Successfully Copied

आफन्तको संगम गराउने चाड दसैं

वरपरको वातावरण रमाइलो हुँदै र मानिसहरूको चहलपहल बाक्लिँदै गएपछि शीताष्मा शाहलाई दसैंको आगमन हुन लागेको आभास हुन्छ । पारिजात फुल्न थालेपछि पनि उनलाई दसैं आउन लागेको महसुस हुन्छ ।

वरपरको वातावरण रमाइलो हुँदै र मानिसहरूको चहलपहल बाक्लिँदै गएपछि शीताष्मा शाहलाई दसैंको आगमन हुन लागेको आभास हुन्छ । पारिजात फुल्न थालेपछि पनि उनलाई दसैं आउन लागेको महसुस हुन्छ । दसैं लामो छुट्टी हुने रमाइलो चाड हो भन्ने शीताष्माको ठहर छ  । 

सानो उमेरमा चाडपर्वको वास्तविक मज्जा हुने शीताष्माको अनुभव छ । बिनाजिम्मेवारी निर्धक्क  चाडपर्व मनाउनुको मज्जा बेग्लै हुन्छ । बाल्यकालमा दिदीहरू तथा भाइसँग मिलेर अरूको चंगा चेट गर्दा पनि पर्याप्त आनन्द आउने उनले बताइन् । दसैंमा टीका, जमरा तथा दक्षिणाको मोह हुन्छ । यसबाट शीताष्मा पनि अछुतो छैनन् । दक्षिणामा पाएको पैसा फजुल खर्च गर्ने बानी उनको थिएन । बाल्यकालमा एकपटकको दसैंमा दिदी, उनी तथा भाइको दक्षिणा जम्मा गरेर उनीहरूले म्युजिक प्लेयर किनेका थिए । 

शीताष्माको जन्म काठमाडौंको विशालनगरमा भए पनि स्कूले शिक्षा भारतमा पूरा भयो । त्यहाँ दसैंको बिदा कम हुने भएकाले बाल्यकालका धेरैजसो दसैं उनले उतै मनाइन् । दसैं आउने भएपछि उनी पहिलेदेखि नै एक्साइटेड हुन्थिन् । शीताष्मा दसैंमा पटका पड्काउने, स्थानीय देवी मन्दिरहरू जाने तथा साथीभाइहरूसँग घुम्न गएर रमाइलो गर्थिन् । होस्टेलमा अघिपछि सामान्य खाना बनाइए पनि दसैंको दिन भने बिरयानीलगायतका नौला परिकार बनाएर ख्वाइन्थ्यो । 

विगत तीन–चार वर्षयतादेखि मात्र उनले नियमित रूपमा नेपालमा दसैं मनाउन थालेकी हुन् । यहाँ दसैं मनाउँदा वरपरको वातावरण तथा पारिवारिक मिलनले उनलाई बेग्लै आनन्द दिन्छ । अन्य मानिसको घरमा जस्तै उनको घरमा पनि दसैंको आगमनसँगै चहलपहल बढ्छ । आफन्तहरूलाई खान बोलाउने तथा उनीहरूकहाँ खान जाने क्रम पनि उत्तिकै चल्छ । दसैंमा उनी आफन्त एवं दाजुभाइ–दिदीबहिनीहरूसँग मिलेर म्यारिज खेल्छिन् । शीताष्मा दसैंमा नयाँ पहिरन लगाउनुलाई थप भार बताउँछिन् । यति हुँदाहुँदै पनि उनकी मम्मीले उनका लागि प्रत्येक दसैंमा नयाँ पहिरन किनिदिनुहुन्छ । शाहको घरमा नौरथाभर मम्मीले नवदुर्गाको पूजाआजा गर्नुहुन्छ । अफिस जानुपरे पनि समय मिलाएर उनी परिवारका साथ दुर्गा मन्दिर पुग्छिन् । 

तस्बिर: श्रुति श्रेष्ठ

दसैंलाई आफन्तको संगम गराउने चाड भन्न रुचाउने शीताष्मालाई लाग्छ दसैं मनमुटाव भएकाहरूलाई मिलन गराउने पर्व पनि हो । जतिसुकै रिसराग भए पनि दसैंको दिन टीका थापेर आशीर्वाद लिने चलन छ । यस्तो महत्वपूर्ण चाडलाई आत्मीयताका साथ मनाउनुपर्ने धारणा उनको छ । 

 Image