Successfully Copied

कतै कमजोर त हुनुहुन्न

हरेक व्यक्तिले आफ्नो व्यक्तित्वको मूल्यांकन गर्दै आफ्ना कमी–कमजोरी हटाउँदै लानुपर्छ भावनात्मक निर्भरता व्यक्तित्वको त्यो पक्ष हो, जसमाथि धेरै कम व्यक्तिको ध्यान जान्छ । भावनात्मक निर्भरताले जोकसैलाई कमजोर बनाउँछ ।

हरेक व्यक्तिले आफ्नो व्यक्तित्वको मूल्यांकन गर्दै आफ्ना कमी–कमजोरी हटाउँदै लानुपर्छ भावनात्मक निर्भरता व्यक्तित्वको त्यो पक्ष हो, जसमाथि धेरै कम व्यक्तिको ध्यान जान्छ । भावनात्मक निर्भरताले जोकसैलाई कमजोर बनाउँछ । यो पक्षले उसको व्यक्तित्वमा असर पार्छ । अत: समय–समयमा कतै आफू भावनात्मक रूपबाट अरूमाथि निर्भर त छैन भन्ने विषयमा आत्ममूल्यांकन गर्नुपर्छ । सामाजिक जीवनमा हरेक व्यक्ति एक–अर्काप्रति निर्भर हुन्छन् । दैनिक जीवनमा परिवारका सदस्य एवं मित्रहरूबाट सहायता लिनु केही हदसम्म ठीक हो, तर कतिपय व्यक्ति त्यस्ता हुन्छन् जो भावनात्मक रूपले अरूमाथि बढी नै निर्भर हुन्छन् । कुनै पनि सम्बन्धमा भावनात्मक रुचि राम्रो कुरा हो तर कुनै पनि कुरामा निर्णय लिन जब व्यक्ति पूर्णरूपमा आफन्तजन, मित्रजनमाथि निर्भर हुन थाल्छ, तब नजानेरै उसको व्यक्तित्वमाथि यो कुराले नकारात्मक प्रभाव पार्छ । भावनात्मक रूपमा अरूमाथि बढी निर्भर हुनेहरूको सोझो सम्बन्ध उनीहरूको लालन–पालनसँग हुन्छ । जुन बालबालिकालाई अभिभावकले बाल्यकालदेखि स–साना कुरामा पनि रोकटोक गरेर वा धेरै माया दिनुका साथै ओभर प्रोटेक्सन दिएर हुर्काएका हुन्छन्, ती बालबालिका भावनात्मक रूपबाट अरूमाथि बढी निर्भर हुन पुग्छन् । निर्भरता उनीहरूको बानी बन्न पुग्छ र उनीहरू सानोभन्दा सानो निर्णय लिन पनि सक्षम हुँदैनन् । कतिपय अवस्थामा यो समस्या धेरै गम्भीर बन्न पुग्छ । यसबाट छुटकारा पाउन व्यक्तिले साइकोथेरेपीसमेत लिनुपर्ने हुनसक्छ । 

प्लस टु अध्ययनरत सुनीता र श्रेयाबीच राम्रो मित्रता छ तर सुनीता श्रेयामाथि भावनात्मक रूपले बढी नै निर्भर छिन् । चाहे त्यो आफ्ना लागि पहिरन खरिद गर्ने कुरा होस् वा ब्वाइफ्रेन्ड र उनीबीचको विवाद, सुनीता श्रेयासँग नसोधी, उनको राय नलिई कुनै निर्णय गर्न सक्दिनन् । जब श्रेया पोखरा जान्छिन्, त्यतिबेला पनि स–साना कुराका लागि सुनीता फोन गरेर भए पनि श्रेयाको मद्दत लिन्छिन् । कतिपयले सुनीतालाई श्रेयामाथि यति धेरै निर्भर हुनु ठीक होइन भन्ने विषयमा नसम्झाएका होइनन् तर सुनीताले कुरा बुझ्ने भए पो ? सुनीता आफ्नो साथीसँग सल्लाह लिनुमा केही नराम्रो नभएको मान्छिन् । यद्यपि सल्लाह लिनु र सल्लाहमाथि निर्भर रहनु फरक कुरा हो । अत: उनले आफ्नो व्यक्तित्वको मूल्यांकन गरी त्यसमा सुधार ल्याउनु आवश्यक छ । 

पूर्णरूपमा अरूको सल्लाहमा निर्भर रहने व्यक्तिको व्यक्तित्व कमजोर हुन्छ । दोधारको स्थितिमा इमोसनल सपोर्ट प्राप्त नभए ऊ धेरै हदसम्म तनावग्रस्त हुन्छ । अत: व्यक्ति भावनात्मक रूपले निर्भर नहोस् भन्ने कुरामा सजग हुनुपर्छ । 

आफ्नो मनमा कुनै समस्या, द्विविधा भए नजिकको व्यक्तिसित कुरा सेयर गर्नुमा कुनै खराबी छैन तर त्यसलाई आफ्नो बानी बनाउनु ठीक होइन । यदि आफ्नो निर्णय लिन अरूको सहयोग लिनुहुन्छ वा अरूमाथि निर्भर रहने हो भने अरूका अगाडि आफ्नो पहिचान कमजोर व्यक्तिका रूपमा कायम हुन्छ र तपाईंको कमजोरीको फाइदा उठाउने सम्भावना पनि उत्तिकै हुन्छ । साथै यो कुरा पनि बुझ्नुपर्छ कि दु:खद परिस्थितिमा अनावश्यक सहानुभूति देखाउने व्यक्तिले तपाईंको मनोबल तोडिरहेको पनि हुनसक्छ । अत: त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ । भावनात्मक रूपबाट आत्मनिर्भर बन्नुपर्छ, अरूमाथि निर्भर होइन । 

समाधान 

  • सबैभन्दा पहिले आफ्नो यो बानीमा सुधार ल्याउन प्रतिबद्ध हुनुपर्छ । 
  • पार्टीमा कस्तो पहिरन लगाउने, अफिसबाट कुन दिन बिदा लिने, आफ्नो कोठामा कुन रंग प्रयोग गर्ने आदि कुरामा अरूको सहयोगबिना स्वयं निर्णय लिने प्रयास गर्नुपर्छ । यसबाट मनमा आत्मविश्वास जागृत हुन्छ । 
  • अरूमाथि भन्दा पहिले आफैंमाथि भरोसा गर्न सिक्नुपर्छ । अरूको सल्लाहबिना लिइएको निर्णय गलत पनि हुनसक्छ । गल्तीबाट डराउनु हुँदैन । यसैबाट व्यक्तिले सिक्छ र अर्को पटक गल्ती दोहोरिँदैन । 
  • आत्मविश्वासयुक्त व्यक्तिलाई आफ्नो रोल मोडल बनाउनुपर्छ । उनको व्यक्तित्व एवं व्यवहार बुझेर त्यसबाट सिक्ने प्रयास गर्नुपर्छ । 
  • स्वयंलाई अन्डर इस्टिमेट गर्ने गल्ती गर्नु हुँदैन । आफ्नो राम्रो पक्ष र गुणको पहिचान गरी त्यसलाई बाहिर ल्याउने प्रयास गर्नुपर्छ । 
  • अरूमाथि निर्भर नभई गरेको कामप्रति सन्तुष्ट हुन सक्नुपर्छ र त्यसका लागि स्वयंलाई धन्यवाद दिनुपर्छ । यसबाट आत्मविश्वास बढ्छ र भोलिका दिनमा अझ राम्रो काम गर्ने प्रेरणा एवं उत्साह प्राप्त हुन्छ ।

 Image