Successfully Copied

इभेन्ट क्विन हेमाको सामाजीक सेवामा नै जिवन समर्पित गर्ने अठोट

इभेन्ट क्विन भन्दा फरक नपर्ला समाजसेवी तथा नेपाल फेसन होमकी संचालक हेमा मानन्धरलाई । विगत १३ वर्षदेखि नेपालमा इभेन्ट म्यानेजमेन्टमा उनको उल्लेख्य योगदान रहिआएको छ ।

इभेन्ट क्विन भन्दा फरक नपर्ला समाजसेवी तथा नेपाल फेसन होमकी संचालक हेमा मानन्धरलाई । विगत १३ वर्षदेखि नेपालमा इभेन्ट म्यानेजमेन्टमा उनको उल्लेख्य योगदान रहिआएको छ ।  जुन बेला हाम्रो समाजमा प्रतिभाको कदर गर्न खुलेआम हिचकिचाउने अवस्था थियो त्यो बेला हेमाले अनगिन्ती बालबालिकाहरूको प्रतिभालाई उजागर गर्ने प्रयास गरिन् फलस्वरूप आज आम नेपाली बालबालिकाहरूमा प्रतिभा प्रस्फुटन गर्नुपर्छ भन्ने मानसिकता जागेको छ ।

सन् २००३ देखि हेमाले कल्चरल प्रतियोगिता, मिस नेवा, प्रिन्सेस नेपाल, किड क्विन, मिस लिटिल नेवा, मास्टर स्टार, पाँच वटा टाइटल प्रदान गर्दै आइरहेकी छिन् । उनले इभेन्ट सुरु गर्दा मिस नेपाल बाहेक नेपालमा अन्य यस्ता प्रतियोगिता कुनै हुदैनथ्यो । व्यावसायिक भनांै वा प्रतिभाको खोजी जे भनेपनि उनले इभेन्ट आयोजना गरेर आज एउटा कल्चरको विकास गर्न धेरै मानिसहरूमा आँट जगाएकी छिन् । उनीबाटै धेरैले सिकेर आज विभिन्न प्रकारका इभेन्टको आयोजना हुने गरेको छ । तथापि, यसको श्रेय हेमा आफैंले मात्र लिन चाहँदिनन् ।  

समाजशास्त्रमा स्नातकोत्तर गरेकी मानन्धर आफूमा आँट र दृढता भएका कारण नै आज आफू यो ठाउँमा आइपुगेको दावी गर्छिन् । अहिलेका बालबालिकाहरूमा प्रतिभाको कदर गरिदिने हो भने उनीहरूमा आत्मनिर्भरको पाठ अटल भएर बस्ने र भविष्य सुनिश्चित गर्न बालबालिका स्वयं सक्षम हुने उनको धारणा छ । उनले सुरुका दिनमा मिस नेवा गरिन्, जसले नेवार समुदायको संस्कृति भेषभुषा संरक्षण हुनुका साथै त्यसको जगेर्ना गर्न अहिलेका युवायुवतीहरूलाई सजग हुन सिकाएको छ । हाम्रो देश नेपाल संस्कृतिका हिसावले यति धनी छ जुन कुराको संरक्षण आज नगरे बिस्तारै मुलुकको पहिचानमा पनि आँच आउने देखेर आफूले यस्तो कार्यको थालनी गरेको हेमा बताउछिन् । यसैकारण हेमा लामो समयदेखि अथक रूपमा नयाँ शैली तथा प्रविधि अपनाएर इभेन्ट म्यानेजमेन्ट गर्दै  छिन् ।

राजनीतिमा पनि गहिरो रुचि राख्ने हेमा समाजसेवा आफ्नो रगतमै भएको बताउँछिन् । हेमालाई जन्म दिने आमा अमेरिकामा गएर बसेको लामो समय भयो । आफ्ना नातेदार तथा परिवारका सबै सदस्य अमेरिकामा नै बस्छन् तर उनी आफूलाई विदेश भनेपछि मनै मर्ने बताउँछिन् । थप्दै भन्छिन्, कहिलेकाहीँ डुलघुमको लागि भए मात्र नत्र म देशको सेवा गरेर नै जीवन त्याग्ने सोचमा छु । सक्दो सबैलाई जति सकिन्छ, आफ्नै देशका लागि केही गरेर स्वदेशमै बसौं भन्ने गरेकी छिन् ।

बहुप्रतिभाशाली हेमा एउटा कुरामा मात्र हैन समाज सेवामा पनि दख्खल राख्छिन् । दुर्गम बस्तीका बालबालिकाहरूको शिक्षामा ठूलो सहयोग गर्ने हेमाले धेरै गरीब बालबालिकाहरूलाई क्षिशाको ज्योति प्रदान गरेकी छिन् । यसका अलवा साहित्यमा पनि उनको राम्रो दख्खल छ । २०६३ साल ताका नै उनले कविता संग्रह प्रकाशित गर्न भ्याएकी थिइन् । पहाडहरू सुतिदेऊ नामक कविता संग्रह प्रकाशित गरेकी हेमाको कलम पनि उत्तिकै बलियो छ ।

इभेन्ट टाइटलजस्ता कार्यक्रमहरू पछिल्लो समय विकृतिको रूपमा आयो भन्ने जनगुनासो बढेको देखिन्छ नि भन्ने नारी अनलाइनको प्रश्नमा हेमा भन्छिन्, हो विकृति नै भएको पनि हो कि भन्ने मलाई पनि लागिरहेको छ । टाइटलका नाममा विभिन्न आर्थिक शोषण भएको सुनिन्छ । कतिजनाले दर्ता नभएका व्यानर मार्फत कार्यक्रमहरू गर्ने, पैसा धेरै धुत्ने गरेको स्वयं बालबालिकहरूका अभिभावकहरूले गुनासो गरेको सुन्न थालिएको छ । यसकारण, सरकारले कस्ले कस्तो कार्यक्रम गरिरहेको छ भन्ने कुराको निगरानी गर्नु जरुरी छ । अभिभावकले पनि आफ्ना बालबालिकालाई कस्तो कार्यक्रममा सहभागी गराउदै छु भन्ने बुझेर मात्र प्रतियोगितामा सहभागी गराउनुपर्छ  ।’ इभेन्ट म्यानेज गर्न निकै चतुर र अब्बल हेमा पछिल्लो समय नेपालमा हुने गरेका इभेन्टले मन घोच्न थालेको बताउँछिन् । आजभोलि टोलटोलमै इभेन्ट अर्थात् टाइटलका कार्यक्रम हुन थालेका छन् भन्दै गिज्याएको सुन्दा कताकता दु:ख लाग्छ । मैले यस्तो खालको विकृति आउला भनेर सोचेकी थिइन भनेर उनी गुनासो पोख्छिन् ।

आजसम्म आफूले कुनै पनि प्रलोभन नदेखाई कार्यक्रम आयोजना गर्न सफल भएको बताउने उनी आफूले लोभ देखाए पनि भोलि तिमीहरूले प्रतिभा उजागर गर्न सक्यौ भने राष्ट्रका खम्बा सावित हुन सक्छौ, तिमीहरूले अहिले नै केही सोच्नुपर्छ, आफूलाई चिन्न सुरु गर भन्ने गरेको उनी बताउँछिन् । हेमा महिलाहरूले गरेको कुरामा बढी नै सवाल उठ्ने समाज भएकाले पनि धेरै गुुनासो सुन्नुपर्ने बताउँछिन् । उसो भए तपाईंले केकस्ता चुनौतिको सामना गर्नुपर्‍यो ? भन्ने यस पंक्तिकारको सवालमा उनी भन्छिन्, ‘म कहिल्यै महिला हँु भनेर महिलाहरूसँग जुधेर काम गर्दिन म केवल मानिससँग जुधेर मानिससँग काम गर्छु । म महिला र पुरुष भन्ने शब्द प्राकृतिक रूपमा मात्र हेर्छु कामको सवालमा कहिल्यै हेर्दिन ।’

कुराकानीका दौरान हेमाले महिलाहरूको वर्तमान स्थिति र नेपाली महिलाहरूले देश हाँकिरहेको गहकिलो प्रसंगमा समेत कुराकानी गर्न भ्याइन् । तथापि माथिल्लो तहका महिला र तल परेका महिलाहरूबिचको खाडल पुर्नु जरुरी छ । महिलाहरू लड्न सक्छन् भन्ने भन्दा पनि काम गर्न अवसर दिनुपर्छ भन्ने सोच आम नेपाली नागरिकमा जागृत हुन जरुरी छ । उनी यसको अर्काे कारण महिलाहरूमा दृढ शक्ति पनि नभएको र काममा निरन्तरता दिन नसक्नु हो भन्छिन् ।

राजनीति गर्ने तीव्र इच्छा भए पनि बालबालिकहरूका क्षेत्रमा नै निरन्तर काम गर्ने उनको योजना छ । अहिले ससाना बालबालिकहरू विदेश जानकै लागि पढ्ने गरेको र उनीहरूलाई सोही प्रकारको वातावरण दिइरहेका अभिभावकहरूमा सचेतना जगाउन आवश्यक रहेको उनको ठम्याइ छ । खुल्ला हृदयकी धनी, प्रतिभाशाली तथा आफूलाई देशप्रति चिन्तित महिलाका रूपमा चिनाउने हेमा देशको विकास र समृद्ध राष्ट्र निर्माणमा आफ्नो क्षमताले भ्याएसम्म दृढ भएर लागिपर्ने अठोटलाई कहिल्यै मर्न नदिने  कुरामा जोड दिन्छिन् ।

 Image