Successfully Copied

सबैको साझा तीज

नेपाली महिलाहरूले श्रद्धापूर्वक मनाउने यो पर्वमा अहिले भने निकै परिवर्तन आएको छ । हिजोआज हरेक क्षेत्रले तीज आ–आफ्नै हिसाबले मनाउने हुँदा शैक्षिक क्षेत्र तीजको रन्कोबाट अछुतो रहन सक्ने कुरै भएन ।

तीजको लहरबाट कुनै पनि क्षेत्र अछूतो रहन सक्दैन । नेपाली महिलाहरूले श्रद्धापूर्वक मनाउने यो पर्वमा अहिले भने निकै परिवर्तन आएको छ । हिजोआज हरेक क्षेत्रले तीज आ–आफ्नै हिसाबले मनाउने हुँदा शैक्षिक क्षेत्र तीजको रन्कोबाट अछुतो रहन सक्ने कुरै भएन । विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई तीजको दिन बिदा दिने चलन छ । तीज नेपाली संस्कृति एवं परम्परा मान्नेहरूका लागि उल्लासमय पर्व हो भन्छिन्— भ्याली पब्लिक स्कुलकी सम्झना शर्मा । कक्षा १० मा अध्ययनरत सम्झना तीजका दिन मन्दिर जान्छिन् । अहिलेसम्म व्रत भने नबसेको बताउने शर्मालाई शिवजस्तै राम्रो पतिको कामना गर्दै व्रत बसिन्छ भन्ने कुराचाहिँ थाहा छ । शर्मा आफ्नी आमासँग विभिन्न दर कार्यक्रममा गएकी छिन् । उनका साथीहरूबीच उपहार आदान–प्रदान पनि चल्छ जसले तीजलाई अझ रमणीय चाड बनाएको सम्झनाको ठहर छ । 

तीजले हरेक तहतप्काका महिलालाई छुने हुँदा शिक्षण पेसामा लागेका दिदीबहिनीहरूले पनि यसलाई निकै उत्साहपूर्वक मनाउँछन् । तीजका बेला विद्यालय तथा सरकारी सेवामा लागेका महिलाहरूलाई बिदा हुन्छ ।  अहिले विद्यालयहरूमा शिक्षकहरूले  पैसा उठाएर शिक्षिकाहरूलाई दर ख्वाउने चलनसमेत छ । कलेजहरूमा पनि दरका कार्यक्रम राखिन्छन् । कतिपय विद्यालयमा छात्राहरूलाई दर ख्वाउने चलन पनि सुरु भैसकेको छ । प्याब्सनकी उपाध्यक्ष तथा सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल दीपिका थापा दर ख्वाउने परिपाटी मन परे पनि सौभाग्यका सामान आदान–प्रदान गर्ने परिपाटी रुचाउँदिनन् । तीज नेपाली दिदीबहिनीहरूको साझा चाड मात्र नभएर महिला सशक्तीकरणको चाड पनि हो, तसर्थ यसलाई तडकभडकभन्दा पनि सरल एवं सौहाद्रपूर्ण तरिकाले मनाउनुपर्छ भन्ने उनको राय छ । रातो रंगले जे सूचना संप्रेषण गर्छ त्यसका आधारमा तीजको महत्व आत्मसात् गर्नुपर्ने उनको भनाइ छ । यसपटक विद्यालयमा तीजको अवसर पारेर तीज गीत प्रतियोगिताको साटो हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागिएको उनी बताउँछिन् । 

त्यसैगरी फेसन तथा इन्टेरियर कलेजकी संचालक शैलजा अधिकारी तीजको सांस्कृतिक महत्व रहेको बताउँछिन् । अहिले तीजलाई जुन हिसाबले मनाउन थालिएको छ त्यसका सकारात्मक एवं नकारात्मक दुवै पक्ष भएको उनको तर्क छ । शैलजा भन्छिन्–‘यसलाई उत्साहपूर्वक मनाउनुपर्छ । यो श्रीमतीले श्रीमान्प्रति सम्मान एवं समर्पण दर्साउने चाड हो । रातो रंग हरेक महिलाहरूलाई सुहाउने भएकाले पनि तीजमा रातो रंगको महत्व बढेको हो, तसर्थ तीजका अवसरमा हाम्रो कलेजमा रेड डे मनाउने चलन छ । तीजका दिन विद्यार्थी तथा शिक्षिकाहरू रातो पहिनरमा जम्मा भै खानपान एवं नृत्य गरेर रमाइलो गर्छन् ।’ 

भ्याली पब्लिक स्कुलकी शिक्षिका मञ्जु थापाका अनुसार तीज सम्पूर्ण परिवारको समृद्धिका लागि मनाइन्छ । समग्र महिला वर्षभरि तीजको प्रतीक्षामा हुन्छन् । विगतमा लामो समयपछि माइती जाने चेलीहरू आफूले भोगेको बुहार्तनलाई गीतमार्फत व्यक्त गर्थे । हिजोआज सामाजिक परिवर्तनका कारण तीजको परिदृश्यमा केही परिवर्तन आए पनि यसको महत्व भने ज्यूँका त्यूँ रहेको मञ्जुको ठहर छ । 

 

 Image