Successfully Copied

पार्टीपछिको स्वास्थ्य

अहिले चाडपर्वको समय छ । यो समयमा पार्टीहरूमा गैरहनुपर्ने हुन्छ । बढी भोजन तथा आरामले शरीर मोटाउँछ । त्यसैले शरीरको ख्याल गर्नु आवश्यक हुन्छ । दसंै, तिहार, नयाँ वर्ष, तीजजस्ता चाडपर्व मनाउने बहानामा माछा, मासु, मिठाईं, अल्कोहल आदिको सेवन बढी गरिन्छ । यो

अहिले चाडपर्वको समय छ । यो समयमा पार्टीहरूमा गैरहनुपर्ने हुन्छ । बढी भोजन तथा आरामले शरीर मोटाउँछ । त्यसैले शरीरको ख्याल गर्नु आवश्यक हुन्छ । दसंै, तिहार, नयाँ वर्ष, तीजजस्ता चाडपर्व मनाउने बहानामा माछा, मासु, मिठाईं, अल्कोहल आदिको सेवन बढी गरिन्छ । यो समयमा जंकफुड तथा कोक–पेप्सी आदि पेय पदार्थको सेवन पनि बढी नै हुन्छ । यस्ता खानेकुराका कारण नै शरीर मोटो हुन्छ । दसैंमा खाने, बस्ने काम बढी तथा शारीरिक अभ्यास कम हुँदा शरीर मोटाउन थाल्छ । यस्तो अवस्थामा शरीरको टक्सिन बाहिर निकाल्नु आवश्यक हुन्छ । पार्टी तथा चाडपर्वका बेलामा शारीरिक अभ्यास गर्ने समय नभए महिनाको एकपटक हानिकारक पदार्थ बाहिर निकाल्नुपर्छ । शरीरमा भएका हानिकारक टक्सिन बाहिर निकाल्न निम्न उपाय अपनाउन सकिन्छ :  

–बिहान उठ्नासाथ एक–दुई गिलास मनतातो पानीमा कागती मिसाएर पिउने । त्यसमा नुन तथा मह पनि नमिसाउने । 

–तारेको, भुटेको तथा मसालेदार खानेकुरा खानु हुँदैन । यस्ता खानेकुरा शरीर तथा कलेजो दुवैका लागि हानिकारक हुन्छन् । चाडपर्वमा रमाइलोका लागि यस्ता खानेकुरासँग अल्कोहल पनि सेवन गर्ने चलन छ जसले गर्दा रोग अझ बढ्छ । यसले पेट पोल्ने, ग्यास्ट्रिक तथा अपचको समस्या सिर्जना गर्छ । केही दिन यस्तो खाना खानुपर्छ जुन कलेजोका लागि फाइदाजनक हुन्छ । लसुनको प्रयोग बढी गर्नुपर्छ । नियमित रूपमा चुकन्दर खानुपर्छ । चुकन्दरले गल ब्लाडर तथा कलेजो ठीक राख्छ । पानी प्रशस्त पिउनुपर्छ । 

–जाडो मौसममा बजारमा सुन्तला पाइन्छन् । सुन्तला खाए शरीरको सिस्टम राम्रोसँग सफा हुन्छ । सुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । त्यसैले दिनहुँ एक–दुईवटा सुन्तला खानुपर्छ । 

–मानव शरीरमा ७५ प्रतिशत पानी हुन्छ । पानीले नै शरीरको तापमानलाई सन्तुलित राख्छ । जाडो मौसममा धेरैजसो मानिस कम पानी पिउँछन् । जाडो होस् वा गर्मी दिनहुँ ७–८ गिलास पानी पिउनुपर्छ । पानी शरीरमा भएको हानिकारक टक्सिन बाहिर निकाल्ने उपयुक्त माध्यम हो । यसबाट छाला मुलायम रहनुका साथै शरीरका कोषमा पौष्टिक तत्व सजिलै पुग्छ ।  

–फलफूलको जुस सेवन गर्दा त्यसमा भएको सोडियमको मात्रा तथा फ्लेवरमा पनि ध्यान दिनुपर्छ । डिब्बा वा बोतलबन्द जुसभन्दा ताजा फलफूलको जुस पिउनु लाभदायक हुन्छ । 

–ब्रोकाउली, गाजर, पालुंगोजस्ता हरियो तरकारीको सेवन बढी गर्नुपर्छ । यसमा फाइटो केमिकल्स हुन्छ । यस्ता तरकारीको सुप बनाउनुपर्छ । 

–दाल तथा स्वस्थ अन्न सेवन गर्नुपर्छ । प्लास्टिकको प्याकेटमा राखिएका तथा डिब्बाबन्द भोजन खानुहुँदैन । 

–गुलियो कुराको सेवन कम गर्नुपर्छ । यस्ता खानेकुरा मन पर्ने भए ताजा फलफूल सेवन गर्नुपर्छ । समय–समयमा थोरै–थोरै ड्राइ फ्रुट्स खाइरहनुपर्छ । 

–वजन कम गर्न मन लागे सलादका साथ उमालेको तथा स्वादरहित खाना खानुपर्छ । स्वादिलो खानाका लागि तरकारीमा लसुन राख्न सकिन्छ । यसले कलेजोको सफाइ गर्नुका साथै किटाणुको इन्फेक्सनबाट जोगाउँछ र रगतलाई पनि शुद्ध बनाउँछ ।

–लगातार पार्टी खाएर तीन–चार दिन व्रत बस्नुहुँदैन । खाना नखानुभन्दा स्वस्थ तथा सन्तुलित खाना खानु उपयुक्त हो । 

–आफ्नो खनपिनबाट कफिन, निकोटिन तथा अल्कोहल कम गर्नुपर्छ । डिनरका साथमा तीन–चार पेग वाइन पिउने बानी छ भने एक पेगमा सीमित गर्नुपर्छ । चुरोट चटक्कै छोड्नु उपयुक्त हुन्छ ।

–रेसादार खानेकुराको मात्रा बढाउनुपर्छ । दाल, ब्रेड, ब्राउन राइस, फलफूल तथा तरकारीमा प्रशस्त मात्रामा रेसा (फाइबर) पाइन्छ । रेसायुक्त खानाबाट पाचन क्षमता बढ्छ । फाइबरयुक्त खानाले शरीरमा भएको खराब ब्याक्टेरियासँग लड्ने क्षमता बढाउँछ । सम्भव भएसम्म नियमित रूपमा अम्बा खानुपर्छ । यसमा भिटामिन सी, प्रोटिन तथा घुलनशील फाइबर हुन्छ । अम्बा पाचन क्रियाका लागि फाइदाजनक मानिन्छ । 

–ह्वाइट ब्रेड तथा पास्ताजस्ता प्रशोधित खाद्यपदार्थको सेवन सकेसम्म कम गर्नुपर्छ । यस्ता खानामा फाइबर कम हुन्छ । त्यसलाई पचाउन पनि धेरै समय लाग्छ । यसले गर्दा ब्याक्टेरियाले पनि आक्रमण गर्न सक्छ । स्वस्थ अन्न तथा चोकरयुक्त आटाको रोटीले इन्जाइम बढाउनुका साथै खराब तत्वलाई शरीरबाट बाहिर निकाल्न सघाउ पुर्‍याउँछ । 

–अर्गानिक खानेकुरा खानुपर्छ । ननअर्गानिक खानामा प्रशस्त मात्रामा रसायन हुन्छ । अर्गानिक खाद्यपदार्थबाट भिटामिन तथा मिनरल्स प्राकृतिक रूपमै पाइन्छ । यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । 

–हरियो धनियाँ बढी प्रयोग गर्नुपर्छ । यसलाई पिसेर अचार बनाउन तथा तरकारीमा समावेश गर्न सकिन्छ । एक लिटर पानीमा एक मुठा धनियाँ उमालेर सेवन गर्नुपर्छ । यसले युरिनेसन बढाउँछ । 

–कुनै स्वास्थ्य समस्या नभए पनि हप्तामा एक दिन रातको खाना नुनरहित हुनुपर्छ । 

–बिहानको हावा ताजा हुन्छ । नियमित मर्निङ वाक गर्नुपर्छ । यसले शरीरमा ताजा हावा प्राप्त हुनुका साथै रक्तसंचार पनि सुचारु हुन्छ । यसले मिर्गौला तथा कलेजोबाट शरीरमा भएको टक्सिन बाहिर निकाल्न मद्दत गर्छ ।  

–खानेकुरा बिस्तारै राम्रोसँग चपाएर खानुपर्छ । यसले एसिडिटी कम हुन्छ । खानेकुरा ठीक ढंगमा नचपाउँदा यो धेरै समयसम्म पेटमै रहिरहन्छ जसले गर्दा छाती पोल्ने तथा एसिडिटीको समस्या उत्पन्न हुन सक्छ ।

–नियमित ७–८ घन्टा निदाउनु जरुरी छ । लेट नाइट पार्टीमा सहभागी हुनु भनेको आफ्नै स्वास्थ हानी हो । लेट नाइट पार्टी छ भने अघिल्लै दिन प्रशस्त सुतेर निद्रा पुर्‍याउनुपर्छ । निद्रा पूरा भएन भने पाचन क्रियामा असर पर्छ । 

तस्बिर: नवराज वाग्ले

–नियमित रूपमा हल्का खालको एक्सरसाइज गर्नुपर्छ । व्यायामले शरीरको तापक्रम बढाउनुका साथै पसिना बाहिर निकाल्छ । व्यायाम गर्न नसके ब्याडमिन्टनजस्ता आउटडोर गेम खेल्नुपर्छ । यसैगरी योग पनि गर्न सकिन्छ । प्राणायाम गर्दा शरीरमा अक्सिजन प्राप्त हुन्छ ।

सावधानी : कुनै रोगको औषधि खाइरहेको भए तौल नियन्त्रण गर्दा सावधानी अपनाउनुपर्छ । चिकित्सकको सल्लाहमा व्यायाम गर्न सकिन्छ । 

ह्याङओभरबाट जोगिन

नयाँ वर्ष, दसैं–तिहारजस्ता चाडपर्वमा अल्कोहलको सेवन बढी नै गरिन्छ । यसको साइड इफेक्ट भने पछि मात्र देखा पर्छ । त्यसबाट टाउको दुख्ने तथा पेट दुख्ने समस्या उत्पन्न हुन सक्छ । कतिपयलाई बान्ता पनि आउँछ । अल्कोहलको सेवनपछि कतिपयलाई छिटो–छिटो पिसाब आउन सक्छ । यसले गर्दा डिहाइड्रेसनको समस्या हुन सक्छ । ह्याङओभरबाट जोगिन प्रशस्त मात्रामा तरल पदार्थ सेवन गर्नुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । बिहान उठेर मनतातो पानीमा कागती हालेर पिउनुपर्छ । यसमा हर्बल टी पनि सहयोगी हुन्छ । ग्रिन टी तथा मिन्ट टीले पनि पेटलाई केही हदसम्म राहत प्रदान गर्छ । अल्कोहलको खराब असरबाट जोगिन तरल पदार्थको सेवन बढाउनुपर्छ । ताजा फलफूलको जुस तथा तरकारी खानु फाइदाजनक हुन्छ । अल्कोहलको सेवनले शरीर सुस्त हुन्छ । यस्तो स्थितिमा निद्रा पूरा हुने गरी सुत्नुपर्छ ।  

 

 Image