Successfully Copied

खर्चालु साथीको पहिचान

फजुल खर्च गर्ने साथीलाई सम्हाल्न निकै कठिन हुन्छ ।

आर्थिक कारोबार वा लेनदेनका कारण सम्बन्धमा चिसोपन आउन सक्छ । त्यसकारण पैसाको लेनदेन गर्दा निकै विचार पुर्‍याउनुपर्छ । माया पैसाभन्दा धेरै माथि छ भनिए पनि व्यावहारिक रूपमा माया गौण बन्न पुग्छ । त्यसैले पैसाकै कारणले धेरै सम्बन्धको अन्त्य पनि भएको देखिन्छ । विवाहपछि फजुल खर्चका कारण दम्पतीमा झगडासमेत सुरु हुन्छ । फजुल खर्च गर्ने साथीलाई सम्हाल्न निकै कठिन हुन्छ । आयअनुसार खर्च गर्ने बानी बसालेर आपसी सम्बन्धलाई बलियो बनाउनुपर्छ अन्यथा जीवनको सहयात्रा बीच बाटोमै टुट्न पनि सक्छ । 

के जीवनसाथी खर्चालु छन् ? 

विभिन्न शोधले पैसाका कारण धेरैको दाम्पत्य जीवन धरापमा परेको औंल्याएको छ । जब दम्पतीबीच खर्च र आम्दानीबीच असमानता हुन्छ तब आपसमा ठाकठुक सुरु हुन्छ । श्रीमान्–श्रीमतीमध्ये एक बचत गर्ने र अर्को खर्चालु भए झगडा हुन्छ । त्यसैले दुवैमा मनमुटाव हुन्छ । झगडा मात्र होइन छोडपत्रको अवस्था पनि आउन सक्छ । कतिपय अवस्थामा आवश्यक वस्तु खरिद गर्दा ज्ञानको कमीका कारण फजुल खर्च गरिन्छ । त्यसैले सबैभन्दा पहिले जीवनसाथी फजुल खर्ची छ कि छैन निश्चित गर्नुपर्छ । कहिलेकाहीँ सामान खरिद गर्दा धेरै छुट पनि पाइन्छ । घरको बजेट बिग्रिए पनि त्यसलाई फजुल खर्चमा राख्न मिल्दैन । 

फजुल खर्च 

पार्टनरले अनावश्यक सामान खरिद गर्नु ।  क्रेडिट कार्डको प्रयोग गरी अधिक खर्च गर्नु । किनेका सामान परिवारका सदस्यबाट लुकाउनु । ५ वटाभन्दा बढी क्रेडिट कार्ड बनाउनु । जतिबेला पनि पैसा खर्च गर्ने विषयमा विभिन्न सोच बनाउनु । यदि ऋणसँग डर लाग्दैन भने ब्याजले गर्दा फजुल खर्च हुनसक्छ । क्रेडिट कार्ड भुक्तान गर्दा खर्चको अनुमान हुँदैन । यसबाट आवश्यकताभन्दा बढी पैसा खर्च हुन्छ । 

समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ 

 जोडीहरूका लागि पैसाभन्दा पनि सम्बन्ध महत्वपूर्ण हुन्छ । जोडीहरूको भावना आपसमा जोडिएको हुन्छ । यदि आफ्नो जीवनसाथीको चाहना पूरा गर्न आफू असमर्थ भए आफूलाई सोहीअनुसार ढाल्नुपर्छ । फजुल खर्चमा रोक लगाउनुपर्छ । पैसाले मात्र समस्या उत्पन्न हुन्छ भन्ने छैन । आफ्नो आर्थिक अवस्था राम्रो भए पनि साथीको फजुल खर्चले समस्या उत्पन्न गर्न सक्छ । आफूले बचत गरेको पैसा साथीले जहाँ वायो त्यहीँ खर्च गरिदिँदा असह्य हुनसक्छ । सधैं गरिएको खर्चलाई बेवास्ता गर्न सकिँदैन । यदि खर्च अपेक्षा गरेभन्दा बढी भए ऋण बढ्न सक्छ । बचत कम हुनु गम्भीर समस्या हो । यसको निकास चाँडै निकाल्नुपर्छ । 

लापरबाही 

यस्ता पार्टनरसँग डिल गर्न निकै असजिलो हुन्छ । उनीहरू अरू विषयमा सतर्क भए पनि पैसाका मामिलामा लापरबाह हुन्छन् । यस्ता मानिसहरू पैसाकै विषयमा कुराकानी गर्न मन पराउँछन् । यस्ता जोडीमा आर्थिक लेनदेनको जिम्मा अर्को पार्टनरलाई दिनुपर्छ । जसमा मनी म्यानेजमेन्ट स्किल होस्, जसले पैसालाई किफायती ढंगले खर्च गर्न सकोस् । 

पूर्वसूचना 

यदि पार्टनर दोस्रो श्रेणीमा आउँछ भने त्यस्ता पार्टनरलाई नियन्त्रण गर्न कठिन हुन्छ । यस्ता पार्टनरको खर्चिलो बानीले सधैं समस्या उत्पन्न गराउँछ । एउटा पार्टनरले आफ्नो गच्छेअनुसार खर्च गर्ने तर अर्कोले मनपरी खर्च गर्ने व्यवहारले समस्या उत्पन्न गर्छ । यदि पार्टनरले बल्कमा सामान खरिद गरी पैसा बचाउने मनसाय राखेको भए त्यसलाई फजुल खर्च भन्न मिल्दैन । यसले बजेट बिग्रने सम्भावना भए आफ्नो पार्टनरलाई पूर्वसूचना दिनुपर्छ । 

आपसी समझदारी 

अनावश्यक रूपमा खर्च गर्ने पार्टनरसँग डिल गर्न गारो हुन्छ । सामान किनेर आफ्नो चाहना पूरा गर्न उनीहरू ऋण लिन पनि पछि पर्दैनन् । यदि आफ्नो पार्टनरलाई सपिङ मेनिया भएजस्तो लागे तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ । पैसाले सुख खरिद गर्न नसकिए पनि त्यसले कहिलेकाहीँ दु:ख दिनसक्छ । कुनै–कुनै बेला पैसाको कमीले होइन खर्चप्रतिको दृष्टिकोणले समस्या उत्पन्न गराउँछ । आफूले आवश्यकता महसुस गरेको सामानलाई पार्टनरले आवश्यकता नमान्न सक्छ । त्यसैले समस्या आउन नदिन समयमै आपसी समझदारी कायम गर्नु उपयुक्त हुन्छ । 

 

 Image