Successfully Copied

गौरिका सिंह

२५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् ।

२५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् । उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २  मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन् । उनको अबको लक्ष्य रुसको कजानमा हुने १६ औं फिना विश्व च्याम्पियनसीपबाट सीधै सन् २०१६ को ओलम्पिकमा छनोट हुनु हो । 

यही अनुभवलाई शक्ति बनाएर अब हुने साफ च्याम्पियनसीपमा स्वर्ण पदक जित्न चाहन्छु–हरेक कोणबाट अब्बल यी किशोरी भन्छिन्–मेरो प्रमुख लक्ष्य सन् २०२० मा आयोजना हुने ओलम्पिकमा नेपालका लागि पदक जित्नु हो ।

 

मीराको सफलता

स्वदेशमा मात्र होइन विश्वमै चम्किने क्षमतावान् नेपाली छोरीको कुनै कमी छैन । यो कुरा साबित गरिन्–२४ वर्षीया मीरा राईले । गत महिना फ्रान्समा सम्पन्न ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि चुम्ने क्रममा मीराले निर्धारित दूरी १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पूरा गरिन् । आत्मविश्वासका साथ लक्ष्यमा पुग्ने दृढता भए अवश्य सफल भइने मीराको विश्वास छ । भोजपुरमा जन्मिएकी मीराले सन् २०१३ मा ५० किलोमिटरको फुल्चोकी अल्ट्रा म्याराथन तथा गत वर्ष हङकङ आइल्यान्ड ट्रेल रेसको उपाधि पनि जितेकी थिइन् । पूर्वमाओवादी लडाकु मीरा नेपाली नारी कर्मठ छन् र जुनसुकै क्षेत्रमा सफल हुन सक्छन् भन्ने कुराको प्रमाण हुन् ।

 

हिमाल चढाउने पासाङ

सगरमाथाकै वरिपरि आफ्नो बाल्यकाल बिताएकी पासाङ शेर्पाले सगरमाथा आरोहण गर्ने आफ्नो सपना पूरा गरिसकेकी छिन् । स्कुले शिक्षा लुक्लामै पूरा गरेकी शेर्पा उच्च शिक्षाका लागि काठमाडौं आइन् । यहाँ आएपछि उनलाई नेपालमा पर्वतारोही महिलाको संख्या कम भएको अनुभव भयो । फलत: उनले पर्वतारोहण संघका विविध तालिम लिइन् भने पछि फ्रान्स पुगेर थप तालिम पनि हासिल गरिन् । फ्रान्सबाट तालिम लिएपछि उनले विदेशमै हिमाल चढाउने कार्य आरम्भ गरिन् । त्यसै क्रममा पासाङले अमेरिका, फ्रान्स तथा इटालीका हिमाल पनि आरोहण गरिन् । उनले आफूलाई अमेरिकामा  हिमाल आरोहण गराउने महिला आरोहीका रूपमा स्थापित गराइसकेकी छिन् । आरोहणका क्रममा उनी प्राय: महिला आरोहीका साथमा हुन्छिन् । हिमाल चढाउने कार्य चुनौतीपूर्ण हुन्छ त्यसैले यो पेसामा शारीरिक एवं मानसिक रूपमा फिट रहनुपर्ने पासाङ बताउँछिन् ।

 Image