Successfully Copied

अझ सशक्त हुने अवसर

मुलुकमा प्राकृतिक विपत्ति आइपरेको छ । महिला तथा बालबालिका मात्र होइन सारा नेपाली अहिलेको यो जटिल परिस्थितिमा कसरी बाँच्ने,

चाँदनी जोशी, लैंगिक, महिला अधिकार तथा नीति विशेषज्ञ

मुलुकमा प्राकृतिक विपत्ति आइपरेको छ । महिला तथा बालबालिका मात्र होइन सारा नेपाली अहिलेको यो जटिल परिस्थितिमा कसरी बाँच्ने, बाँचेपछि बाँकी जीवन कसरी बिताउने भन्ने अन्योल र चिन्ताले ग्रसित छन् ।

पहिलो पटकको ठूलो भूकम्पमा म योग सकेर ब्रेकफास्ट खाइसकेकी थिएँ बलियो झट्का महसुस गरें । उठ्न खोज्दा नराम्रोसँग लडें, घुँडा र कुहिनामा नीलडाम भयो । भूकम्प भन्ने कुरा थाहा हुनेबित्तिकै परिवार, इष्टमित्र, मेरा प्रोफेसनल सर्कल कहाँ र कुन अवस्थामा छन् भन्ने चिन्ताले सताउन थाल्यो ।

अझै पनि धेरै मानिस ट्रमाबाट बाहिर निस्कन सकेका छैनन् । यो बेला महिलाको साहस प्रदर्शन भयो । उनीहरू त घरभित्र पसेर आफ्ना बालबच्चा र परिवारका लागि अन्न खोज्न थालिसके तर कतिपय पुरुष अझैसम्म ढुक्कले भित्र बस्न र सुत्न सकेका छैनन् । घरमुली, स्रोत व्यक्ति तथा बालबालिका गुमाउन पुगेका कतिपय महिला भने अझै पनि गहिरो शोकमा छन् । उनीहरूमा केही गर्ने जाँगर छैन । उनीहरूको बाँकी जीवनलाई कसरी सरल ढंगले अघि लाने भन्नका लागि मनोवैज्ञानिक परामर्श पहिलो प्राथमिकता हो । गुजरात तथा पाकिस्तानको भूकम्प अनि श्रीलंकाको सुनामीमा लामो समय काम गरेको अनुभवका आधारमा यस्तो साइकोसोसियल काउन्सिलिङलाई मैले पहिलो प्राथमिकतामा राखेकी हुँ । संयुक्त राष्ट्रसंघका लागि त्यसको रिपोर्ट मैले नै लेखेकी थिएँ । यस्ता घटना–दुर्घटनापछिको आवश्यकता के हो त्यसमा केन्द्रित हुनुपर्छ ।

सीपमूलक तालिम दिने भन्दैमा महिलालाई त्यही भोटो र पेटिकोट सिलाउन लगाउने होइन नेपालको आवश्यकता बुझेर सोहीअनुरूपको सीप प्रदान गर्नुपर्छ । अहिले हजारौं घर भत्किएका छन् । हरेकका हातमा भएका मोबाइल टुटेफुटेका छन् । त्यसैले महिलाहरूलाई गारो लगाउने, मोबाइल बनाउने, झ्यालढोका बनाउनेजस्ता सीप प्रदान गर्न सकिन्छ । यस्ता प्राकृतिक विपत्तिपछि तीनवटा कुरा प्रमुख हुन्छन् । पहिलो उद्धार, दोस्रो खाना अर्थात् बाँच्नका लागि कसरी सहयोग गर्ने र तेस्रो पुनर्निर्माण र पुनस्र्थापना । यी कुरामा सरकार मात्र होइन सारा नेपाली एकजुट भएर लाग्नुपर्छ । महिलाका विशेष आवश्यकता हुन्छन् । यस्तै बेलामा महिलाहरू विभिन्न किसिमका हिंसाको सिकार हुन्छन् । अझ कतिपय मुलुकमा यस्ता प्राकृतिक महाविपद्पछि बलका आधारमा राहत पाइने हुनाले खानाका लागि कतिपय महिलाले शरीर नै बेच्नुपर्ने बाध्यता पनि हुन्छ । तसर्थ यस्तो समयमा महिला तथा बालबालिकाहरूप्रति विशेष संवेदनशील हुनुपर्छ भनिएको हो । उनीहरूको विशेष अवस्था बुझ्दै सोहीअनुरूप कार्यक्रम ल्याइनुपर्छ । बाहिर बस्दा महिलालाई लुगा फेर्न असहज हुने, महिनाबारीका बेला उत्तिकै गाह्रो, त्यसमा पनि गर्भवती तथा सुत्केरीहरूका लागि समस्याको थाक नै हुन्छ ।

गुजरातको भूकम्पमा राहतमा पेटिकोट त पठाइयो तर इजार पठाउन बिर्सिएछन् । दिएर मात्र पुग्दैन, यस्ता स–साना कुरामा पनि ध्यान पुर्‍याउनु जरुरी हुन्छ । राहत भन्ने कुरा तत्कालका लागि हो । यो स्टोर गरेर राख्ने कुरा होइन तसर्थ यसको तत्काल उपभोग हुनुपर्छ अन्यथा जस्टिस डिनाइड इट जस्टिस लस्ट भनेजस्तै हुन्छ ।

मैले यस्ता प्राकृतिक विपद्मा जहाँ–जहाँ काम गरें त्यहाँको सरकारले व्यापक रूपमा एनजिओहरूलाई प्रयोग गर्‍यो, जो ग्रामीण र स्थानीय स्तरसम्म सक्रिय रूपमा काम गर्छन् । अहिलेको यो अवस्था अविश्वास गर्ने होइन । यो विश्वासको वातावरण निर्माण गर्ने बेला हो । महिलालाई यो बेला विशेष प्राथमिकतामा राखिनुपर्छ भन्ने कुरालाई महत्वका साथ अघि बढाउन वुमेन्स च्याप्टर पनि बनिसकेको छ ।

भूकम्प गएको केही क्षणमै मलाई त्यो घटनाको सम्झना आयो जसले मेरो जीवन अनि खुसी खोसेर लगेको थियो । पन्ध्र महिनाका बीच मैले मलाई अत्यन्त माया र विश्वास गर्ने चारजना सदस्य गुमाएकी थिएँ । त्यस्तो बेला बाँच्न भन्दा मर्न सहज भन्ने लाग्छ । मलाई त्यतिबेला चराका दुबै पखेटा काटेर छोडिदिएजस्तो भयो न उड्न सक्ने न मर्न नै सक्ने । जब उमेर पुगेकी मेरी नजिककी साथीकी जेठी छोरी र श्रीमान्को जहाज दुर्घटनामा एकसाथ मृत्यु भयो तब म लामो समयसम्म अन्योलमा रहें । नेपाल बस्न सकिन जहाँ हेर्‍यो उनीहरूकै सम्झना आउने, कार्यथलो पाकिस्तान पनि फर्कन सकिन । मेरो स्थिति बुझेर हेडक्वार्टरले मलाई न्यूयोर्क बोलायो । दुईवटा बच्चा च्यापेर अमेरिका गएँ । घरदेखि अफिससम्म पुग्न तीन घन्टा लाग्थ्यो । त्यो तीन घन्टा रोएरै बित्थ्यो । म कैयौंपटक अस्पताल भर्ना भएँ । एकदिन मेरी कान्छी छोरीले हाम्रो पछाडि तीनवटा सिरानी थिए दुईवटा भगवान्ले खोसेर लगे बाँकी एउटा हजुर पनि गैबक्सियो भने हामी कहाँ टाउको अडाएर रुने भन्दा म दुईवटा बच्चा च्यापेर बेस्सरी रोएँ । त्यस दिनदेखि मलाई यी बच्चाका लागि बाँच्नुपर्छ भन्ने लाग्न थाल्यो । अर्को कुरा म जुन महिलासँग काम गर्थें उनीहरूले बाँच्न सिकाए । बंगलादेश, पाकिस्तान, भारत तथा नेपालका महिला मसँग यसरी रुन्थे कि दिदी हजुर हुनुहुन्छ र हामी छौं भन्थे जसले मलाई अरूका लागि बाँच्ने प्रेरणा मिल्यो । मेरो जीवनमा आएको महाभूकम्प नै भन्छु म त्यसपछि नै मैले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा ठूल्ठूला काम गरें । एक–अर्कासँग कुरा गर्दा अनि आफूले जानेको काममा व्यस्त हुँदा यस्तो अवस्थामा अझ सशक्त भइन्छ ।

लक्ष्मी भण्डारी थापासँगको कुराकानीमा आधारित

 

 Image