Successfully Copied

सुजन तिगेलाको सफल सांगीतिक यात्रा

२ सयको हाराहारीमा गीत गाइसकेका गायक सुजन तिगेला नेपाली सांगीतिक क्षेत्रका उदीयमान तारा हुन् । १२ वर्षदेखि सांगीतिक क्षेत्रमा आबद्ध गायक तिगेला जीवन नै संगीतमै अर्पण गर्ने प्रतिबद्धताका साथ यो क्षेत्रमा होमिएका हुन् ।

२ सयको हाराहारीमा गीत गाइसकेका गायक सुजन तिगेला नेपाली सांगीतिक क्षेत्रका उदीयमान तारा हुन् । १२ वर्षदेखि सांगीतिक क्षेत्रमा आबद्ध गायक तिगेला जीवन नै संगीतमै अर्पण गर्ने प्रतिबद्धताका साथ यो क्षेत्रमा होमिएका हुन् । सांगीतिक क्षेत्रमा प्रवेश गर्दाताका न उनीसँग कुनै संगीतको ज्ञान नै थियो न कसैले खुलेर सहयोग नै गर्दथे । गायनमा लाग्ने अदम्य उत्साह भए पनि संगीतको ज्ञान उति नभएकाले उनी संगीतको कोर्ष गर्न भनेर भारतको दार्जलिङ प्रस्थान गरे । त्यहाँबाट ६ वर्षको संगीत कोर्ष पूरा गरेर मात्र उनी नेपाल फर्के । स्कुले जीवनदेखि नै गीत संगीतमा जीवनको मर्म र अर्थ देख्ने तिगेलाले नेपाल फर्केर पूर्वेली लोकभाका मार्फत गायन यात्रा सुरु गरे ।

धनकुटा जिल्लाको हात्तीखर्क भन्ने गाउँमा जन्मिएका गायक तिगेलाको सानैदेखि संगीतमा नै लाग्ने उनको योजना थियो । निकै लामो संघर्ष र साधना पश्चात् गायनमा भिजेका तिगेला अहिले नेपालमा सबैले रुचाएका गायकमध्ये एक हुन् । पछिल्लो समय श्रोताद्वारा सर्वाधिक रुचाइएको उनको गीत हो पप्पी देऊ न । यो गीत नेपाली युवाहरूको मुखमुखमा झुण्डिएको छ । कालजायी एल्बमको ‘अरे के साह्रो व्युटी लुङमा ज्यू’, कान्तिपुर एल्बमको ‘कथाले नै मागेपछि’, बिच बाटो फिल्मको ‘सेल्फिको जमना’ लगायत यी तिन गीतले गायक तिगेलालाई सांगीतिक क्षेत्रको उचाईमा पुर्‍याए । पाश्र्व गायनमा सबै किसिमका गीत पर्ने भएकाले गायक तिगेला आफू पाश्र्व गायनका लागि नै जन्मिएको र पाश्र्व गायनका स्थापित कलाकार ठान्छन् ।

गौतम बुद्ध जन्मिए जहाँ बोलको गीतबाट उत्कृष्ट स्वदेश गानमा २०७२ सालताका नै कालिका एवार्डमार्फत् उनको गायनको प्रशंसा भयो । त्यसपछि उनी झन् हौसिएर संगीत साधनामा लागे । संगीत कोर्ष गर्दाताका उनी ६ वर्षसम्म दिनको १४ घन्टासम्म साधना गर्दथे । निरन्तरको मेहेनत र धैर्यले मानिसलाई सफलता प्रदान गर्छ भन्ने कुरालाई आत्मसात् गरेका यी गायक आफ्नो सफलताको श्रेय निरन्तरको साधना एवं मेहनतलाई मान्दछन् । उनी अहिले विभिन्न ठाउँमा आयोजना हुने सोहरूमा एउटै बसाइमा लगातार धेरैभन्दा धेरै गीत गाउन सक्छन् । २० वटा नेपाली चलचित्रका गीतमा स्वर दिइसकेका गायक तिगेला अहिले आफ्नो नयाँ एल्बमको तयारी गर्दै छन् । तिगेलाले आफ्नो जीवन नै संगीतमा समर्पण गर्ने योजना बनाएका छन् ।

 Image