Successfully Copied

आधुनिकता र परम्पराको संगम–टोकियो

गगनचुम्बी विशाल भवन, हावाको वेगसँगै दौडने बुलेट ट्रेन, हाइटेक ट्रान्पोर्टेसन । जापानको राजधानी टोकियोको साझा चिनारी हो यो । यसलाई विश्वकै त्यस्ता सहरसँग दाँज्न सकिन्छ, जुन सबैभन्दा विकसित र महँगो छ ।

गगनचुम्बी विशाल भवन, हावाको वेगसँगै दौडने बुलेट ट्रेन, हाइटेक ट्रान्पोर्टेसन । जापानको राजधानी टोकियोको साझा चिनारी हो यो । यसलाई विश्वकै त्यस्ता सहरसँग दाँज्न सकिन्छ, जुन सबैभन्दा विकसित र महँगो छ । खसगरी किनमेल तथा नयाँ टेक्नोलोजीका सौखिनहरूका लागि यो सर्वोत्कृष्ट गन्तव्य हुनसक्छ । जापानको राजनीतिक, आर्थिक एवं सांस्कृतिक गतिविधिको केन्द्र हुनुका साथै पर्यटकीय स्थल पनि हो–टोकियो ।

यो विशाल सहरले हरेक उमेरका पर्यटकलाई आमन्त्रण गरिरहेको हुन्छ । एम्युजमेन्ट पार्क तथा हाइटेक खेलौनाले बालबालिकालाई लोभ्याउँछ । त्यहाँ वयस्कहरूका लागि भव्य मठ–मन्दिर छन् भने तन्नेरीहरूलाई तान्ने आधुनिक ग्याजेट्स र शानदार सपिङ मल छन् ।

टोकियोमा केही छुटाउनै नहुने दर्शनीय स्थल छन् । इन्द्रधनुषझैं देखिने पुल, एम्युजमेन्ट पार्कजस्ता अत्याधुनिक संरचना मात्र होइन, आसाकुसा केनन टेम्पल, शाही महलजस्ता प्राचीन इतिहास बोकेका संरचनाहरूले पर्यटकहरूलाई लोभ्याउँछन् ।

शाही महल अर्थात् इम्पेरियल पेलेस

जापानी राजाको आधिकारिक निवास हो यो । चारैतिर पानीले घेरिएको यो महल जापानी परम्परा एवं संस्कृतिको जीवन्त साक्षी बनेर ठडिएको छ । शाही महललाई इस्ट गार्डेन, प्लाजा तथा निजुवासी पुलले हेरौं–हेरौं लाग्ने बनाएको छ । हरिया जंगल, स–साना खोला, ढकमक्क फुलेका फूलहरूको पृष्ठभूमिमा सजिएको शाही महल वर्षमा दुई पटक मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

टोकियो टावर

यो टोकियोको सबैभन्दा उच्च टेलिभिजन र रेडियो टावर हो । यो टावर फ्रान्सको इफेल टावरभन्दा १३ मिटर अग्लो छ । ३ सय ३३ मिटर अग्लो यो टावर टोकियो सहरको गरिमा बनेर ठडिएको छ । टोकियो टावरले मौसमअनुसार आफ्नो रंग बदल्छ । चिसो महिनामा सुन्तले रंगको देखिने यो टावर गर्मीमा सेतो देखिन्छ । टावरको १ सय ५० मिटरको उचाइबाट समग्र टोकियोको सौन्दर्य नियाल्न सकिन्छ । २ सय ५० मिटरको उचाइमा पुगेपछि माउन्ट फिजी अवलोकन गर्न पाइन्छ । टोकियो टावर जोडीका निम्ति लोकप्रिय छ, किनभने यो उत्कृष्ट डेटिङ स्पट पनि हो ।

किनमेलका लागि गिन्जा

यदि सपिङको सौखिन हुनुहुन्छ भने गिन्जाभन्दा अर्को उत्कृष्ट गन्तव्य फेला पार्न सक्नुहुन्न । यो जापानको सबैभन्दा हाइ प्रोफाइल र एसियाको भव्य बजारमध्ये एक हो । यहाँ विश्व प्रसिद्ध ब्रान्डहरू फेला पार्न सकिन्छ । फेसनेबल, ब्रान्डेड तथा आरामदायक सामग्री खरिद गर्ने चाहनालाई गिन्जाले पूरा गरिदिन्छ । यद्यपि यो विश्वकै महँगो बजारमध्ये एक मानिन्छ ।

सस्तो बजार चहार्ने हो भने अमयोको पुग्नुपर्छ । यो बजार एसियामै चर्चित छ । यहाँ जुत्तादेखि लिएर कपडा, ज्वेलरी, कस्मेटिक्स, खेलौना हरेक चीज पाइन्छ । अमयोकोमा कतिपय त्यस्ता सामग्री पनि फेला पार्न सकिन्छ, जुन अरू कतै भेटिँदैनन् ।

जापानी शैलीको बौद्ध मन्दिर

आसाकुसा जिल्लामा अवस्थित चर्चित मन्दिर हो–केनन टेम्पल । जापानी शैलीमा निर्मित यो बौद्ध मन्दिरका सन्दर्भमा एउटा किम्वदन्ती प्रचलित छ । सयौं वर्षअघि दुई भाइको माछा मार्ने जालमा कैननकी प्रतिमा (दयाको देवी) पर्‍यो । त्यसलाई जालबाट छुटाएर नदीमा छाडियो तर पनि पुन: प्रतिमा फिर्ता आयो । त्यसपछि केनन मन्दिर निर्माण गरिएको पौराणिक कथन छ ।

यो मन्दिरको बाहिरी ढोकाबाट भित्री ढोकासम्म दुई सय मिटरको खुला भागमा सपिङ स्ट्रिट पनि छ, जहाँ पराम्परागत बौद्ध जन्तर, जापानी चकलेट, टि–सर्ट, नुडल्स, सुसी (जापानी परिकार, किमोनो (जापानी परम्परागत पहिरन) आदि पाइन्छ ।

इन्द्रधनुषझैं पुल

टोकियोको यो रहस्यमय पुलले पनि पर्यटकहरूलाई लोभ्याउँछ । खासगरी राति चम्कने रंगीबिरंगी बिजुलीले इन्द्रधनुषको आभाष दिलाउँछ । मोनोरेल चढेर वा हिनोक पियरदेखि आसाकुसासम्मको क्रुजको यात्रा गरेर रेनवो ब्रिजको दृश्यावलोकन गर्नुको मज्जा छुट्टै हुन्छ ।

बालबालिकाको छुट्टै पार्क

यदि बालबालिकासहित टोकियो घुम्दै हुनुहुन्छ भने एम्युजमेन्ट र थिम पार्क उपयुक्त गन्तव्य हुनसक्छन् । टोकियोको डिज्नी ल्यान्ड बालबालिकाहरूका लागि उत्कृष्ट थिम पार्क हो । यसका साथै स्यानरियो प्युरोल्यान्ड थिम पार्क र हनायास एम्युजमेन्ट पार्कमा पूरै परिवारका साथ बिदा मनाउन सकिन्छ ।

पुरानो टोकियोको झलक

 आसाकुसा जिल्लामा जापानको पुरानो परम्परा एवं संस्कृतिको झलक पाइन्छ । प्राचीन संरचना र स–साना गल्ली भएको यो सहरमा प्रशस्तै परम्परागत सामग्री उपलब्ध हुन्छन् ।

कहिले जाने : मार्चदेखि मे तथा सेप्टेम्बरदेखि नोभेम्बरसम्म टोकियोको यात्रा गर्नु उपयुक्त हुन्छ ।

भाषा : टोकियो भ्रमणमा भाषाको समस्या खेप्नुपर्ने हुनसक्छ । किनभने त्यहाँ धेरैले अंग्रेजी बुझ्दैनन् र बोल्दैनन् पनि । त्यसैले टोकियो घुम्न जानुअघि आधारभूत जापानी भाषा सिक्नु राम्रो हुन्छ ।

 Image