Successfully Copied

रिसमा नियन्त्रण आवश्यक

पछिल्लो समय सहरका फराकिला सडकमा महिलाले चलाएका सवारीसाधनको ंसंख्या बढ्दै गएको छ । सवारी साधन सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने माध्यम हो तसर्थ यसको प्रयोग खुसीसाथ सजग भएर गर्नुपर्छ ।

पछिल्लो समय सहरका फराकिला सडकमा महिलाले चलाएका सवारीसाधनको ंसंख्या बढ्दै गएको छ । सवारी साधन सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने माध्यम हो तसर्थ यसको प्रयोग खुसीसाथ सजग भएर गर्नुपर्छ । सहरी भीडभाड, ट्राफिक जाम, जेब्रा क्रसिङबाहेक सडकको बीच भागबाट बाटो काट्ने चलन, अझ सडकको बीचबाट हिँडिरहेका जनावर आदिले गर्दा सवारी हांँकिरहेका बेला तनाव उत्पन्न भएर रिस उठ्न सक्छ । त्यसैले घरबाट गाडी लिएर निस्कनुअघि बाटोमा आइपर्ने हरेक समस्या सामना गर्नसक्छु भन्ने मनस्थिति बनाउनु जरुरी हुन्छ । माइक्रो ड्राइभइर, साइकल वा मोटरसाइकलमा सवार मानिसले के भन्छन् भन्ने कुरामा चासो हुनुहुँदैन । 

के गर्ने ?

रुचि, फेसन तथा अर्काको देखासिकीकै भरमा गाडी नहाँकौं । 

सडक तथा ट्राफिक नियमका बारेमा विस्तृत जानकारी भएपछि मात्र सडकमा कार चलाउन थालौं ।

नियम मिचेर कहिल्यै सवारी साधन नचलाऔं ।

गाडी चलाउँदा आफूलाई शान्त र सौम्य राखौं । 

गाडी चलाउँदा धैर्य नै प्रमुख कुरा हो । यदि कसैले सही दिशाबाट ओभरटेक गर्दैछ भने आवेगमा आएर गाली गर्ने, उसलाई ओभरटेक गर्ने प्रतिस्पर्धामा नलागौं ।

सवारी चलाउँदा आफ्नो मात्र होइन अरुका बारेमा पनि सोचौं ।

संयम

लाखौं पर्ने गाडी लिएर सडकमा निस्किएको छ भने केही धैर्य र संयम त अपनाउनुपर्छ साथै आफ्नो मुटु पनि दह्रो र फराकिलो बनाउनुपर्छ । कतिपय अवस्थामा आफ्नो गल्ती नहुँदा नहुँदै पनि सडकमा गुडिरहेको आफ्नो गाडी अगाडि बच्चा वा कुनै जनावर आउन सक्छन् । यस्तो अवस्थामा ब्रेक लगाउँदा गाडीले अरू कसैको सवारीमा छोइदिनसक्छ । यस्ता स–साना कुरामा झैझगडा गरेर बस्नु हुँदैन । दोस्रो पक्ष झगडा गर्ने मुडमा छ भने पनि आफू धैर्यतापूर्वक समस्या सुल्झाउनतर्फ लाग्नुपर्छ । अर्काको गाडी, मोटरसाइकल वा स्कुटरले आफूलाई ठक्कर दिएको छ भने पनि त्यसलाई बढाउने काम नगरी आपसी समझदारीमा समाधानको उपाय पहिल्याउनुपर्छ । त्यसलाई बढाएर प्रहरीसम्म पुग्ने वा पुर्‍याउने काम भरसक गर्नुहुँदैन । 

तनावमुक्त 

गाडी हाँक्दा तनावमा भए दुर्घटना हुने सम्भावना बढी हुन्छ । कतिपय अवस्थामा गाडी ठोक्किँदा मर्मतका लागि पैसा खर्च हुन्छ तसर्थ पहिले नै गाडीको बीमा गराउनुपर्छ जसले गाडीमा धक्का लागेर मर्मत गर्नुपर्ने अवस्था आए पनि आफ्नो खल्तीबाट पैसा जाँदैन जसले तनाव कम गर्छ ।

नियमको पालना 

गाडी हाँक्दा जथाभावी ओभरटेक गर्ने, साना सवारीलाई गन्दै नगनी बाटो मिच्ने, राति गाडी चलाउँदा हाई बिममा बत्ती बाल्ने, अनावश्यक रूपमा अर्काको गाडीसँग दौडको प्रतिस्पर्धा गर्ने जस्ता नियम विपरीत काम गर्नु हुँदैन । कसैले त्यसो गर्न खोज्यो भने पनि बेवास्ता गरिदिनुपर्छ । त्यसैको पछि लागेर आफूले पनि सोही काम गर्दा वा प्रतिस्पर्धामा उत्रँदा आफैंलाई घाटा हुन्छ ।

सावधानी

कार चलाउने महिलाहरूले मोटरसाइकल तथा माइक्रोबस र टिपरजस्ता सवारीसँग सावधान रहनुपर्छ । विशेषत: मोटरसाइकलमा सवार युवा तथा माइक्रोका ड्राइभर–खलासी कार हाँकिरहेका महिलालाई छेडखानी गर्न पछि पर्दैनन् । त्यसो त यस्ता महिलालाई जित्न दु्रत गतिमा गाडी हाँक्ने पुरुषहरू पनि सडकमै भेटिन्छन् । यस्तो अवस्थामा चुपचाप उनीहरूको नम्बर नोट गरी १०० मा फोन गरेर प्रहरीलाई खबर गरिदिनुपर्छ ।

विशेषत: कार चलाउने महिलामाथि धेरैको ध्यान केन्द्रित हुन्छ । आफूले कस्तो कपडा, घडी वा चश्मा लगाइएको छ, कस्तो हेयरकट छ र कस्तो रंगको लिपिस्टिकमा सजिएको छ भन्ने मानिसहरूको कौतूहलताप्रति बेवास्ता गर्नुमै भलाइ हुन्छ । किनभने आफ्नो गल्ती नहुँदा नहँुदै पनि दोस्रो व्यक्तिले दुर्घटना पारिदिन सक्छ । अहिले बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै बढी ट्राफिक परिचालित छन् । यस्तो अवस्थामा अझ बढी एकाग्रता आवश्यक छ । पाइलैपिच्छे ट्राफिक छन् भनेर आत्मविश्वास कम गर्नाले ठूलै घटना घट्न सक्छ तसर्थ आफूभित्र आत्मविश्वास वृद्धि गर्नु पनि सवारीचालकका लागि महत्वपूर्ण कुरा हो । 

प्रस्तुति : लक्ष्मी भण्डारी थापा

 Image