Successfully Copied

इनर ब्युटीको रिफ्लेक्सन

हरेक युवती अप्सरा हुँदैनन्, न त बन्न नै सक्छन् । अर्कातर्फ राम्रो व्यवहारबाट उनले प्रिटी, चार्मिङ, स्वीट, क्युट आदि उपाधि प्राप्त गर्न सक्छन् ।

हरेक युवती अप्सरा हुँदैनन्, न त बन्न नै सक्छन् । अर्कातर्फ राम्रो व्यवहारबाट उनले प्रिटी, चार्मिङ, स्वीट, क्युट आदि उपाधि प्राप्त गर्न सक्छन् । सौन्दर्य आर्जनको दिशामा अनेकौं सुझाव प्राप्त हुन्छन् तर यहाँ ती गलत कुरा उल्लेख गरिएको छ जसले आफूलाई कुरूप बनाउन सक्छ ।

मान हुनुपर्छ अभिमान होइन

आफ्नो रूप, प्रतिभा वा सफलतालाई लिएर घमण्ड गर्नु बुद्धिमानी त होइन नै यसले  सुधारका सबै मार्ग पनि बन्द गरिदिन्छ । त्यसैले अभिमानलाई आफ्नो नजिक आउन दिनु हुँदैन । यदि आफूलाई आफ्नो केश–सज्जा सर्वोत्तम छ भन्ने कुरामा अभिमान छ भने त्यो असत्य हुन सक्छ । कारण यौवनावस्थामा अँगालेको हेयर स्टाइल उमेरको सबै अवस्थामा सुहाउँछ भन्ने हुँदैन । सौन्दर्यमा तब निखार आउँछ जब समयसँगै आफ्नो स्टाइलमा पनि परिवर्तन ल्याइन्छ । यदि अहिलेसम्म मोटो र गाढा गाजल लगाइरहनुभएको छ भने अब यसलाई हल्का र सौम्य बनाउनुपर्छ । ओठको आकार र लिपिस्टिकको रंगमा परिवर्तन ल्याउँदा पनि धेरै प्रभाव पर्छ । यसैगरी कतिपय स–साना परिवर्तनबाट मुहारको चमकमा फरक देखा पर्छ । सबैसित विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ । विनम्रताले नै सुन्दरतामा निखार ल्याउँछ ।

आक्रोश र क्रोध

क्रोधमा मानिस त्यति आकर्षक देखिँदैन । निधार खुम्च्याउनाले असमयमै रिङ्कल पर्न सक्छ, अत:  निधार खुम्च्याउनु र मुख फुलाउनु हुँदैन । खुसी भएर आफूलाई प्रेम गर्नुपर्छ । छालालाई ड्राई हुन दिनु हुँदैन । छालाको नरमपन कायम रहनुपर्छ । आँखा वरपरको छालाको विशेष ख्याल राख्नुपर्छ । क्रोधले मुहारलाई चौपट बनाउँछ र त्यो स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । त्यसैले नर्वस, टेन्सन, टाउको दुख्ने, निद्रा नलाग्ने र पेटको अल्सर आदि गम्भीर रोग लाग्न सक्छन् । यदि क्रोधलाई नियन्त्रण गर्न सकिएन भने योगको शरणमा जानुपर्छ । योगबाट शरीर र मस्तिष्कलाई आराम प्राप्त हुन्छ ।

ईष्र्याबाट मन नजलाऔं

अरूको सुन्दर लहराउँदो केश, सुगठित फिगर वा चम्किलो रूप देखेर ईष्र्या लाग्नु स्वाभाविक हो ।  यो ईष्र्यालाई एउटा रचनात्मक मोड दिनुपर्छ अर्थात् स्वयं त्यति नै सुन्दर बन्ने प्रयास गर्नुपर्छ । जलन र ईष्र्याले आफ्नो स्वास्थ्य र सुन्दरतामा प्रतिकूल प्रभाव पर्छ । सुन्दर एवं चम्किलो केशका लागि पौष्टिक भोजन, कन्डिसनिङ र हेरचाह आवश्यक हुन्छ । सुगठित फिगरका लागि सन्तुलित भोजन एवं व्यायाम चाहिन्छ । फिगर सुगठित बनाउन चाहने हो भने पहिरन पनि राम्रोसँग लगाउनुपर्छ । सही रंग र कटनका कपडा र आभूषणले केही दोष लुक्न सक्छन् । त्यसैले ईष्र्या त्याग गरी सुन्दर बन्ने प्रयास गर्नु उचित हुन्छ ।

लोभ राम्रो होइन

कहिलेकाहीँ लोभ पनि सौन्दर्यमा बाधक हुन्छ । महँगा र उपयोगी सौन्दर्य प्रसाधन लिएर खर्च हुने डरले प्रयोग नगरी राख्नु बुद्धिमानी होइन । मोस्चराइजर लगाउन लोभ गर्नुहुँदैन र त्यसको प्रयोग गरिरहनुपर्छ । महँगा र उपयोगी कस्मेटिक त्यत्तिकै राख्नाले बिग्रन सक्छन् । यदि उपहारमा महँगा सेन्ट प्राप्त भए त्यसलाई प्रयोगमा ल्याउनुपर्छ, नत्र त्यो त्यत्तिकै उडेर जान्छ । जुन प्रसाधन सुट गर्दैन, जस्तै कुनै रंगको लिपिस्टिक, आइस्याडो वा नेलपोलिस अरू कसैलाई दिनु उचित हुन्छ । प्रसाधनका मामिलामा लोभ गर्नाले ड्रेसिङ टेबल गोदाममा परिणत हुन्छ तर सौन्दर्य वृद्धि भने हुँदैन ।

अल्छी गर्नु राम्रो होइन

राति सुत्नुअघि मेकअप सफा गरी ब्रस गर्नुपर्छ । छालाको सफाइमा अल्छी गर्नाले रौं छिद्र बन्द हुन्छन् र पिम्पल आदिले छालालाई बिगार्छ । दाँतको सफाइ भएन भने कीरा पर्न सक्छ, केभिटीको समस्या हुन सक्छ । दाँत झरेर रूप–यौवनमा नकारात्मक प्रभाव पर्न सक्छ । स–साना कुरामा अल्छी गर्नाले  तत्काल कुनै गम्भीर नोक्सान भने हुँदैन तर विस्तारै असुन्दरतातर्फ अघि बढ्न सकिन्छ । ड्राई केश, अवाञ्छित केश, मैलो छाला, बासी मेकअप, प्रेस नगरिएका कपडा सुन्दरताका परिचय होइनन् ।

सुन्दर सुझाव

प्रेमले मुहारको भाव र आकर्षणमा वृद्धि गर्छ । त्यसैले सबैसित प्रेम गर्नुपर्छ । मुहारको रंग, आँखाको चमक, गालाको लाली र ओठको हल्का मुस्कान आदिले मानिसलाई आकर्षक बनाउँछन् । प्रेममा धड्कनको गति, रक्तसंचार र मनोबल पनि साधारण मुहारमा रौनक थप्न सहयोगी हुन्छन् । साँचो प्रेमबाट उत्पन्न आनन्द सौन्दर्यको गहना हो ।

 Image