन पुग्छन् । कतिसम्म भने घरमा पाहुना हुने र ठूलो चाड भएका कारणले महिलाहरूको पहिरन पनि अरु बेला घरमा बस्दा लगाइने जस्तो सजिलो हुँदैन र त्यसले उनीहरूलाई काम गर्न थप असजिलो बनाइरहेको हुन्छ ।

खानपिनकै कुरामा पनि हाम्रो बानी कति बिगि्रसकेको छ भने हामी एकथरी खानेकुरामा मात्र सीमित हुन सक्दैनौं । चाडपर्व भन्यो कि हामीलाई माछा पनि चाहियो, कुखुरा पनि चाहियो, खसी त छँदैछ । भएन बदाम पनि साँध्नुपर्‍यो अनि यसो पनीर पनि खानैपर्‍यो । आलुको अचार त हाम्रो 'राष्ट्रिय परिकार' भैहाल्यो । यति सबै कुरा बनाउँदा भान्सामा खट्नेहरूको त बेहालै हुन्छ । पकाउनेमात्र होइन, पछि ती चिल्ला खानेकुरा पकाएको/खाएको भाँडा र भान्सा सफा गर्दा भोलिपल्ट कतिपय  महिला त थलै पर्छन् । कसैले गुनासो गर्‍यो भने धेरै घरमा 'चाडपर्वका दिनमा कस्तो अँध्यारो अनुहार लगाएकी' भनेर फेरि पनि महिलाहरूले नै गाली खान्छन् । दसैंमा हामीले परिकार त थप्दै गएका छौं, तर त्यसबाट हामीलाई पर्ने आर्थिक एवं शारीरिक असर बिर्सदै गएका छौं । मासु खाँदा एउटा परिकारमात्र पकाउँदा हुनेमा हामीलाई दसथरी चाहिन्छ, जुन न हाम्रो मुटुका लागि फाइदाजनक छ, न त खल्तीका लागि । यदि हामीले आफ्नो खानपिनमा अलिकतिमात्र हेरफेर गर्‍यौं भने भान्सामा खट्नेहरूको काम पनि आधा घट्छ ।

दसैंमा बढ्दो खर्च र अतिरिक्त भारका कारण धेरैले त्यही खर्चको सदुपयोग गर्दै घुम्न जान थालेका छन् । घुम्न जानु आफैंमा खराब कुरा नहोला, तर अनावश्यक भारबाट बच्न सामाजिक हुने अवसरबाट चाहिँ टाढा हुनु हुँदैन । हामी नेपालीको साझा विशेषता भनेकै प्राय: असामाजिक नहुनु हो । पश्चिमा संसारमा दुर्लभ भैसकेको यो संस्कार हामीले छोड्नु हुँदैन ।

दसैं यस्तो मौका हो, जतिबेला हामी लामो समयदेखि भेट्न नसकेका आफन्तहरुलाई देख्ने-भेट्ने र सुख-दु:ख साट्ने अवसर पाउँछौं । यद्यपि अहिले हामी जुन तरिकाले दसैं मनाउन थालेका छौं, त्यसले हामीलाई यो महत्वपूर्ण सामाजिक अवसरबाट समेत केही हदसम्म विमुख बनाउँदै लगेको छ । आफन्त भेट्न र सुख-दु:ख साट्न त सायद सबैलाई मनपर्ला तर, कामको भार र झन्झटबाट आत्तिएर बरु बाहिर घुम्नै जाऊँ भन्ने चलन पनि बढ्दो छ । हामीले दसैंमा गर्नुपर्ने घरेलु काम परिवारका सबै सदस्यले सामूहिक रूपमा गर्‍यौं र हाम्रो खर्च तथा खानपिनलाई छरितो बनायौं भने यसरी 'भाग्नुपर्ने' अवस्था आउँदैन अनि सम्भवत: दसैं झन्झटिलो पनि लाग्दैन ।

त्यसैले यसपटकको दसैंमा एक्लैलाई अति नै भार पर्‍यो भने सहयोग माग्न नहिच्किचाऊँ । बाहिर हाँसे पनि एक्लैलाई भार पारी-पारी 'दसैं' मनाउनुभन्दा त खुला मनले सहयोग मागेर रमाइलो गरौं । आफूलाई कठिन भएको कुरामा गुनासो गर्दा कुनै 'अलच्छिन' लाग्दैन, बरु सबैको मन खुसी हुनेछ । दसैं-दसैं नै रहोस्, कसैका लागि पनि दशा नबनोस्- शुभकामना ।

 Image