Successfully Copied

हामी दुवैको घर

घर सुन्दर संसार एवं सानो स्वर्ग हो । घरलाई स्वर्ग बनाउन श्रीमान्–श्रीमती तथा परिवारका अन्य सदस्यका बीच मेलमिलाप हुनुपर्छ ।

घर सुन्दर संसार एवं सानो स्वर्ग हो । घरलाई स्वर्ग बनाउन श्रीमान्–श्रीमती तथा परिवारका अन्य सदस्यका बीच मेलमिलाप हुनुपर्छ । पहिले श्रीमान् घरबाहिर काममा जाने र श्रीमतीले घरभित्रको काम गर्ने अर्थात् कमाउने जिम्मा श्रीमान्को र घर चलाउने जिम्मा श्रीमतीको थियो । हिजोआज श्रीमान्–श्रीमती दुवै बाहिर काम गर्छन् । बिहानदेखि साँझसम्म दुवै बाहिरी काममा व्यस्त हुने भएकाले दुवैमा बाहिरी कामको बोझ हुन्छ । त्यसैले केटाले घरको काम गर्नु हुँदैन भन्ने पुरानो नियम अहिले लागू हुँदैन । तसर्थ घरभित्र भान्साको काम, सरसफाइ, पसल जानेदेखि घरको सबै काम मिलेर गर्नुपर्छ । अहिलेको व्यस्त समय र आर्थिक मन्दीमा अर्थोपार्जन एक्लैले गरेर साध्य पनि हुँदैन । 

टेलिभिजनकर्मी सुरज सिंह ठकुरीका अनुसार वर्तमान समयमा यो काम केटाको र यो काम केटीको भन्नु हुँदैन । श्रीमती कामकाजी र छोरी पनि भएकीले सुरज सकेसम्म घरको काममा श्रीमतीलाई साथ दिन्छन् । उनी भन्छन्–माया–प्रेम दुवैले दुवैलाई गर्छाैं, बाहिर दुवैले काम गर्छाैं भने घरभित्रको काम पनि मिलेरै गर्छौं ।

घरलाई पूर्ण र रमाइलो बनाउन एक–अर्काबीच काममा पनि सहयोग हुनुपर्छ । गायिका नलिना चित्रकार एवं व्यवसायी श्रीमान् संजीव मिश्रबीच पनि हरेक काम मिलेर गर्ने बानी छ । दुवैजना व्यस्त हुने भएकाले कुरा गरेर काम बाँड्ने उनीहरूको चलन छ । छोरा भएपछि घरभित्रको काम र छोराका लागि समय दिन दुवै बराबर लाग्नुपरेको नलिना बताउँछिन् । नलिना कार्यक्रममा जानुपर्दा घर मिलाउने, खाना पकाउने काम संजीवले गर्छन् । त्यसैले जीवन सजिलै चलिरहेको र छोरा, गायन र अफिसलाई निरन्तरता दिन सकेको नलिना बताउँछिन् । नलिना भन्छिन्, यदि काम सघाउने र मलाई बुझ्ने श्रीमान् नपाएकी भए म उहिल्यै गायन क्षेत्रबाट विस्थापित भैसकेकी हुन्थें ।

व्यवसायी कृपेन्द्र श्रेष्ठ श्रीमतीलाई घरमा सघाउन पाउँदा खुसी हुन्छन् । उनलाई घरको काम श्रीमतीले मात्र गर्नुपर्छ भन्ने कुरा पटक्कै मन पर्दैन । जसले जे सक्छ त्यही गर्नुपर्छ । श्रीमती गीतालाई उनी बिहान पानी तानेर, फूलमा पानी हालेर, आफ्ना लुगा आफै धोएर सहयोग गर्छन् । उनी समय मिले तरकारी काटिदिने, पकाउने काम गर्नसमेत पछि पर्दैनन् । घरमा भोज हुँदा त मासुको परिकार पकाउने जिम्मा नै उनको हो । यसरी घरमा मिलेर काम गर्ने भावना भयो भने घर स्वर्ग हुने धारणा कृपेन्द्रको छ ।

पाटनकी आर्किटेक्ट विनीता श्रेष्ठलाई बिहान भ्याइनभ्याइ हुन्छ । दुई छोराछोरीकी आमा विनीतालाई श्रीमान् लक्ष्मण श्रेष्ठले बिहान छोराछोरी हेर्ने, पढाउने, गृहकार्य गराउनुका साथै पसल गएर पनि सघाउँछन् । यो घर तिम्रो, मेरो भन्नुभन्दा दुवैकै घर हो भन्ने भावना लिएर मिलेर काम गर्दा साझ घरको कल्पना यथार्थ हुने उनको भनाइ छ । पहिलेजस्तो श्रीमती घरमा बसेर घरको काममा मात्र व्यस्त हुने जमाना अब रहेन । हरेक श्रीमान्ले यो कुरा बुझेर श्रीमतीलाई सहयोग गर्नुपर्ने श्रेष्ठ बताउँछन् । 

नेपाली समाजमा श्रीमान्ले श्रीमतीलाई घरको काममा सघाउने चलन बढ्दो छ । यसले गर्दा श्रीमान्–श्रीमतीबीचको माया बढ्छ र जीवन सुमधुर हुन्छ । घरलाई स्वर्ग बनाउने हो भने एकले अर्कालाई माया गरेर मात्र हुँदैन एक–अर्काको सुखदु:ख बुझेर दैनिक काममा पनि सहयोग गर्नुपर्छ । कतिपय पुरुषमा घरमा श्रीमतीलाई सघाउँदा घरका मान्छेले के भन्लान् भन्ने र पुरुष इगो पनि नआउने होइन तर यस्ता कुरालाई वास्ता नगरी तिम्रो माया ९९ मेरो माया सय, म पनि एक थप्छु हुन्छ १ सय गीतजस्तै सहयोग र माया गरी जीवन बिताउनुपर्छ । ‘हाम्रो घर’ को अवधारणा लागू गरेर जीवन बिताउन सकियो भने नै जीवन सहज र रमणीय हुन्छ । 

 

 Image