Successfully Copied

कस्तो हुनुपर्छ व्यावसायिक सम्बन्ध

व्यक्तिगत होस् वा व्यावसायिक, जुनसुकै सम्बन्ध स्थापित गर्न वर्षौं समय लाग्नसक्छ तर बिगार्न भने केही क्षण नै पर्याप्त हुन्छ ।

व्यक्तिगत होस् वा व्यावसायिक, जुनसुकै सम्बन्ध स्थापित गर्न वर्षौं समय लाग्नसक्छ तर बिगार्न भने केही क्षण नै पर्याप्त हुन्छ । सम्बन्ध बिगि्रएपछि फेरि जोडिने सम्भावना त रहन्छ तर त्यसमा पहिलेजस्तो मिठास भने रहँदैन । त्यसैले सुरुदेखि नै सम्बन्धलाई सुमधुर बनाएर, भविष्यमा बिग्रन नदिने स्थिति कायम राखे व्यावसायिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । त्यसैले व्यावसायिक सम्बन्ध सदैव सन्तुलित रहनुपर्छ ।

सहकर्मीहरूसँगको व्यवहार : अफिसमा सबैभन्दा बढी समय सहकर्मीसँग बिताउनुपर्छ । त्यसैले उनीहरूका साथ सुमधुर तथा समझदारीपूर्वक अघि बढाइएको सम्बन्ध हुनुपर्छ ।

नम्र व्यवहार : व्यक्तिको व्यवहारले नै उसलाई अरूका सामु राम्रो वा नराम्रो बनाउँछ । कारण व्यक्तिको सानो कुराले पनि उसलाई अरूका माझ चर्चाको विषय बनाउँछ । त्यसैले चाहे घर होस् वा अफिस नम्र व्यवहार आवश्यक छ । अफिसमा आफूभन्दा ठूला हुन् वा साना उमेरका सबैसँग शालीन व्यवहार गर्नुपर्छ । स-साना कुरामा रिस देखाउनु ठीक होइन ।

निश्चित दूरी : जहाँ निकटता बढी रहन्छ त्यहाँ फाटो पर्ने वा तिक्तता सिर्जना हुने सम्भावना पनि बढी हुन्छ । त्यसैले सहकर्मीसँग केही दूरी कायम गरेर अघि बढ्नुपर्छ जसले गर्दा कुनै पनि कुरामा आपसी झगडा हुने सम्भावना कम हुन्छ । त्यति मात्र होइन यी सबै कुराले काममा पनि नकारात्मक प्रभाव पार्छ ।

व्यक्तिगत समस्या नबाँड्ने : व्यावसायिक व्यक्तिले व्यक्तिगत तथा व्यावसायिक जीवनको भिन्नता बुझ्नुपर्छ र सन्तुलन कायम राख्नुपर्छ । अफिसमा आफ्ना सहकर्मीसित घरका स-साना एवं दाम्पत्य जीवनका कुरा बताउने काम गर्नु हुँदैन ।

गम्भीरता : अफिसमा केटाकेटीपन देखाउनु हुँदैन । स-साना कुरामा झगडा गर्नु, दिनभरि गफमा समय बिताउनु, कामको बीच ठट्टा गर्नु, दिनभरि ख्यालठट्टामै समय बिताउनु आदि त्यसकै उदाहरण हुन् । अरूले पनि इज्जत गरोस् भन्ने चाहना छ भने त्यस्तो व्यवहार देखाउनु हुँदैन र गम्भीर रहनुपर्छ ।

धैर्य : अफिसमा थुप्रै सहकर्मी हुन्छन् र तिनले सोच्ने र काम गर्ने तरिका पनि फरक-फरक हुन्छ । कतिपयसँग बारम्बार भनाभन हुने वा कतिपय कुरामा गरिएको ख्यालठट्टा कतिलाई चित्त नबुझ्ने हुनसक्छ । त्यस्तो अवस्थामा उत्तेजित हुनुभन्दा धैर्यपूर्वक स्थितिको सामना गर्नुपर्छ । काम गर्ने तरिका नियमसंगत र सही हुनुपर्छ ।

कुरौटे बानीको त्याग : अफिसमा कसैका बारेमा कुरा लगाउने वा काट्ने कार्यले आफ्नो छवि बिग्रनुका साथै सहकर्मीहरूसितको आफ्नो सम्बन्ध पनि बिग्रन्छ ।

हाकिमसितको सम्बन्ध : प्रतिस्पर्धाको भावनाले व्यक्तिलाई गलत बाटोमा डोर्‍याउँछ । व्यक्तिलाई आफ्नो सहकर्मी कतै आफूभन्दा अघि बढ्दै त छैन, हाकिमको प्रियपात्र त बन्दै छैन भन्ने कुराले पिरोल्छ । यो चक्करमा ऊ उक्त व्यक्तिका बारेमा स-साना कमेन्ट गर्न वा गुनासो पोख्न उत्सुक हुन्छ । त्यसो गर्नाले आफू हाकिमका नजरमा राम्रो हुने उसको ठम्याइ हुन्छ तर यसले हाकिमका नजरमा ऊ स्वयंकै प्रभाव पनि राम्रो हुँदैन ।

गोपनीयता : कतिपय मानिस आफूलाई हाकिमको प्रियपात्र भएको देखाउने चक्करमा हाकिमद्वारा शेयर गरिएका सम्पूर्ण कुरा सहकर्मीमाझ व्यक्त गरिदिन्छन् भने अर्को सहकर्मी हाकिमको विशेष बन्ने प्रयासमा ती कुरालाई हाकिमसम्म पुर्‍याउन पछि पर्दैन । परिणामस्वरूप गोपनीयता भंग गरेको आरोपमा हाकिमसितको आफ्नो सम्बन्ध बिग्रन्छ ।

हाकिमका कुराको महत्व : आफ्ना हाकिमको कुरालाई सदैव महत्व दिनुपर्छ । उनले केही काम गर्न भनेका छन् भने त्यसलाई टार्नु हुँदैन । हाकिमले अर्‍याएको कामबाट नयाँ कुरा सिक्न सकिन्छ । कामका बारेमा सल्लाह लिनुपर्छ । मार्गनिर्देशनमा राम्रोसँग ध्यान पुर्‍याउनुपर्छ । हाकिमका नराम्रा वा चित्त नबुझ्ने कुरालाई पनि मान्नुपर्छ भन्ने छैन तर झगडा वा विवाद गर्नु हुँदैन । उनका अनुचित कुरालाई शालीनतापूर्वक व्यक्त गर्नु र आफ्नो तर्कमा सहमत गराउनु उचित हुन्छ ।

 Image