Successfully Copied

समाजसेवामा सक्रिय केकी

भूकम्पपछि धेरै जना डराएर आफू सुरक्षित हुन पाल खोज्दै बसे तर बौद्ध बस्ने नायिका केकी अधिकारीले भूकम्प आएकै दिनदेखि टिचिङ हस्पिटल

भूकम्पपछि धेरै जना डराएर आफू सुरक्षित हुन पाल खोज्दै बसे तर बौद्ध बस्ने नायिका केकी अधिकारीले भूकम्प आएकै दिनदेखि टिचिङ हस्पिटल र वीर हस्पिटलको हेल्प डेस्कमा बसेर सहयोग गरिन् । नेपालीलाई पर्दा नेपालीले नै सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने यी २७ वर्षीया नायिकाले चलचित्र क्षेत्रका साथीहरूसँग मिलेर वी फर अल क्याम्पेन पनि सुरु गरिन् । सुरुमा उनीहरू राहत लिएर भूकम्प प्रभावित विभिन्न जिल्ला पुगे । केकीलाई राहतले मात्र केही हुन्छ भन्ने लागेन । अधिकारी भन्छिन्, ‘पीडितहरूलाई खानेभन्दा बस्ने ठाउँको समस्या देखें । त्यसपछि अस्थायी घरहरू बनाउने सोच आयो र टिमसँग सल्लाह गरेर काभ्रे, नुवाकोट, सिन्धुपाल्चोकमा टहराहरू निर्माणमा लागें ।’ अहिले उनी हेल्प नेपाल नेटवर्कसँग मिलेर ५ सय वटा अस्थायी घर निर्माणमा सक्रिय छिन् ।

सधै मेकअप, फेसनेबल पहिरन र त्यस्तै वातावरणमा हुने केकी घाम, पानी र भूकम्पका पराकम्पनलाई वास्ता नगरी देशका लागि केही गर्न सकिन्छ कि भनेर लागिरहिन् । घरबारविहीनहरूलाई टहरा हस्तान्तरण गरेपछि उनीहरू परिवारसँग त्यहाँ बसेपछिको मुस्कान देख्दा सबैभन्दा खुसी लागेको उनले बताइन् । केकीका अनुसार यतिबेला हामी सबै पीडित छांै, एकले अर्कालाई सहयोग गरेर यसको निकास निकाल्नुपर्छ । केही समयअघि प्रधानमन्त्री सुशील कोइरालाले बोलाएर राज्यले गर्नुपर्ने काम गर्नुभएकोमा धन्यवाद दिँदा पनि खुसीको आँसु झरेको केकीको अनुभव छ । ५ वर्षअघि चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी लोकप्रिय कलाकार हुन् । छोटो अवधिमै उनले १३ वटा चलचित्र, दर्जनौं विज्ञापन एवं सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय कला देखाइसकेकी छिन् । एमबीए पूरा गरेकी केकीले गत वर्ष मात्र नेफ्टा, डिजिटल फिल्म तथा कामना अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।

प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : पिजे कलेक्सन, कुमारीपाटी

मेकअप : सरस्वती श्रेष्ठ, ब्युटी     सलुन, मानभवन, कुमारीपाटी

लोकेसन : बगैंचा रेस्ट्रो एण्ड बार, जाउलाखेल

 Image