Successfully Copied

चुम्बन घातक पनि हुनसक्छ

चुम्बनले छुट्टै संसारको आनन्द दिन्छ भन्ने कल्पनामा रमाउँछन् तर चुम्बनकै कारणले रोगी हुनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

किस अर्थात् चुम्बन तपाईं कति मन पराउनुहुन्छ ? राम्रो अनुहार पाए त कसलाई चुम्बन गर्न मन लाग्दैन होला ? विशेष गरी कलेज पढ्ने किशोर–किशोरीहरू त चुम्बनले छुट्टै संसारको आनन्द दिन्छ भन्ने कल्पनामा रमाउँछन् तर चुम्बनकै कारणले रोगी हुनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कलेजमा अध्ययनरत छात्रहरूले आफ्नी गर्लफ्रेन्डबाहेक अरूलाई चुम्बन नगरेको दाबी गरे पनि चुम्बन अहिले सामान्य भैसकेको छ । चुम्बन सामान्य भए पनि चुम्बनका कारण हुने रोग भने सामान्य हुँदैन ।

‘किस डिजिज’ अर्थात् चुम्बन रोग हालै नामकरण गरिएको एउटा रोग हो । इपसन वार भाइरस (ई.बी.भी.) ले संक्रमित तुल्याउने यो रोग खास गरी र्‍यालको माध्यमबाट सर्छ । चुम्बन रोग खास गरी उच्च माध्यमिक तथा कलेजका विद्यार्थी तथा आर्मी, पुलिसलाई लागेको देखिन्छ । हालै गरिएको एक अध्ययनले ८५ देखि ९० प्रतिशत अमेरिकन नागरिकलाई ४० वर्ष नपुग्दै ई.बी.भी. को संक्रमण देखिएको छ । १५ वर्षदेखि १९ वर्षका युवा–युवतीमा चुम्बन रोगको प्रभाव बढी देखिएको छ । भाइरसको संक्रमण भएको ४–५ हप्तापछि मात्र ज्वरो आउने, घाँटी सुक्ने, खाना निल्न गाह्रो हुने, घाँटी तथा छातीमा डावरहरू आउने, काखी सुन्निने, कलेजो तथा पित्त थैली ठूलो हुने आदि लक्षण देखिन्छन् । धेरैजसो व्यक्तिमा यो रोग आफै निको भए पनि कतिपयका लागि खतरनाक पनि साबित हुन सक्छ । यो रोगले निमोनिया, जन्डिस, रक्तअल्पता, मुटु तथा मिर्गौलामा दीर्घकालीन असर पार्छ ।

चुम्बनबाट सर्न सक्ने अन्य रोग पनि छन् । गोनरिया, भिरङ्गी, ज्ञानेन्द्रिय अंगहरूमा हुने मुसा, घाउहरूका जीवाणु र्‍यालमा पनि हुन सक्ने भएकाले यी रोग सर्न सक्छन् । यसरी सर्ने रोगमा क्लामेडियाको संक्रमण प्रमुख हो । युनिभर्सिटी अफ क्यालिफोर्नियाका चिकित्सक जोनका अनुसार चुम्बनका कारण ट्राइजेमिनल न्युरोल्जिया भए बिमारीले आत्महत्यासम्म गर्न सक्छ । यो रोग लागेका बिरामीको गालामा चुम्बन गर्दा उक्त नर्भ (स्नायु) को उत्तेजना हुने भएकाले बिरामीले आत्महत्या गर्ने प्रयास गर्छ ।

फ्लोरिडा स्टेट युनिभर्सिटीको प्रतिवेदनअनुसार धेरैसँग चुम्बन गर्ने किशोर–किशोरीमा ब्याक्टेरियल मेनेन्जाइटिस हुनसक्छ । बेलाईतमा गरिएको एक अध्ययनअनुसार मेनिंगोकोकल ब्याक्टेरिया नाक तथा घाँटीमा राम्रोसँग वृद्धि हुने र सोही ठाउँमा बढी बस्न रुचाउने भएकाले र्‍यालमा उक्त ब्याक्टेरिया बढी पाइन्छ । चुम्बन गर्दा ब्याक्टेरिया सजिलै एक–अर्कामा सर्छ र मेनिन्जाइटिसको रोगी बनाउँछ । मेनिन्जाइटिस हुँदा टाउको दुख्ने, ज्वरो आउने तथा वान्ता हुने लक्षण देखिन सक्छ । यस्ता किशोर–किशोरीले तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्छ । समयमै उपचार नभए बिरामी मर्न पनि सक्छ ।

आधुनिक एवं सहरी जीवन शैलीमा जनावरहरू (कुकुर, बिरालो) पाल्ने चलन पनि बढ्दै गएको छ । सहरी क्षेत्रका सम्पन्न परिवारमा कुकुर वा बिरालो नपालिने घर कमै हुन्छन् । पुरुषभन्दा पनि महिलाहरू कुकुर–बिरालोसँग चुम्बन आदान–प्रदान गरिरहेका हुन्छन् ।

विज्ञहरूका अनुसार यसरी कुकुरसँग चुम्बन आदान–प्रदान गर्दा, सँगै खानेकुरा खाँदा ‘सालमोनिला’ जातका ब्याक्टेरियाको संक्रमण हुने सम्भावना हुन्छ । ‘सालमोनेला’ जातका ब्याक्टेरियाको संक्रमणले टाइफाइड हुन्छ ।

प्रस्तुति:डा.बालकृष्ण साह, मेडिकल अधिकृत, मेची अंचल अस्पताल

 Image