Successfully Copied

तीजको व्रत महिलाले मात्र किन ?

महिला–पुरुष बराबर भनिए पनि श्रीमान्को दीर्घायुको कामना गर्दै तीजमा महिला मात्र व्रत बस्दै आएका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज नेपाली महिलाहरूको महत्वपूर्ण चाड हो । यो चाड नेपालका प्राय: सबै समुदाय, जातजातिले हर्ष एवं उमङ्गका साथ मनाउँदै आएका छन् । तीजको पर्खाइमा विशेषगरी विवाहित महिला हुन्छन् भने यो अवसरमा बालबालिकादेखि वृद्ध तथा पुरुषहरूसमेत खुसी हुन्छन् । महिला–पुरुष बराबर भनिए पनि श्रीमान्को दीर्घायुको कामना गर्दै तीजमा महिला मात्र व्रत बस्दै आएका छन् ।

समाज रूपान्तरणका सम्बन्धमा जति नै ठूला कुरा गरे पनि त्यो व्यवहारमा लागू भएको देखिँदैन । सामाजिक परिपाटीका कारण आफ्नो जीवनसाथी तथा भावी जीवनसाथीका लागि महिलाहरू निराहार व्रत बस्न बाध्य छन् । महिलाले श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्दा श्रीमान्ले किन व्रत बस्न नहुने ? तीजका विषयमा जति नै टीका–टिप्पणी वा विवाद गरिए पनि प्रचलित परम्पराका नाममा आधुनिक महिलाहरूसमेत व्रत बस्न बाध्य छन् । के महिलाले मात्र बस्नुपर्ने हो त तीजको व्रत ? यसपटकको बहस यही सेराफेरोमा केन्द्रित छ :

केदार शर्मा, संचारकर्मी  

सामाजिक सद्भाव गाँसिएको पर्व हो–तीज । पहिलेदेखि चलिआएको तीज पर्व वा अन्य कुनै पर्वलाई खारेज गर्नुपर्छ भन्ने पक्षमा म छैन । यति हुँदाहुँदै पनि तीजको व्रत बस्दा श्रीमान्को लामो आयु हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । व्रतबाट फल प्राप्ति हुन्छ जस्तो पनि लाग्दैन । यदि सत्य हुन्थ्यो भने श्रीमती भन्दा श्रीमान् अघि मर्ने पनि छन् । फेरि महिलाका लागि पुरुष व्रत बस्ने दिन कुन हो त ? तीज महिलाको उन्मुक्ति तथा स्वतन्त्रताको अवसर हो । यो एउटा विद्रोह पनि हो । तीजका दिन महिला स्वतन्त्र भएर बाटो–बाटोमा राताम्मे भएर गीत गाउँदै–नाच्दै हिँड्छन् । मनका कुण्ठा गीतमार्फत बाहिर ल्याउँछन् । धर्म, संस्कृति र परम्पराको तुलना गर्नु हुँदैन । धर्ममा विज्ञान हुँदैन र जरुरी पनि छैन । यसकारण विज्ञान, धर्म र परम्परा तीन छुट्टै विधा हुन् ।

मेरी श्रीमती धर्ममा विश्वास गर्छिन्, म आस्थामा विश्वास गर्छु । उनी तीजमा निराहर व्रत बस्दा किन बस्यौ भनेर सोध्दिन पनि, नबस पनि भन्दिन, उनलाई जे गर्दा ठीक लाग्छ त्यही गरून् । उनी सकुन्जेल व्रत बस्छिन् नसकेपछि खान्छिन् । शिक्षाले समाज कहाँ पुगिसक्यो । मन्दिर जाँदा कतिपय महिला निराहार व्रतका कारण मूच्र्छा पर्छन् । के यो ठीक हो ? कुनै पनि चाडपर्वलाई निरन्तरता दिनुपर्छ तर त्यसमा परिमार्जन गर्दै लानु आवश्यक छ ।

प्रियम्बदा आचार्य काफ्ले, सह–प्रा., बाल्मीकि विद्यापीठ

तीज धार्मिक, सांस्कृतिक तथा सामाजिक चाड हो । तीजमा महिलाहरू आफ्ना वेदना, पीडा, दु:ख गीतका माध्यमबाट व्यक्त गर्छन् । कतिपय महिला गायिकाले श्रीमान् नपाएको तथा विवाह नभएको पीडा पनि तीज गीतका माध्यमबाट पोखेका छन् । तीजमा निराहार व्रत बस्ने कुरा महिलाको शारीरिक अवस्थामा भर पर्छ । सक्ने महिलाले निराहार व्रत बस्नु ठीक हो तर धर्मका नाममा शरीरलाई नै मारेर व्रत बस्नुहुँदैन ।

तीजको तेस्रो दिन ऋषिपञ्चमीमा पनि महिला–पुरुष मिलेर पूजा–आराधना गरे पापको दोष मेटिन्छ । त्यसैले तीज महिलाको मात्र चाड हो र पुरुष व्रत बस्नै हुँदैन भन्ने छैन ।

सौरभ ज्योति, निर्देशक, ज्योति ग्रुप

तीजमा महिलाहरू निराहार व्रत बस्दा श्रीमान्को आयु लामो हुन्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन । जुनसुकै व्रत पनि महिला वा पुरुषले ऐच्छिक रूपमा लिनसक्छन्, कुनै पनि बहानामा कसैलाई पनि गर्न वा नगर्न बाध्य बनाइनु हुँदैन । तीज संस्कृति एवं परम्परा मात्र हो । नेवार परिवारमा यो चाड मनाइँदैन । यसो भन्दैमा यो चाडको महत्व नै छैन भन्ने पनि होइन । मेरो घरमा भाइकी श्रीमतीको माइतीबाट दर आउँछ । त्यसलाई हामी खुसीसाथ स्वीकार गर्छौं ।

चाडपर्व मनाउने बहानामा महिलालाई यसो गर उसो नगर भनेर लाद्ने कुरा मलाई राम्रो लाग्दैन । महिलाहरूलाई आर्थिक रूपमा सशक्त नबनाएसम्म कुनै पनि कुरामा परिवर्तन आउँदैन । महिलाहरूलाई विकासको मूलधारमा नल्याएसम्म परम्परागत रूपमा महिलामा परेको असर निर्मूल गर्न सहज छैन । तीज महिलाहरूको महान् चाड हो । यसलाई हाँसीखुसी मनाउनुपर्छ । बरु भोको मानिसलाई समयमा खान दिनु नै सही अर्थमा धर्म हो ।

डा. गोपाल कृष्ण सिवाकोटी, अध्यक्ष, इन्हुरेड इन्टरनेसनल

महिलाको महान् चाड तीजमा केही नखाई व्रत बसेर श्रीमान्को आयु लामो हुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । यसो भन्दैमा यो चाड मनाउनै हुँदैन भन्ने पनि होइन । तीज पर्व सामाजिक सद्भावसँग जोडिएको छ । महिलाहरू माइती जाने अवसर, मनमा गुम्सिएका भावना प्रस्फुटन हुने दिनका रूपमा यो पर्व चर्चित छ । यो चाड ‘स्वतन्त्रताको प्रतीक’ पनि हो ।

तीजमा महिलाहरू निराहार व्रत बस्दा श्रीमान्को आयु लामो हुनुको साटो उल्टै महिलाको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले व्रत नबस्दा परिवार तथा समाजले के भन्ला भनेर डराएर बस्नुहुँदैन । संस्कृतिको गलत तरिकाले अभ्यास भएको छ भने सचेत पुस्ताले त्यसलाई उखेलेर फालिदिनुपर्छ । मेरी श्रीमती तीजको व्रत बसेकी छैनन् । म उनलाई व्रत बस पनि भन्दिन । उनी व्रत बसेर मेरो दीर्घायु र नबसेर अल्पायु हुने होइन । महिलालाई हरेक दिन उत्तिकै सम्मान गर्नुपर्छ । पछिल्लो समयमा महिनौं दिनअघिदेखि तीज मनाइन थालेको छ । यसो गर्नुभन्दा पनि जुन दिन दर खाने हो त्यही दिन मात्र खाए चाडपर्वको वास्तविक मज्जा लिन सकिन्छ कि ?

तस्विरहरु: नवराज वाग्ले

 Image