Successfully Copied

पीडा भूकम्पको

२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा नेपालमा गएको ७ दशमलव ९ रेक्टरको भूकम्पले ठूलो क्षति पुर्‍यायो।

२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा नेपालमा गएको ७ दशमलव ९ रेक्टरको भूकम्पले ठूलो क्षति पुर्‍यायो। गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आएको उक्त भूकम्पले काठमाडौं, पाटन र भक्तपुर आदिका धरहरा, मठ–मन्दिर पनि बाँकी राखेन भने गोरखाको नमुना गाउँ बारपाकका सयौं घर क्षणभरमै नष्ट भए। घरभित्रको काममा महिला नै बढी खटिने हुँदा तथा भागदौडमा पनि अगाडि हुन नसक्ने कारणले विशेषत: महिला र बालबालिका भूकम्पबाट बढी प्रभावित भए। कतिपय महिलाले प्रसव पीडामा छटपटाउँदै सुत्केरी हुनु महिना दिनअघि बच्चा जन्माए भने कतिपय सुत्केरी आमाका काख रित्तिए। कतिपय महिला सन्तानलगायत बासस्थान गुमाउन पुगे। मृत्यु हुने महिलाको संख्या यकिन हुन नसके पनि प्रभावित तथा ज्यान गुमाउनेहरूमा महिला एवं बालबालिका नै बढी भएको अनुमान छ।

वन्दना राणा, अधिकारकर्मी

दोहाबाट नेपाल आउन ३० मिनेट मात्र बाँकी थियो म आकाशमा उडिरहेकी थिएँ। तत्काल क्याप्टेनले नेपालमा भूकम्पका कारण ल्यान्ड गर्न नसकिने र पुन: दोहा फर्कने घोषणा गरे। म अत्तालिएँ। फोन र इन्टरनेट ट्राइ गरें तर सफल भइन। क्याप्टेन क्रुमै गएर किन फर्काएको भनेर सोधें। म आत्तिएको देखेर २ दशमलव ९ को मात्र भूकम्प गएको हो सबै सामान्य छ भने तर मेरो मनले मानेन। त्यति त नर्मल हो किन भारततिर नलगेको भनेर प्रश्न गरें। जहाजभित्रका ७५ प्रतिशत नेपाली ढुक्क भएर बसेका छन्। म मात्रै अत्तालिएको देखेर कतिले गाली पनि गरे। म सँगैका एकजनाले रोमिङ कल बाँकी भएको बताएपछि श्रीमान्लाई फोन गर्दा थाहा भयो साँच्चिकै भूकम्प गएको रहेछ। भोलिपल्टको भूकम्पपछि बल्ल म नेपाल झरें। यहाँको अवस्था निकै भयानक थियो। मलाई महिला नै बढी प्रभावित छन् भन्ने लाग्यो र तुरुन्तै साथी संस्थामार्फत बिहान ८ देखि राति ८ बजेसम्म परामर्शको काम थाल्यौं। साथीको सेल्टरमा मान्छे थप्ने काम भयो। बालसेन्टरमा २५ जना बालबालिका थप्न मिल्ने घोषणा गरियो। अब यो विपत्तिबाट जति पनि प्रभावित छन् उनीहरूका लागि लङ ट्रम रिकभरी प्लानिङको आवश्यकता छ। यस्तो अवस्थामा बलात्कार, यौनहिंसा, लैंगिक हिंसा आदि कम गर्न दह्रो सुरक्षा व्यवस्था आवश्यक हुन्छ।

गौरी मल्ल, अभिनेतृ

प्रलय भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा मैले त्यो दिन अनुभव गरें। क्वाँटी खान मन गरेका आमाबुवालाई ख्वाइवरी म बहिनीकी छोरीलाई रेसम फिलिली देखाउन लाने तरखरमा थिएँ। मैले खाना खाएकी थिइन। एक्कासि यसरी कम्पन आयो कि म न भित्र पस्न सकें न बाहिर भाग्न। ढोकाको चौकोस समाएर बसिरहें। त्यहीबेला घरअघि एकजना महिला पर्खाल नाघ्न जतिपटक प्रयास गरे पनि लडिरहेको देखें। बाहिर सारा घर–पर्खाल भत्किएर धूलो उडिरहेको डरलाग्दो आवाजले धर्ती नै कामिरहेको देखें। त्यतिबेला मलाई अब बाँचिदैन भन्ने लाग्यो। छिमेकीको पाँच तल्ले भवनको भर्‍याङ गर्लम्मै तल झर्‍यो। तत्काल मैले १० हजार बढी मानिस मरेको अनुमान गरेकी थिएँ। त्यो दिन आकाशलाई छानो बनाएर रातभर जागै बसियो। भोलिपल्टदेखि बत्ती, पानी, फोन, इन्टरनेट केही चलेनन्। आँखा छ हेर्न सकिँदैन, कान छ सुन्न सकिँदैन। विशेषत: सयौं महिला तथा बालबालिका मरे, घाइते भए। तेस्रो दिन मैले गर्न सक्ने पहिलो कुरा यही हो भनेर टिचिङ अस्पताल पुगेर रक्तदान गरें। त्यसको अर्को दिन गोंगबु क्षेत्रमा कलाकार साथीहरूसँग मिलेर सरसफाइको काम गरियो। त्यसपछि सिन्धुपाल्चोकमा राहत वितरणको काम सम्पन्न भयो। जसले जहाँबाट जे सक्छ त्यो गर्ने बेला हो यो। अबको प्राथमिकता भनेको बाँचेकाहरूको स्वास्थ्य र खाना हो यसमा सरकारको मात्र होइन व्यक्तिगत तवरबाट पनि पहल जरुरी छ।

इन्दिरा जोशी, गायिका

भूकम्पमा मृत्यु हुने नै सबैभन्दा बढी महिला तथा बालबालिका होलान्। मैले यसपटक स्ट्रङ पनि महिला नै बढी देखें। यत्रो विपत्तिमा पनि बालबच्चा स्याहार्ने, खानाको जोहो गर्नेमा महिलाहरू नै अग्रणी थिए। कपनमा मेरी ठूली दिदीकहाँ परिवारका सदस्यहरू जम्मा भएका बेला गएको भूकम्पको म कल्पना पनि गर्न सक्दिन। अझ हाम्रो टेन्ट नजिकैकी ११ दिनकी सुत्केरी महिलाको सम्झनासम्म गर्न सक्दिन। ११ दिनको बच्चा राखेकै स्थानमा अर्की बिरामी वृद्धा जसलाई पटक–पटक उल्टी भैरहेको थियो त्यतिबेला म त्यो बच्चाको स्वास्थ्यमा खतरा देखेर एकदम डराएकी थिएँ। नयाँ नेपाल बनाउन जति सहयोग आइरहेको छ त्यो सम्बन्धित स्थानमा नपुगेको गुनासो पनि उत्तिकै छ। यसमा पारदर्शिता चाहिन्छ, चेक एण्ड ब्यालेन्स हुनु जरुरी छ। म एउटा सानो टिम बनाई औषधि, खाद्यान्न एवं लत्ताकपडा लिएर सिन्धुपाल्चोक पुगेर आएँ। त्यहाँ पनि महिला तथा बालबालिकाको स्थिति अत्यन्त गम्भीर छ। जहाँ प्रभावितहरू छन् त्यहाँ तत्काल राहत पुग्नुपर्छ।

माल्भिका सुब्बा, पूर्वमिस नेपाल

तेस्रो म्यारिज एनिभर्सरी मनाउने क्रममा हामी त्यसदिन नगरकोटको क्लब हिमालयमा थियौं। रमाइरहेका हामी एक्कासि भुइँचालोले स्तब्ध भयौं। नजिकैको स्तूप गर्लम्मै ढल्यो। मानिसहरू डराएर यत्रतत्र भाग्न थाले। तत्कालै हामीले बंगलादेशबाट आएको एउटा टोली र हनिमुन मनाउन आएका नवदम्पतीको उद्धार गर्‍यौं। विशेषगरी महिलाहरू बढी आत्तिएको पाइयो। उनीहरूमा ठूलो मानसिक तनाव र त्रास थियो। म नेपाल सेयर डट ओआरजीमार्फत राहत संकलनमा लागेकी छु जसलाई धादिङ र नुवाकोटमा पठाउने काम भैरहेको छ। मलाई लाग्छ अब महिला तथा बालबालिकाको सुरक्षाका लागि अस्थायी घर तत्काल बनाउनुपर्छ। घरभित्र बसेपछि सुरक्षित महसुस हुने र मानसिक तनाव घट्ने हुँदा यो कामलाई प्राथमिकतामा राख्नुपर्छ।

अनिता के.सी., अधिवक्ता

त्यो प्रलयको क्षणमा म घरकै गेटटुगेदरमा व्यस्त थिएँ। गेस्ट रिसिभ गर्न भर्‍याङ ओर्लदा–ओर्लदै संसारै हल्लियो। त्यसपछि म भर्‍याङमुनि गएर बसें। भूकम्प केही मत्थर भएपछि घरअगाडिको खुला चौरमा पुगियो। घरैअगाडि एकजना वृद्धको भाग्ने क्रममा लडेर घाइते भएको केही समयपछि मृत्यु नै भयो। मलाई लाग्छ, भूकम्पका कारण महिला तथा बालबालिका बढी प्रभावित छन्। उनीहरूमा एक किसिमको डर छ। मेरै बच्चाहरू पनि यसो आवाज आयो कि मामु भुइँचालो आयो भन्छन्। गाउँमा पनि त्यस्तै बिजोग छ। सरकारले राहत कोष खडा गरेको छ तर कतिपय राहत सामग्री स्टोर भएर बसेका छन्। राहत भनेको त प्रभावितहरूमाझ तत्काल पुर्‍याउनुपर्ने कुरा हो जसका लागि डोर टु डोर सेवा आवश्यक हुन्छ। हाम्रो हिमानी ट्रस्टमार्फत बाँड्न लगिएको राहत सामग्री आफैं बाँड्न पाइएन, वीरेन्द्र सैनिक आवासीय विद्यालयले खडा गरेको राहत कोषमा थुपार्नुपर्‍यो। अब त्यो कहिले र कहाँ पुग्ने हो थाहा छैन। मलाई लाग्छ प्रभावकारी राहत तत्काल सम्बन्धित स्थानमा पुर्‍याइनुपर्छ। अबको पहिलो सर्त उपचार, गास, बास र कपास हो।

तृष्णा गुरुङ, फेसन डिजाइनर

अघिल्लो दिन मेरै आयोजनामा ग्ल्याम स्टार–२०१५ सम्पन्न भएकाले घर फर्कंदा अबेर भएको थियो। शनिबार भर्खरै उठेर फ्रेस हुँदै थिएँ त्यति नै बेला भूकम्प गयो। त्रासले कहाँ जाने, के गर्ने त्यसै अत्यास भयो। बाहिर भाग्न पनि सकिएन, भित्र बसिरहँदा पनि मरिने भयो भन्ने डर थियो। बिम समाएर केही बेर बसेपछि बाहिर भाग्ने प्रयास गरें। बाहिर घर–पर्खाल भत्किएका, मानिसहरू भागाभाग गरेको देखेर अझ मन थाम्न सकिएन। त्यो रात जागै बसियो। भोलिपल्ट पनि भुइँचालो आएपछि हामीले सुरक्षित स्थान खोज्ने निधो गरी खुला चौरमा टेन्ट गाड्यौं। ती दिनहरूमा तीन ठाउँमा टेन्ट सार्दै बस्नुपर्‍यो। त्यसमाथि भारी वर्षाले अर्को ठूलो समस्या थप्यो। महिलाहरू बालबालिका च्यापेर कराउँदै दौडिएको दृश्य कम दर्दनाक थिएन। टेन्टमा बस्नेहरू जतिबेला पनि भुइँचालो आयो भन्दै दौडिन्थे जसले मानसिक त्रास बढाएको थियो। तेस्रो दिनपछि अब त केही गर्नुपर्‍यो भन्ने सोचेर साथ–साथ नामक गैह्रसरकारी संस्थासँग राहत वितरण तथा सरसफाइमा हिँडें। मेरा डाक्टर भाइको एक टोलीसँग रसुवा पुगेर आएँ। त्यहाँको स्थिति अझ खराब छ। खाने, बस्ने त के कुरा पिउने पानीसम्म छैन। सरकार सम्बन्धित स्थानमा राहत पुर्‍याउन सतर्क हुनुपर्छ।

डा.हीरामन प्रधान, चर्म, कुष्ठ तथा यौनरोग विशेषज्ञ

म मातातीर्थमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा बिरामी जाँच्दै थिएँ। करिब ५० भन्दा बढी बिरामी जाँचिसकेकी थिएँ। एक्कासि मेरो पछाडि भयंकर ट्रक आएजस्तो लाग्यो। नर्सहरूले डाक्टर सा’ब बाहिर निस्किनुहोस् भुइँचालो आयो भनेर कराएपछि म बाहिर निस्किएँ। सबै रुन, कराउन, चिच्याउन थाले मलाई के भयो कुन्नि अरूलाई सम्हाल्न लागें। बलम्बु, नैकाप बन्द भए पनि हामी जंगलको बाटो हुँदै घुमेर कलंकी आइपुग्यौं। बाटोमा देखिएका दृश्य हृदयविदारक थिए। त्रिपुरेश्वरको सालिक, पाटन, धरहरा सबै ढलेका। त्यतिबेला नडराएकी म अहिले डराइरहेकी छु। अहिले त प्रेसर निक्कै माथि पुगेर जतिबेला पनि हर्टबिट बढ्छ र पनि म परामर्श र राहत संकलनमा जुटिरहेकी छु। हामी पीडितहरूसम्म औषधि, लत्ताकपडा, खाना पुर्‍याउने अभियानमा छौं। उनीहरूलाई परामर्श एवं उपचार आवश्यक छ। रिलिफ भन्दा पनि रिह्याबमा ध्यान पुर्‍याउनु अबको प्राथमिकता हो। यस्तो बेला उनीहरूलाई भुइँचालो के हो ? भन्ने विषयमा जानकारी दिनु आवश्यक छ। सबैले साधारण औषधि साथमै राख्ने, घाउ–खटिरा एवं चोटपटक लागेको ठाउँ तुरुन्त सफा गर्ने, एक–अर्कालाई सान्त्वना दिने काम हामीले व्यक्तिगत तवरबाटै सुरु गर्नुपर्छ।

करुणा कुँवर, मनोविद्

यो भयंकर दुर्घटनाले मानिसको दिमागमा मानसिक भूकम्प ल्याइदिएको छ। विशेषगरी महिलामा परिवार सुरक्षित राख्नुपर्छ, खानपानको जोहो गर्नुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ। धन–जन एवं मानवीय क्षतिमा महिलाहरू ग्लानि महसुस गरिरहेका छन्। परिवार, आफन्त र बासस्थान गुमाएका महिलाहरू भित्रभित्रै त्रसित अनि आक्रोसित छन्। उनीहरूमा रिस र आक्रोशको भावना पलाएको छ। त्यसले पारिवारिक द्वन्द्वसमेत सिर्जना हुनसक्छ। महिलाहरू यतिबेला बालबच्चा बिरामी नपरून् भन्ने तनावमा छन्। यस्तो बेला घरमा जे उपलब्ध छ त्यो प्रशस्त मात्रामा प्रयोग गर्नुपर्छ र प्रशस्त पानी पिउनु उत्तम हुन्छ। बालबालिकाका अगाडि डरलाग्दा दृश्य नदेखाउने, यस्ता कुरा पनि नगर्ने, पहिलेकै साधारण दैनिकीमा फर्कने प्रयास गर्नुपर्छ ताकि बालबालिकालाई केही भएको रहेनछ भन्ने परोस्। हामी मुलुकका विभिन्न प्रभावित स्थानमा पुगेर मानसिक परामर्श एवं राहतका अन्य काममा व्यस्त छौं।

 Image