Successfully Copied

ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सामग्री

वृद्ध आमाबुवाहरूको शक्ति तथा सामथ्र्य जवान व्यक्तिको जस्तो हुँदैन । शारीरिक तथा मानसिक रूपमा शिथिल हुने भएकाले उनीहरूलाई विशेष स्याहार–सुसारको

वृद्ध आमाबुवाहरूको शक्ति तथा सामथ्र्य जवान व्यक्तिको जस्तो हुँदैन । शारीरिक तथा मानसिक रूपमा शिथिल हुने भएकाले उनीहरूलाई विशेष स्याहार–सुसारको आवश्यकता पर्छ । मांसपेशी तथा हड्डीहरू कमजोर भएका हुन्छन् । उमेर बढ्दै गएपछि खानपान, हिँडडुल जस्ता कुराहरू कष्टकर बन्दै जान्छन् । त्यसैले उमेरअनुसार उनीहरूका लागि त्यस्ता सामानको जोहो गर्नुपर्छ जसले केही सुविधा प्रदान गरून् । अहिले बजारमा वृद्धवृद्धाहरूलाई लक्षित विविध सामग्री उपलब्ध छन् । विभिन्न ब्रान्डले वृद्धवृद्धालाई लक्षित गरेर थुप्रै प्रकारका सामग्री उत्पादन गरेका छन् जसले ज्येष्ठ नागरिकहरूको जीवन सहज बनाउँछन् ।

रोलेटर वाकर

उमेर बढ्दै गएपछि मानिसको शारीरिक अवस्था पहिले जस्तो हुँदैन । उनीहरू समयअनुसार कमजोर तथा शिथिल हुँदै जान्छन् । उनीहरू हामीजस्तै सजिलै हिँड्न वा दौडन सक्दैनन् । उनीहरूलाई हिँड्न लाठी वा वाकर चाहिन्छ । यस्तो वाकरले ज्येष्ठ नागरिकहरूलाई हिँड्न सहयोग गर्छ । यसमा बसेर आफ्ना सानातिना काम आफै गर्न सकिन्छ । यस्ता वाकरमा चक्का जडान भएका हुन्छन् जसले त्यसलाई चलाउन सजिलो हुन्छ । यसमा सामान राख्न सिटमुनि व्याग पनि हुन्छ । यो केही गर्‍हौं हुन्छ । यसको चक्कामा फ्रिक्सन हुने हुँदा यसले चक्कालाई राम्रोसँग गुडाउन सहयोग गर्छ । यसले शरीरको पोस्चरलाई पनि कुनै प्रभाव पार्दैन । अहिले बजारमा विविध ब्रान्डका रोलेटर वाकर उपलब्ध छन् । यसलाई न्यूनतम १० हजारमा खरिद गर्न सकिन्छ । यसमा कुनै इन्जिन एवं ब्याट्रीको प्रयोग हुँदैन । यसलाई आफैले चलाउनुपर्छ । रोलेटर वाकर खरिद गर्दा आफ्नो वजन तथा उचाइलाई ध्यान दिनुपर्छ । आफ्नो वजनले थेग्न नसक्ने वाकर खरिद गर्नु हुँदैन ।

कप होल्डर

चिया तथा पानी राख्न कहिलेकाहीँ निकै समस्या पर्छ । पानी तथा चिया जताततै राख्न सकिँदैन । कप होल्डरलाई आफ्नो खाट तथा ह्विल चियरमा जडान गर्न सकिन्छ । यो हरेक उमेरका लागि उपयोगी भए पनि ज्येष्ठ नागरिकहरूका लागि भने निकै उपयोगी छ । हिँड्न तथा आवतजावत गर्न नसक्नेहरू आफूले सेवन गर्नुपर्ने खाद्यपदार्थ यसमा राखेर आफ्नो सुविधाअनुसार प्रयोग गर्न सक्छन् । कप होल्डर विभिन्न साइजमा उपलब्ध छ ।

डाइपर

उमेर बढ्दै गएपछि मल–मूत्रको समस्या बढ्दै जान्छ । पाका आमाबुवाहरू ओछ्यान परेपछि शौचालयमा गएर मल–मूत्र त्याग्न सक्दैनन् । अझ मानसिक रूपमा अशक्त पाकाहरूको त यसको ठेगान हुँदैन । उनीहरूमा पिसाब चुहिने समस्या देखिनुका साथै मल त्यागमा पनि समस्या बढ्दै जान्छ । यस्तो बेला बालबालिकाहरूझंै वृद्धवृद्धाहरूका लागि डाइपर लगाएर उनीहरूको मल–मूत्रलाई सही तरिकाले विसर्जन गर्न सकिन्छ । यसबाट उनीहरू सफा रहन सक्छन् भने वरिपरिको वातावरण पनि सफा हुन्छ । उमेर हेरी यसको आकार निकै ठूलो हुन्छ । यो झट्ट हेर्दा नेपकिन जस्तो लाग्छ । मल–मूत्रको समय हेरी डाइपर परिवर्तन गर्नुपर्छ । नेपाली बजारमा अहिले विभिन्न ब्रान्डका डाइपर खरिद गर्न सकिन्छ । यसको ब्रान्ड र साइजअनुसार मूल्य पनि फरक–फरक हुन्छ ।

विशेष प्रकारको मोजा

ज्येष्ठ नागरिकहरूको शरीर निकै कमजोर  हुन्छ । ज्येष्ठ नागरिकहरू अलिकति लडे भने पनि उनीहरूलाई ठूलो चोट लाग्न सक्छ । त्यसैले त्यस्तो परिस्थितिबाट जोगाउन अहिले विशेष प्रकारको मोजा उपलब्ध छ । यस्तो मोजा लगाउँदा चिप्लिएर लड्ने डर हुँदैन । यसले आइपर्ने दुर्घटनाबाट जोगाउँछ । यसबाट हिँडडुल गर्न समेत सजिलो हुन्छ ।

ट्वाइलेट सिट फ्रेम

मल–मूत्रको समस्या ज्येष्ठ नागरिकहरूको आम समस्या हो । कम्मरको समस्या भएका ज्येष्ठ     नागरिकहरूलाई कमोट तथा प्यानमा बस्ने समस्या हुन्छ । यस्तो समस्या भएकाहरूले ट्वाइलेट सिट फ्रेमको माध्यमबाट सजिलै मल–मूत्र त्याग्न सक्छन् । यो विभिन्न आकार तथा कच्चापदार्थले बनेको पाइन्छ । यसले ज्येष्ठ नागरिकहरूलाई राहत दिन्छ । यो उनीहरूको जटिल समस्याको समाधान हो ।

हेल्थ केयर कमोड

मल–मूत्र विसर्जन ज्येष्ठ नागरिकहरूको मुख्य समस्या हो । उनीहरू आफूले भनेको समयमा मल–मूत्र त्याग्न सक्दैनन् । अशक्त ज्येष्ठ नागरिकहरू हिँडेर शौचालयसम्म पुग्न सक्दैनन् । यसका लागि अहिले विभिन्न शैलीका कमोट बजारमा आएका छन् । यसलाई कोठाको जुनसुकै कुनामा राख्न सकिन्छ भने आफ्नो सुविधाअनुसार एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ । यो कमोड विभिन्न मोडेल तथा फिचरमा खरिद गर्न सकिन्छ । सरसफाइ तथा स्वास्थ्यका हिसाबले निकै उपयोगी यो कमोडमा मल–मूत्र त्यागपछि त्यसलाई आफ्नो सुविधाअनुसार शौचालयमा विसर्जन गर्न सकिन्छ । ज्येष्ठ नागरिकहरूको स्वास्थ्यस्थितिलाई ध्यानमा राखी यसको उत्पादन गरिएको हो ।

मोबिलिटी बेड रेल तथा स्वीङ आउट आर्म

ज्येष्ठ नागरिकहरूलाई खाटबाट सजिलै झर्न तथा बस्न यो मोबिलिटी बेड रेलले सहयोग गर्छ । यसको प्रयोग अशक्त ज्येष्ठ नागरिकहरुले खाटमा चढ्न तथा ओर्लन सक्छन् । यसलाई प्रयोग गर्न पनि सजिलो छ । यसले ज्येष्ठ नागरिकहरूलाई चोटपटक लाग्न दिँदैन । यसलाई खाटको डिलमा जडान गर्नुपर्छ । यसले राति लड्नबाट पनि जोगाउँछ । यसलाई सजिलै जडान गर्न सकिन्छ । यसलाई जडान गर्न कुनै उपकरणको आवश्यकता पर्दैन ।

अलार्म

अलार्म सूचना प्रसारण गर्ने राम्रो उपाय हो । यसले आफ्नो आवश्यकतालाई जाहेर गर्छ । अलार्मको माध्यमबाट खाटमै बसेर आफूलाई आवश्यक परेको मानिसलाई बोलाउन तथा आफूलाई चाहिएको सामान मगाउन सकिन्छ । यसलाई चार्जमा राख्न तथा आफ्नो हिसाबले साथमा लिएर हिँड्न सकिन्छ ।

 Image