Successfully Copied

आमाको दूध नै पोषिलो

नवजात शिशुका लागि आमाको दूधको विकल्प अन्य दूध हुनै सक्दैन । आमाले शिशु जन्मेको एक घण्टाभित्र दूध चुसाउन सुरु गर्नुपर्छ । अप्रेशन गरेर निकालेका शिशुलाई पनि अरूले समाइदिएर पनि आमाको दूध चुसाउन सकिन्छ । सुरुमा आएको बाक्लो पहेंलो दूधमा पौष्टिक तत्व हुन्छ

पाँच महिनाकी दिया हृष्टपुष्ट एवं फुर्तिली छिन् । उनकै उमेरकी अनिषा उनको तुलनामा त्यति फुर्तिली छैनन् । साथै उनी बिरामी भइरहन्छिन् । यसो हुनुको कारण दियाले आमाको दूध खान्छिन् भने अनिषाले ल्याक्टोजिन खान्छिन् । स्तनपान गरेका शिशु कृत्रिम दूध खाने शिशुका तुलनामा फुर्तिला हुन्छन् । आमाको दूध अमृत समान मानिन्छ । आमाको दूधले कुनै किसिमको गडबड र हानी नहुने काठमाडौं मेडिकल कलेजकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उर्मिला कार्की बताउँछिन् । आमाको दूध सबैभन्दा उत्तम खाना हो । यसका लागि खास तयारी वा अन्य झन्झट पनि पर्दैन । डा. उर्मिलाका अनुसार आमाको दूध शतप्रतिशत शुद्ध हुन्छ । नवजात शिशुका लागि आमाको दूधको विकल्प अन्य दूध हुनै सक्दैन । आमाले शिशु जन्मेको एक घण्टाभित्र दूध चुसाउन सुरु गर्नुपर्छ । अप्रेशन गरेर निकालेका शिशुलाई पनि अरूले समाइदिएर पनि आमाको दूध चुसाउन सकिन्छ । सुरुमा आएको बाक्लो पहेंलो दूधमा पौष्टिक तत्व हुन्छ । अझै पनि गाउँघरतिर स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएका कारण पहिलो पटकको दूध निचोरेर फाल्ने चलन छ जुन गलत हो । शिशु जन्मनासाथ स्तनपान गराउँदा आमा र शिशु दुवैलाई फाइदा पुग्छ । नआए पनि शिशु जन्मनासाथ दूध चुसाउनुपर्छ । दूध जति चुसायो त्यति आउने डा. उर्मिला बताउँछिन् । शिशुले दूध चुस्दा अक्सिटोसिन हर्मोन रिलिज हुन्छ जसले महिलाको पाठेघर खुम्चन्छ, हर्मोन सर्कुलेसन हुन्छ र दूध आउँछ । स्तनपानले महिलामा सुत्केरीपछि हुने अत्यधिक रक्तश्राव पनि कम गर्छ । 

सामान्यतया नवजात शिशुले २४ घन्टामा ५ पटकभन्दा बढी पटक पिसाब गरिरहेको अवस्थामा उसलाई दूध पुगेको बुझ्नुपर्छ । शिशुलाई आमाको दूध चुस्न रमाइलो लाग्छ, त्यसैले पनि ऊ दूध चुसिरहेको हुन सक्छ । प्रत्येक आमाको स्तनबाट दूध आउँछ । तसर्थ झर्को नमानीकन आफ्नो शिशुलाई खुवाउनुपर्छ । दूध आएन भनेर चुसाउन छोडियो भने आउने दूध पनि सुकेर जान्छ । शिशुले ल्याक्टोजिन वा अन्य कृत्रिम दूध खाने बानी परेपछि उसले आमाको दूध चुस्ने मेहनत गकर्दैन ।

स्तनपानबाट शिशुलाई हुने फाइदा 

–  रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।  

–    शिशु स्वस्थ तथा निरोगी हुन्छ । 

–    निमोनिया तथा बाल्यावस्थामा हुने क्यान्सर कम गर्छ । 

–    वर्तमानमा मात्र नभएर पछिको स्वास्थ्य पनि राम्रो रहन्छ । 

–    कब्जियत हुनबाट रोक्छ । 

– अकस्मात् हुने मृत्यु रोक्छ । 

– शिशुको आइक्यु क्षमता वृद्धि हुन्छ । 

स्तनपानगराउँदा आमालाई हुने फाइदा 

– स्तनपानले मातृमृत्युदर कम गर्छ । 

– आमामा ९८ प्रतिशत परिवार नियोजनको काम गर्छ । 

–शिशु जन्मनासाथ आमालाई  हुने अत्यधिक रक्तश्राव कम गर्छ । 

–स्तन, पाठेघर, इन्डोमेट्रियल एवं डिम्बाशय क्यान्सरको सम्भावना कम गर्छ । 

–    हड्डीको रोग हुने सम्भावना कम गर्छ । 

–    वजन नियन्त्रण हुन्छ । 

अन्त्यमा

आमाको दूध नै सबैभन्दा उत्तम खाना हो । यसका लागि खास तयारी वा अन्य झन्झट केही पर्दैन तर केही आमाहरू बोतल फिडिङ गर्न चाहन्छन् । बोतल फिडिङ गराउँदा प्रत्येक पटक बोतल उमाल्नु पर्ने झन्झट हुन्छ । रातीको समयमा पनि उठेर दूध बनाउनुपर्छ । आधाघण्टा भन्दा बढी समय भएमा त्यो दूध फाल्नुपर्ने हुन्छ । आमाको दूध खुवाउँदा यी सब झन्झट हुदैन । स्तनपान गर्ने शिशु सक्रिय हुन्छन् र चाँडै दूध निखार्छन् । यसको तुलनामा बोतलबाट दूध खानेले निखार्न समय लगाउँछन् । शिशु ६ महिना पुग्नासाथ आमाको दूधसँगै अन्य खानेकुरा पनि दिनुपर्छ । दुई वर्षसम्म स्तनपान गराउनु शिशु र आमा दुवैका लागि फाइदाजनक हुन्छ । स्तनपान गराएको शिशु र आमाको आत्मीयता कृत्रिम दूध खानेको तुलनामा बढी हुन्छ । 

डा. उर्मिला कार्की

 Image