Successfully Copied

बदलिँदो शैली पुरुषको

पारिवारिक साझेदारका रूपमा महिला र पुरुषको भूमिका समान हुन्छ । यद्यपि समाजले दुवैलाई अलग कित्तामा राखेर हेर्ने गरेको छ ।

पारिवारिक साझेदारका रूपमा महिला र पुरुषको भूमिका समान हुन्छ । यद्यपि समाजले दुवैलाई अलग कित्तामा राखेर हेर्ने गरेको छ । प्रवृत्ति, सोच, व्यवहार, शैलीजस्ता कुरामा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण समान छैन । महिलाहरू बढी संवेदनशील हुन्छन्, शृंगारलाई महत्व दिन्छन् तथा सपिङ क्रेजी हुन्छन् भन्ने आमसोच छ । यद्यपि पुरुषहरूमा पनि महिलाको जस्तो स्वभाव एवं रुचि हुन्छ । भलै उनीहरूले त्यसलाई बाहिर प्रदर्शन गर्दैनन् ।

गसिप किङ

महिलाहरू प्राय: अर्काको कुरा काटेर समय बिताउँछन्-आमधारणा यस्तै छ । पुरुषहरूमा पनि यस्तो बानी हुन्छ । उनीहरू कतिपय समय गफमै खर्चिरहेका हुन्छन् । साथीहरूसँग भेट हुनासाथ पुरुषहरू गफ हाँक्न थालिहाल्छन् । उनीहरूको गफको विषय र प्रकृति फरक हुन सक्छ । महिलाहरू अर्काको कुरा काटेर एवं गुनासो गरेर समय बिताइरहेका हुन्छन् भने पुरुषहरू सम्पत्ति, कार्यालय, राजनीति, खेल अनि यौनसम्बन्धी विषयमा गफ गरिरहेका हुन्छन् ।

रोमान्टिक

वास्तविक जीवनमा पुरुषले फिल्मी हिरो जस्तो रोमान्स गर्दैनन् भन्ने सोच पनि समाजमा व्याप्त छ । पुरुषहरू त्यति रोमान्टिक हुँदैनन् भनिन्छ तर, यो भ्रम मात्र हो । पुरुष पनि महिलाजस्तै रोमान्टिक हुन्छन् । यद्यपि प्रेम प्रकट गर्ने तरिका महिलाहरूको भन्दा फरक हुनसक्छ । महिलाहरू 'केयरिङ व्यवहार' बाट प्रेम व्यक्त गरिरहेका हुन्छन् भने, पुरुषहरू फूल एवं चकलेट दिएर त्यस्तो भावना व्यक्त गर्छन् । यसका साथै उनीहरू पनि महिलाहरूले जस्तै पार्टनरसँग रोमान्टिक फिल्म र क्यान्डिल लाइट डिनरमा जान इच्छुक हुन्छन् ।

इमोसनल

एक महिला भन्छिन्-'मेरा श्रीमान् कहिल्यै इमोसलन देखिँदैनन् । उनी आफ्नो भावना आफैमा दबाएर राख्छन् । यद्यपि कुनै संवेदनशील अवस्थामा उनका आँखा रसाँउँछन् । मन भावुक हुन्छ ।' पुरुषले शारीरिक एवं मानसिक रूपमा मजबुत हुनु आवश्यक पनि छ । आफ्नो यही छवि जोगाउन पुरुषहरू आफ्नो कमजोरी एवं आँसु अर्काका सामु प्रदर्शन गर्दैनन् ।

स्टाइलिस लुक

राम्रो एवं स्टाइलिस देखिने चाहना महिलामा मात्र हुन्छ भन्ने सोच पनि गलत छ । किनभने अहिलेका पुरुषहरू पनि 'ब्युटी कन्सस' छन् । उनीहरू अब स्टाइलिस पहिरन मात्र लगाउँदैनन्, कस्मेटिक्स र महँगा परफ्युममा समेत खर्च गर्न तयार हुन्छन् । आकर्षक व्यक्तित्वका लागि उनीहरू ब्युटी टि्रटमेन्ट लिइरहेका हुन्छन् । यति मात्र होइन, फिजिकल फिटनेसको सन्दर्भमा उनीहरूले महिलालाई उछिनेका छन् ।

सपिङ

सबैलाई थाहा भएकै कुरा हो, महिलाहरू सपिङका सौखिन हुन्छन् । उनीहरूलाई सामान खरिदमा रुचि हुन्छ । यद्यपि सपिङ मेनिया पुरुषमा पनि हुन्छ । पुरुषहरू पनि सपिङको आनन्द लिन चाहन्छन् । फरक यत्ति हो, महिलाहरू सपिङमा लामो समय लगाउँछन्, पुरुषहरू यसमा त्यति समय लगाउँदैनन् ।

सिरियल क्रेज

महिलाहरू टेलिभिजनमा आउने सिरियल भनेपछि हुरुक्कै हुन्छन् । त्यसको साटो पुरुषहरू टेलिभिजनमा न्युज, स्पोर्ट्स आदि कार्यक्रममा बढी रुचि राख्छन् । यो भनाइ पनि त्यति सान्दर्भिक छैन । किनभने पुरुषहरू पनि सिरियलमा रुचि राख्छन् । उनीहरू पारिवारिक कथामा आधारित सिरियल हेरेर आनन्द लिन्छन् ।

होम मेकरको भूमिकामा

पुरुषहरू घरबाहिरको काममा बढी व्यस्त हुन्छन् । त्यसैले धेरैलाई लाग्छ, उनीहरू घरभित्रको काम गर्न सक्दैनन् वा जान्दैनन् । यद्यपि घरभित्रको काममा पुरुषहरू पनि महिलाभन्दा कम हुँदैनन् । घरको सरसफाइदेखि बजारमा गएर तरकारी किन्न र खाना बनाउन पनि पुरुषहरू उत्तिकै पोख्त हुन्छन् । महिलाले जस्तै घरको सजावटमा उनीहरूले ध्यान दिइरहेका हुन्छन् ।

चटपटे खानामा रुचि

चाट, पानीपुरी आदि पुरुषका लागि पनि फेबरेट छन् । यद्यपि धेरैजसो पुरुष आफ्नो यस्तो रुचि खासै खुलेर बताउँदैनन् । पानीपुरी खाने इच्छा उनीहरू आफ्ना पुरुष साथीसँग नै पूरा गर्छन् ।

 Image