Successfully Copied

मेहन्दीको क्रेज, महत्व तथा सावधानी

हिजोआज किशोरीहरूको मात्र होइन सम्पूर्ण महिला दिदीबहिनीहरूको आकर्षण मेहन्दीतर्फ छ ।

समय परिवर्तनशील छ र यो प्रगतितर्फ उन्मुख पनि छ । समयसँगै सुन्दरताको माग पनि वृद्धि तथा पृथक् हुँदैछ । कुनै समयमा सीमित समुदायले मात्र मेहन्दी लगाउने चलन थियो भने अहिले महिलाहरूको महान् चाड तीजलगायत, साउन महिना, विवाह वा अन्य समारोहहरूमा मेहन्दीलाई विशेष शुभ प्रतीकका रूपमा लगाइन्छ । हिजोआज किशोरीहरूको मात्र होइन सम्पूर्ण महिला दिदीबहिनीहरूको आकर्षण मेहन्दीतर्फ छ । साउन महिनाभरि हरियो तथा रातो पहिरनका साथमा मेहन्दी लगाइने भएकाले साउन महिनालाई ग्रिन मन्थ वा मेहन्दीको महिना पनि भनिन्छ । तीज नजिकिँदै छ, तीजको अवसरमा विशेष शृंगार गर्ने योजना छ भने मेहन्दीले त्यसमा ठूलो सहयोग गर्छ । 

हिजोआज महिलाहरू सौन्दर्यका सम्बन्धमा निकै सजग भैरहेका छन् । आजको युवापुस्ता पर्फेक्ट वर्क चाहन्छ ‘कम्प्रोमाइज’ गर्न जान्दैन । इन्टरनेट तथा ग्याजेटहरू मेहन्दी डिजाइनमा विशेष सहायक बन्दै गएका छन् । कुनै समय थियो मेहन्दीले हात भरेपछि महिलाहरू सन्तुष्ट हुन्थे, मेहन्दीको  डिजाइनका सम्बन्धमा त्यति चासो दिइँदैनथ्यो । अहिले समय धेरै अघि बढिसकेको छ तसर्थ तीजमा विशेष मेहन्दी लगाउने सोच पूरा गर्न इन्टरनेटबाट विभिन्न पेज वा साइटबाट आफूलाई मन पर्ने कलात्मक डिजाइन डाउनलोड गरी मोबाइलमा सेभ गरी अनुभवी मेहन्दी डिजाइनरबाट त्यसैअनुरूप मेहन्दी लगाउन सकिन्छ । मेहन्दी लगाएपछि डिजाइन मन नपरे पनि मेहन्दी नगएसम्म त्यसमा थप मेहन्दी लगाउनुहुँदैन । 

मेहन्दी डिजाइन 

प्याटर्नअनुसार मेहन्दीलाई विभिन्न क्याटोगोरीमा विभाजन गरिएको छ जस्तै रिसर्व, कोहिनुर, मारवाडी, राजस्थानी आदि कलात्मक इन्डियन डिजाइनमा हुन् । यी सबै भारतीय प्याटर्नका भए पनि एडजस्ट गर्ने तरिकाअनुसार यसलाई विभिन्न नाममा विभाजन गरिएको हो । यसको प्याटर्न फरक तथा सफा हुन्छ । यी सबै प्याटर्नलाई ‘एडजस्ट’ गर्ने विशेष सूत्र हुन्छ । सूत्रबद्ध तरिकाले प्याटर्न मिलाएर बनाइने हुनाले अरेबिक मेहन्दी कलात्मक, सुन्दर तथा सफा देखिन्छ । मेटालिक, फेब्रिक तथा गोल्डेन मेहन्दी फेन्सी डिजाइनका मेहन्दी हुन् । ग्लिटर टार, ब्लाक, ब्राउन मेहन्दी आदि टेम्पररी मेहन्दी हुन् । तीजमा मेहन्दी लगाउनुअघि सर्वप्रथम प्याटर्नसम्बन्धी जानकारी लिने, त्यसपछि डिजाइन छनोट गर्ने र अन्त्यमा मेहन्दी लगाउने हो भने पूर्ण सन्तुष्टि प्राप्त गर्न सकिन्छ । 

आज हरेक व्यक्तिले तुलनात्मक रूपमा बढी समय बिताउने साइट भनेकै फेसबुक हो । साउन महिनासँगै वा विवाहको तयारीमा रहेका नवदुलहीहरूले आफूले लगाएका मेहन्दीका विभिन्न डिजाइन फेसबुकमा पोस्ट गरेको हेर्न सकिन्छ । यसले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मेहन्दी डिजाइनसम्बन्धी कन्सेप्ट विकास हुनुका साथै सकारात्मक प्रतिस्पर्धाका माध्यमबाट मेहन्दी आर्टमा ऊर्जा थपिरहेको छ । हिजोआजका युवतीहरू डिजाइनभन्दा कलात्मक एवं सफा डिजाइन मन पराउँछन् । तीजमा पनि यो कुरालाई ध्यानमा राखेर डिजाइन छनोट गर्नु बुद्धिमानी हुन्छ । 

रोजगारीको अवसर 

मेहन्दी सौख, संस्कृति जगेर्ना गर्न शुभ साइतका लागि लगाइन्छ । मेहन्दी लगाउनु एउटा कला हो । मेहन्दीले स्वदेश तथा विदेशमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै कतिपयलाई आत्मनिर्भर पनि बनाउँदैछ । आर्टमा रुचि छ र रोजगारी आवश्यक छ भने मेहन्दी डिजाइनिङ एउटा राम्रो विकल्प हुनसक्छ । मेहन्दीमा बेसिक तथा एडभान्स कोर्स गर्न सकिन्छ । बेसिकमा सम्पूर्ण भारतीय डिजाइनहरू पर्छन् । यसका लागि करिब ७० वटा डिजाइन राम्रोसँग सिकेर ती डिजाइनलाई एडजस्ट गर्न सिकियो भने प्रोफेसनल बन्न सकिन्छ । विदेश जाने योजना छ, वैदेशिक रोजगारीका लागि गइँदै छ भने बेसिक मेहन्दी तालिम पर्याप्त हुँदैन । मेहन्दीको बेसिक तथा एडभान्स दुवै कोर्स गर्नु आवश्यक छ । एडभान्स लेभलको मेहन्दीमा विभिन्न अरेबिक डिजाइन सिक्नुपर्छ ।

अरेबिक डिजाइन अलग हुन्छ र यसलाई मिलाउने छुट्टै सूत्र हुन्छ । अरेबिक मेहन्दी हातको आकारअनुसार लगाउनुपर्छ । फेन्सी मेहन्दी कुनै पनि पार्टी, सेमिनार, फोटो सेसन, फेसन शो आदिमा पृथक् देखिन लगाइन्छ । फोटो सेसन तथा फेसन शोमा बोल्ड देखिन टेम्पररी टाटुज लगाइन्छ । मेहन्दीलाई आफ्नो जीविकोपार्जनको बाटो बनाउने वा करियर बनाउने सोच छ भने यससम्बन्धी पूरा जानकारी राख्नुका साथै बजार विश्लेषण पनि गर्न सक्नुपर्छ । मेहन्दी दुबई, कतार, बहराइन आदि खाडी मुलुकमा पनि प्रचलित छन् भने अहिले युरोप, अमेरिका, अस्ट्रेलिया, युके, चीनजस्ता विकसित राष्ट्रमा पनि मेहन्दी तथा टेम्पररी टाटुजको क्रेज बढ्दो छ ।

सावधानी

मेहन्दी एउटा नेचुरल हर्व हो जुन निकै गुणकारी हुन्छ । मेहन्दीको कोण बनाउँदा मिसावट नगरी मेहन्दीको पातलाई सुकाएर, पाउडर बनाइएको धूलोलाई पूरै रात वा कम्तीमा ६ घन्टा भिजाउनुपर्छ । यो पेस्टलाई मसिनो जालीमा छानेर मेहन्दीको तेलसँग मिसाउनुपर्छ । तयारी पेस्टलाई कोनमा भरेर मेहन्दी लगाउन सकिन्छ । यसरी बनाइएको मेहन्दी दुई दिनमात्र चलाउनुपर्छ । पुरानो भयो भने कलर गाढा आउँदैन । मिसावटरहित मेहन्दीको कलर बिस्तारै आउनुका साथै यो गाढा कलेजी रंगको हुन्छ । यो मेहन्दी उप्केर नराम्रो एवं कालो देखिने समस्या हुँदैन । 

बजारमा विभिन्न ब्रान्डका मेहन्दीका कोन उपलब्ध छन् । रंग गाढा बनाउने विभिन्न केमिकल मिश्रित मेहन्दी पनि बजारमा उपलब्ध छन् । त्यस्ता मेहन्दी लगाएको एकछिनमै कलर लाग्नुका साथै कालो गाढा रंग बस्छ । यस्तो मेहन्दीले छाला पोल्ने, एलर्जी हुने, विभिन्न रियाक्सन हुने समस्या देखापर्नसक्छ । त्यसैले सकेसम्म बजारको मेहन्दी भन्दा आफैले बनाएको मेहन्दी लगाउनु उपयुक्त हुन्छ । बजारको मेहन्दी लगाउनु छ भने नेचुरल अर्थात् मिश्रणरहित मेहन्दी छनोट गर्ने । गाढा रंग बसाउने चक्करमा मिसावट भएको मेहन्दी लगाउनु हुँदैन । सोही दिन वाक्स गरिएको छ भने बजारको मेहन्दी लगाउनुहुँदैन । 

 Image