Successfully Copied

व्यक्तित्व निर्माणमा फुटवेयर र ह्यान्ड ब्यागको विशेष भूमिका

कुनै उत्सव वा पार्टीमा जानुअघि आफ्नो पहिरन र मेकअपसँग सम्बन्धित स–साना कुराको पनि ख्याल गर्नुपर्छ तर धेरैजसोले एसेसरिजमा त्यति ध्यान दिँदैननन् । हरेक पार्टी एवं अवसरमा एउटै ह्यान्ड ब्याग एवं फुटवेयर प्रयोग गर्छन् ।

कुनै उत्सव वा पार्टीमा जानुअघि आफ्नो पहिरन र मेकअपसँग सम्बन्धित स–साना कुराको पनि ख्याल गर्नुपर्छ तर धेरैजसोले एसेसरिजमा त्यति ध्यान दिँदैननन् । हरेक पार्टी एवं अवसरमा एउटै ह्यान्ड ब्याग एवं फुटवेयर प्रयोग गर्छन् । पार्टीमा सबैले हेर्ने पहिरन र मेकअप नै हो तसर्थ यस्ता चीज कसले हेर्छ र चेन्ज गर्नु भनेर सोच्नु गलत हुनसक्छ । यस्ता चीजहरूको प्रयोगले व्यक्तित्व आकर्षक बनाउन सहयोग पनि मिल्छ । जस्तो कि कसैले कुनै पार्टीमा फर्मल ह्यान्ड ब्याग लिएर गए कसै न कसैले उनलाई तिमी अफिसको पार्टीमा आएकी हौ भन्ने प्रश्न तेस्र्याइहाल्छन् । त्यसैगरी कुनै पुल पार्टीमा हाई हिल भएको छालाको फुटवेयर लगाएर गइन्छ भने त्यहाँ धरैजसोले तपाईंले पुल पार्टीमा किन हिल लगाएर आउनुभएको भन्न सक्छन् ? त्यसैले पहिरन र मेकअपका साथमा ह्यान्ड ब्याग तथा फुटवेयर छनोटमा समेत ध्यान दिनु आवश्यक छ ।

ह्यान्ड ब्याग

कतिपय महिलाले अफिस ब्यागलाई नै पार्टी र किनमेलका क्रममा लिएर जाने गरेका छन् । कतिपय महिला त आफ्नो ह्यान्ड ब्यागमा यति धेरै सामान राख्छन् कि सामानका कारण ब्याग च्यातिएको समेत थाहा पाउँदैनन् । ह्यान्ड ब्याग एउटा फेसन एसेसरिज हो । यसलाई स्टाइल, ठाउँ तथा परिस्थितिअनुरूप प्रयोग गर्नु बुद्धिमानी हुन्छ । ह्यान्ड ब्याग छनोटका क्रममा आफू कुन ठाउँ जाँदैछु र कस्तो पहिरन लगाउँदैछु भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । हिजोआज बजारमा अनेक डिजाइन एवं गुणस्तरका ह्यान्ड ब्याग उपलब्ध छन् । यस्ता ब्यागलाई विभिन्न अवसरमा विभिन्न तरिकाले प्रयोग गर्दा फरक र स्टाइलिस देखिन सकिन्छ ।

पोटली ब्याग

कुनै पार्टीमा जाँदा साडी वा अनारकली लगाइँदैछ भने पोटली ब्याग उपयुक्त हुनसक्छ । यस्तो पर्स विवाह, व्रतबन्ध, इन्गेजमेन्टजस्ता अवसरमा बढी उपयुक्त हुन्छ । यसले निकै राम्रो लुक्स दिन्छ । अनारकली लगाइएको अवस्थामा यसलाई काँधमा समेत झुन्ड्याउन सकिन्छ । यस्तो ब्यागमा यति ठाउँ खाली हुन्छ कि त्यसमा लिपिस्टिक, गाजल, नेलपोलिसजस्ता मेकअपका सामान राख्न सकिन्छ । बजारमा यस्ता ब्याग ४ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा अलग–अलग डिजाइनमा खरिद गर्न सकिन्छ ।

क्लच

यो ब्याग निकै स्टाइलिस हुन्छ । साडी, लेहेंगा, गाउन वा वानपिसमा क्लच बोकेर हिँड्न सकिन्छ । यो साइजको ब्याग सानो र हलुका हुन्छ तर यसमा मेकअपका सामान सजिलो ढंगले राख्न सकिन्छ । क्लच गोल्डेन, साटन, जुट आदि भेराइटीमा उपलब्ध हुन्छ । यो ब्याग नेपाली बजारमा ५ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा प्राप्त हुन्छ ।

होबो ब्याग

यो ब्याग क्लासिक कलेक्सनमा आउँछ । आउटिङका लागि यो ब्यागको प्रयोग उत्तम हुन्छ । यो ब्यागमा जरुरी सामान ढुक्कसँग राख्न सकिन्छ । यो ब्याग साथीभाइ वा आफन्तहरूसँग छुट्टी मनाउन कतै गएका बेला अझ बढी उपयोगी हुन्छ । यो ब्याग करिब १ हजारको आसपासमा प्राप्त गर्न सकिन्छ ।

इभिनिङ ब्याग

यस्तो ब्याग फर्मल कार्यक्रमका लागि उपयुक्त हुन्छ । एनिभर्सरी वा डिनर पार्टीमा यस्तो ब्याग बोक्न सकिन्छ । बजारमा यस्तो ब्याग ८ सय रुपैयाँको हाराहारीमा खरिद गर्न सकिन्छ ।

टोट ब्याग

पार्टीमा साडी लगाएर थोरै ग्ल्यामरस, थोरै ट्रेडिसनल लुकका साथै सहज महसुस गर्ने चाहना भए टोट ब्याग उपयुक्त हुन्छ । यस्तो ब्यागको प्रयोगले फरक लुक्स दिन्छ । यसको बजार मूल्य १ हजारको हाराहारीमा छ ।

स्लिङ ब्याग

यस्तो ब्याग निकै सहज र सुविधाजनक हुन्छ । यो ब्याग साइडमा छड्के बनाएर पनि बोक्न सकिन्छ । पार्टीमा फंकी पहिरन लगाइँदैछ भने स्लिङ ब्याग बोक्नु उपयुक्त हुन्छ । यस्तो ब्याग पुल पार्टी तथा रेन पार्टीमा समेत बोक्न सकिन्छ ।

इन्डोवेस्टर्न पर्स

ककटेल पार्टीमा जाँदा ग्ल्यामरस देखिन इन्डोवेस्टर्न पर्स बोक्नु उपयुक्त हुन्छ । यो पर्स गाउन, साडीजस्ता पहिरनमा समेत बोक्न सकिन्छ । हिजोआज यो स्टाइलको ब्याग विभिन्न रंग र डिजाइनमा उपलब्ध छ ।

कुन अवसरमा कस्तो फुटवेयर ?

इभिनिङ पार्टी

इभिनिङ पार्टी अथवा सामान्य अवसरमा फ्ल्याट र थोरै हिल भएको चप्पल वा जुत्ता छनोट गर्नुपर्छ । चौडा हिल भएको चप्पल पनि आरामदायक हुनसक्छ । यसले खुट्टालाई आराम दिन्छ र यसलाई लगाएर हिँड्न पनि सहज हुन्छ । कुनै पार्टीमा धेरै हिँड्नु छ भने चौडा हिल भएको फुटवेयर लगाउनु उत्तम हुन्छ । इभिनिङ पार्टीमा स्टाइलिस हिल भएको फुटवेयर लगाउनु उपयुक्त हुँदैन । यस्तो चप्पल पातलो र लामो हुन्छ, यो हेर्दा भलै निकै राम्रो देखिएला तर यस्तो चप्पल लगाएर धेरै समयसम्म हिँड्न कठिन हुन्छ । सुविधाजनक फुटवेयरका लागि धेरै छान्न पाइने कम्पनीका फुटवेयर छनोट गर्न सकिन्छ ।

नाइट पार्टी

नाइट पार्टीमा जाने हो र जमेरै डान्स गर्ने हो भने फुटवेयरको छनोटमा बढी ध्यान पुर्‍याउनुपर्छ । फुटवेयरकै कारण असहज महसुस भयो भने जमेर डान्स गर्न सकिने कुरै भएन । सहज महसुस नभएसम्म डान्सको मज्जा लिन नसकिने हुँदा त्यस्ता पार्टीमा गए–नगएको एउटै हुन्छ । नाइट पार्टीमा वेज हिल्स सबैभन्दा आरामदायक हुन्छन् । यस्तो हिल भएको फुटवेयरमा आरामका साथ हिँड्न सकिन्छ । यस्तो हिलले खुट्टालाई पूरै सपोर्ट दिन्छ र अलिकति पनि असहज महसुस हुन दिँदैन । नाइट पार्टीमा जाँदा धेरै सितारा र मोती जडिएको फुटवेयर छान्नु हुँदैन ।

आउटिङ

साथीहरूसाग कतै बाहिर घुम्न जाँदा भने फ्ल्याट बेली लगाउनु ठीक हुन्छ । आफ्नो पहिरनसँग बेली सुज सुहाएको छैन भने जुत्ता लगाउन सकिन्छ ।

किट्टी पार्टी

किट्टी पार्टी यस्तो ठाउँ हो जहाँ आफ्नो फेसन देखाउन सकिन्छ । यस्तो पार्टीमा आफ्नो पहिरनअनुसार फुटवेयर प्रयोग गर्न सकिन्छ । साधारण खालको पहिरन लगाइएको छ भने फुटवेयरको छनोटमा समेत विशेष ध्यान पुर्‍याउनुपर्छ । सामान्य पहिरनमा धेरै तडकभडक र स्टाइलिस फुटवेयर सुहाउँदैन । किट्टी पार्टीमा किटेन हिल्सवाला फुटवेयर छनोट गर्न सकिन्छ । यस्तो फुटवेयर आरामदायक हुनुका साथै लगाउन पनि सजिलो हुन्छ । यस्तो फुटेवयर हरेक खालको आउटफिटसँग सुहाउँछ । किटेन हिल्स कहिल्यै फेसनभन्दा बाहिर हुँदैन अर्थात् यसको फेसन कहिल्यै जाँदैन ।

विवाह पार्टी

विवाह, व्रतबन्धजस्ता विशेष अवसरमा हाइहिल भएकै फुटवेयर प्रयोग गर्न सकिन्छ जसले फिगरलाई राम्रो देखाउँछ । यस्तो अवसरमा फुटवेयर छनोट गर्दा पहिरनसँग मिल्ने कुरामा ध्यान दिनु जरुरी छ । यस्तो अवसरमा स्टाइलिस फुटवेयर प्रयोग गर्न सकिन्छ भने विभिन्न खालका मोती, सितारा जडित फुटवेयर पनि प्रयोग गर्न सकिन्छ जसले सेक्सी लुक दिन्छ ।

ट्रेन्डी फुटवेयर

हिजोआज ट्रेन्डी फुटवेयर पनि निकै लोकप्रिय छ । यस्तो फुटवेयर समयअनुसार लगाउन सकिन्छ भने यो विभिन्न डिजाइन एवं रंगमा उपलब्ध छ । यसले ट्रेडिनसल लुक्स दिन्छ ।

 Image