Successfully Copied

फेसनेबल छाताको समय

आफ्नो पहिरनसित सुहाउँदो वा कन्ट्रास्ट छातामा लुक अझ आकर्षक देखिन्छ ।

कसैले भन्न सक्छन्, छातामा पनि फेसन हुन्छ र ? खोल्ने र ओढ्ने, वर्षाको पानीबाट आफूलाई जोगाउने काम न हो छाताको । यद्यपि आजभोलि छाता पनि फेसनबाट अछुतो छैन । अत: बजारमा फेसनेबल छाताले आफ्नो अलग स्थान बनाउँदै लगेको छ ।

सिम्पल प्लेन कलर्ड छाता : आफ्नो पहिरनसित सुहाउँदो वा कन्ट्रास्ट छातामा लुक अझ आकर्षक देखिन्छ ।

यु ह्यान्डल भएको लामो डन्डीको छाता : यो छाता वर्षाका बेला सुन्दर त देखिन्छ नै, वर्षा नहुँदा पनि काँधमा पर्स, हातमा यु ह्यान्डल भएको लामो छाता तथा आँखामा गगल्स छ भने व्यक्तित्व अझ बढी प्रभावकारी देखिन्छ ।

लेस भएको छाता : घेरा भएको वा फ्रक वा स्कर्टका साथ रंगीबिरंगी  वा प्रिन्टेड र किनारमा लेस भएको छाताले अलग खालको कम्बिनेसन प्रदान गर्छ ।

स्केलप्ड छाता : गोलो, तर चारै किनाराबाट यु कट् र सुन्दर लेसले सजिएको स्केलप्ड छाता कलेज गल्र्सहरूलाई सुहाउँछ ।

डबल र ट्रिपल फ्रिल गिगी छाता : थुप्रै रंगमा उपलब्ध प्रिन्डेट वा प्लेन डबल वा ट्रिपल फ्रिल भएको गिगी छाता वेस्टर्न ड्रेसमा खुल्छ ।

क्लाउड्स र रेनड्रप छाता : आकाश बादलले घेरिएको छ र वर्षा भैरहेको छ भने बादलसित सुहाउँदो बादलकै शैली र आकारमा क्लाउड्स छाता तथा रेनड्रप छाता उपयुक्त हुन्छ ।

डेजी फूललेन्थ छाता : डेजी फूलजस्तै प्रिन्टको डेजी फूललेन्थ छाताले वर्षाको पानीमा छाता नभै आफ्नो शिरमाथि डेजी फूल नै ओढेको महसुस गराउँछ । यो छाता रातो, पहेंलो, पर्पल आदि अलग–अलग रंगमा उपलब्ध हुन्छ ।

सनफ्लावर ब्लुम फूललेन्थ छाता : पहेंलो वा हरियो पहिरनसित सनफ्लावर ब्लुम छाता ओडेर हिँड्दा  सूर्यमुखीको फूलसँगै हिँडिरहेको अनुभूति हुन्छ ।

एस्फाल्ट छाता : मुसलधारे पानीमा आफ्नो पार्टनरका साथ एउटै छातामुनि हुँदा एस्फाल्ट छाता उपयुक्त हुन्छ । यो छाता रोमान्टिक कपल्सका लागि रोमाञ्चकारी साबित हुन्छ ।

न्युब्रेला छाता : वर्षाका बेला दुवै हातमा सर–सामानका थैलाहरू छन् भने छाता समात्ने सम्भावना पनि हुँदैन । त्यसका लागि काँधमा अड्याउन मिल्ने न्युब्रेला छाता पनि बजारमा उपलब्ध छ । हातले समात्ने आवश्यकता नपर्ने यो छाता अलग–अलग डिजाइनमा पाइन्छ र प्रयोग गर्न सजिलो र हल्का हुन्छ ।

तरबार छाता : यो छाताको ह्यान्डल तरबारको ह्यान्डलजस्तै हुन्छ । यो लामो र स्टेन्डिङ छाता हुन्छ । जुन बन्द रहँदा तरबारजस्तै देखिन्छ ।

गन छाता : यो फोल्डिङ छाताको ह्यान्डल गनजस्तै हुन्छ । बन्द हुँदा यसलाई समातेर हेर्ने हो भने बन्दुक समातेजस्तो देखिन्छ ।

प्याकेट छाता : हातमा सानो देखिने यो छातालाई सानो प्याकेटजस्तै समातिन्छ र पर्समा समेत राख्न सकिन्छ ।

ट्विलाइट छाता : यो मज्जाको छाता हो । पानी पर्दा प्राय: बिजुली जान्छ । त्यतिबेला अँध्यारोमा लाइटबिना यताउति जान गाह्रो हुन्छ । यस्तो अवस्थामा ट्विलाइट छाता उपयोगी हुन्छ । यसमा जडान भएको लाइटले बिजुली नहुँदा पनि अँध्यारोमा समस्या हुन दिँदैन ।

तस्विरहरु: नवराज वाग्ले

 Image