Successfully Copied

स्वास्थ्यलाई ध्यान दिएर आधुनिक

सीमा ऐनाअगाडि उभिएर केश कोर्दै थिइन् । उनी आफ्नो कान्तिहीन छाला र आँखा वरिपरिको कालो दाग देखेर आत्तिइन् । उनको उमेर ३० पनि कटेको थिएन तर उनी बूढी महिलाझैं देखिन थालेकी थिइन् ।

सीमा ऐनाअगाडि उभिएर केश कोर्दै थिइन् । उनी आफ्नो कान्तिहीन छाला र आँखा वरिपरिको कालो दाग देखेर आत्तिइन् । उनको उमेर ३० पनि कटेको थिएन तर उनी बूढी महिलाझैं देखिन थालेकी थिइन् । कतिपय महिला सीमाले जस्तै आफ्नो स्वास्थ्य र सौन्दर्यप्रति त्यति चासो दिँदैनन् । उनीहरू बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म घरपरिवार तथा अफिसको काममा व्यस्त हुन्छन् । त्यसैले उनीहरूसँग आफ्नो सौन्दर्य र स्वास्थ्यतर्फ ध्यान दिने समय हुँदैन ।

महिलाहरूमा समयअघि केश फुल्ने, छाला कान्तिहीन हुने, अनुहारमा दाग बस्ने, आँखाको वरिपरि कालो दाग आउने आदि समस्या बढ्दै गएका छन् । यी समस्याहरूलाई हटाउन विभिन्न सौन्दर्य सामग्री उपलब्ध हुँदाहुँदै पनि आधुनिक महिलाहरू पहिलेका महिलाको तुलनामा उमेरभन्दा पहिले नै बूढी देखिन थालेका छन् ।

आजका महिलाहरू आत्मनिर्भर छन् । त्यसैले उनीहरूसँग पैसाको अभाव हुँदैन । स्मार्ट देखिन उनीहरू राम्रा एवं महँगा पहिरन तथा गरगहना लगाउँछन् तर धेरैजसो आफ्नो भोजन र स्वास्थ्यप्रति अलिकति पनि सचेत भएको पाइँदैन । सुरुका वर्षहरूमा त जोस र उत्साह हुन्छ, त्यसैले केही थाहा हुँदैन तर विवाहपछि जब उनीहरूमाथि दोहोरो जिम्मेवारी थपिन्छ त्यसपछि केही वर्षभित्रै उनीहरू थकित देखिन थाल्छन् ।

आधुनिक महिलाको जीवनमा के त्यस्तो परिवर्तन आयो जसले गर्दा यस्तो स्थिति उत्पन्न भयो ? पहिलेका महिलाहरूको तुलनामा अहिलेका महिलाहरूसँग धेरै सुविधा र साधन उपलब्ध छन् । ती सुविधाहरू हुँदाहुँदै पनि त्यस्तो के कारण छ जसले महिलाहरू त्यति स्वस्थ र सुन्दर देखिँदैनन् ? यसमा एउटा कारण मात्र नभएर विभिन्न कारण जिम्मेवार छन् ।

काम गर्ने समय बढ्नु

कामकाजी महिलाले एउटै मुद्रामा धेरै घन्टा अफिसमा बसेर काम गर्नुपर्छ । पहिले जस्तो अहिले दिनको आठ घन्टा मात्र काम गरेर हुँदैन । अहिले अफिस हप्तामा सात दिन र चौबीसै घन्टा खुल्न थालेका छन् । कल सेन्टरजस्ता अफिसमा त कर्मचारीहरूलाई अतिरिक्त समय पनि प्राप्त हुँदैन । अफिसमा काम गर्ने समय बढ्नुका साथै सहर विकसित भएकाले कतै जान–आउनै १ घन्टाभन्दा बढीको यात्रा तय गर्नुपर्छ । अफिसमा धेरै समय बिताउने भएकाले कामकाजी महिलाहरूको खाने–पिउने र सुत्ने–उठ्ने समय नराम्रोसँग प्रभावित भएको छ ।

असन्तुलित र असमयमा भोजन

प्राय: महिला बिहान खाजा खाँदैनन् । नेपालमा त बिहान खाजा खाने चलन नै छैन । यदि बिहान खाजा खाएको खण्डमा अफिस जान ढिला हुन्छ । घरबाट खाजा लाने चलन पनि हराउँदै गएको छ र त्यसको ठाउँ अब कुकिज, सेन्डविच, पुरी–तरकारी आदिले लिन थालेका छन् । प्राय: महिला फोनमा कुरा गर्दै वा टाइप गर्दै खाजा खान्छन् । यसो गर्दा न पेटभरि खाना खान सकिन्छ न शरीरलाई आवश्यक पौष्टिक तत्त्व नै प्राप्त हुन्छ । पेटसम्बन्धी बढ्दो रोगका कारण नै असमयमा खाएको असन्तुलित भोजन हो ।

पानी नै जीवन हो

कामकाजी महिलाहरूमा चिया र कफी धेरै पिउने बानी हुन्छ । चिया पिउँदै उनीहरू घन्टौं लगातार काम गर्न सक्छन् । चिया र कफीमा भएको कोकिन र केफिनले स्वास्थ्यमा नकारात्मक असर पार्छ । कफी र कोल्ड ड्रिंक्स पिउने सुरमा उनीहरू पानी पिउन पनि बिर्सन्छन् । धेरैजसो महिला दिनभरिमा ८–१० कप चिया अथवा कफी पिउँछन् तर पानी भने २–३ गिलास मात्र पिउँछन् । हामीले दिनभरिमा कम्तीमा आठ गिलास पानी पिउनु आवश्यक छ ।

परिवर्तित तापमान

हिजोआज धेरैजसो अफिसमा एयरकन्डिसनर हुन्छ । एयरकन्डिसनर भएको ठाउँमा बसेर काम गर्दा आनन्दको अनुभव हुन्छ । यो त्यतिबेला मात्र फाइदाजनक साबित हुनसक्छ जतिबेला हरेक समय एयरकन्डिसनर भएको ठाउँमा बसिरहन सम्भव हुन्छ । अफिसबाट बाहिर निस्किएपछि चर्को घाम र प्रदूषणले हाम्रो छाला र अनुहारको चमकलाई असर पुर्‍याउँछ । खुल्ला वातावरण जहाँ हावा र उज्यालोको किरणको आगमन हुन्छ त्यस्तो ठाउँमा बसेर काम गर्नु बढी लाभदायक हुन्छ । लामो समय घरबाहिर बस्दा पनि प्रदूषण र चर्को घामको किरणले अनुहारको नरमपन सोस्छ जसले छाला समयअघि नै रुखो हुन्छ ।

अपराधबोधको भावना

कतिपय कामकाजी महिला अपराधबोधको भावनाले पीडित हुन्छन् । कामको व्यस्तताले उनीहरू श्रीमान् तथा छोराछोरीका लागि समय निकाल्न सक्दैनन् । समयको अभाव तथा बालबालिकाको उचित पालनपोषण गर्न नपाएर उनीहरू हरेक समय चिन्तित हुन्छन् ।

आफ्ना छोराछोरी स्कुल जाने भएपछि पनि पढाइसम्बन्धी समस्याले वा अरू कुनै कारणले उनीहरूले आमाको सहयोगबाट वञ्चित हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा बालबालिकाहरू आमालाई मिस गर्छन् । कहिलेकाहीँ बालबालिकाको स्कुलको मिटिङमा जान नपाउँदा अथवा कुनै खेलकुद कार्यक्रम, अभिभावक दिवसहरूमा सहभागी हुन नसक्दा आमाहरूलाई अपराधबोध हुन्छ ।

सम्बन्धमा चिसोपन

अफिस र घरको काम गर्दागर्दै श्रीमान्–श्रीमती र छोराछोरीको सम्बन्धमा पूर्णता ल्याउन कठिन हुन सक्छ । कामकाजी श्रीमतीले आफ्नो सम्बन्धमा प्रेम र विश्वास कायम राख्न ठूलो प्रयास गर्नुपर्छ । यस्तो प्रयास गर्दागर्दै कहिलेकाहीँ उनीहरू भावनात्मक रूपले थाक्छन् जसले गर्दा उनीहरूको स्वास्थ्य पनि बिग्रन्छ ।

कामकाजी महिलाहरूले कहिलेकाहीँ छोटो छुट्टी लिनुपर्छ । आफ्नो घरपरिवारसँग केही समय खुसीसँग बिताउनुपर्छ । हप्तामा एकपटक आफ्नो परिवारसँग फिल्म हेर्न वा घुम्न जानुपर्छ । वर्षमा एकपटक केही दिनका लागि बाहिर घुम्न जानुपर्छ । यसरी आफ्नो परिवारका साथै आफूलाई पनि केही समय दिँदा जीवनमा हाँसो र खुसी छाउँछ ।

–अरुणा भट्टराई

 Image