Successfully Copied

सेभेन समिट महिला समूह

सातै महादेशका अग्ला शिखर चुम्ने साहसिक कीर्तिमानी अभियानकर्ता हो-सेभेन समिट महिला टोली । सगरमाथाको देश भएर पनि नेपालमा महिला पर्वतारोहीहरूको संख्या धेरै कम छ ।

सातै महादेशका अग्ला शिखर चुम्ने साहसिक कीर्तिमानी अभियानकर्ता हो-सेभेन समिट महिला टोली । सगरमाथाको देश भएर पनि नेपालमा महिला पर्वतारोहीहरूको संख्या धेरै कम  छ । यही अवस्थामा परिवर्तन ल्याउन यी महिला जुटेका छन् । विभिन्न जातजाति एवं सामान्य पृष्ठभूमिबाट आएका महिलाहरूको प्रथम समावेशी महिला सगरमाथा आरोहण दलले २०६५ जेठमा सगरमाथाको सफल आरोहण गरेर नेपाली समाजलाई चकित बनाएको थियो । त्यही सफलताको उत्साह र ऊर्जाबाट उक्त टोलीका यी सात महिलाले नेपालबाहिरका हिमाल चढेर इतिहास रच्ने सपना बुने । संसारमै सातै महादेशका अग्ला हिमाल चढ्नेहरूको संख्या ४ सय पनि पुगेको छैन, त्यसमा पनि लगभग ५० महिलाले मात्र उक्त उपलब्धि हासिल गरेका छन् ।

टिम संयोजक शैली बस्नेत भन्छिन्-सगरमाथाको टुप्पोबाट सबै कुरा तल देखिन्छ, माथि हुन्छ मात्र आकाश, सूर्य र फेरि अर्को सपना । 'टुगेदर वी रिच हाइयर' को मन्त्र लिएर शिक्षा, सशक्तीकरण तथा वातावरणको सन्देश बोकी यो टोलीले सगरमाथापछि अस्ट्रेलिया, युरोप र अफ्रिकाका सर्वोच्च शिखर आरोहण गरिसकेको छ भने अभियानका अन्तिम तीन शिखर दक्षिण अमेरिकाकोे हिमाल अकन्कागुवा, उत्तर अमेरिकाको डेनाली-मकिन्ले तथा एन्टार्टिकाको भिन्सन म्यासिफ आरोहण गर्ने तयारी छ । उनीहरूले सम्पूर्ण आरोहणपछि सातै महादेशमा शिक्षा, सशक्तीकरण तथा वातावरणलगायतका क्षेत्रमा सिकेको ज्ञानलाई रोचक शैक्षिक पुस्तकका रूपमा प्रकाशित गरी विश्वव्यापी रूपमा वितरण गर्ने लक्ष्य लिएका छन् । गौरवमय नेपाली रातो र चन्द्र-सूर्य अंकित झण्डा विश्वका सातै महादेशमा फहराएर विश्वमा नेपाललाई गुञ्जायमान बनाउने सपनाले यो भीमकाय यात्रामा सधैं ऊर्जा दिने यी महिलाहरू बताउँछन् । टिमकी अर्की सदस्य आशा कुमारी सिंह भन्छिन्-पासाङ ल्हामुको प्रेरणाले म तराईकी चेली आज विश्वकै अग्ला हिमालहरू चढिरहेकी छु । महिलाहरूको यस्तै नयाँ लहर गाउँगाउँमा आएपछि मात्र समाज माथि उठ्न सक्छ ।

साधारण महिलाहरूको असाधारण प्रयास हो-यो अभियान । यसमा हरेक सदस्यको चुनौती, संघर्ष एवं सफलताको प्रेरणादायी जीवनकथा छ । चौध वर्षको उमेरमा सिन्धुपाल्चोककी माया गुरुङ परिवारले तय गरेको विवाहको अघिल्लो दिन घरबाट भागेकी थिइन् । दुई दिनपछि घर र्फकदा उनको काजक्रिया गरिसकिएको थियो । त्यतिबेला आफ्नी छोरी मायाजस्ती होलिन् भनेर डराउने समुदायका मानिसहरू अहिले मायासँग छोरीलाई पनि 'तपाईंजस्तै बनाइदिनुस्' भन्न थालेका छन् । हिमालसँग कुनै नाता नराख्ने महोत्तरीको दनुवार समुदायकी आशाकुमारी सिंहको समाजमा एसएलसीपछि चेलीबेटीलाई अन्माएर पठाउने चलन छ । ६ जना दिदीबहिनीमध्ये नराम्रीमा दरिएकी आशाकी हजुरआमाले उसलाई विवाह गर्न केटो पाइँदैन भन्ने डरले राम्रो स्कुलमा पढाउन थालिन् । अहिले आशा विश्वभरका हिमाल चढ्ने मात्र होइन स्नातक तहको अध्ययन सक्ने क्रममा छिन् ।

पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेकी काठमाडौंकी शैली बस्नेत बौद्धिक वातावरणमा हुर्किन् जहाँ उनले सामान्य मानिने खेलकुदको पनि स्वाद लिन पाइनन् । खेलकुदको अनुभव लिएरै छाड्छु भन्ने अठोट लिएकी शैलीका लागि सगरमाथा आरोहणको अवसरले त्यो अवसर जुटाइदियो । बस्नेत यो ऐतिहासिक अभियानकी संयोजक हुन् ।

एसएलसी परीक्षा सकेर बसेकी निम्डोमा शेर्पा दोलखाको विकट गाउँमा जन्मिएकी हुन् । घर नजिकैको विद्यालयमा विश्व खाद्य कार्यक्रमले उपलब्ध गराउने हलुवाको लोभले स्कुल जान थालेकी निम्डोमाले सानै उमेरमा शिक्षाले आफ्नो जीवन परिवर्तन गर्न सक्छ भन्ने कुरा बुझिन् । त्यसैले काठमाडौं आएर परिवारकै पहिलो प्रवेशिका उत्तीर्ण गर्ने सदस्य बनिन् । पर्वतारोहणका साथै स्र्पोट्स क्लाइम्बिङमा दक्ष निम्डोमा क्लाइम्बिङकी नेसनल च्याम्पियन हुन् । दोलखाकै पूजन आचार्य ब्राह्मण समुदायबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला हुन् । बाल्यकालमा खेल्ने केटी साथीहरू नहुँदा केटाहरूसँग खेल्न पछि नपर्ने पूजन सगरमाथा आरोहणअघि मानव अधिकारसम्बन्धी संस्थामा आबद्ध थिइन् । त्यस्तै जिल्लाबाट काठमाडौं आएका दम्पतीका तीन छोरीमध्ये माहिली पेमा दिकी शेर्पा बल चाहिने हरेक काममा अघि सर्थिन् । सानोमा लर्निङ डिफिकल्टी भएकी पेमा टोलाएर बस्ने, नखेल्ने, धेरै कुरा नगर्ने कारण छरछिमेकका इष्टमित्रले उनलाई समस्याका रूपमा हेर्थे तर अभिभावकको लगातार प्रोत्साहनबाट जुझारु भएकी पेमा अकुप्रेसर क्लिनिकमा सहायकको काम गर्न थालिन् । त्यसै क्रममा पर्वतारोहण क्षेत्रमा लागेपछि जीवनले नयाँ मोड लियो अनि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । काठमाडौंको झोछेंमा जन्मिएर छ कक्षादेखि नै काम गर्दै आफैं पढेकी चुनु श्रेष्ठ बिरामी बुबालाई छोडेर आफ्नै जिन्दगीबाट समय खोसेर उनी सगरमाथातर्फ लम्किएकी थिइन् । सगरमाथाको शिखरमा नपुग्दै उनका बुबा बिते, जुन कुरा उनले काठमाडौं आएपछि मात्र थाहा पाइन् । टिममा सबैको हेरविचार गर्ने, कसले खायो, खाएन याद गर्ने हुनाले उसलाई सबैले 'चुनु ममी' पनि भन्छन् । चोकबाट गाग्रो कम्मरमा राखी दुई-तीन तला पानी ओसार्दा-ओसार्दै बलियो भएकी भनेर पनि उनलाई जिस्काइन्छ । चुनु भन्छिन्-आफ्नो सपना पूरा गर्ने हो भने मेहनत गर्नुपर्छ, टिमवर्कमा विश्वास राख्नुपर्छ अनि राम्रो लिडरसीप चाहिन्छ । हामीले मेहनत गर्‍यौं भने असम्भव केही पनि छैन ।

आरोहणका माध्यमबाट विश्वकै महिला तथा युवाहरूलाई नयाँ ऊर्जा दिँदै यो अभियान अघि बढेको छ । हरेक आरोहणपछि यी महिलाहरू विभिन्न शैक्षिक संस्थामा प्रोत्साहन मूलक कार्यक्रम गर्छन् । यो महिला आरोहण दल नेपालका सुदूर पश्चिम कणर्ालीदेखि मधेसका समेत १ सय ५० भन्दा बढी विद्यालयमा पुगिसकेको छ । हरेक दिन १ हजार जनाभन्दा बढी नागरिक रोजगारीका लागि विदेश जाने नेपालका कलिला विद्यार्थीहरूले यहाँ आफ्नो भविष्य देख्न सकेका छैनन् न त ठूलो सपना बोक्न सकेका छन् । यसले गर्दा शिक्षामा समेत युवाहरूको विश्वास डगमगाएको अवस्था उच्च ड्रप आउट रेसियोले देखाउँछ तर आफैंमा विश्वास गर्ने हो भने र शिक्षाको शक्ति साथ भए जस्तो पनि सपना साकार गर्न सकिन्छ भन्ने सन्देश आफ्नै उदाहरणबाट दर्शाउँदै यी महिलाहरू गाउँ-गाउँ पुगेका छन् । नेपालका बारेमा दुनियाँलाई ब्युँझाउन आरोहणका रोमाञ्चक प्रस्तुति लिएर उनीहरू अस्ट्रेलिया, रसिया, तान्जानिया र अमेरिकाका विद्यालयदेखि विश्वविद्यालयहरूसम्म पुगेका छन् । अनुभवबाट खारिँदै आएका यी महिलाले अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा नेपालको गरिमा बढाइरहेका छन्  र नेपाली नारीको नयाँ परिचय दिइरहेका छन् ।

हरेक हिमाल आरोहणका क्रममा स्थानीय महिलाहरूलाई खेलकुदप्रति प्रोत्साहित गर्ने काममा पनि यो समूह अग्रणी देखिन्छ । अफ्रिकाको पछिल्लो आरोहणका क्रममा उनीहरूले चार जना स्थानीय महिलालाई सँगै हिमाल चढाएका थिए भने नेपालमा धेरै महिलालाई खेलकुदमा प्रोत्साहित गरिरहेका छन् । छोटो समयमै उनीहरूको पाइला पछ्याउनेहरूको शृंखला नै सुरु भैसकेको छ । यो देखेर माया गुरुङ भन्छिन्-'अरूको नक्कल होइन, केही नयाँ, सिर्जनात्मक पाइला चालौंं, हाम्रो नेपाललाई त्यसकै खाँचो छ ।'

आरोहणको मजा के छ ? सात सदस्यीय आरोहण समूहका सदस्यहरू भन्छन्, हिमाल चढ्दा जसरी प्रकृतिको नजिक भइन्छ, त्यसको नशा बेग्लै छ । त्यही यात्राका क्रममा प्रकृति र मानवजातिबीचको संवेदनशील सम्बन्ध पनि बोध हुने उनीहरू बताउँछन् । त्यसैले हरेक आरोहणमा स्थानीय हिमालको वातावरणीय पक्षका बारेमा सिक्नु अनि हिमालय पर्वत शृंखलाका बारेमा विश्वलाई अवगत गराउनु यो अभियानको अभिन्न अंग बनेको छ । पेमा दिकीको भनाइ छ, 'आफूलाई विश्वास गरी हेर्नुस् अनि थाहा पाउनु हुनेछ, आफूभित्रको क्षमता ।'

समूहमा एक-अर्काको संघर्ष र दृढताबाट ऊर्जा मिल्ने यी सदस्यहरू बताउँछन् । त्यसबाहेक उनीहरू विभिन्न आरोहीबाट प्रभावित छन् । त्यसमा पनि सन् १९७५ मा सगरमाथा चढ्ने जुन्को ताबेई र नेपालकी प्रथम सगरमाथा आरोही पासाङ ल्हामुबाट उनीहरू बढी प्रभावित छन् । साहसका प्रतीक यी दुई महिलाले सगरमाथा मात्र चढेनन् दुई वर्षकी छोरीकी आमा जुन्को र तीन छोराछोरीकी आमा पासाङले महिला शरीरको शक्ति सुत्केरी हुँदैमा सकिँदैन भन्ने कुरा दशकौंअघि नै प्रमाणित गरेका छन् । विडम्बना, धेरैले यो कुरा सम्झदैनन् । समाजमा महिलासम्बन्धी यस्ता धेरै सोच परिवर्तन गर्ने जिम्मा आफ्नो पुस्तामा सरेको उनीहरूको धारणा छ । निम्डोमा भन्छिन्-'शिक्षा, र आँटले नै असम्भवलाई सम्भव बनाउँछ ।'

उनीहरूले हालसम्म लगभग २ सय विद्यालयमा २० हजार विद्यार्थीसमक्ष प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेका छन् भने सयौं नेपाली तथा विदेशी महिलासँग सहकार्य गर्नुका साथै हिमालयको वातावरणका सम्बन्धमा संसारलाई जानकारी दिएका छन् ।

महिला भएकै कारणले पर्वतारोहणमा 'सफल हुन सक्दैनन्' भन्ने मान्यता सुरुवाती चुनौती बने पनि सगरमाथाको सफल आरोहणले त्यो मान्यतालाई त चिर्‍यो नै तर समूहको वास्तविक संघर्ष पनि त्यहीँ सुरु भयो । संसारका सम्पूर्ण महादेशका हिमाल नेपाली महिलाले आफ्नै नेतृत्वमा चढ्नुलाई धेरैले असम्भव माने तथापि उनीहरूसँग एउटा पूर्ण टोली छ, सदस्यहरूको कमिटमेन्ट छ, तालिम र सीप छ, उपलब्धि छ, अपुग मात्र आर्थिक पक्षको छ । त्यसलाई देशमा विद्यमान राजनीतिक अस्थिरतादेखि निजी क्षेत्रको उदासीनता, लोडसेडिङ र ट्राफिक अस्तव्यस्तताजस्ता हरेक कुराले सताएको छ । त्यसै बीचबाट अवसरहरू पनि उजागर भएको उनीहरूको अनुभव छ ।  अन्तर्राष्ट्रिय स्तरमा यो समूहको छवि र गौरव फैलँदै गएको छ । पूजनको भनाइ छ-'शिक्षा, सशक्तीकरण एवं वातावरणबिना अबको कुनै पनि विकास पूर्ण हुन सक्दैन । यो हामीलाई हिमालले सिकाएको पाठ हो ।'

 Image