Successfully Copied

बालबालिका अनि खोप

आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित शिक्षादीक्षा तथा पालनपोषण आवश्यक छ । सानैदेखि राम्रो पालनपोषण गरे शिशु पछि गएर स्वस्थ तथा निरोगी हुन्छन् । अहिले शिशुका लागि विभिन्न किसिमका रोगविरुद्धका खोप आएका छन् ।

 

डा. निभा राजभण्डारी श्रेष्ठ ,बालरोग विशेषज्ञ, बयोधा हस्पिटल

आजका बालबालिका भोलिका कर्णधार हुन् । त्यसैले बालबालिकाको उचित शिक्षादीक्षा तथा पालनपोषण आवश्यक छ । सानैदेखि राम्रो पालनपोषण गरे शिशु पछि गएर स्वस्थ तथा निरोगी हुन्छन् । अहिले शिशुका लागि विभिन्न किसिमका रोगविरुद्धका खोप आएका छन् । कतिपय खोप सरकारले नि:शुल्क उपलब्ध गराउँछ भने कतिपय खोप प्राइभेट क्लिनिकमा उपलब्ध छन् । विदेशमा रोगविरुद्धका खोप धेरै छन् । नेपालमा पनि केही मात्रामा यस्ता खोप आएका छन् । सरकारले उपलब्ध गराएबाहेक यस्ता खोप केही महँगा भए पनि रोगविरुद्ध लड्न सहयोगी हुन्छन् । यस्ता खोप लगाएपछि रोगै नलाग्ने भन्ने नहुने धारणा डा. निभाको छ । उनका अनुसार रिस्क फ्याक्टर केही कम भने पक्कै हुन्छ । 

शिशुलाई लगाइने खोप 

बिसिजी–सरकारले नि:शुल्क उपलब्ध गराउने यो खोप शिशु जन्मिएदेखि ४५ दिनभित्र लगाइसक्नुपर्छ । टिबीविरुद्धको यो खोप शिशुको पाखुरामा लगाइन्छ । प्रिम्याच्योर शिशुलाई भने म्याच्योर भएपछि मात्र यो खोप दिइन्छ ।   

डिपिटी–यो खोप पनि शिशु जन्मिएको ४५ दिनभित्र लगाउनुपर्छ । त्यसपछि १–१ महिनाको फरकमा ३ पटक लगाउनुपर्छ । यसका साथमा ओरल पोलियो पनि ख्वाइन्छ । हालै तेस्रो पटकको डिपिटीसँगै पोलियो इन्जेक्सन पनि आएको छ । पहिले अरू देशमा मात्र पोलियोविरुद्धको इन्जेक्सन पाइन्थ्यो भने अहिले नेपालमा पनि उपलब्ध हुन थालेको छ ।

दादुरा तथा रुबेलाविरुद्धको खोप–शिशु ९ महिना पूरा भएपछि दादुरा तथा रुबेलाविरुद्धको खोप लगाउनुपर्छ । रुबेलाविरुद्धको खोप पनि भर्खरै मात्र चलनचल्तीमा आएको हो । त्यसपछि १५ महिनामा बुस्टर डोज लगाउनुपर्छ । 

जापनिज इन्सेफ्लाइटिस–यो खोप पनि सरकारले भर्खरै मात्र ल्याएको हो । १ वर्षमाथिका शिशुलाई यो खोप दिन सकिन्छ । यो खोप लामखुट्टेले गर्दा हुने विभिन्न रोगबाट बच्न सहयोगी हुन्छ ।

माथिका सबै खोप सरकारले उपलब्ध गराएका हुन् । यसबाहेक अन्य खोपका लागि भने रकम तिर्नुपर्ने हुन्छ । 

रोटाभाइरस–यो खोप भाइरलबाट हुने रोग जस्तो पखाला एवं बान्ताविरुद्ध उपयोगी छ । शिशु जन्मिएको ४५ दिनदेखि ६ महिनाभित्र यो खोप लगाउनुपर्छ । शिशुको जन्मदेखि ५ वर्षसम्मका १०० प्रतिशत शिशुमध्ये ८० प्रतिशतलाई भाइरसका कारण यस्ता रोग लाग्छन् । यो खोप प्रभावकारी हुन्छ ।

ठेउला–ठेउलाविरुद्धको खोप १ वर्षमा एउटा लगाउनुपर्छ । त्यसैगरी ४ देखि ६ वर्षको बीचमा बुस्टर डोज लगाउनुपर्छ । 

हेपाटाइटिस ए–दूषित पानीका कारण हुने जन्डिसबाट जोगिन यो खोप सहयोगी हुन्छ । १ वर्षका शिशुलाई दिइने यो खोप लगाएको ६ महिनादेखि १ वर्षभित्र अर्को डोज पनि दिनुपर्छ । त्यसपछि यसले १० वर्षसम्म काम गर्छ । यो खोपले पानीका कारण हुने जन्डिसका विरुद्ध पनि काम गर्छ ।

एमएमआर–दादुरा तथा रुबेलासँगै हाँडेविरुद्धको खोप पनि शिशुलाई दिइन्छ । यो खोप १५ महिनामा दिइन्छ । यसैगरी टाइफाइड, मेनेन्जाइटिसविरुद्ध पनि खोप उपलब्ध छ । यस्ता खोप शिशु जन्मिएको दुई वर्षपछि दिइन्छ । यसका साथ डिपिटी र पोलियो बुस्टर ५ वर्षमा र अर्को बुस्टर  १० वर्षमा दिइन्छ । 

गारडासिल भ्याक्सिन–यो खोप पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइन्छ । ९ देखि २६ वर्षको बीचमा छोरीलाई यो खोप लगाउनुपर्ने प्रावधान सरकारको छ । अध्ययनमा भने ९ देखि १३ वर्षमा लगाए रिस्क कम हुने कुरा उल्लेख छ । यौनसम्पर्क गर्नु अगावै यो खोप लगाउनु उत्तम भनिएको छ । रुघाखोकीविरुद्ध सिजनल फ्लु भ्याक्सिन पनि आएका छन् । यो खोप वर्षको एकपटक बालबालिका तथा ठूला मानिसले पनि लगाउनु उचित हुन्छ । सरकारले उपलब्ध गराएकाबाहेक अन्य खोप लगाउनैपर्छ भन्ने छैन तर पनि रोगविरुद्ध लड्न यस्ता खोप उपयोगी हुन्छन् । केही महँगा भए पनि यी खोपले रोगसँग लड्न सघाउ पुर्‍याउँछन् । 

 Image