Successfully Copied

आर्थिक क्षेत्रमा महिला

अहिलेको समय हरेक क्षेत्रमा महिला तथा पुरुषको समान सहभागिताको हो । आज महिलाहरू हरेक क्षेत्रमा उल्लेख्य उपस्थिति दर्शाउँदै छन् ।

अहिलेको समय हरेक क्षेत्रमा महिला तथा पुरुषको समान सहभागिताको हो । आज महिलाहरू हरेक क्षेत्रमा उल्लेख्य उपस्थिति दर्शाउँदै छन् । अफिस होस् वा व्यापार हरेक क्षेत्रमा महिलाहरूको उल्लेखनीय उपस्थिति छ । बिस्तारै महिलाहरूले आफ्नो काम गर्ने दायरा पनि फराकिलो बनाइरहेका छन् । उनीहरू विभिन्न व्यवसाय गर्न पनि अग्रसर देखिन्छन् । विगत लामो समयदेखि घरायसी व्यापारमा संलग्न ज्योति थापा अहिले स्वाद अचार लिएर बजारमा आएकी छिन् । थापा भन्छिन्-'समयअनुसार मैले आफ्नो व्यापार परिमार्जित गर्दै लगेकी छु ।' अहिले उनी चारवटा व्यवसायमा व्यस्त छिन् । ज्योति भन्छिन्-'व्यस्त जीवनमा सबैथोक जोहो गर्न कठिन हुने भएकाले मैले यो अवधारणाको विकास गरेकी हुँ ।' थापा समय मिले तालिम पनि प्रदान गर्छिन् । महिलाहरूले व्यवसाय सुरु गर्दाको समयमा अनेकौं चुनौती आउने गरेका छन् । सबैभन्दा ठूलो चुनौती भनेको आर्थिक स्वतन्त्रता हो । पछिल्ला केही समयदेखि भने बैंक तथा वित्तीय संस्थाहरू महिलाप्रति लचिला देखिएका छन् । यसले गर्दा महिलाहरूले निर्धक्क रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सकेका छन् । प्राविधिक जानकारीको कमी, देशको सामाजिक व्यवस्था, संयुक्त परिवार, परिवार तथा बालबालिकाहरूको जिम्मेवारी, परम्परागत सामाजिक मूल्य-मान्यता आत्मविश्वासको कमी आदिका कारण पनि महिलाहरूलाई व्यवसाय सुरु गर्न अप्ठ्यारो छ । जस्तै राम्रो काम गरे पनि समाजमा महिलाहरूले गरेको कार्यमा प्रश्न उठाइन्छ । यद्यपि पुरुषको तुलनामा महिलाहरू व्यवसाय कुशल हुन्छन् । घरलाई कुशल व्यवस्थापन गर्न सक्षम महिलाहरूलाई कुनै पनि संस्था वा व्यवसायको संरचना व्यवस्थित रूपमा चलाउन त्यति गार्‍हो पर्दैन । बैंकहरूले महिलाहरूलाई ग्राह्यता दिन विभिन्न महिलामैत्री योजना ल्याउने गरेका छन् भने महिलाको हकमा व्याजमा केही लचिलो पनि भएका छन् । बैंकिङ कारोवारले महिलाहरूलाई व्यवसाय गर्न सहज तुल्याउने सनराइज बैंककी निमा प्रधान बताउँछिन् । प्रधान भन्छिन्-'महिलाहरू केही समय यता देखि आफ्नो व्यवसाय गर्न निकै उत्साहित देखिएका छन् । त्यसका लागि बैंकिङ संस्थाहरूले पनि उनीहरूलाई सहुलियत प्रदान गर्न विभिन्न योजना अघि सारेका छन् । महिलाहरूलाई राम्रो सेवा उपलब्ध गराउन हरेक बैंकले आफ्नो अलग योजना बनाउने गरेका छन् । बैंकहरूले नारी बचत, गृहिणी बचतजस्ता खाताहरू सञ्चालन गरिरहेका छन् । सनराइज बैंकमा पनि महिलाहरूलाई लक्षित गरी पिंक बचत खाताको अवधारणा ल्याइएको छ जसअन्तर्गत हरेक महिलाले केवल १ सय रुपैंयाँमा खाता खोल्न सक्छन् । त्यसवापत उनीहरूले ईबैंकिङ, डेविट कार्ड, लकरमा छुट आदि सेवा प्राप्त गर्छन् । यो खाताको मुख्य उद्देश्य बढीभन्दा बढी महिलालाई आर्थिक कारोवारमा संलग्न गराई बैंकिङ सेवा प्रयोग गर्न प्रोत्साहन गर्नु हो । खाता खोलेर पैसा बचत गर्ने बानीले महिलाहरूमा आर्थिक स्वतन्त्रताको अनुभव गराउँछ । यसबाट उनीहरूमा कुनै पनि काम गर्न हौसला तथा आत्मविश्वास सिर्जना हुन्छ । बैंकमा पैसा जम्मा गर्दा व्याज पाइन्छ भने बैंकको राम्रो ग्राहक बन्न सके व्यवसाय सुरु गर्न पनि सजिलो हुन्छ ।

नेपालका सबैजसो बैंकले महिलाहरूलाई आर्थिक कारोबार गर्ने तथा आफ्नो पैसा बचत गर्ने बानीलाई बढावा दिएका छन् । त्यसमा पनि बैंकमा खाता खोल्दा जोखिम बहन गर्नुपर्दैन । बुटिक संचालक अर्चना श्रेष्ठ एक सफल व्यवसायी हुन् । उनको बुटिक कपनमा भए पनि कारोबार सन्तोषजनक छ । श्रेष्ठको एक महिनाको कारोबार २ देखि ३ लाखसम्म हुने गरेको छ । श्रेष्ठ भन्छिन्- 'शोरुम खोलेर व्यापार बढाउन सुरुका दिनमा सहकारीले सहयोग गर्‍यो ।' सफलतापूर्वक चलेपछि उनले जग्गा जोडिन् । अहिले उनलाई कुनै तनाव छैन । व्यापार राम्रो छ, यसलाई अझ अघि बढाउन उनले बैंकसँग ऋण लिने योजना बनाएकी छिन् । श्रेष्ठ भन्छिन्-अब म ढुक्क छु । राम्रो ग्राहक बन्न सफल भएकाले बैंकले लोन दिन हिच्किचाउँदैन ।' अर्चना जुनसुकै समयमा आफ्नो व्यापार बढाउन सक्छिन् । महिलाहरूलाई विशेष गरी बैंकभन्दा पनि बचत तथा ऋण सहकारी संस्थाले निकै सघाएका छन् । यस्ता संस्थाहरूले महिलाहरूको बचतका भरमा सामूहिक जमानतमा बिनाधितो ऋण दिने गरेका छन् । यसले पनि महिलाहरूलाई उत्साहित बनाएको छ । अहिले नाङ्लो पसल चलाउने व्यापारी महिला हुन् वा कुनै उद्यम चलाउने सबै यस्ता सहकारी संस्थाहरूकै कारण माथि उठिरहेका छन् । कर्मचारीहरू दिनहुँ पैसा उठाउन आउने भएकाले थोरै-थोरै गरी ऋण घटाउन सहज हुन्छ । यस्ता सहकारी संस्थाहरू महिलाहरूका लागि सहयोगी हात भएका छन् । नेपाली समाजमा सम्पत्ति महिलाहरूका नाममा राख्ने परिपाटी कम छ । घरायसी सम्पत्ति धितो राखी काम गर्न दिने उदारता पनि कमै परिवारले गर्छन् । यही परिवेशमा आफ्नो सम्पत्ति नभए पनि विश्वासका आधारमा ऋण प्रदान गरी महिलाहरूको जीवन उकास्ने कार्यमा सहकारीहरू सक्रिय छन् । सहकारीहरूले विभिन्न व्यवसायिक तालिमहरू प्रदान गरी उनीहरूलाई व्यवसाय गर्न प्रोत्साहित गरिरहेका छन् । इच्छाशक्ति भए पनि, मेहनत गरिए पनि पुँजी भएन भने ती सबै कुरा दिवास्वप्न्ा हुन्छ । नमोस्तुति बचत तथा ऋण सहकारी संस्थाकी कार्यकारी प्रमुख शिला श्रेष्ठ पुँजी नभएका महिला दिदीबहिनीहरूलाई ऋण दिएर सहकारीहरूले आर्थिक रूपमा माथि उठ्न सहयोग गरिरहेको बताउँछिन् । श्रेष्ठ भन्छिन्-महिलाहरू मेहनती तथा इमान्दार हुन्छन् । त्यसैले पनि हामी महिला ग्राहकलाई ग्राह्यता दिन्छौं । उनीहरू आफ्नो किस्ता र व्याज सकेसम्म समयमा बुझाउन चाहन्छन् । हाम्रा महिला ग्राहकहरू प्राय: सबैको आफ्नै व्यवसाय छ । मेरो ४ वर्षको अनुभवमा उनीहरू आर्थिक कारोबार गर्न निर्धक्क भएका छन् । उनीहरूमा बिस्तारै ऋण लिऊ, काम गरौं र तिरौं भन्ने चेतना आएको छ । व्यवसाय सानो नै किन नहोस् महिलाहरूले त्यसबाट आफ्नो गुजारा चलाइरहेका छन् । आफ्ना श्रीमान् तथा परिवारको भरणपोषणमा बराबरी साथ दिइरहेका छन् । बैंकहरूले महिलाहरूका लागि आफ्नो नीति अझ उदार बनाउनुपर्छ । महिलाहरूलाई यसरी व्यवसायमा लगाउन सकियो भने देशको अर्थतन्त्रमै टेवा पुग्नसक्छ ।

कुनै पनि व्यवसाय सुरु गर्नुभन्दा पहिले निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यसका लागि महिलाहरूले आफ्नो क्षमता, आर्थिक तथा पारिवारिक पृष्ठभूमि, स्थानीय कच्चापदार्थ, बजारमा कुनै पनि वस्तुको मागजस्ता पक्षमा ध्यान दिनुपर्छ । औद्योगिक उत्पादनको सही छनोटदेखि योजना निर्माण, प्रशिक्षण वा व्यवसाय स्थापना तथा यसको दर्तालगायत सबै कुरामा ध्यान पुर्‍याउनुपर्छ । बैंक, फाइनान्स, इन्स्योरेन्स कम्पनी तथा सहकारीका सदस्यहरूमा ध्यान पुर्‍याउने हो भने महिला सदस्यहरूको पनि उपस्थिति उस्तै छ । उनीहरूमा बचत तथा लगानीको इच्छा पनि बढ्दै गएको छ । उनीहरूले लगानी गरेर जोखिम बहन गर्न पनि आफूलाई तयार गरिसकेका छन् । अहिले महिलाहरूमा केही ऋण तथा केही जोखिम उठाएर आफूलाई दुई-चार पैसा आम्दानी हुन्छ भने किन लगानी गर्न पछि पर्ने भन्ने भावना देखिन्छ । त्यसो त हरेक चोकचोकमा महिला तथा पुरुष समान रूपमा व्यवसाय गरिरहेका भेटिन्छन् । आर्थिक रूपमा सक्षम भएपछि महिलाहरूले राज्यको आर्थिक व्यवस्थाका बारेमा जानकारी पाएका छन् । कुनै पनि बैंकमा खाता खोलेपछि उनीहरू त्यसमा दिइने व्याज, जरिवाना, मासिक किस्ताजस्ता कुरामा पनि जानकार हुन्छन् । उनीहरूलाई कुन ठाउँमा लगानी गर्दा कति फाइदा हुन्छ । व्याजमा पैसा लिएपछि कस्तो जोखिम बहन गर्नुपर्छ । देशको आर्थिक अवस्था कता गैरहेको छ आदि कुराको जानकारी पनि हुन्छ । महिलाहरूलाई प्रत्यक्ष तथा परोक्ष रूपमा यस्ता वित्तीय संस्थाहरूले स्वावलम्बी तथा आत्मविश्वासी हुन सहयोग गरिरहेका छन् । महिलाहरूलाई आर्थिक कारोवार गर्न झकझक्याउने यस्ता संस्थाहरू हरदम सहयोगी हात बनेर आफ्नो भूमिका उत्कृष्ट हिसाबले निर्वाह गरिरहेका छन् ।

———————————-

आर्थिक सशक्तीकरणको बाटोमा महिला

महिला रोजगारी दिनप्रतिदिन बढिरहेको कुरा तथ्यांकले देखाउँछ तर आफूमा क्षमता एवं दक्षता भए पनि पुरुषको तुलनामा पछि पर्ने भुक्तभोगी महिलाहरूको अनुभव छ । सहरका कामकाजी महिलाहरू आफ्नो शिक्षा, क्षमता तथा काम गर्ने दृढतामा दक्ष भए पनि पुरुषहरू आफूभन्दा माथिल्लो पदमा पुग्ने गरेको बताउँछन् भने ग्रामीण महिलाहरू श्रीमान्कै कमाइमा परनिर्भर रहनुपरेको दुखेसो पोख्छन् । यी दुबै खाले महिलाबीच विद्यमान दूरी कम गर्दै दुवैको समस्या सम्बोधन गर्ने एवं महिलालाई कसरी आयआर्जनको बाटोमा लगाई उनीहरूको आर्थिक सशक्तीकरण वृद्धि गर्ने भन्ने विषयमा यसपटकको बहस :

प्रस्तुति : लक्ष्मी भण्डारी थापा

सौजन्य : गीताञ्जली ज्वेल्स, दरवारमार्ग

अञ्जु पन्त,अपरेसन म्यानेजर

लुम्बिनी बैंक, नक्साल शाखा

महिलाहरू कुनै पनि क्षेत्रमा सफल हुन्छन् । महिलाले आँटे भने जस्तोसुकै काम पनि गर्न सक्छन् । बैंकभित्र धेरै त्यस्ता प्रोडक्ट छन् जसले महिलाले केही गर्न चाहे भने कर्जा पाउँछन् । हाम्रो लुम्बिनी बैंकमा नारी बचत खाता छ । त्यहाँ खाता खोल्नेले २ दशमलव ५ प्रतिशत व्याजमा सहजै कर्जा प्राप्त गर्न सक्छन् । सीप भए पनि पुँजी नभई केही नहुने भएकाले यस्तो सरल कर्जाले महिलाको आर्थिक सशक्तीकरणमा ठूलो भूमिका खेल्छ । बाहिर ३६ प्रतिशत व्याजमा पैसा लिएर काम गर्नुभन्दा थोरै व्याजमा हामी त्यस्ता महिलालाई सहयोग गर्छौं । अहिले महिला रोजगारी बढिरहेको छ । मसँग १६ जना महिला सहकर्मी छन् । महिलालाई आयआर्जनतर्फ उन्मुख बनाउन जम्मा गरेको पैसा घरमा राख्ने होइन कि बैंकमा राख्ने वा लगानी गर्ने बानी बसाल्नुपर्छ जसले गर्दा २-४ पैसा भए पनि महिलाको पोल्टामा पर्छ ।

दीपाश्री निरौला कलाकार

महिलाले आफ्नो क्षमता आफैंले बुझेका छैनन् । आफ्नो क्षमता बुझेर काम गर्न सक्नुपर्छ । हामी विदेशमा गएर हाउसकिपिङ गर्न तयार हुन्छौं तर नेपालमा त्यही काम गर्न लजाउँछौं । कुनै महिलाले नेपालमै केही गर्न चाहन्छु भन्छिन् भने हामी सबैले आफूले सक्दो सहयोग गर्न तयार छु । अर्को कुरा हामी नेपालीहरू कसैले सेल बेचे सबै त्यसकै पछि लाग्छौं, कुनै नयाँ इनोभेटिब काम खोज्दैनौं । केही नयाँ गरौं भनेर सिर्जनात्मक बन्ने हो भने आम्दानीको ढोका आफैं खुल्छ । आँट, विश्वास र क्षमता नै हाम्रा मुख्य अस्त्र हुन् । एकपटक सफल नभए पनि हार खानुहुँदैन । भन्नेले भन्दै गर्छन् आफूले काम गर्दै जानुपर्छ एकदिन अवश्य सफल भइन्छ । शिक्षा, चेतना एवं सीप पनि महिलाहरू स्वरोजगार हुने बलिया आधार हुन् ।

रेनुका शाह

डेपुटी डाइरेक्टर, सीटीईभीटी तथा अधिवक्ता

महिलाको आर्थिक सशक्तीकरणमा शिक्षाले प्रमुख भूमिका निर्वाह गर्छ । शिक्षाले चेतना जगाउँछ । चेतना आएपछि आफ्ना लागि केही गर्नुपर्छ भन्ने बाटो खोल्न लालायित भइन्छ । जो हायर एजुकेसनमा जान्छन् उनीहरूको छुट्टै स्ट्याटस बन्छ भने शिक्षामा माथि जान नसक्नेहरूले भोकेसनल टे्रनिङ लिन सक्छन् । तालिमबाट प्राप्त गरेको सीपलाई रोजगारीतर्फ

मोड्नुपर्छ । व्यवसायिक तालिम नै महिलाको आयआर्जनको बाटो हो । अहिले जेन्डर न्युटल टे्रनिङ तथा शिक्षा भन्ने कन्सेप्ट आएको छ यो मान्यताले पुरुषलाई ब्युटिसियन तालिम दिने तथा महिलाहरूलाई वर्कसपको तालिम दिने काम गर्छ । महिलाले सिलाइ-बुनाइ वा ब्युटिसियन सीप नै सिक्नुपर्छ भन्ने छैन । यसअन्तर्गत महिलाले पनि पुरुषले गर्ने काममा थुप्रै सीप तालिम लिइरहेका छन् ।

विष्णुकला राई

उत्पादक, कोसेली प्रोडक्ट

नेपालमा निरक्षरहरूले पनि पैसा कमाउन सक्ने थुप्रै बाटा छन् तर हामीमा अर्काको खिसी गर्ने अनि लजाउने बानी बढी छ । जस्तो पनि काम गर्न लाज नमान्ने हो भने महिलाले सहजै आयआर्जन गर्न सक्छन् । मैले काठमाडौंमै ब्याचलर गरेकी हुँ । म पनि कलम चलाउन सक्थें तर म अहिले पीठो मुछेर बस्छु किनभने यसमै राम्रो आम्दानी एवं आत्मसन्तुष्टि छ । दुई किलो चामलको पीठोलाई मिक्स्चरमा पिसेर सानो किराना पसलमा बेच्दा ६-७ सय रुपैंयाँ आयो । मेरो पहिलो कमाइले मलाई अत्यन्त खुसी बनायो । त्यसपछि मोटिभेसन मिल्यो । अहिले धेरै राम्रो छ । गाउँघरतिरका महिलाहरू गोबर सोरेर समय खेर फालिरहेका हुन्छन् । उनीहरू उत्तिकै दु:ख पनि गर्छन् । त्यसैले उनीहरूमा गोबरबाट गोबर ग्याँस कसरी बन्छ भन्ने चेतना पनि चाहियो ।

राधा ढकाल

फेसन डिजाइनर

शिक्षा, स्वास्थ्य, रोजगारी एवं अधिकारका सम्बन्धमा ज्ञान भए महिलाहरू आर्थिक रूपमा पनि सशक्त हुन सक्छन् । शिक्षित मान्छे सचेत हुन्छ स्वस्थ मान्छेले हरेक काम गर्न सक्छ । मेरो अनुभवले भन्छ पहिरन शैलीले पनि महिलाको करिअरमा धेरै ठूलो भूमिका खेल्छ । आयआर्जनका लागि महिलामा नयाँ सोच र भिजन आवश्यक छ । ह्यान्डिक्राफ्टलगायतका स-साना काम जुन घरमै बसेर गर्न सकिन्छ त्यस्ता काम गर्ने १ सय जना महिलाले ममार्फत रोजगार पाइरहेका छन् भने बुटिकमा झन्डै २० जना महिला कामदार छन् । महिलाको आर्थिक सशक्तीकरणमा पारिवारिक सहयोगको पनि ठूलो भूमिका हुन्छ । पर्सनालिटीको विकास अर्को विशेष कुरा हो । मुख्य कुरा त महिला आफैंले केही गर्छु भन्ने दृढता लिनुपर्छ । सीप सिकिसकेपछि कतिपय महिला दक्ष नभै आफैं व्यवसाय संचालन गर्न हतारिन्छन् । यस्तो प्रतिस्पर्धाले उनीहरू असफल पनि हुनसक्छन् । त्यसैले यस्ता कुरामा पनि पर्याप्त ध्यान पुर्‍याउनुपर्छ ।

 Image