जाडो मौसममा हावाको नरमपन हराउँछ, जसका कारण शिशुको छाला शुष्क हुन्छ । यस्तो स्थितिमा शिशुको मालिस जैतुनको तेलले गर्दा लाभ हुन्छ । जैतुनको तेलले मालिस गर्दा रक्त संचार सही रहन्छ र शिशुको इम्युनिटी पावर अर्थात् रोगप्रतिरोधक क्षमता बढ्छ । मालिस गर्दा शिशुलाई न्यानो र आरामदायक स्थानमा सुताउनुपर्छ । मालिस गरेको केही समयपछि नुहाउनुपर्छ । शिशुको छाला बढी नरम हुने भएकाले साबुन ग्लिसरिनयुक्त र पानी मनतातो हुनुपर्छ । जुन दिन बढी जाडो हुन्छ त्यो दिन स्नानको साटो सफा तौलिया पानीमा भिजाएर पानी निचोरी शिशुको शरीर पुछ्नुपर्छ ।
ओठको हेरचाह
जाडोमा शिशुको ओठ सुख्खा हुन्छ । त्यसका लागि पेट्रोलियम जेली वा लिपबाम प्रयोग गर्नुपर्छ ।
आँखाको हेरचाह
जाडोमा कहिलेकाहीँ शिशुको आँखाको कुनातिर सेतो वा पहेंलो रंगको बहाव हुन सक्छ । यसलाई हातले रगड्नु हुँदैन न त तानेर निकाल्ने प्रयास गर्नुपर्छ । मनतातो पानीमा कपास भिजाएर हल्का हात प्रयोग गरी आँखाभित्रबाट बाहिरतर्फ सफा गर्नुपर्छ । यदि शिशुको आँखा रातो भएको छ वा त्यसबाट पानी बगिरहेको छ भने तुरुन्तै आँखा विशेषज्ञबाट जँचाउनुपर्छ ।
शिशुको कपडा
जाडोमा शिशुको कपडा गरम, नरम एवं आरामदायक हुनुपर्छ जसमा जिप वा ट्याग नहोस् ।
–शिशुका हातखुट्टा तातो राख्न मोजा–पञ्जा लगाइदिनुपर्छ र उसको शिर टोपीले ढाकेर राख्नुपर्छ ।
–शिशुको कपडा धुने डिटरजेन्ट माइल्ड हुनुपर्छ ।
–शिशुलाई ऊनीका कपडाले एलर्जी हुनसक्छ । जसबाट उसको शरीरमा र्यासेज देखापर्छ । त्यसैले कपडा तापमानको हिसाबले लगाउनुपर्छ । शिशुलाई सीधा ऊनीका कपडाको साटो एउटा सुतीको कपडा भित्र लगाइदिनुपर्छ ।
–शिशुलाई जुत्ता लगाइदिनु आवश्यक छैन ।
–शिशुलाई सुताउँदा जब कम्मल ओढाइन्छ उसलाई श्वास लिन गाह्रो नहोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
–शिशुको कपडा राम्रो क्वालिटीको हुनुपर्छ र धेरै टाइट पनि हुनु हुँदैन ।
डाइपर र्यासेज
जाडोमा डाइपर र सुतीको नेपिजको बढी आवश्यकता हुन्छ । कारण जाडोमा शिशुलाई बढी पिसाब लाग्छ र सुत्न समय लाग्छ । केही कुरालाई ध्यान पुर्याएर बुझ्नुपर्छ ।
–डाइपर समय–समयमा बदल्नुपर्छ ।
–डाइपर बढी टाइट नहोस् भन्ने हेतुले त्यसको सही नाप हुनुपर्छ ।
–डाइपर बदल्नुभन्दा पहिले र पछि आफ्नो हात राम्रोसँग धुनुपर्छ ।
–गुप्ताङ्गलाई रगड्नु हुँदैन, कोमलताका साथ सफा गर्नुपर्छ ।
–नेपी र्यास क्रिम प्रयोग गर्नुपर्छ ।
घरको वातावरण
घर तथा शिशुको कोठा तातो राख्नुपर्छ, जसका लागि कोठाका झ्यालढोका बन्द राख्नुपर्छ, भित्ता चिसो वा भिजेको हुनु हुँदैन । कारण यसबाट ओसको समस्या हुन सक्छ र शिशुलाई एलर्जी, चिसो तथा खोकी लाग्न सक्छ ।
यदि घरको कुनै व्यक्तिले धूम्रपान गर्ने भए कोठा बाहिर गएर गर्नुपर्छ । कोठा र बाथरुमको भुइँलाई राम्रोसँग डिटरजेन्ट प्रयोग गरी धुनुपर्छ । त्यसो त जाडोमा लामखुट्टे कम हुन्छ तर यदि कीरा वा लामखुट्टे भए पेस्ट कन्ट्रोल गर्नुपर्छ र शिशुलाई त्यो दिन त्यो कोठामा जान दिनु हुँदैन । घर वरपर पानी नजमोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । घरमा नियमित रूपले सरसफाइ गर्नुपर्छ ।
आमाका लागि केही निर्देशन
–आफ्नो शिशुलाई नियमित रूपमा सुई दिनुपर्छ, जसले उसलाई भाइरस र ब्याक्टेरियाबाट टाढा राख्छ ।
–बारम्बार आफ्नो हात धुनुपर्छ ताकि शिशुलाई फ्लु, रुघाखोकी आदिबाट टाढा राख्न सकियोस् ।
–शिशुको पनि हात धोइदिनुपर्छ ।
–शिशुका लागि आमाको दूध सर्वोत्तम हो, कारण यसबाट शिशुको इम्युनिटी पावर बढ्छ र शरीरमा पानीको कमी हुँदैन ।
–जाडोमा शिशुको नजिकै बसेर कुनै बिरामी खोक्दा, हाछ्युँ गर्दा शिशु पनि बिरामी हुन्छ ।
अत: बिरामी व्यक्तिबाट शिशुलाई टाढा राख्नुपर्छ
शिशुलाई डियोडरेन्ट, परफ्युम र धूवाँबाट पनि टाढा राख्नुपर्छ, कारण यसबाट श्वास–प्रश्वासको रोग हुन सक्छ ।
जाडोमा हुने रोग
–सामान्य ज्वरो ।
–भाइरल फिभर ।
–फ्लु ।
–निमोनिया ।
–ब्रोङ्काइटिस ।
–कानको संक्रमण ।
–मेनिन्जाइटिस
–रोटावायरस ।
कहिले चिकित्सककहाँ लाने
–ज्वरो आउँदा ।
–खोकी लागे ।
–शिशु बढी सुस्त छ र दूध कम पिउँछ भने शरीरमा पानीको कमी हुन्छ ।
प्राथमिक उपचार
शिशुका लागि आवश्यक पर्ने निम्न औषधि आफूसँग हुनुपर्छ । क्रोसिन सिरप, विक्स वेपोरब सेवलन, नोजिवियान ड्रप्स, डिकोल्ड सिरप, थर्मामिटर आदि । यी औषधि आफूसँग भए राति समस्या पर्दा त्यति अप्ठ्यारो हुँदैन ।