Successfully Copied

अनुभवहरूमा दसैं

हरेक दिन मेसिनजस्तै व्यस्त हुनुपर्ने यो जीवनमा वर्षमा एकपटक आउने दसैंले नयाँ ऊर्जा थपेको महसुस हुन्छ ।

सुनी जोशी, गायिका

हरेक दिन मेसिनजस्तै व्यस्त हुनुपर्ने यो जीवनमा वर्षमा एकपटक आउने दसैंले नयाँ ऊर्जा थपेको महसुस हुन्छ । दसैं भन्नासाथ मेरो मानसपटलमा ठूलादेखि सानासम्मले लगाउने टीका र आशीर्वाद नै आउँछ । हामीकहाँ टीका लगाउने मानिस लगभग सय जना भइन्छ । टीका लगाउँदा-लगाउँदै आधा दिन बित्छ । जमरा रोप्दा पूजा गरेर किताब, कलम, तरबार, खुकुरी, मोबाइल, चामल, लुगा आदि पनि राखिन्छ । टीकाको दिन गणेशलाई जमरा चढाएपछि टीका थाप्ने सबैलाई त्यसैबाट एक-एक वस्तु दिइन्छ । ती सामानअनुसार अब तिमी यो बन्छौ भनेर अनुमान लगाइन्छ । दसैंमा लगाइने टीका, क्लिपमा अड्काइएको जमरा र ठूलाबडाले दिएको आशीर्वाद लिएर धन्य महसुस गर्छु । मलाई दसैं आयो भन्नासाथ टाउकोमा जमरा सिउरिन हतार हुन्छ । म वर्षमा एकपटक रातो पहिरनमा सिंगारिएर टीका अनि जमराका साथ आफूलाई सुन्दर महसुस गर्छु ।

नीता ढुंगाना, नायिका

भगवान्प्रति आस्था भएका कारण दसैंमा देवीका मन्दिरहरू जान मन लाग्छ । बाल्यावस्थामा हेटौंडामा साथीहरूसँग बिहान ४ बजे नै भुटनदेवी, चुरियामाई आदि दर्शन गर्न जान्थें । त्यतिबेला दसैंका लागि किनिएका पहिरन लगाएर मन्दिर घुम्दा विशेष रमाइलो हुन्थ्यो । यो मेरो दसैंको कपडा भनेर देखाउन पाउँदा म दंग हुन्थें । ठूली भएपछि पनि म दसैंमा नियमित रूपमा भगवान्को दर्शन गर्न मन्दिर जान्छु । धेरै वर्षपछि काठमाडौंमा दसैं मनाउन पाउने भएकी छु । परिवारका सबै सदस्य काठमाडौंमा भएकाले यसपटकको दसैं यतै मनाइन्छ । यसपटक बगलामुखी, रक्तकाली, नक्साल भगवती, गुह्येश्वरीका साथै उपत्यकाबाहिर पलाञ्चोक भगवती, मनकामना तथा दक्षिणकालीसम्म जाने सोचमा छु । कतिपयले दसैंमा मन्दिर जानुलाई फेसनका रूपमा लिए पनि म भने आस्थाकै कारण जान्छु । अरू बेला चाहेर पनि मन्दिर जान नभ्याउने भएकाले दसैंको मौका छोपेर मन्दिर पुग्छु ।

रुवी राणा, मिन नेपाल तथा सौन्दर्यविद्

दसैं भन्नासाथ मेरो दिमागमा लंगुरबुर्जा आइहाल्छ । वीरगञ्जमा चार कक्षामा  पढ्दादेखि दसैंको बिदा हुनासाथ चार्ट पेपरमा रंग लिएर एकदमै आकर्षक ढंगलेे झण्डा, पान आदि बनाएर गाउँघरका बच्चाहरू जम्मा पारी लंगुरबुर्जा खेलाउँथें । त्यतिबेला म डेढ सयसम्म कमाउँथें । मैले कहिल्यै लंगुरबुर्जा खेलिन तर खेलाएँ । खेल्यो भने पैसा हारिन्छ तर खेलाउँदा कमाइन्छ । अहिले पनि दसैंमा छोरीहरूका लागि लंगुरबुर्जा बनाइदिन्छु । उनीहरू पनि घरमा कोही आए भने टेबलमा लंगुरबुर्जा ओछ्याइहाल्छन् । माइतीमा टीका लगाउन जाँदा त ४ दिदीबहिनी र १ दाजु भएपछि हाम्रो गेम सुरु भैहाल्छ । अहिले पनि लंगुरबुर्जा म नै खेलाउँछु । दसैं भन्नासाथ अब लंगुरबुर्जा खेल्न पाइन्छ भनेर खुसी लाग्छ ।

अकेशा विष्ट, भिजे तथा नायिका

दसैंमा सबै जना आ-आफ्नो घर जाने भएकाले काठमाडौंको वातावरण निकै शान्त हुन्छ । त्यसैले पनि मलाई दसैं रमाइलो लाग्छ । विशेष गरी फूलपातीपछिको काठमाडौंको वातावरण सार्‍है रमाइलो हुन्छ । दसैंमा हरेक व्यक्तिले आफ्नो परिवार, आफन्त एवं साथीहरूलाई भेट्न पाउने भएकाले पनि यो विशेष पर्व भएको हो । दसैंमा आफन्त एवं साथीहरू बोलाएर गेट टु गेदर गर्ने, मीठा-मीठा परिकारहरू पकाउने, नाच-गान आदि गर्दा रमाइलो लाग्छ । टीकापछि विराटनगरमा ठूली ममीकहाँ टीका लगाउन जान्छौं र त्यहि बहानामा घुम्छौं पनि । हरेक वर्ष हामी कहिले पोखरा, कहिले लुम्बिनी, कहिले पाल्पा, कहिले सौराहा घुम्न गैरहेका हुन्छौं । मलाई दसैंमा देखिने काठमाडौंको शान्त वातावरण पनि निकै रमाइलो लाग्छ ।

स्मृति पोखरेल, गायिका

संस्कृति एवं धर्मको महत्व देश छोडेर परदेशी भएपछि अझ बढी हुँदोरहेछ । म आठ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी छु । त्यसैले पनि दसैंको महिमालाई अझ नजिकबाट बुझ्ने मौका पाएकी छु । उता परिवार नहुने भएकाले हामी वरपर बस्ने २२-२३ जना टीकाको दिन बिदा लिएर दसैं सेलिब्रेट गर्छौं । एक-अर्कालाई टीका-जमरा लगाइदिने, एक-अर्कालाई मीठा-मीठा परिकार बनाएर ख्वाउने काम हुन्छ । लिभरपुलबाट खसी काटेर ल्याइन्छ । गाडी लिएर एक-अर्काको घर जाने, नाचगान गर्ने त छँदैछ हामी विभिन्न परिकारसँग वाइन, भोड्का, बियर आदि पिएर एकदम रमाइलो गर्छौं । म भने चिकेन छ्वेलासँग ग्वाभा फ्लेवरको भोड्का पिउन मन पराउँछु । म हरेक दसैंमा नेपालबाटै डिजाइनर वेयर अर्डर गर्छु । महान् चाड भएकाले जहाँ भए पनि हामीले दसैं मनाउनुपर्छ । यो पर्वले नेपालीहरूमा एक-अर्काप्रति माया र सद्भाव बढाउँछ । यसपटकको मेरो दसैं विशेष हुने देखिन्छ । एक त देशमै दसैं मनाउन पाउने र अर्को एल्बम पनि रिलिज हुने भएकाले यसपटक परिवारसँग बसेर दसैंका दसै दिन रमाइलो गर्ने सोचमा छु ।

सुप्रिया तुलाधर,भिजे

सानैदेखि दसैं भन्नासाथ हामी असनवासीले मनाउने असँ चालँको सम्झना आउँछ । व्यापारीहरू टीकाको दिनसम्म व्यस्त हुने भएकाले टीकाको भोलिपल्ट टीका लगाउने चलन छ । म सानैदेखि त्यो दिनको पर्खाइमा हुन्थें । त्यो दिन हामी पुख्र्यौली घर असनमा हजुरबुवाको हातबाट टीका लगाउन जान्छौं । अष्टमीका दिन पूजा गरेर १०-११ वटा मड्कामा छ्वेला, चिउरा, रक्सी, दही, बारा, साग, भटमास आदि राखिन्छ अनि टीकाका दिन परिवारका सबै छोरी, बुहारीहरूलाई एउटा-एउटा मड्का दिइन्छ । पछि सबैले परिवारका सबै सदस्यको हातमा त्यसलाई बाँड्छन् । सबै परिकार सबैका हातमा परेपछि एकै पटक समयबजी क्वाप्प खानुपर्छ । परिवारमा धेरै जना हुने भएकाले मैले पाएको छैन भनेर हल्ला भैरहने र बाहिर बसेका आफन्तहरू स्काइपमा आइरहने त्यो दिन मेरा लागि विशेष दिन हो । मेरा लागि दसैं त्यही दिन हो ।

आस्था राउत, गायिका

आकाशमा चंगाहरू उडेको देखिएपछि दसैं आउन थालेको महसुस हुन्छ । सानैदेखि दसैंमा चंगा उडाउन रमाइलो लाग्छ । आमाबुवाकी एक्ली सन्त्ाान भएर होला म अलि टमब्वाइ टाइपकी थिएँ । महिनौं दिनअघिदेखि ममीलाई चंगा किनाउँथें । त्यसमा पनि म पुच्छरवाला, कार्टुन, लामटाँगे डिजाइनर चंगा किनाउँथें । ममी भने सस्तो किनिदिन खोज्नुहुन्थ्यो । अरुले चंगा चेट गर्दा म नराम्रोसँग रुन्थें । आफ्नो चंगाको सबैलाई सारै माया लाग्छ । घरमा अंकलका छोराहरू आएर मेरो चंगा खेल्दा पनि रिस उठ्थ्यो । घरमा अरुको चंगा अड्कियो भने आफूले लिएर माग्दा नदिने, अरुको चंगा चँुडालेर लिने कुरा त सामान्य नै हुन्थ्यो । पछि कलेज गएपछि त्यति चंगा उडाइन तर कौसीमा बसेर हल्ला गर्ने, लट्टाई समातिदिने गर्थें । चंगा खेल्दा वा चंगा उडाएको हेर्दा वातावरणले नै दसैंको रौनक थपिदिएजस्तो लाग्छ । दसैंमा ठूलाका हातबाट टीका थाप्दा पनि सारै रमाइलो हुन्छ ।

अशिस्मा नकर्मी, नायिका

दसैंको फूलपातीपछि हामी पुख्र्याैली घर बलम्बु जान्छौं । त्यहाँ पुग्नासाथ हामी ३ दिदीबहिनी र फुपूका छोराछोरीहरू मिलेर घर छेउमै बनाइएको लिंगे पिङ खेल्छौं । हामी दिनभरि पिङ खेलेर बस्न सक्छौं । हामी ५ जना हुने भएकाले त्यहाँ अरूले खेल्नै पाउँदैनथे । पहिले-पहिले म पिङमा मच्चिदा सबै दंग पर्थे । म कम्तीमा ८ मिनेट निरन्तर खेल्न सक्छु । दसैंको सबैभन्दा रमाइलो क्षण नै पिङ खेल्नु हो । अहिले पनि दसैंमा बलम्बु जाँदा घरबाट कसैलाई नसोधी पिङतिर पुग्छु । ममीले अहिले ठूला भैसक्यौ नखेल भन्नुहुन्छ तर हामी मान्दैनौं । दसैंको मज्जा नै पिङ खेल्नुमा छ भने यसलाई किन छोड्ने ? त्यसैले घरमा सबै दिदीबहिनी मिलेर छिटो-छिटो काम भ्याएर भाग्छौं । पिङ खेलेपछि ३ वटा वाइक, स्कुटर लिएर टाढा टाढासम्म घुम्न जान्छौं । टीकासम्म हामी सबै जना त्यहीं बस्छौं । टीकाको दिन पनि त्यहाँ एकदम रमाइलो हुन्छ । ठूलाबडाको हातबाट टीका  लगाएर आशीर्वाद लिने चलन पनि निकै राम्रो छ । मलाई दसैं आराम, रमाइलो अनि संस्कृतिको त्रिवेणी हो जस्तो लाग्छ ।

 Image