Successfully Copied

दसैंमा घरको शृंगार

दसैं हिन्दूहरूको महान् चाड, हर्ष र उल्लासको चाड, मेलमिलापको चाड, पाहुना सत्कार गर्ने चाड ।

दसैं हिन्दूहरूको महान् चाड, हर्ष र उल्लासको चाड, मेलमिलापको चाड, पाहुना सत्कार गर्ने चाड । दसैंमा यस्तो गर्ने, उस्तो गर्ने भनेर सबैले योजना बनाउँछन् । दसैंमा कहाँ जाने, के लगाउने, कस्तो खाना बनाउने, कसरी रमाइलो गर्ने भन्ने योजना ठूलादेखि सानासम्म सबैको हुन्छ । परिवारका ज्येष्ठ सदस्यदेखि लिएर स-साना बालबालिकाहरू पनि आफन्त एवं साथीभाइहरूसँग बसेर रमाइलो गर्ने यो चाडको मुख्य थलो भनेको घर नै हो । दसैंमा दुर्गा भवानीको पूजा-आराधना हुने हुँदा घर, कोठादेखि लिएर पूजाकोठाको पनि विशेष सरसफाइ एवं सजावट गरिन्छ । वर्षमा एकपटक भए पनि आफन्तहरू घरमा आउने भएकाले घर, कोठा सजाउने रहर सबैमा जाग्छ । अझ गृहिणीहरूलाई त दसैं आउनुअघि नै घर सजावटको उत्सुकताले सताउन थाल्छ । घर सजावट हरेक वर्ष केही फरक ढंगबाट गर्न सकियो भने घरमा नयाँपन ल्याउन तथा त्यसलाई थप आकर्षक बनाउन सकिन्छ ।

मर्मत, तोडफोड तथा रंगरोगन : दसैं आउनुभन्दा महिना दिनअघि यो विषयमा निर्णय लिनु सान्दर्भिक हुन्छ । बिगि्रएका, भत्किएका, टुटेफुटेका सामानलाई पुन: मर्मत गरी घर रंगरोगन गर्दा परिवारका सबैमा उत्साह जाग्छ । भान्सा तथा ट्वाइलेटका पाइपलाइन तथा टुटीहरू बिगि्रएका हुन सक्छन् । कुनै सामान पुरानो भए फेर्ने उपयुक्त समय पनि यही नै हो । बजारमा नयाँ डिजाइनका धारा, कमोड तथा बेसिनहरू प्रशस्तै पाइन्छन्, जसले ट्वाइलेट तथा भान्सामा नयाँपन ल्याउँछ ।  यस्ता कुरा फेर्दा भित्ता र भुइँको रंगसँग सुहाउने नै रोज्नुपर्छ । घरको छाना बनाउनुपर्ने भए पनि  त्यसमा नयाँपन ल्याउन सकिन्छ । सिमेन्टको घर छ भने चर्किएको, चुहिएको ठाउँमा मर्मत गर्न प्राविधिकहरूको सुझाव लिन सकिन्छ । चुहिने छतमा सिमेन्ट इन्जेक्ट गरेर नचुहिने बनाउन सकिन्छ । चर्किएका भित्ताहरूमा पुटिन भरेर त्यसमा फेरि प्लास्टर गर्न सकिन्छ । त्यसपछि रंगरोगन गर्दा हुन्छ । अहिले प्रत्येक कोठामा एउटै रंग नलगाएर फरक-फरक रंग लगाउने चलन छ । कोठामा को बस्ने हो त्यसैअनुसार रंग लगाउनुपर्छ । बालबालिकाको कोठामा विभिन्न थरिका रंग मिश्रण गर्न सकिन्छ । त्यहाँ रंग मात्र होइन वालपेपर टाँसेर पनि नयाँपन ल्याउन सकिन्छ । अहिले आफूले खोजेजस्तै रंग र बुट्टा भएका वालपेपर बजारमा पाइन्छन् । भित्ताका लागि मात्र नभएर सिलिङका लागि पनि आकर्षक वालपेपर उपलब्ध छन् ।

फर्निचर : दसैंमा वर्षमा एकपल्ट आफ्नो घर आउने पाहुना धेरै हुन्छन् भने उनीहरूको पहिलो नजरमा पर्ने कोठा बैठक नै हो । त्यसैले बैठक कोठामा राखिने सोफा, सोकेस, पुस्तक र्‍याक, साइड टेबलहरू ठीक ठाउँमा छन्-छैनन् हेरेर पुराना वा रंग उडेका भए फेरि रंग लगाउने हो वा मर्मत गर्नुपर्ने हो मर्मत गराउनुपर्छ ।

हिजोआज सोफा, कार्पेट घरमै आएर धोइदिने, सफा गरिदिनेहरू पनि पाइन्छन् । यसले गर्दा पुराना मैला सोफामा पनि नयाँपन ल्याउन सकिन्छ । त्यस्तै कार्पेटहरू पनि स्प्रे गरेर धुने पसल तथा मानिसहरू पनि प्रशस्तै छन् । यतिबेला सोफाको बाहिरी कभर पनि फेर्न सकिन्छ । त्यसबाहेक घरअनुसार पानस, लालटिन, मैनबत्ती आदिको प्रयोगले पनि घरको सजावटमा रौनक थप्छन् । विभिन्न आकार-प्रकारका मैनबत्ती राख्ने स्ट्यान्ड प्रयोग गर्दा बैठक अझ राम्रो देखिन्छ । लालटिनमा समेत बल्ब राखेर बाल्न सकिन्छ जसले मौलिकताको झझल्को दिन्छ ।

फूलदान तथा डेकोरेटिभ सामानहरू : यस्ता सामग्रीको प्रयोगले घरको इन्टेरियरमा रौनक थप्छ । फूलदानको आकार-प्रकार, इन्डोर प्लान्ट राख्ने ठाउँ, गमलाको रंग तथा आकार-प्रकारले इन्टेरियरमा महत्त्वपूर्ण भूमिका खेल्छन् । फूल राख्ने गमला तथा भाँडाहरू पनि विभिन्न रंग एवं आकारमा पाइन्छन् । कुनै माटोका त कुनै सेरामिकका, यिनले फूल सजावटलाई अझ आकर्षक बनाउँछन् । त्यस्तै फूलदानमा राखिने फूलहरू पनि जे पायो त्यही वा जहाँ पायो त्यही नराखेर उपयुक्त ठाउँ रोज्नुपर्छ । सजावटमा नक्कली फूल पनि प्रयोग गर्न सकिन्छ । आजभोलि थन्काइएका गाग्री, अंखोरा तथा खड्कुलाहरूमा पनि फूल सजाउने चलन छ । यस्ता पुराना सरसामानलाई माझेर टल्काई नयाँ रूप दिन सकिन्छ ।

पूजाकोठा : दसैंमा पूजाकोठाको विशेष महत्व हुने भएकाले पूजाकोठाको सरसफाइ एवं सजावटलाई प्राथमिकता दिनुपर्छ । जमरा राख्ने घर छ भने अझ बढी काम हुन्छ । त्यसलाई रंग-रोगन गरेर पहिले नै तयार पार्नुपर्छ । विशेष गरेर पूजाकोठाका लागि प्रयोग हुने कपडा राता तथा पहेंला हुन्छन्, पूजाकोठामा पूजा गरिने हरेक तस्बिर एवं मूर्तिलाई देवताअनुसार पहिरन लगाइदिनु वेश हुन्छ । दुर्गा भवानीलाई रातो वस्त्र मन पर्छ भने बगलामुखीलाई पहेंलो वस्त्र मन पर्छ । महादेव, विष्णु, कृष्ण आदिलाई पहेंलो वस्त्र मन पर्छ । पूजाकोठामा प्राय: यस्तै रंग प्रयोग गरिन्छ । परम्परागत घरमा कमेरो र रातो माटो दुवै प्रयोग गरिन्छ । पूजाकोठाका भित्ताहरूमा विभिन्न फ्रेम हालेर देवी-देवताका तस्बिरहरू सजाउन सकिन्छ । मन्दिरको स्वरूप दिने भए काठका दराजहरू सजाएर राख्न सकिन्छ । पूजा गर्दा आफू बस्ने चकटी सफा र रातो भए राम्रो देखिन्छ । त्यसका लागि सुकुल पनि प्रयोग गर्न सकिन्छ । मकैको खोस्टाको चकटीलाई रातो कपडाले छेउबाट मोडेर आकर्षक बनाउन सकिन्छ । दसैंमा सयपत्री फूल फुलिसक्ने भएकाले पूजाकोठाको सजावटमा ताजा पहेंलो वा सुन्तला रंगको सयपत्री प्रयोग गर्दा आकर्षण थपिन्छ । पूजाकोठामा प्रयोग हुने भाँडाहरू पनि सफा गर्नुपर्छ । पूजाका भाँडाहरू माझेर टिलिक्क पारिएको हुनुपर्छ । तामा, पित्तल तथा चाँदीका भाँडाहरूलाई पाउडर, पीताम्बरी, सर्फ आदि प्रयोग गरेर टल्काउनुपर्छ । दसैंमा यस्ता वस्तुको सफाइ गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

बैठक कोठा : सोफाको कभर फेरेर बैठक कोठा सफा देखाउन तथा त्यसमा नयाँपन ल्याउन सकिन्छ । सोफाको कभर फेर्दा कोठा र पर्दाको रंगको पनि ख्याल गर्नुपर्छ । पर्दा पनि भित्री र बाहिरी दुई थरी भए बैठक कोठा अझ आकर्षक देखिन्छ । पर्दा मात्र फेर्नु छ भने भुइँको रंग र बुट्टालाई पनि ध्यानमा राखेर फेर्नु राम्रो हुन्छ । बैठक कोठालाई परम्परागत सामानहरू पाखी, राडी आदिले सजाइएको छ भने घाममा राम्रोसँग सुकाउने वा ड्राइक्लिन गर्न दिने । दसैंमा भुइँमा बसेर टीका लगाउने हो वा सोफा, मेचमा बसेर टीका लगाउने व्यवस्था गर्ने हो त्यो पनि पहिले नै निर्णय गर्नुपर्छ । बैठक कोठा भुइँमा बस्ने खालको छ भने डस्ना, चकटीहरू पुन: बनाउने वा त्यसैलाई घाममा सुकाएर खोल फेर्न सकिन्छ । खोल मात्र फेर्दा पनि बैठक कोठा आकर्षक देखिन्छ । खोलको रंग, बुट्टा र कपडाले बैठकको आकर्षणमा धेरै फरक ल्याउँछ । दसैंमा तासजस्ता खेल भुइँमा बसेर खेलिने भएकाले भुइँमा बस्ने व्यवस्था मिलाउनु जरुरी छ । अन्य कोठामा प्रयोग हुने बेड कभर तथा पर्दामा पनि ध्यान पुर्‍याउनुपर्छ । बैठक वा अन्य कोठामा प्रयोग भएका टेबुलको सजावटले भिन्नै प्रकारको आकर्षण थप्न मद्दत पुर्‍याउँछ । बैठक कोठाको बीचमा राखिने टेबलमा फूलदान सजाउन सकिन्छ भने साइड टेबलहरूमा पनि सुहाउने टेबल पिस राखेर, टेबल ल्याम्प वा फूलदान र फोटोफ्रेम वा कुनै मूर्ति सजाउन सकिन्छ । सजाइएका टेबल र पाहुनालाई खाना ख्वाउने टेबल एउटै भए अतिरिक्त सफाइ आवश्यक हुन्छ । टेबलहरू पुराना भए इनामेल लगाउने वा विभिन्न सुहाउँदो टेबल फलले छोपिदिए नयाँ देखिन्छ ।

बत्ती : बिजुली बत्तीका बल्बहरू विभिन्न आकार-प्रकार तथा रंगका पाइन्छन् । बैठक कोठाका अतिरिक्त प्यासेज तथा करिडोरमा यसले निकै प्रभाव पारेको हुन्छ । टुटेफुटेका सामान हटाएर केही नयाँ सामान खरिद गर्दा कोठाको आकर्षक बढाउन मद्दत मिल्छ । बल्बमा कस्तो खालको कभर गरिएको छ त्यसमा कोठामा देखिने रंग र उज्यालोपनले धेरै फरक पार्छ । लाइट कभरहरू सस्ता भए पनि आकर्षक हुनुपर्छ ।  कोठा, ठाउँ एवं घर हेरेर साधारण नेपाली कागज वा बेतका बल्ब कभर पनि सुहाउँदो गरी प्रयोग गर्न सकिन्छ ।

घरपालुवा जनावर बस्ने ठाउँ : घरपालुवा जनावर पालिएको छ भने पनि घर फोहोर हुन्छ । कुकुर, बिराला आदि जनावरलाई कोठामा राख्दा तिनका रौं कार्पेट, सोफा आदिमा यत्रतत्र छरिन्छ । कोठा सजाउँदा घरपालुवा जनावरको पनि सरसफाइमा ध्यान पुर्‍याएर घर वा कोठा सफा राख्न सकिन्छ । त्यस्तै ती जनावर कति तालिम प्राप्त छन् वा कति आज्ञाकारी छन् भन्ने कुरामा ध्यान नपुर्‍याए मिलाएर राखिएका सामान एकछिनमै बिग्रने सम्भावना हुन्छ । अरु घरपालुवा जनावर गाई, बाख्रा, खरायो, कुखुरा आदि पालिएको छ भने उनीहरूको बासस्थानको सरसफाइमा पनि ध्यान पुर्‍याउनुपर्छ । ती स्थान फोहोर भए दुर्गन्धले घरको शोभा नै बिगारिदिन्छ ।

घरपालुवा जनावर राख्ने ठाउँहरू पनि लिपपोत गरेर वा बार लगाएर राख्नु पर्छ । यिनीहरू बस्ने ठाउँमा पनि मलमूत्र बाहिर जाने व्यवस्था मिलाउनु जरुरी छ । गोठ वा खोरलाई नयाँ मान्द्रा वा अरु केहीले बारिदिँदा सफा र राम्रो देखिन्छ ।

ट्वाइलेट-बाथरुम : हरेक कोठाको सजावटमा ध्यान पुर्‍याइए पनि ट्वाइलेट-बाथरुमको सरसफाइ एवं सजावटमा ध्यान दिइएन भने घरको सजावट अधुरै रहन्छ । ट्वाइलेटमा टायल, बेसिन, कमोड आदि पुरानो छ र फेर्ने हो भने महिनौंअघि निर्णय गर्नुपर्छ । त्यसबाहेक ट्वाइलेट, बाथरुममा प्रयोग हुने अन्य सामानहरू टुटेफुटेका छन् भने नयाँ राख्दा वा किन्दा भित्ता तथा भूइँको टायलसँग मिल्ने वा सुहाउने खालको हुनुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । ट्वाइलेट-बाथरुममा पानी निकासको व्यवस्था राम्रो हुनुपर्छ । ट्वाइलेट-बाथरुम सुख्खा बनाउन सकियो भने त्यसमा प्रयोग हुने स-साना म्याटहरू ओछ्याएर नयाँपन दिन सकिन्छ । बजारमा यस्ता थरिथरिका म्याट पाइन्छन् । ट्वाइलेट-बाथरुमलाई सुहाउँदो म्याट ओछ्याएर बाथरुममा नयाँपन ल्याउन सकिन्छ । आधुनिक ट्वाइलेट-बाथरुमलाई अझ नयाँपन दिन इन्डोर प्लान्ट प्रयोग गर्न सकिन्छ ।साबुनका बट्टा बदल्न तथा साबुन पनि विभिन्न आकार तथा वासनाको राख्न सकिन्छ । ट्वाइलेट-बाथरुममा फूलदान, मैनबत्तीहरू पनि राख्न सकिन्छ । ट्वाइलेट-बाथरुम घर, भित्ता र कोठासँग जोडिएको हुनाले त्यहाँबाट दुर्गन्ध आए घर-कोठा नै बसि नसक्नु हुन्छ । टवाइलेट-बाथरुम ठूलो छ भने विभिन्न फ्रेम हालिएका तस्बिरहरू पनि झुन्ड्याउन सकिन्छ । आधुनिक ट्वाइलेटमा अटोमेटिक साबुन आउने, हात सुकाउने स-साना मेसिन राखेर पनि त्यसमा नयाँपन ल्याउन सकिन्छ । ट्वाइलेट पेपर तथा ब्रस राख्ने भाँडाहरू पनि बदल्न सकिन्छ । यस्ता सजावटका सामानहरू बजारमा प्रशस्त पाइन्छन् । ट्वाइलेट-बाथरुममा हात पुछ्ने राम्रा टाबेलहरू राख्दा आकर्षक देखिन्छ । ट्वाइलेट-बाथरुम सफा गर्न वासना आउने वा पानीसँगै बगिरहने फिनेल आदि प्रयोग गर्नुपर्छ । ट्वाइलेटमा नयाँ रंग र आकारका बाल्टी तथा मग प्रयोग गर्न सकिन्छ । पुरानो खालको सिल्भरको बाल्टिनको सट्टा प्लास्टिककै बाटा, बाल्टिन तथा मगले नयाँपनको अनुभूति दिन्छन् ।

बैठक कोठाको भुइँ काठ वा नेमोपार्केटको छ भने पालिस लगाएर टल्काउन सकिन्छ । सिंगमर्मर तथा तेलियाइँटको भुइँलाई पाउडरले पुछ्नु उपयुक्त हुन्छ । कोठामा कार्पेट छ भने जुत्ता बाहिर फुकाल्ने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि आकर्षक चप्पल (कपडाको) प्रयोग गरे कोठा पनि सफा रहन्छ । नेपाली ढाका, मखमल, पराल आदिका विभिन्न खालका आकर्षक चप्पल बजारमा उपलब्ध छन । त्यस्तै विदेशी सजावटका सामान प्रयोग गर्नुभन्दा परम्परागत सामान प्रयोग गर्दा घर अझ आकर्षक देखिन्छ । बैठक कोठामा बेतका सोफा पनि प्रयोग गर्न सकिन्छ । करुवा, पानस, चरेसका थाल, कचौरा, दसैंको टीका, जमरा राख्ने टीकादानी आदिको प्रयोगले घर सजावटमा विशेष भूमिका खेल्छन् । काम नलाग्ने भनेर थन्काइएका खड्कुला, आम्खोराहरूलाई फूल सजाउने वस्तुका रूपमा प्रयोग गरेर परम्परागत संस्कृतिमा जोड दिन सकिन्छ । दसैं आयो भनेर आत्तिनुको सट्टा आफूसँग भएका वस्तुहरूलाई सफा गरी नयाँपन दिन सक्नुमै गृहिणीहरूको सृजनशिलता लुकेको हुन्छ । टेबलको अभाव छ भने सन्दुक तथा होचा दराजहरूलाई टेबलको रूप दिन सकिन्छ । गलैंचाको अभाव छ भने सुकुल गुन्द्री आदि प्रयोग गर्न सकिन्छ ।

वास्तु : आजभोलि कतिपय मानिस घर बनाउँदादेखि भित्री सजावटका सामान राख्दा पनि वास्तुमा ध्यान पुर्‍याउँछन् । वास्तुमा विश्वास राख्नेहरूले हरेक कोठा तथा प्रत्येक सामान सजाउँदा विशेष ध्यान पुर्‍याइरहेका हुन्छन् । सजाउने सामान मात्र होइन कोठाको रंगरोगन एवं अन्य सामानको किसिम र रंगमा पनि ध्यान जानुपर्छ । जस्तो कुन दिशाको कोठा कसका लागि सजाउने ? त्यसमा बस्ने मानिसको इच्छाका साथसाथै वास्तुअनुसार रंगरोगनको प्रभाव उसमा कस्तो पर्छ ध्यान पुर्‍याउनुपर्छ । कोठाहरू वा बैठक कोठामा सजाइएका वा टाँगिएका तस्बिरहरू पनि वास्तुअनुकूल हुनु राम्रो हु्न्छ । कुन कोठामा कस्ता तस्बिर वा चित्र झुन्डाउने  भन्ने वास्तुको आफ्नै नियम छ ।

सरसामान : घरमा भएका इलेक्ट्रोनिक सामानहरू सही ठाउँमा छन्-छैनन् जाँच गरेर वास्तुअनुसार दिशा हेरफेर गरी नयाँपन ल्याउन सकिन्छ । बस्ने ठाउँ हेरफेर गर्दा पनि कोठामा नयाँपन आउँछ । एउटा टिभी मिलाउँदा पनि बस्ने ठाउँ हेरफेर गर्नुपर्छ त्यस्तै टेबल, साइड टेबल आदि सबैको ठाउँमा हेरफेर हुने हुँदा कोठामा नयाँपन आउँछ । कोठामा भएका सोकेस तथा दराजमा भएका पुस्तकहरूलाई पुछेर राख्दा कोठा नै फरक भएको महसुस हुन्छ ।

कोठाका सामान हेरफेर गरेर नयाँपन ल्याउनु जरुरी छ । भुइँमा बसेर खाने हो वा टेबलमा बसेर खाने हो त्यसमा फरकपन ल्याउन सकिन्छ । डाइनिङ टेबल सफा गर्ने हो वा नयाँ ल्याउने हो त्यो आफैमा भर पर्छ । मेच पुराना भए त्यसमा पनि बस्ने सिटमा चकटी राख्न सकिन्छ अथवा नयाँ खोल सिलाउन सकिन्छ । मेचको तल र माथि राम्रो खोल हाल्दा पनि भान्सा नयाँ देखिन्छ । डाइनिङ टेबलमा फूलदान, नुन, मरिच राख्ने नयाँ भाँडाहरूमार्फत् नयाँपन ल्याउन सकिन्छ । भान्सा कोठामा समेत स-साना फूल वा तरकारीका गमला सजाउन सकिन्छ ।

 

 Image