Successfully Copied

वातावरण संरक्षण, प्रबद्र्धन एवं विकासमा सफल कञ्चन

कञ्चन बर्मा लामा लामो समयदेखि वातावरण संरक्षण, प्रबद्र्धन एवं विकासका लागि निरन्तर लागिपरिरहेको एउटा नाम हो । सल्यानको दुर्गम गाउँमा शिक्षण पेसामा जीवनको लामो समय खर्चिएकी लामा उक्त स्थानका महिलाहरूका लागि आदर्श हुन् ।

कञ्चन बर्मा लामा, काठमाडौं  

कञ्चन बर्मा लामा लामो समयदेखि वातावरण संरक्षण, प्रबद्र्धन एवं विकासका लागि निरन्तर लागिपरिरहेको एउटा नाम हो । सल्यानको दुर्गम गाउँमा शिक्षण पेसामा जीवनको लामो समय खर्चिएकी लामा उक्त स्थानका महिलाहरूका लागि आदर्श हुन् ।

चार दशकदेखि वातावरण संरक्षण र त्यसको उपयोगमार्फत ग्रामीण भेगका महिलालाई सशक्त बनाउने काममा खट्दै आएकी कञ्चन सन् १९९१ मा एफएओले रोमबाट प्रारम्भ गरेको वन, रुख र जनता नामक कार्यक्रमको एसिया च्याप्टरअन्तर्गतको लैंगिक विश्लेषणद्वारा वन विकास कार्यक्रमकी एक योजनाकार हुन् । कञ्चनले सोही कार्यक्रमअन्तर्गत कबुलियती वनको अवधारणा भित्र्याइन् भने ग्रामीण क्षेत्रका महिलालाई वनको प्रयोगमार्फत कसरी आर्थिक सशक्तीकरणका कार्यक्रममा लगाउने भनेर त्यसको ढाँचासमेत तयार पारिन् । एसिया प्यासिफिक क्षेत्रबाट आलेख लेख्न छानिएका १२ मध्ये कञ्चन पनि एक थिइन् । उनले आफ्नै देश अनुकूलको केश स्टडी लेखिन् जसमा महिलाको आर्थिक सशक्तीकरण तथा गरिबी निवारण एवं सीमान्तकृत महिला र प्राकृतिक स्रोत–साधन, भूमि, जल एवं वनबाट वञ्चितहरूको आवाज समेटिएको थियो । उनको लेखनले त्यतिबेला मूर्तरूप पायो जब यो कार्यक्रम कार्यान्वयन भयो । ग्रामीण क्षेत्रमा वनको प्रयोग र त्यसबाट महिलाको आर्थिक पहुँच वृद्धि गर्न सकिने कार्यक्रमहरू सञ्चालनमा आए जसले ग्रामीण महिलाको जीवनमा परिवर्तन ल्यायो ।

वकन नामक संस्थाका संसारभरका ९ जना निर्देशकमध्ये एक कञ्चन लामा कृषि तथा वातावरणीय परिवर्तनका लागि महिलाहरू जागरुक हुनुपर्छ भन्ने आवाज उठाउँदै सोहीअनुरूपका कार्यक्रम सम्पन्न गर्न सफल महिला हुन् । पछिल्ला दिनमा उनी दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समय खर्चिरहेकी छिन् । उनीहरूले दक्ष बनाएर तयार पारेका वन रेन्जरदेखि लिएर समुदायले छान्ने ग्रामीण महिला उत्प्रेरकहरूले गाउँ–गाउँ पुगी परिवर्तन र लैंगिक सशक्तीकरणका काम मात्र गर्दैनन् सहज र सरल जीवनयापन तथा लैंगिक हिंसाका विषयमा पछाडि पारिएका वर्गलाई सचेतसमेत तुल्याउँछन् । कञ्चनले उत्पादन गरेका त्यस्ता जनशक्ति समाजमा परिवर्तनका संवाहक कहलिएका छन् । त्यतिमात्र होइन कञ्चन ती व्यक्तिहरूलाई राष्ट्रियस्तरका नीति–निर्माणकर्ता, राष्ट्रिय योजना आयोग, विभिन्न सरोकारवाला तथा सम्बन्धित मन्त्रालयहरूसँग सहकार्य गराइदिने काम गर्छिन् । सन् २००८ मा उनको कामको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघको महिलाको दक्षता नामक शाखाले लैंगिक मूलधारका दसमध्ये एक नेपाली विशेष आलेखलाई आफ्नो सेसनमा प्रस्तुत गर्‍यो । कञ्चन भन्छिन्–लैंगिक मूलधारका दक्ष प्राविधिक उत्पादन गर्नु चानचुने कुरा होइन तर नेतृत्व क्षमता, दूरदर्शिता तथा इच्छाशक्ति डगमगाउन नदिएको खण्डमा वातावरणको क्षेत्रमा महिलालाई सबल बनाउने थुप्रै्र काम गर्न सकिन्छ ।’

आफ्नो जीवनको अमूल्य समय, सीप र परिश्रम वातावरण संरक्षण, प्रवद्र्धन एवं त्यसको प्रयोगद्वारा महिलाको सशक्तीकरणमा समर्पित गरेबापत कञ्चन बर्मा लामालाई यो वर्षको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को अन्नपूर्ण विधामा सम्मान गरियो ।

 Image