Successfully Copied

मिठाईंको पर्व तिहार अनि स्वास्थ्य

मिठाईंको पर्व तिहार नजिकिँदै छ । चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खाने बानी धेरैको हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । चाडपर्वमा अन्य काममा व्यस्त हुने भएकाले खानपानको ठेगान हुँदैन ।

मिठाईंको पर्व तिहार नजिकिँदै छ । चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खाने बानी धेरैको हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । चाडपर्वमा अन्य काममा व्यस्त हुने भएकाले खानपानको ठेगान हुँदैन । धेरै समय भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुनसक्ने किस्ट मेडिकल कलेजकी डाइटिसियन रश्मि बजिमय श्रेष्ठ बताउँछिन् । चिल्लोका कारण एसिडिटी बढेर डकार आउनसक्छ । धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ । मिठाईंको पर्व तिहारमा त अझ  घरमा सेल, अनरसा, फिनी आदि मिठाईं बनाइन्छ जसमा चिल्लो तथा गुलियोको मात्रा प्रशस्त हुन्छ ।

गत वर्षको तिहारमा मधुमेहकी बिरामी मैतीदेवीकी सञ्जु शर्माले धेरै सेल खाँदा सुगरको मात्रा ह्वात्तै बढेको थियो । त्यसैले अबदेखि उनी चाडपर्वभन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिने विचारमा छिन् ।सेल, फिनीजस्ता रोटी धेरै दिन राखेर खाँदा तेल–घिउ खरिन्छ । फलस्वरूप मानिसमा एसिडिटीको समस्या हुन सक्छ । अझ पहिले नै रोग लागिसकेकाले त यस्ता खानेकुरा खाँदा निकै विचार पुर्‍याउनुपर्छ । 

रोगअनुसार कस्तो खानेकुरा खाने ?

मधुमेह : मिठाईंको पर्व तिहारमा धेरैको घरमा सेल, अनरसा आदि पकाउने चलन छ । कतिपयले चाडपर्व त हो भनेर मन थाम्न नसकी यस्ता खानेकुरा धेरै खाइदिन्छन् जसले गर्दा स्वास्थ्य बिग्रन्छ । यस्ता रोटीमा चिनीको मात्रा बढी नै हुन्छ । यस्ता खानेकुरा खाँदा रगतमा चिनीको स्तर बढ्छ । तेल–घिउमा तारेका खाना वा बोसोयुक्त उत्पादन नौनी, घिउ, सेल, फिनी, अनरसा आदि मधुमेहका बिरामीले खानु हुँदैन । सेल वा अन्य रोटीमा चिल्लोको मात्रा धेरै हुने भएकाले क्यालोरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । अहिले बजारमा विभिन्न किसिमका सुगर फ्रि मिठाईं उपलब्ध हुन्छन् । मधुमेहका बिरामी ती मिठाईंबाट टाढै रहनु उत्तम हुन्छ । चामल, गहुँ, मकैजस्ता अन्न पनि कम मात्रामा खानुपर्छ । त्यसैगरी चिनी तथा घिउ नभएको चिया, सूप एवं कफी सेवन गर्दा बिरामीलाई फाइदा हुन्छ । हरियो सागपात, फलफूल, सेतो मुला, गाजर, लौका आदि मधुमेहका बिरामीका लागि लाभदायक हुन्छन् । 

कोलस्ट्रोल : कोलस्ट्रोल बढेका मानिसले पनि चिल्लो खानेकुरा खाँदा विचार पुर्‍याउनुपर्छ । सेल रोटीको पिठो घिउमा मुछेर घिउ वा तेलमा पकाइन्छ । यसरी बनाइएको सेल खाँदा कोलस्ट्रोल बढ्छ । कोलस्ट्रोलका बिरामीले घिउ, बोसो एवं बटरमा बनाइएका चीज खानु हुँदैन । 

उच्च रक्तचाप : उच्च रक्तचाप भएकाहरूले चिल्लो, घिउ एवं बोसोजन्य कुराहरू खानु हुँदैन । यसले रक्तचापका साथै तौल पनि बढ्छ । धेरै चिल्लो खानेकुराले पेट बढ्छ । मुटुरोगको प्रमुख कारण उच्च रक्तचाप भएकाले नुनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुपर्छ । 

मुटुरोग  : मुुटुका बिरामीले घिउ, नौनी एवं बोसो कम खानुपर्छ । चिल्लो पदार्थको बढी प्रयोग गर्दा धमनीमा रगत जमेर क्रोनरी आर्टरी रोग लाग्ने सम्भावना हुन्छ । यस्ता बिरामीका लागि ठिक्क मात्रामा तेल तथा माछाको तेल लाभदायक हुन्छ । ओलिभ ओयल पनि यस्ता बिरामीका लागि राम्रो मानिन्छ । घिउ तथा  बोसोमा बनाइएको खानेकुरा खानुहुँदैन । चाडपर्वका बेला सेल खान मन लागे कम तेल प्रयोग गरी तावामा सेकाइएको सेल खानु वेश हुन्छ । यसैगरी बिरामीले अण्डाको सेतो भाग, बोसो नभएको मासु, कम चिल्लो भएको दूध पनि आफ्नो खानामा समावेश गर्न सक्छन् । 

मिर्गौलाका बिरामी : यस्ता बिरामीले कम मात्रामा चिल्लो, गुलियो खान मिल्छ । तरकारी एवं फलफूल पनि ठिक्क मात्रामा खानुपर्छ । भोगटे, सुन्तला आदिले शरीरमा पोटासियमको मात्रा बढाउँछ । त्यसैले यस्ता खानेकुरा खानुहुँदैन । मिर्गौलाका बिरामीले स्याउ, मेवा, अम्बाजस्ता फलफूल खानुपर्छ । मिर्गौलाका बिरामीलाई मधुमेह पनि छ भने गुलियो खानेकुरा खानुहुँदैन । 

चाडपर्व मनाउने बहानामा आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानु हुँदैन । स्वस्थ मानिस वा रोगी जोसुकै भए पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । सामान्यतया स्वस्थ मानिसले दिनमा २० ग्राम चिल्लो खान सक्छन् । धेरै चिल्लो खाँदा कतिपयलाई कब्जियत हुन सक्छ । चिल्लोले अमन भएर खानेकुरामा रुचि नहुन सक्छ । त्यसैले सागपात, फलफूलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ ।  तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हुँदा स्वास्थ्यलाई ध्यान दिएर ती खानेकुरा खानु बुद्धिमानी ठहर्छ ।

 

 Image