Successfully Copied

एकैपटक धेरै काम गर्नु खतरनाक

एउटा हातमा फोन, दोस्रोमा बेलन अनि कम्प्युटरमा काम गर्दै मोबाइलमा कसैलाई म्यासेज गर्नु । छोराछोरीलाई पढाउने क्रममा अफिसको प्रेजेन्टेसन तयार गर्नु । यो हो आजका कामकाजी महिलाहरूको कथा ।

एउटा हातमा फोन, दोस्रोमा बेलन अनि कम्प्युटरमा काम गर्दै मोबाइलमा कसैलाई म्यासेज गर्नु । छोराछोरीलाई पढाउने क्रममा अफिसको प्रेजेन्टेसन तयार गर्नु । यो हो आजका कामकाजी महिलाहरूको कथा । जो एकैसाथ धेरैवटा काम पूरा गर्छन् । त्यसैले उनीहरूलाई सुपर वुमन वा मल्टी टास्किङको उपाधि प्राप्त छ । आधुनिक जमानामा यी दुई शब्द सुनेर अनुहारमा मुस्कान आउनु स्वाभाविक हो तर सुपर मम, वाइफ वा इम्प्लोइ बन्ने प्रयासमा कस्तो मूल्य चुकाउने काम भैरहेको छ भन्ने विषयमा कमैलाई मात्र जानकारी हुनसक्छ । त्यसैले त हरेक ठाउँमा स्वयंलाई विशेष साबित गर्ने चक्करमा महिलाहरू लगातार तनावको सिकार भैरहेका छन् ।

किन हुन्छ तनाव ?

धेरै काम एकैपटक गर्नाले आजका कामकाजी महिलाहरूको स्ट्रेस लेबल लगातार बढ्दै गएको पाइन्छ । उनीहरूमाथि एकातिर डेटलाइनमा काम सम्पन्न गर्नुपर्ने दबाब छ भने अर्कातिर घरपरिवार एवं छोराछोरीको जिम्मेवारी पनि हुन्छ । लगातार बढ्दो तनाव मानसिक एवं शारीरिक स्वास्थ्यका लागि राम्रो हुँदैन । विशेषज्ञका अनुसार तनावका कारण महिनावारी नियमित हुँदैन, प्रजनन् क्षमता कम हुन्छ । तनावका कारण रोगप्रतिरोधक क्षमता पनि कमजोर हुन्छ ।

तनावको प्रभाव

मनोवैज्ञानिकहरूका अनुसार तनावले शरीरमा फिल गुड हार्मोनको मात्रा कम गर्छ । कतिपयलाई साइकोलोजिकल हेडेक तथा ढाड दुख्ने समस्या हुन्छ । कोही एक्लोपनको सिकार हुनपुग्छन् भने कोही सदैव दु:खी हुन्छन् । यी महिलाहरू आफ्ना हाकिम, श्रीमान्, बालबालिका र सासू–ससुराको माग पूरा गर्नमा यति धेरै व्यस्त हुन्छन् कि स्वयंका लागि समय प्राप्त हुँदैन । घर–अफिसको दोहोरो जिम्मेवारी निर्वाह गर्न यिनीहरू धेरै काम एकैपटक गर्ने प्रयास गर्छन् भने स्वयंको स्वास्थ्य एवं आवश्यकतालाई बेवास्ता गर्छन् ।

तनावको लक्षण

निम्न लक्षण देखा परे तनाव बढेको बुझ्नुपर्छ ।

–चिडचिडापन ।

–ध्यान केन्द्रित गर्नमा समस्या ।

–कुराहरू बिर्सनु ।

–थकान ।

–शरीरमा पीडा ।

–श्वास–प्रश्वासमा समस्या ।

–धड्कन बढ्नु ।

–एसीडीटी ।

–वजन बढ्नु ।

–हाई ब्लड प्रेसर ।

–मुटु रोग ।

धेरै काम एकैपटक गर्नुका अन्य बेफाइदा

एकैपटक धेरै काम गर्ने बानीले तनावका साथै अन्य समस्या पनि बढ्छन् ।

कामको गति कम हुन्छ : एकसाथ धेरै काम गरेर समय बचाउने कुरा सोच्नु गलत हुन्छ । एउटा शोधअनुसार एकसाथ धेरै काम गर्दा कुनै एउटा काममा केन्द्रित हुन सकिंँदैन । फलत: हरेक काम सम्पन्न गर्न बढी समय लाग्नुका साथै काम पनि राम्रोसँग नहुनसक्छ । एउटा काम सम्पन्न गरी अर्को काम थाल्दा काम गर्ने गति बढ्नुका साथै प्रभावकारी नतिजा पनि प्राप्त हुन्छ ।

स्मरणशक्ति कमजोर हुन्छ : युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोको एउटा रिसर्चका अनुसार एक समयमा एकभन्दा बढी काम गर्नाले स्मरणशक्तिमा प्रभाव पर्छ र हामी काम–कुरा भुल्न थाल्छौं । यति मात्र होइन उमेर बढेसँगै स्मरणशक्तिसित जोडिएको बिरामीको खतरा बढ्न जान्छ ।

गल्ती बढ्छ : फ्रान्समा भएको एउटा अध्ययनअनुसार एकैपटक धेरै काम गर्ने मानिसहरूले अनेकौं गल्ती गर्छन्, कारण उनीहरूको ध्यान थुप्रै काममा बाँडिन्छ ।

सम्बन्धका लागि ठीक नहुनसक्छ : युनिभर्सिटीको अफ एसेक्समा गरिएको एक शोधअनुसार जसले एकसाथ धेरै काम गर्छन्, उनीहरूले आत्मीय सम्बन्धमा पनि ध्यान दिन सक्दैनन् । फलत: त्यस्ता मानिसहरूको वैवाहिक जीवन सुखमय हुँदैन ।

तौल बढ्छ : टेलिभिजन हेर्दै खाइन्छ वा खाँदै कम्प्युटरमा काम गरिन्छ भने तौल बढ्नसक्छ । कतिपय अध्ययनबाट यो कुरा प्रमाणित भएको छ ।

सिर्जनशीलता समाप्त हुन्छ : सिकागोको इलिनोइस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार धेरै काम एकैपटक गर्न खोज्दा व्यक्तिको रचनात्मकता कम हुन्छ । मस्तिष्कमा एकसाथ धेरै काम गर्ने दबाब परेपछि सिर्जनात्मक काम गर्न समस्या उत्पन्न हुन्छ ।

अन्य कुरा

क्यालिफोर्निया युनिभर्सिटीको एक अध्यययनअनुसार एकसाथ धेरै काम गर्दा मुटुको धड्कनको गति तीव्र हुन्छ र तनाव बढ्छ । केही विज्ञहरूका अनुसार धेरै काम एकैपटक गर्नुभन्दा समय व्यवस्थापन अर्थात् हरेक कामलाई एक निश्चित समयमा सम्पन्न गर्ने योजनाका साथ काम गर्नु उपयुक्त हुन्छ । एकैपटकमा धेरै काम गर्ने चक्करमा कुनै पनि काम समयमा ठीक ढंगबाट सम्पन्न गर्न नपाउनाले तनाव बढ्छ । अत: हरेक कामलाई एउटा निश्चित समयमा पूरा गर्ने योजना बनाउनु राम्रो उपाय हो ।

एक अध्ययनअनुसार ७५ प्रतिशत कामकाजी महिला मोटोपन, डिप्रेसन, लगातार पिठ्युँको पीडा, मधुमेह, हाइपर टेन्सन, हाई कोलेस्ट्रोल, मुटु रोग तथा मिर्गौलासम्बन्धी समस्याका कारण हुने बिरामीको सिकार हुन्छन् ।

 Image