Successfully Copied

केकी अधिकारी

चलचित्र क्षेत्रमा चलेका नायिकामध्येकी एक हुन्-केकी अधिकारी । उनी काममा जति रुचि राख्छिन् उति नै व्यक्तित्वमा ध्यान पनि दिन्छिन् ।

चलचित्र क्षेत्रमा चलेका नायिकामध्येकी एक हुन्-केकी अधिकारी । उनी काममा जति रुचि राख्छिन् उति नै व्यक्तित्वमा ध्यान पनि दिन्छिन् । कला क्षेत्रमा पहिरन र सुन्दरतामा बढी ध्यान दिइने भए पनि केकी पहिरनमा भन्दा सकारात्मक सोचमा सुन्दरता एवं व्यक्तित्व लुकेको दाबी गर्छिन् ।

पहिरन

मन परेको पहिरन भए फुटपाथमा पनि किन्ने केकी पहिरन महँगो नै हुनुपर्छ भन्ने मान्यता राख्दिनन् । आफूलाई मनपर्ने र लगाउँदा आराम हुने पहिरनलाई प्राथमिकता दिन्छिन् । केकीलाई मनपर्ने पहिरन जिन्स र टप्स हुन् । उनी जाडोमा बुट कहिल्यै छुटाउँदिनन् भने लङ ज्याकेट तथा टोपी पनि लगाउँछिन् । अवार्ड कार्यक्रम तथा विवाहमा जाँदा साडी लगाउँछिन् । आफूलाई साडी बढी सुहाउने र अरूले पनि साडीमै राम्रो देखिन्छ भन्ने गरेको उनी बताउँछिन् । राता रंगका पहिरन नै केकीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

मेकअप

केकी हेभी मेकअप गर्दिनन् । उनी भन्छिन्-'बाहिर सामान्य मेकअपमै निस्कन्छु । मेकअपमा गाजल कहिल्यै छुटाउँदिन । मेरो स्किन टोन डार्क भएकाले फ्लोरेलको गाजल लगाउँछु । यो गाढा कालो हुने भएकाले मलाई सुहाउँछ । यसका साथै लिपिस्टिक तथा सन क्रिम मेरा नियमित प्रसाधन हुन् ।' केकी समारोह तथा इभेन्ट हेरेर पनि मेकअपमा ध्यान दिनुपर्ने भएकाले अन्य सामग्री थप हुनुलाई स्वाभाविक मान्छिन् । उनको केश न्याचुरल कर्ली भएकाले हेयर स्टाइल प्राय: छोडिएकै हुन्छ । चलचित्रमा आफ्नो भूमिकाअनुसार केशको स्टाइल परिवर्तन गरिरहनुपर्ने भएकाले केकी केशको विशेष ख्याल गर्छिन् । केशमा नियमित रूपमा तेल लगाउने केकी स्याम्पु, कन्डिसनर तथा टि्रटमेन्ट नियमित गरिरहने बताउँछिन् ।

एसेसरिज

पहिरनमा एसेसरिज मिलाएर लगाउने ट्रेन्ड विकसित हुँदै गएको छ । एसेसरिज र पहिरन एउटै हुँदा लगाएका सबै कुराले व्यक्तित्वमा निखार ल्याउने भएकाले केकी पनि अहिलेको यो ट्रेन्ड रुचाउँछिन् । सुनका गहना कहिल्यै नलगाउने भए पनि उनी ह्वाइट गोल्ड भने लगाउँछिन् । हातमा ब्रासलेट अथवा डिजाइनर चुरा लगाउने रुचि नभए पनि सुटिङमा भने लगाउन आवश्यक भएको उनी प्रस्ट पार्छिन् । एउटा नेक पिस भने उनीसँग छ । यसैगरी उनी रेवान, अर्मानी आदिका सन ग्लास लगाउँछिन् । हिँड्दा एचएनएमको ठूलो ब्याग बोक्ने केकीको ब्यागमा केही कस्मेटिकलगायत अत्यावश्क सामानहरू हुन्छन् ।

 Image