Successfully Copied

वृद्धावस्थामा देखिने स्वास्थ्य समस्या

वृद्धावस्थामा यौवनको जस्तो जोस–जाँगर एवं उत्साह रहँदैन । त्यो समयमा परिवारको साथ तथा सहाराको आवश्यकता हुन्छ । यही बेला आफ्नो जीवनको सहारा छोराछोरी साथमा नहुँदा एक्लोपन महसुस हुन्छ भने उमेर वृद्धिसँगै वृद्धावस्थामा विभिन्न रोगले आक्रमण गर्न सक्छन् ।

मानिस जन्मिएपछि बिस्तारै ठूलो हुँदै जान्छ । सबैजना कुनै न कुनै दिन वृद्धावस्थामा पुग्छन् । वृद्धावस्थामा यौवनको जस्तो जोस–जाँगर एवं उत्साह रहँदैन । त्यो समयमा परिवारको साथ तथा सहाराको आवश्यकता हुन्छ । यही बेला आफ्नो जीवनको सहारा छोराछोरी साथमा नहुँदा एक्लोपन महसुस हुन्छ भने उमेर वृद्धिसँगै वृद्धावस्थामा विभिन्न रोगले आक्रमण गर्न सक्छन् । नेसनल बाथ रोग सेन्टरका फिजिसियन तथा बाथ रोग विशेषज्ञ डा.विनीत वैद्यका अनुसार यो उमेरमा अस्टियोपोरोसिस, अस्टियो आर्थराइटिसजस्ता समस्या प्रमुख रूपमा देखापर्छन् । 

डा. विनीत वैद्य

अस्टियोपोरोसिस

ढाडको हड्डी मक्किदा यो समस्या देखापर्छ । महिलामा महिनावारी रोकिने समयमा तथा रोकिएपछि तथा पुरुषमा ७५ वर्षको उमेरपछि यो समस्या देखापर्छ । यसमा ढाड करकर खान्छ भने मांसपेशी पनि बाउँडिन्छ । हड्डी मात्र मक्किएको अवस्थामा भने ढेड वर्षजति औषधि खाएपछि निको हुन्छ । 

अस्टियो आर्थराइटिस

यो रोग पनि उमेरको वृद्धिसँगै देखापर्छ । यो मोटा मानिसमा बढी देखिन्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा अस्टियो आर्थराइटिस हुन्छ । ५० वर्ष नाघेपछि भिटामिन डी, हार्मोन, क्याल्सियमको कमी तथा थाइराइडको समस्याले गर्दा यो रोग उत्पन्न हुन्छ । भर्‍याङ चढ्दा तथा ओर्लदा गाह्रो हुनु, बसेको ठाउँबाट उठ्न गाह्रो हुनु, घुँडाबाट किटिक–किटिक आवाज आउनु यसका लक्षण हुन् । 

अस्टियो आर्थराइटिस पनि सुरुको स्टेजमा थाहा पाए निको हुन्छ अन्यथा जीवनभर औषधि सेवन गर्नुपर्छ ।

वृद्धावस्थामा उमेर वृद्धिसँगै विभिन्न रोगले आक्रमण गर्ने भएकाले साधारण दाल, भात, तरकारी आफ्नो खानामा समावेश गर्नुपर्छ । हरियो सागपात, फलफूल तथा दूध पनि प्रशस्त मात्रामा खानुपर्छ । मोटाउनु हुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । 

वृद्धावस्थामा देखिने अन्य रोग

मनोवैज्ञानिक समस्या

वृद्धवृद्धामा एक्लै बस्नुपर्दा, परिवारले बेवास्ता गर्दा तथा पर्याप्त मात्रामा निद्रा नलाग्दा यो समस्या देखा पर्छ । अहिले हाम्रो समाज न्यूक्लियर फेमिलीतिर अग्रसर छ । यसले गर्दा वृद्धवृद्धालाई आफ्नो सहारा कोही नभएको महसुस हुन्छ । धेरै सोच्दा, एक्लै बस्दा उनीहरूमा मनोवैज्ञानिक समस्या देखापर्न सक्छ । 

न्यूरोलोजिकल समस्या

उमेर वृद्धिसँगै डिमेन्सिया, अल्जाइमर, पार्किसन्सजस्ता समस्याले पनि आक्रमण गर्छ । यी रोग मस्तिष्कसँग सम्बन्धित हुन्छन् । 

मुटुरोग तथा मधुमेह

 मुटुरोग, उच्च रक्तचाप तथा मधुमेह पनि वृद्धावस्थामा देखापर्ने रोग हुन् । उमेर वृद्धिसँगै रोगप्रतिरोधक क्षमता कम हुने भएकाले रोग लाग्ने सम्भावना बढ्छ । त्यसैले रोग लाग्यो भनेर चिन्तित हुनुहुँदैन । उमेर वृद्धिसँगै आफ्नो शरीर तथा दिमाग दुवै थाक्न थाल्छ । आखिर जे भए पनि उमेर वृद्धिलाई कसैले रोक्न सक्दैन तर पनि खानपान तथा शारीरिक व्यायाम गरे यो उमेरमा पनि फिट रहन सकिन्छ । वृद्धावस्थामा उमेर वृद्धिसँगै पाचनशक्ति कम हुन्छ । 

वृद्धावस्थामा प्रोटिन, कार्बोहाइड्ेरड, भिटामिन पचाउन सक्ने क्षमतामा पनि कमी आउँछ । त्यसैले उचित मात्रामा यस्ता खानेकुरा खानुपर्छ । नुन बढी भएका खानेकुरा खाँदा उच्च रक्तचाप हुने सम्भावना बढी हुने भएकाले दाल तथा तरकारीमा नुन कम हाल्नुपर्छ भने सुन्तलाको जुस, केरा, पालुंगो तथा सख्खरखण्डजस्ता पोटासियम पाइने खानेकुरा खानुपर्छ । 

उमेर वृद्धिसँगै आँखाको ज्योतिमा पनि कमी आउँछ । त्यसैले आँखाको ज्योति तथा पाचन प्रक्रिया बलियो बनाउन एवं तन्तु वृद्धिका लागि भिटामिन एयुक्त खानेकुरा खानुपर्छ । यसका लागि सागपात, गाजर, पालुंगोजस्ता खानेकुरा खानुपर्छ । उमेर वृद्धिसँगै मधुमेहको सम्भावना पनि बढी हुने भएकाले धेरै गुलिया खानेकुरा खानुहुँदैन । पाचनतन्त्र कमजोर हुने भएकाले चिल्ला खानेकुरा पनि खानु हुँदैन ।वृद्धावस्थामा पाचनशक्ति कम हुने तथा विभिन्न रोगका औषधि सेवन गर्दा भोक नलाग्न सक्छ । फलस्वरूप पोषक तत्व कमीको समस्या उत्पन्न हुन्छ । महिलालाई स्तन क्यान्सर छ–छैन पत्ता लगाउन मेमोग्राम टेस्ट (स्तन क्यान्सरको जाँचका लागि) गराउनुपर्छ । इसिजी तथा अन्य फिजिकल टेस्ट पनि समय–समयमा गराउनुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुपर्छ । दिनहुँ ८ देखि १० गिलास पानी पिउनुपर्छ । यो उमेरमा ग्रीन टी पनि लाभदायक हुन्छ । बिहानीपखको घामबाट भिटामिन डी प्राप्त हुने भएकाले घाममा बस्नुपर्छ ।

 

 Image