Successfully Copied

कुकुरलाई हराएको सामान खोज्न लगाउने तालिम

प्राय:जसो कुकुरप्रेमी मानिसहरूमा घरमा अल्सेसन, जर्मन सेफर्ड, डोबरम्यान पिन्चर, ग्रेट डेन, लेब्राडोर कोकर स्पियनेल, गोल्डेन रिट्रिभर, बिगल आदि जातका कुकुरहरू पाल्ने गरेको देखिन्छ । यी जातका कुकुरहरूको सुँघ्ने शक्ति एकदम तीव्र हुन्छ ।

प्राय:जसो कुकुरप्रेमी मानिसहरूमा घरमा अल्सेसन, जर्मन सेफर्ड, डोबरम्यान पिन्चर, ग्रेट डेन, लेब्राडोर कोकर स्पियनेल, गोल्डेन रिट्रिभर, बिगल आदि जातका कुकुरहरू पाल्ने गरेको देखिन्छ । यी जातका कुकुरहरूको सुँघ्ने शक्ति एकदम तीव्र हुन्छ । यी जातमध्येबाट तपाईंले कुनै एक जातको कुकुर पाल्नुभएको छ भने तपाईंले आधारभूत बेसिक तालिमपछि दिइने उन्नत एडभान्स तालिम दिन सक्नुहुन्छ । उन्नत तालिम धेरै प्रकारका छन् । तीमध्ये तपाईंले घरमा रहँदा अति नै काम लाग्ने तालिमको चर्चा म यहाँ गर्न गैरहेको छु । जस्तै आफ्नो घरमा हराएको वा कतै खसेर आफ्नै कम्पाउन्डभित्रै सामान रहेको छ भने हामीले दिएको सानो तालिमले पनि कुकुरले त्यो सामान खोजतलास गरी पत्ता लगाएर तपाईंसामु ल्याउन सक्छ ।

तपाईं हामीलाई थाहा भएकै कुरा हो, हाम्रो शरीरमा एक प्रकारको गन्ध हुन्छ । कुनै मानिस सँगसँगै बस्दा मात्र होइन कि बाटोमा क्रस हुँदा पनि प्रयोग गर्ने सेन्टबाहेकको मानिसको एक प्रकारको गन्ध हाम्रो नाकले लिन्छ । प्रत्येक मानिसको गन्ध अलग–अलग हुन्छ, एउटाको गन्ध अर्कोसित मेल खाँदैन । तपाईंको कुकुरले तपाईंको घरमा सदस्यहरू सबैको गन्ध थाहा पाएको हुन्छ । कुकुरमा यस्तो गन्ध सँुघ्ने शक्ति तीव्र भएको हुनाले कुकुरले सजिलै हराएको सामान पत्ता लगाउन सक्छ । प्रहरी तथा सेनामा अपराधी, लागुऔषधि तथा विस्फोटक पदार्थको खोज गर्न कुुकुरहरूको प्रयोग गरेको पाइन्छ ।

यही सिलसिलामा म तपाईंहरूलाई एउटा लाभदायक उन्नत तालिम सिकाउन गैरहेको छु, जुन तपाईं स्वयंले आफ्नो कुुकुरलाई अभ्यास गराउनुभयो भने अवश्य पनि तपाईंको कुकुरले सो काम गरेर देखाइदिनेछ । तपाईंलाई अचम्म पनि लाग्ला, अनि आफू पनि गौरवान्वित हुनुहोला । बल्ल तपाईंले आफूले महँगोमा किनेर पालेको कुुकुरको उचित फाइदा लिन सक्नुहुने छ ।

यसका लागि के–के सामान चाहिन्छ ?

यो अभ्यास गराउनका लागि खासै सामानहरूको आवश्यकता पर्दैन । केल फल्याट कलर अर्थात् कुकुरको घाँटीमा बाँध्ने पेटी, लामो डोरी र कुकुरलाई मनपर्ने खेलौना भए पुग्छ । कुकुरलाई अभ्यास गराउँदा कुकुर थाक्ने हुनाले र उसले राम्रो काम गरेको स्यावासी दिन कुकुरलाई मनपर्ने खानेकुरा टिटबिटको आवश्यकता पर्छ ।

कसरी अभ्यास गराउने

आफ्नो कुकुरलाई घाँटीमा पेटी लगाइदिने । पेटीमा लामो डोरी बाँध्ने वा कुकुरलाई आफ्नो वा कम्पाउन्ड वा बाहिर कतै चउर वा शान्त ठाउँमा लाने । कुकुरलाई बेसिक तालिम त दिनुभएकै होला, छ भने उसलाई नचल् वा बस् पोजिसनमा राख्ने । कुकुर बसिसकेपछि उसलाई मनपर्ने सामान वा खेलौना, जुन लुकाउन गैरहेको छ, त्यो कुकुरलाई देखाउँदै छक्याउँदै ठाउँ–ठाउँमा राखेजस्तो गरी अन्त्यमा एक ठाउँमा लुकाइदिने । यो चर्तिकला कुकुरले बसेको पोजिसनमा रहेर हेरिरहेको हुन्छ । यसरी लुकाइसकेपछि आफू कुकुरको नजिक आई दुवै हातको हत्केलालाई कुुकुरको नाकमा सुँघाइदिने । कुकुरको नाम लिँदै जा खोस् भन्दै कुकुरलाई त्यसतर्फ इशारा गर्दै पठाउने । तपाईं गएको बाटो सुँघ्दै कुकुरले सामान पत्ता लगाई मुखमा च्यापेर लिएर आउँछ ।

यसरी सामान लिएर आएपछि कुकुरलाई खुब माया गर्ने र स्यावासी दिने । केही समय खेलाउने र खानेकुरा पनि थोरै दिने । यसो गर्दा कुकुर खुसी हुन्छ र उसको मनमा यो पर्छ कि मैले गरेको काम ठीक भएछ । कुकुर अमुक प्राणी भए पनि उनीहरूमा कुरा बुझ्न सक्ने क्षमता हुन्छ । अब यही कामलाई तपाईंले लुकाउने सामान र ठाउँ परिवर्तन गर्दै  जानुहोस् र लुकाएको स्थानको दूरी पनि बढाउँदै लानुहोस् । लुकाउने सामानहरूको जस्तै : रुमाल, टोपी, साँचोको झुप्पा, मोजा, कलम यस्तै सामानहरू प्रयोग गर्न सकिन्छ । कहिलेकाहीँ आफ्नो परिवारका सदस्यमध्येबाट कुकुरले नदेख्ने गरी लुकाउन लगाउने । केही समयपछि आफ्नो हात सुँघाएजस्तो गरी त्यो सदस्यको हात सुँघाएर कुकुर छोड्ने । कुकुरले सो सामान लुकाउन गएको परिवारको सदस्य जुन बाटो गएको छ सोही बाटो हुँदै गई सो सामान पत्ता लगाएर तपाईंसमक्ष लिएर आउँछ ।

अब यो काम जानिसकेपछि तपाईंले अलि गरुङ्गो सामान लुकाइदिनुहोस् । अनि कुकुर नजिक आएर उसलाई नसुँघाई खाली हत्केला देखाउँदै जा खोज् भन्नुहोस् । यसो भन्दा वा इशारा गर्दा कुकुरले बुझिसकेको हुन्छ र मैले लुकाएको सामान पत्ता लगाएर ल्याउनुपर्छ भन्ने मनमा लिई यताउता सुँघ्दै सामान भएको ठाउँमा पुग्छ र त्यहाँ पुग्छ । यतिखेर कुकुरको नाम लिँदै बोल् बोल् भन्नुहोस् ।  यसो भन्दा ऊ त्यहाँ अडिएर भुक्न थाल्छ । यो सिकाउनुको मतलब के हो भने गरुङ्गो सामान फेला पारेपछि भुकेर मालिकको ध्यानाकर्षण गर्नु र सो सामान यहाँ छ भनेर संकेत दिनु हो ।

नेपाल प्रहरी तथा सेनामा यसरी नै तालिम प्राप्त कुकुरले अपराधी पत्ता लगाएर भुक्ने, विस्फोटक पदार्थ तथा लागूपदार्थ पत्ता लगाएर भुक्दै संकेत गर्छन् । यस्तै यस्तै अभ्यास गराई आफूले घरमा पालेको कुकुरलाई पनि धेरै प्रकारका तालिम दिन सकिन्छ । तर अभ्यास गराउँदा स्वयं मालिक वा ह्यान्डलर पनि इच्छुक भएको हुनुपर्छ ।

(लेखक नेपाल प्रहरी तालिम स्कुलका भूतपूर्व प्रमुख हुनुहुन्छ । उहाँको कुकुर हाम्रो साथी नामक पुस्तकमा यस्तै तालिमहरूका साथै कुकुरसम्बन्धी जानकारी पढ्न पाइन्छ )

 

 Image