Successfully Copied

वर्षाको फेसन

बुटिक नेपाली फेसन जगत्को एक हिस्सा बन्दै गएको छ । डिजाइनर पहिरन फेसनको फराकिलो क्षेत्र ओगट्न सफल पनि छन् ।

बुटिक नेपाली फेसन जगत्को एक हिस्सा बन्दै गएको छ । डिजाइनर पहिरन फेसनको फराकिलो क्षेत्र ओगट्न सफल पनि छन् । कारण बुटिक आधुनिक तथा ट्रेन्डका पहिरन उत्पादनमा अग्रसर छ र आफ्नो सिर्जनशीलताका कारण लोकप्रिय पनि हुँदै गएको छ । डिजाइनरहरूका फेसनेबल पहिरनमा अहिलेको पुस्ता आकर्षित छ । आधुनिक तथा आकर्षक डिजाइनका पहिरन बुटिकमै उत्पादन हुन थालेपछि मानिसहरूको आकर्षण पनि यसतर्फ बढेको हो । छोटो समयमै नेपाली फेसनले फड्को मार्नुको मुख्यकारण यो क्षेत्र फेसनेबल डिजाइनमा सिर्जनशील हुनु पनि हो । आधा दशकमै विश्व बजारलाई चिर्दै अघि बढेको नेपालको मौसमी फेसनको स्तर पनि उकासिएको छ । बुटिकका डिजाइन सबैको रोजाइमा पर्छन् । डिजाइनमा मानिसहरू सचेतसमेत हुँदै गएका छन् । गत वैशाखमा आइपरेको प्राकृतिक विपत्तिमा फेब्रिकको व्यवसायले पनि ठूलो नोक्सानी व्यहोर्नुपरे पनि बजार अहिले सामान्य हुँदै गएको छ । रेडिमेड तथा लेडिज कलेक्सनमा वर्षाका पहिरन किन्न आउनेहरूको संख्या प्रशस्तै छ । यसैगरी बुटिकहरूमा यतिबेला वर्षाका विभिन्न स्टाइलका पहिरन अर्डर गर्न आउनेहरूको संख्या पनि बढ्दै गएको डिजाइनरहरू बताउँछन् । पहिले एउटै पहिरन जुनसुकै मौसममा लगाउनुपर्ने बाध्यता थियो तर नित्य परिवर्तित डिजाइनले त्यो अवस्थालाई पछाडि धकेलेको छ । अहिले बजारका फेब्रिक कलेक्सन तथा बुटिकहरू वर्षायामका पहिरनले ढाकिँदै गएका छन् ।

न्यूरोड टिपाज क्रियसनका डिजाइनर प्रेम देव अहिले मौसमी पहिरनको तयारीमा व्यस्त छन् । उनको बुटिकमा वर्षामा लगाइने कुर्ती, वान पिस, फ्रक, हाफ जिन्स, टप्स, पातलो कुर्ती, लेगिन्स, लाइक्रा कुर्तीको अर्डर धेरै छ । प्रेम देव भन्छन्–‘क्याजुअल पहिरनमा पाइन्ट, कुर्ती यो मौसमका लागि उपयुक्त हुन्छन् । फर्मलमा वान पिस लगाउन सकिन्छ । वान पिस धेरै स्टाइलका हुन्छन् । फ्रक तथा टाइट फिटिङजस्ता डिजाइनमा वान पिसको ट्ेरेन्ड बढी छ । वान पिस वर्षाका लागि सबैभन्दा उपयुक्त हुन्छ । मौसमअनुसारको कलर कम्बिनेसनमा पनि ध्यान दिनुपर्छ । कालो, नीलो, हरियो, रोयल ब्लु तथा मिश्रित कलर यो मौसममा उपयुक्त मानिन्छन् ।’ प्रेमले गत वैशाख महिनामा आएको प्राकृतिक विपत्तिले व्यवसायलाई चौपट बनाएको बताए, तैपनि यो वर्षको वर्षामा लगाइने पहिरनको अभाव नहुने डिजाइनर प्रेम देव बताउँछन् । कुपन्डोलस्थित कास्भीकी डिजाइनर सुजिता बराइली वर्षामा हलुका पहिरन लगाउन आग्रह गर्छिन् । महिलाहरूलाई उनले हलुका साडी लगाउन सुझाव दिइन् । गह्रौं साडी लगाउँदा पानी तथा हिलोमा लत्रिने भएकाले सहज तथा आरामदायक पहिरनमा ध्यान दिनु आवश्यक भएको उनले बताइन् । सुजिता भन्छिन्–‘सिफनको साडी हलुका हुने भएकाले पानी परेका बेला लगाएर हिँड्न सजिलो हुन्छ । अनारकली भन्दा स्ट्ेरट कुर्ता यो मौसमका लागि आरामदायक मानिन्छ ।’ बराइलीले सेतो पहिरन यो सिजनमा नलगाउने सल्लाह दिइन् । झरीका कारण बाटोघाटो नै हिलो हुने भएकाले लगाइएको पहिरन चाँडै फोहोर हुन्छ । सेतो पहिरन झरीमा लगाउँदा टिकाउ नहुने बराइलीको तर्क छ । 

एउटा सिजनको फेसन सकिनेबित्तिकै अर्काे सिजनको फेब्रिक बेलैमा तयार गर्नुपर्ने आवश्यकता नेपाली फेसन जगत्मा खड्किन थालेको डिजाइनर ईश्वर श्रेष्ठ बताउँछन् । बागबजारस्थित वान्टु वेयरका डिजाइनर श्रेष्ठको बुटिकमा विशेषगरी विदेशबाट अर्डर आए पनि अहिले उनी वर्षाका पहिरनको डिजाइनमा व्यस्त छन् । मानिसहरू ऋतुअनुसार विभिन्न डिजाइनमा आफूलाई सहज महसुस गर्छन् त्यसैले पनि अहिले मनसुनमा लगाउने युवतीका हाफ पाइन्ट, टप्स, कुर्ती, वान पिसको माग बढेको डिजाइनर श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार ‘धेरैजसोले लगाउँदा हलुका महसुस हुने पहिरन अर्डर गर्छन् । हिलो तथा पानीले फोहोर हुने रंगका पहिरन कसैले लगाउँदैनन् । महिलाहरूलाई हलुका साडी तथा कुर्ती लगाएर हिँड्न पनि सजिलो हुन्छ ।’ युवतीको ट्रेन्डमा लोकप्रिय मानिएको वान पिस तथा फ्रकका विभिन्न स्टाइल नै अहिलेको मौसममा फिट हुने डिजाइनरहरूको तर्क छ । आधुनिक तथा कुल लुक्स दिने यी पहिरन नै आरामदायक हुने भएकाले अधिकांश युवती यही पहिरनमा हिँड्छन् । कामकाजी वा अफिस जानेहरूका लागि स्कर्ट तथा सर्ट लगाएर हिँड्न सहज हुने क्रियटिभ एण्ड स्टाइल हाउसकी डिजाइनर संगीता खड्काले बताइन् । बुटिक जोनका नामले परिचित कुपन्डोल क्षेत्रमा अवस्थित यो बुटिकमा अहिले वर्षायामका फेसनेबल पनिरनहरूको अर्डर धेरै छ । यतिबेला झरीका बेला आयोजना हुने समारोह तथा विभिन्न इभेन्टलगायत विशेष कार्यक्रममा लगाइने पहिरनको तयारीमा प्राय: सबैजसो बुटिक व्यस्त छन् । मौसमअनुसारका पहिरनमा ध्यान दिने हो भने जुनसुकै पार्टी वा समारोहमा बिनाझन्झट सहभागी हुन सकिने डिजाइनर खड्का बताउँछिन् । 

वर्षायाममा कतिबेला पानी पर्छ थाहा हुँदैन । यसकारण यो मौसममा झरीमा हिँड्दा सहज हुने पहिरन नै आरामदायक हुन्छ । मनसुनमा पहिरन लगाउँदा विशेष ध्यान पुर्‍याउनुपर्छ । पैदल हिँड्नेहरूले छाता तथा स्कुटरमा हिँड्नेहरूले रेनकोट छुटाउनुहुँदैन । वर्षामा लगाइने पहिरन पनि सहज तथा आरामदायक हुनुपर्छ अन्यथा आफूले लगाएको पहिरन आफैलाई बोझ बन्न सक्छ । त्यसो त फेसनको दुनियाँमा पनि मौसमी पहिरनको त्यति नै विकास भएको छ । यो मौसममा कस्तो पहिरन लगाउने भनेर घोत्लिनुपर्ने अवस्था छैन । आफूलाई सहज हुने पहिरन बजारमा सहजै फेला पार्न सकिन्छ । मौसमअनुसार आरामदायक तथा आकर्षक भएर हिँड्न सके मौसमका कारण आइपर्ने समस्याहरूबाट समेत जोगिन सकिन्छ । प्राकृतिक विपत्तिका कारण समयमै बजारमा मौसमी पहिरन भित्रिन समस्या भए पनि त्यसको अभाव चाहिँ नभएको व्यवसायीहरू बताउँछन् । वर्षामा छोटो, हलुका र छरितो पहिरन लगाउन उपयुक्त हुन्छ । हिलो तथा पानीको सामना गर्नुपर्ने भएकाले यस्ता पहिरन लगाएर हिँड्दा झन्झटमुक्त भइन्छ । पछिल्लो समय मौसमी फेसनमा निकै विकास पनि भएको छ । ट्ेरन्ड तथा फेसनका आकर्षक पहिरनमा रमाउने बानी परिसकेका अहिलेका युवायुवतीको मागमा पनि मौसमी पहिरन नै बढी छ । 

 

 Image